विकासन्युज

साधना लघुवित्तमा लगानी गरेको १० दिनपछि नै उचित प्रतिफल पाइन्छ- सीईओ न्यौपाने

रेशम न्याैपाने, सीईओ- साधना लघुवित्त वित्तीय संस्था लमजुङ्ग जिल्लाको दुराडाँडामा जन्मिएका हुन् रेशम न्यौपाने । उनी सामाजिक कार्यसँगै गाउँगाउँमा वित्तीय साक्षरता र आर्थिक रुपान्तरणको अभियानमा लागेका छन् । स्वावलम्बन विकास केन्द्रको प्रशिक्षार्थी सहायक पदबाट वित्तीय सेवामा प्रवेश गरेका न्यौपानेले नाडेप लघुवित्त, मुक्तिनाथ विकास बैंक हुँदै चौतारी लघवित्तको व्यवस्थापकीय पदको जिम्मेवारी सम्हालिसकेका छन् । मिहिनती उर्जावान एवम् अनुभवी रेशम न्यौपाने वित्तीय क्षेत्रको लामो अनुभवलाई अबलम्बन गर्दै हाल साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को रुपमा कार्यरत छन् । सञ्चालनमा आएको करिब ३ वर्षपछि साधना लघुवित्तले असार २१ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री गर्दैछ । लगानीकर्ता कम्पनीको वित्तीय अवस्था र आगामी योजनाबारे जान्न उत्सुक छन् । लघुवित्तको हाल अवस्था कस्तो छ ? लघुवित्तले सेयरधनीलाई कति प्रतिफल दिन्छ ? लगानीकर्ता र हाम्रा पाठकले जान्न चाहेका यी र यस्तै प्रश्नहरुलाई समेटेर संस्थाका सीईओ न्यौपानेसँग गरिएको कुराकानी: साधना लघुवित्तको वित्तीय अवस्था तथा कारोबार कस्तो छ ? साधना लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । साधना लघुवित्तको आब्हान पत्रमा प्रकाशित वित्तीय विवरणले संस्थाको यथार्थ वित्तीय अवस्था देखाउँछ । लघुवित्तले स्थापनाको वर्षदेखिनै नाफा गरेको छ । वित्तीय विवरणसँगै यसको व्यवस्थापन पक्ष पनि जोडिएर आउँछ । जसमा हिजो विकास बैंकको शुरुवात गरी सफल बनाएका, बैंकिङ विशेषज्ञको रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा कार्य गर्नुभएका व्यक्तिहरुको टिम सञ्चालक समितिमा छ । व्यवस्थापन तहमा भन्नुपर्दा करिब २ दशकदेखि म यही क्षेत्रमा कार्य गर्दै आएको छु । व्यवस्थापनका अन्य साथीहरुमा समेत यो क्षेत्रमा काम गरेको लामो अनुभव छ । त्यस्तै, वित्तीय कारोबारको कुरा गर्नुपर्दा संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी २१ करोड ७७ लाख ८० हजार र चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको यस संस्थाले हालसम्म ४७ हजार सदस्यलाई समूहमा आवद्ध गरी २६ हजार ऋणी मार्फत् बाँकी कर्जा १ अर्ब ७० करोड रुपैयाँ र बचत संकलन ४३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, २०७७ जेठ मसान्तसम्ममा संस्थाको जगेडा कोषमा ४ करोड २९ लाख रुपैयाँ रहेको छ । कोराना भाईरसको महामारीले साधना लघुवित्तलाई पनि असर गर्यो होला । तसर्थ यो वर्ष साधना लघुवित्तको प्रफर्मेन्स कस्तो आंकलन गर्नुभएको छ ? पक्कै पनि, कोरोना भाईरसको महामारीले अन्य क्षेत्रलाई जस्तै वित्तीय संस्थालाई र अन्य वित्तीय संस्थालाई जस्तै साधना लघुवित्तलाई समेत असर गरेको छ । वर्तमान अवस्थाको कारण संस्थाले विगतमा जुन गतिमा आफ्नो पफर्मेन्स हासिल गर्दै आएको थियो, त्यो गतिमा केहि संकुचन आएको छ । तर पनि हामीले शुरुवात देखिनै संस्थाको बेस बनाई सकेको हुँदा हामी वार्षिक लक्ष्यको नजिक नजिक छौं । हाम्रा वित्तीय सूचकहरु गत वर्षको तुलनामा बढेका छन् । यसलाई आधार मान्दा हाम्रो मुनाफाको दर समयसापेच्छ राम्रै हुने आंकलन गरिएको छ । संस्थाले सेवा प्रदान गर्ने कार्य क्षेत्र कँहा कँहा हुन् ? र, अहिले कति स्थानबाट सेवा दिँदै आएको छ ? गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले २०७४ कात्तिक १३ गते नेपाल राष्ट्र बैंकबाट १० जिल्ला कार्यक्षेत्र रहने गरी अनुमति प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रबाट स्थापित लघुवित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलो पटक भानु नगरपालिका १ तनँहुमा केन्द्रिय कार्यालय रहेको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी यो लघुवित्त राष्ट्रिय स्तरमा स्तरउन्नती भएको छ । लघुवित्तले हाल २२ जिल्लामा ६० वटा शाखा कार्यालयहरु मार्फत् लघुवित्त सेवा दिँदै आएको छ । अहिले संस्थाको प्रमोटरमा को को हुनुहुन्छ ? वित्तीय संस्थाको प्रमोटरमा २ वटा राष्ट्रियस्तरका बैंकहरु एनसीसी बैंक र सांग्रिला डेभलपमेन्ट रहेका छन् । त्यसैगरी, अन्य व्यक्तिगत प्रमोटरमा बैंक तथा वित्तीय संस्थामा लामो अनुभव भएका व्यक्तिहरु, कानून व्यवसायीहरु, अन्य पेशाकर्मीहरु, समाजसेवीहरु गरी ९२ जना प्रमोटर हुनुहुन्छ । असार २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्दै हुनुहुन्छ । यसमा लगानी गर्दा लगानीकर्ता कत्तिकाे सन्तुष्ट हुनेछन् ? साधनाले आगामी असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । संस्थाले आगामी असार २१ गतेदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कूल सेयर मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्यको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने छ । यससँगै, सर्वसाधारणलाई आईपीओ बिक्री वितरण गरे पश्चात् लघुवित्तको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुग्नेछ । अब आयो यसमा लगानी गर्दा लगानीकर्ता कत्तिको सन्तुष्ट हुन्छन् भन्ने कुरा । प्रथमतः तुलनात्मक रुपमा अन्य कम्पनीको भन्दा लघुवित्त कम्पनीको प्रतिफल बढी हुने कुरा सर्वसाधरणले बुझ्नुभएको छ । जसले गर्दा विगतका लघुवित्त कम्पनीको आईपीओमा धेरै गुणा बढी आवेदन परेको देखिन्छ । जहाँसम्म साधना लघुवित्तको आईपीओको कुरा छ, साधनाको विगत ३ वर्षको वित्तीय विवरण हेर्नुस्, त्यहाँ शुरुवातकै वर्षदेखि सञ्चित मुनाफा पाउनुहुनेछ । त्यसैगरी विगतदेखि हालको कठिन समयसम्मको व्यवसाय वृद्धिको सूचकहरुलाई हेर्नुस्, पक्कै पनि सन्तुष्ट हुनुहुनेछ भन्ने विश्वास छ । यो आईपीओमा लगानी गर्दा कसरी फाइदा लिने ? लघुवित्तको आईपीओमा लगानी गर्दा कसरी फाईदा लिने सम्बन्धमा सर्वसाधरणलाई मैले भनिरहनु पर्छ जस्तो लाग्दैन । यति भन्छु कि, ढुक्क भएर सेयर भर्नोस्, स्थापनाको वर्ष देखिनै नाफा कमाएको यस साधना लघुवित्तले उचित प्रतिफल पक्कै दिन्छ । यहाँले प्रतिफलको कुरा गर्नुभयो । अहिले आईपीओ भर्नेले साधनाबाट कहिलेदेखि प्रतिफल पाउँछन् त ? सेयरधनीहरुले यो आर्थिक वर्षको कमाईबाटै अझ गत वर्षहरुको सञ्चित आम्दानी समेत गरी अर्को वर्ष प्रतिफल पाउनुहुन्छ । अझ स्पष्ट भन्ने हो भने यसपालीको सेयरधनीहरु भाग्यमानी हुनुहुन्छ । किनभने, आईपीओ बाँडफाँट भए पश्चात् यस वर्षनै प्रतिफल दिईने संस्थाको योजना रहेको छ । त्यसैले, उहाँहरुले लगानी गरेको १० दिनमै उचित प्रतिफल पाउनुहुन्छ । ढुक्क भएर सेयर भर्नोस् । आईपीओमा कति लगानी गर्दा उपयुक्त हुन्छ भन्ने आम लगानीकर्ता दुविधामा परेका हुन्छन् । यसमा हजुरको सुझाव चाँहि के छ ? सामन्यतः लघुवित्तको निष्काशन हुने सेयर संख्याको अनुपातमा आवेदन दिने व्यक्तिहरुको संख्या धेरै गुणा बढी हुने गर्दछ । त्यसो हुँदा प्रतिव्यक्ति १० कित्ताको दरले सेयर वितरण गरिने र त्यसमा पनि संख्या बढी भएमा चिठ्ठा मार्फत् छनोट गरिने हुँदा धेरै रकम लगानी गर्न आवश्यक छैन । तसर्थ हाम्रो लघुवित्तको हकमा न्युनतम कित्ता १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । सेयर निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको यस आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ । आईपीओ पश्चात् साधना लघुवित्तको योजना के छ ? अहिलेसम्मको वित्तीय क्षेत्रको अनुभवलाई प्रयोग गरेर एउटा नमूना लघुवित्तको रुपमा यसलाई स्थापित गर्ने नै सञ्चालक समिति, सेयरधनीहरु लगायत वित्तीय संस्थाको उच्च व्यवस्थापन सबैको मुख्य योजना हो । हामी त्यस दिशामा उन्मुख हुनेछौं । यसका लागि आईपीओ पश्चात् साधना लघुवित्तको पुँजीको आधारको साथसाथै संस्थाको सञ्जाल समेत ठुलो हुनेछ । वित्तीय संस्थाले गत माघबाट मात्रै राष्ट्रिय स्तरमा स्तरोन्नती भएको र हाल २२ जिल्लामा मात्र आफ्नो शाखा सञ्जाल कायम गरेको हुँदा आगामी आईपीओ मार्फत् देशैभरका लगानीकर्ताहरु संस्थामा आवद्ध हुनुहुनेछ । तत् पश्चात् अगामी दिनहरुमा यस संस्थाको प्रगतिका लागि अझ बढी स्नेह तथा सद्भाव संस्थाले पाउनेछ । जसको फलस्वरुप आवश्यकता अनुसार देशैभरमा शाखा सञ्जाल स्थापना गरी राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रम मार्फत सहयोग गर्ने हाम्रो प्रतिवद्धता साथसाथै योजना रहेको छ । पछिल्लो समयमा लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । यस विषयमा साधनाको धारणा चाँहि कस्तो रहेको छ ? पछिल्लो समयमा लघवित्त वित्तीय संस्थाहरुमा देखिएको बिचलन, अस्वस्थ प्रतिस्पर्धा तीव्र दोहोरोपना एवम् कर्जा असुलीमा देखिएको समस्याले गर्दा पनि नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको परिणात्मक वृद्धि भन्दा गुणात्मक वृद्धिको पाटोलाई मजबुत बनाउन, निरिक्षणमा सहज बनाउन, वित्तीय संस्थाहरुलाई स्थायित्व दिनका साथै लघुवित्त संस्थाहरुलाई सबल र सक्षम पार्न मर्जर/प्राप्तिको निती ल्याईएको हुनसक्छ । मलाई के लाग्छ भने वर्तमान आवश्यकतालाई हेर्दा राष्ट्र बैंकको यो रणनीति स्वागत योग्य पनि छ । जसको फलस्वरुप केहि लघुवित्त संस्थाहरु स्वस्फूर्त रुपमा मर्जरमा गएका र केही मर्जरको लागि चरणबद्ध छलफलमा रहेका छन् । जहाँसम्म साधना लघुवित्तको मर्जर सम्बन्धी धारणा भन्नुपर्दा साधना लघुवित्तले नेपालको निजी क्षेत्रबाट स्थापित लघुवित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलो पटक आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको छ । र, यो लघुवित्त क्षेत्रको एउटा उदाहरणनीय कार्य पनि हो । साथै प्राप्ति पश्चात् विगतका दुई वित्तीय संस्थाहरु एक भए पश्चात कार्य सञ्चालनमा कुनै समस्या नभएको बरु संस्थाको पुँजीको साथै संस्थाको प्रबद्र्धकहरु समेत थप हुन गई वित्तीय संस्थालाई थप मार्गदर्शन र सहयोग पुग्ने महशुस भएको हुँदा आगामी दिनमा समेत मर्जरलाई प्राथमिकता दिई कार्यान्वयन गर्नका लागि गत साधारणसभाले मर्जर सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

 शव व्यवस्थापनस्थलको टुङ्गो लागेन

काठमाडाैं । कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पुनः आग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्थान खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । कार्यविधिमा संस्कारअनुसार शव जलाउने या गाड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ । प्रजिअ एवं जिल्लास्तरीय समितिका संयोजक गौलोचन सैँजूले स्थानीय तह र वडास्तरमा समेत शव व्यवस्थापन समिति गठन गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको बताए । “स्थानीय तहमा शव व्यवस्थापन स्थलको खोजी र छनोट गर्ने कार्य भइरहेको छ”, उनले भने, “छिट्टै टुङ्गो लाग्छ ।” कतिपय ठाउँमा शव व्यवस्थापनलाई लिएर विवाद भइरहेकाले उपयुक्त र सबैलाई मान्य हुने स्थान छान्नुपर्ने अवस्था छ । बागलुङ नगरपालिकामा शव व्यवस्थापनका लागि सम्भावित क्षेत्रको अध्ययन र छनोटका लागि कार्यदल बनाइएको छ । सो कार्यदलले उपयुक्त स्थान पहिचान गरी तीन दिनभित्र जिल्लास्तरीय समितिलाई सिफारिस गर्ने जनाइएको छ । बागलुङ नगरपालिका–१ काठेखोला किनार, ४ को चाँदवारीस्थित कालिगण्डकी किनार र १३ को कालाखोला किनारलाई सम्भावित क्षेत्रका रूपमा हेरिएको छ । अन्य सम्भावित ठाउँको समेत कार्यदलले स्थलगत अध्ययन–अनुगमन गर्नेछ । शव विसर्जन स्थल बस्ती, मानिसको जमघट हुने धार्मिक तथा सांस्कृतिक महत्वका स्थल, खानेपानीको स्रोत आदिबाट टाढा हुनुपर्ने कार्यविधिले तोकेको छ । सकभर शवलाई जलाउनुपर्ने र गाड्नुपर्ने भए पनि चार फिट गहिरो खाल्डो खनी गाड्नुपर्ने उल्लेख छ । अन्तिम संस्कारका बेला मृतकका आफन्त बढीमा २० जना सहभागी हुन पाइने र एक मिटरको दूरी कायम गरी बस्नुपर्ने व्यवस्था छ । शव व्यवस्थापनको मुख्य काम भने स्थानीय प्रशासनको सहयोगमा नेपाली सेनाले गर्ने प्रजिअ एवं समितिका संयोजक सैँजूले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको शव व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार उक्त कार्यमा खट्ने मानवसाधनका लागि सुरक्षा सामग्री उपलब्ध गराउन स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको उनको भनाइ छ । कोभिड–१९ का कारण हालसम्म जिल्लामा कसैले पनि मृत्युवरण गर्नु नपरे पनि आइपर्न सक्ने जस्तोसुकै अवस्थाका लागि तयारी हालतमा बस्नुपर्ने समितिको ठहर छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गए पनि कसैमा पनि गम्भीर लक्षण छैन । गत चैत १५ मा पहिलोपटक कोरोना सङ्क्रमणको घटना पुष्टि भएकामा जिल्लामा अहिले कोरोना लाग्नेको सङ्ख्या १ सय ९४ पुगेको छ । निको हुनेको सङ्ख्या २४ छ ।   रासस

वायुसेवा निगम पर्यटन विकासमा महत्वपूर्ण आधार

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ ९सन् १९५८ जुलाई १० अर्थात् आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो । उक्त दिनको सम्झनामा निगमले हरेक वर्ष जुलाई १ तारिखका दिन निगमको स्थापना दिवस मनाउँदै आएको छ । नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि हो । आफ्नो स्थापनादेखि अविछिन्नरूपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यमा व्यावसायिक दायित्व निर्वाहको गर्विलो इतिहास कायम गरेको निगम नेपालको पर्यटन प्रवद्र्धनको आधिकारिक संवाहक हो । निगमको योगदान विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई रोजजारी सिर्जना गर्दै मुलुकलाई सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गरिरहेको निगमले उल्लेख गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागिपरेको छ । हाल कोभिड–१९ महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । बन्दाबन्दीमा नेपाली एयरलाइन्सका तर्फबाट सर्वाधिक चार्टर्ड उडान गरेको निगमले यो अवधिमा ५८ भन्दा बढी उडान गरेको छ । चीनका विभिन्न शहरबाट नौ कार्गो उडान गरेको छ । कोभिडको महामारी पहिलोपटक देखिएको चीनको वुहानमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काउनेदेखि सरकारसँगको समन्वयमा स्वास्थ्य सामग्री ढुवानी गर्न कार्गो चार्टर्ड उडान गरेको छ । निगमले अष्ट्रेलियामा रहेका नेपालीको उद्धारका निम्ति आफ्नो उडान इतिहासकै अधिकतम लामो दूरीको ऐतिहासिक १२ देखि १३ घण्टा लामो उडान गरेको थियो । यसै अवधिमा निगमले आफ्नो उपस्थिति नभएका थप १४ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका ब्राजिल, अष्ट्रेलिया, माल्दिभ्स, हङकङ र जापानलगायतका नागरिकलाई सम्बन्धित दूतावासको समन्वयमा उद्धार गरी २८ भन्दा बढी उडानमार्फत सम्बन्धित मुलुक फर्काइएको निगमले जनाएको छ । अहिले निगमले विभिन्न २५ मुलुकमा रहेका नेपालीको उद्धार गर्न सहुलियतपूर्ण रूपमा चार्टर्ड उडान सञ्चालन गरिरहेको छ । निगमले हाल भारतका तीनसहित नौ गन्तव्यमा उडान भर्दै आएको छ । सन् १९६० मा अमेरिकी सहायताअन्तर्गत तीनवटा डिसी–३ डकोटा विमानबाट सेवा प्रारम्भ गरेको निगमले आफ्नो ६२ वर्षे उडान इतिहासमा पछिल्लोपटक सन् २०१८ मा दुई वाइडबडी ए–३३० जहाजमार्फत सेवा दिइरहेको छ । निगमले सन् २०१५ मा दुई न्यारोबडी ए–३२० जहाज भित्र्याएको थियो । चीनका विभिन्न शहरसहित अन्य लामा गन्तव्यमा व्यावसायिक उडान भर्ने प्रयोजनका निम्ति निगमले आवश्यक तयारी गरिरहेको छ ।  रासस

राष्ट्रपति ट्रम्पको प्रतिद्वन्द्वी जो बिडेनले गरे महामारीमा चुनावी सभा नगर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले कोरोना भाइरसको महामारीको समयमा कुनै चुनावी सभा नगर्ने घोषणा गरेका छन् । जो बिडेनले भने, मेरो विचारमा यो आधुनिक इतिहासको सबैभन्दा असाधारण चुनाव अभियान हो । उनका विपक्षी राष्ट्रपति डोनाल्ड ट्रम्पले जूनमा ओक्लाहोमाको तुल्सामा एउटा चुनावी सभा आयोजना गरे जुन आशाको तुलनामा धेरै कम भीड थियो, जस पछि ट्रम्पको निर्वाचन अभियान हेरिरहेका टोलीले अहिलेसम्म कुनै सभाको आयोजना नगर्ने बताएका थिए । जुन ओपिनियन पोल भएका छन् त्यसअनुसार जो बाइडन राष्ट्रपति पदको दौडमा ट्रम्पभन्दा निकै अघि देखिएका छन् । पत्रकारसँग कुरा गर्दै बाइडनले भने, ‘म डाक्टर र विशेषज्ञको धारणा अनुरुप निर्णय लिनेछु, मेरा लागि मात्रै होइन, पूरा देशका लागि । यसको अर्थ यो हो कि म अहिले कुनै चुनावी सभाको आयोजना गर्ने छैन ।’

एडिबीद्वारा नेपाल सरकारलाई ३६ करोड अनुदान

काठमाडाैं । एशियाली विकास बैंक (एडिबी) ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रूपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ । जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो । यसअघि पनि एडिबीले ३ करोड ६० लाख स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।   रासस

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

तनहुँ । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । १३ र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए । पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ । यसैगरी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई दुई वर्ष छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला गरेको हो । साथै मुख्य अभियुक्त अर्जेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिए । सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र रु तीन हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई तीन महिना कैद र ३ हजार रूपैयाँ जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई ३ महिना कैद र ३ हजार रूपैयाँ जरिवानाको फैसला भएको छ । चार जनाविरुद्ध विसं २०७६ जेठ ६ गते जबर्जस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सात पटक पेशी सरेको थियो ।  रासस

नागरिकता संशोधन विधेयक फिर्ता लिन माग

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ । मङ्गलबार अबेर रातिसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको सङ्घीय संसदीय दललाई निर्देशसमेत गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ । यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने प्रबल सम्भावना रहने काँग्रेसको तर्क छ । यस सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीको तर्फबाट काँग्रेसका सांसदहरुले फरक मत राखिसकेका छन् । बैठकले दाङको शान्तिनगर गाउँपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मङ्गलबार उनकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको भत्र्सना गरेको छ । उक्त घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कारवाही गर्न र गम्भीर घाइते हुनुभएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न काँग्रेसले सरकारसँग माग गरेको छ । काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य मीना पाण्डे र संविधानसभाका पूर्वसदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ हुनु भई उपचारार्थ रहेका दुवैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ । केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ ।  रासस

शिशुलाई जङ्गलमा फाल्ने युवायुवती पक्राउ

गलकाेट । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।  रासस