कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए
काठमाडौं। बुधबार कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार पहिलो चरणको उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समयअनुसार विहान ९ बजे अवतरण हुन्छ । कतारस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीलाई विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए । हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका नेपालीहरुलाई स्वदेश लगिएको थियो ।
बेपत्ता भएकाे दुई वर्षपछि पत्रकार खड्काको निधन भएको पुष्टि
डाेटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको निधन भएको पुष्टि भएको खबर मङ्गलबार आएको हो । पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको २०७६ साल मङ्सिरमा बाजुराको बुढिनन्दामा मानव कङ्काल भेटिएको थियो । उक्त मानव कङ्काल नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालामा गरिएको परीक्षणपछि सो कङ्काल पत्रकार तेजबहादुरकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताए । उनले भने, “खोजबिन टोलीले पाएको मानव कङ्काल डिएनए परीक्षणका लागि हाम्रो विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो, परीक्षणपछि रिपोर्ट हेर्दा खड्काकै कङ्काल भएको पुष्टि भएको छ ।” बेपत्ता भएका पधकार खड्काको खोजी गर्ने क्रममा वेपत्ता भएको एक वर्षपछि २०७६ साल मङ्सिरमा दुई वटा करङ, झोला र परिचयपत्र भेटिएको थियो । पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रूपमा काम गर्दै आएका थिए । खड्का रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रिय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत थिए। उनी २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा वरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता भएका थिए । रासस
जर्मनीको सहयोग निरन्तर गराउन पहल
काठमाडाैं । नेपालको पुरानो मित्र राष्ट्र सङ्घीय गणतन्त्र जर्मनीले दिँदै आएको द्विपक्षीय सहयोग आगामी सन् २०२४ बाट क्रमशः घटाउँदै लैजाने प्रक्रिया शुरु गरेपछि त्यसो नगर्न जर्मनस्थित विभिन्न गैरसरकारी संस्था, निजी क्षेत्र र व्यक्तिगतरूपमा पहल शुरु गरिएको छ । नेपालको आर्थिक विकास, सुशासन र गरिबी निवारणमा प्रत्यक्षरूपमा छ दशकभन्दा अघिदेखि सहयोग गर्दै आएको जर्मनीको आर्थिक विकास मन्त्रालय (बिएमजेड) मा छलफल शुरु भएको छ । जर्मनीको बिएमजेडको संसदीय समितिमा नेपाललगायत विश्वका अन्य २४ देशलाई सन् २०३० सम्मका लागि द्विपक्षीय सहयोगबाट हात झिक्नका लागि प्रक्रिया अगाडि बढाइएपछि यो प्रक्रियाले निर्णयको रूपमा आएमा नेपालको विकासको एक महत्वपूर्ण दातृ मुलुक जर्मनीसँगको छ दशकदेखि पाउँदै आएको सहयोगको ढोका बन्द हुनेछ । सन् २०२४ देखि नै नयाँ सहयोग रहने छैन र जारी परियोजनाहरुले मात्रै पूरा नहुञ्जेलका लागि निरन्तरता पाउनेछन् । जर्मनीको सहयोग बहुपक्षीय अर्थात् युरोपियन युनियनको तर्फबाट हुने एकमुष्ट सहयोगमा मात्र सीमित रहनेछ । द्विपक्षीयरूपमा मन्त्रालयले वार्षिकरूपमा २ करोड ५० लाख युरो सहयोग गर्दै आएको छ । जर्मनीको सहयोग कटौती हुन नदिन जर्मन–नेपालमैत्री सङ्घ र त्यहाँको लङ याङ नामक गैरसरकारी संस्थाको पहलमा बिएमजेडमा अपिलपत्र र खुलापत्र बुझाउने काम भएको सङ्घका अध्यक्ष रामप्रताप थापाले जानकारी दिए । अपिलपत्रमा नेपालप्रति शुभेच्छा राख्ने विभिन्न व्यक्ति र संस्थाहरुको तर्फबाट १ हजार ५ सय जनाले हस्ताक्षर गरेका छन् भने खुलापत्रमा नेपालमा सहयोग पु¥याउँदै आएका जर्मनीका ५० गैरसरकारी संस्थाहरुले सामूहिकरूपमा नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिन अनुरोध गरिएको थापाले बताए । यस अभियानलाई सहयोग गर्न गत मे २३ मा नेपाल जर्मन एकेडेमिक एशोसिएशन (निगास) ले आयोजना गरेको गैसस र निजी क्षेत्रका प्रतिनिधिहरुबीचको स्काइप मिटिङ गरी मन्त्रालयलाई सहयोग कटौती गर्ने निर्णयमा नपुग्न आग्रह गरिएको थियो । यसबारेमा नेपाल सरकारलाई औपचारिकरूपमा कुनै जानकारी गराइसकिएको नभए पनि अनौपचारिकरूपमा अवगत गराइएपछि सरकारले आवश्यक गृहकार्य थालनी गरेको छ । थापाका अनुसार नेपाल लामो समयको राजनीतिक सङ्क्रमणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चरणमा रहेको, सन् २०१५ को भूकम्पपछि पुनःनिर्माणमा अग्रसर रहेको र भर्खरै कोभिड–१९ को समस्याबाट आफूलाई विस्तारै अगाडि बढाउन लागेको अवस्थामा यसरी लामो समयदेखि सहयोग गर्दै आएको मित्र राष्ट्रबाट सहयोग कटौती हुने स्थिति आउन नदिन आग्रह गरिएको छ । जर्मनीको सहयोग नेपालका लागि आर्थिकरूपमा मात्र नभएर सीप र ज्ञान अभिवृद्धि तथा नयाँ प्रविधिको विकासका हिसाबले पनि महत्वपूर्ण रहेको लङ याङका प्रतिनिधि जेन्नी लडविगले बताए । उनले नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ वर्षको अवधिमा नेपालको चौतर्फी विकासमा जर्मनीबाट उल्लेख्य सहयोग प्राप्त भएको जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधार निर्माण, ऊर्जा, शिक्षा, स्वास्थ्य र मानवाधिकार संरक्षणमा जर्मनीको सहयोग महत्वपूर्ण रहेको छ । रासस
अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित थपिने चेतावनी
काठमाडाैं । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा एन्थोनी फाउचीले बताएका छन् । विशेषज्ञसमेत रहेका फाउचीले आगामी दिनमा अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् । पछिल्लो समय अमेरिकामा प्रत्येक दिन करिब ४० हजार जनामा कोरोना पुष्टि हुँदै आएको छ । ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन’ फाउचीले भने । मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब अवस्था आउने फाउचीको भनाइ छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । वल्डोमिटरका तथ्यांक अनुसार अमेरिकामा हालसम्म अमेरिकामा २७ लाख २७ हजार ८ सय ६० जना कोरोना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार पुगिसकेको छ । त्यस्तै ११ लाख ४३ हजारभन्दा बढी उपचार पछि निको भएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजारभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
हीरा तथा सुनचाँदीका गरगहनाको परिक्षण तालिम संचालन
काठमाडाैं । नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम प्रारम्भ भएको छ । पाँच दिनसम्म संचालन हुने तालिममा नौ जना कर्मचारीहरु सम्मिलित छन् । तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख शम्भुप्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गरे । सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको बताए । साथै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सो अवसरमा स्वागत मंतव्य व्यक्त गर्दै प्रमुख भन्सार अधिकृत कर्णप्रसाद तिमिल्सिनाले यस प्रशिक्षणको महत्व बारे प्रकाश पारे। महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायीलाई पनि सहज हुने भंसार कार्यालय जस्तो एक्पँट्को एन्ट्रन्स् र इक्स्पँट्को एग्जिट्को मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पुर्याउने अपेक्षा गरिएको बताए । साथै उनले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउँदै महासंघका प्रदेश र जिल्ला संघ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने जानकारी दिए । नेपाल सरकार, अर्थमंन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रति आभार व्यक्त गरे । सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्धबहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताए ।
नौ वर्षमुनिमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने । कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४ सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५ सय ७३ महिला सङ्क्रमित छन् । “महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उनले भने, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४ सय ७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५ सय ९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भने, “सात/दश दिनमा सबै सामान आइसक्छ ।” क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिँदै सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टाइनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म १ हजार ९ सय ३४ स्थानमा करिब ७४ हजार ४ सय ३४ श्ययाको क्वारेन्टाइन रहेको छ । यहाँका क्वारेन्टिनमा १३ हजार १ सय ७८ बसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै १ लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टाइन बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टाइनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् । त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए । “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनले भने, “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।” उनले १४ दिन क्वारेन्टाइन बसेकालाई होम क्वारेन्टाइन पठाएर आइसोलेसन बढाउन लागेको बताए । यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन् । “होम क्वारेन्टाइन र क्वारेन्टाइनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उनीहरूसँग समन्वयमै हुनुहुन्छ”, अवस्थीले भने, ‘लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौं ।’ रासस
इरानकाे एक क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु
काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरु घाइते भएका छन् । इरानको सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भइ उक्त घटना भएकाे हो । साे विष्फाेटनमा मृत्यु हुने अधिकांश महिलाहरू रहेका छन् । विष्फोटपछि क्लिनिकमा आगो लागेर आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको बीबीसीले जनाएकाे छ । यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो ।
विश्वमा १ करोड ५ लाखभन्दा बढी कोरोना संक्रमित
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८३ हजार ९ सय पुगेको छ । नेपाली समय अनुसार बुधबार विहान साढे ६बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ जना रहेको छ । त्यस्तै ५७ लाख ९४ हजार ४ सय ८९ जना उपचार पछि निको भएका छन् । सबैभन्दा बढी २७ लाख २७ हजार ८ सय ६० जना कोरोना संक्रमित अमेरिका रहेका छन् । भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार पुगिसकेको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ९५ रहेका छन् भने १७ हजार ४ सय १० जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । त्यस्तै ३ हजार १ सय ९४ जना उपचार पछि निको भएका छन् ।