ऋण थपियाे सरकार निन्द्रा लागेन !
काठमाडाैं । ट्याक्सी व्यवसायीहरुले जोर बिजोर प्रणालीका आधारमा ट्याक्सी सञ्चालन गर्नुपर्ने माग राख्दै सडकमा उत्रिएका छन् । उनीहरुले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै विराेध जनाएका हुन् । अखिल नेपाल ट्याक्सी मजदुर संघ र उपत्यका ट्याक्सी स्वरोजगार संघले सयुक्त रूपमा विरोध कार्यक्रम गरेका हुन्। काेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ऋण थपियाे सरकार निन्द्रा लागेन, सम्पूर्ण ट्याक्सी व्यवसायी तथा चालक एकजुट हौं, कि काम देउ कि माम देउ भन्ने नारा लेखिएको प्लेकार्ड बोेकेर आन्दोलन गरेका छन् । ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफुहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।
भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी
नयाँदिल्ली । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ । भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय कानुन बमोजिम प्रयोगकर्ताका सबै तथ्यांक विवरणलाई सुरक्षित राखेको बताए । उनले टिकटकका प्रयोगकर्ताका कुनै पनि विवरणलाई चीन सरकार समेतका कुनै विदेशी सरकारलाई नदिइएको स्पष्ट गरे । श्री गान्धीले भविष्यमा समेत कुनै सरकारले प्रयोगकर्ताका विवरणका लागि अनुरोध भएमा पनि नदिइने बताउँदै टिकटकले प्रयोगकर्ताको गोपनीयतालाई सर्वाधिक महत्व दिइरहेको स्पष्ट गर्नुभयो । उहाँले भारत सरकारले आफूलाई गोप्यताका विषयमा छलफल गर्न आमन्त्रण गरेको पनि जानकारी दिए । टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले सोमबार अबेर ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ । एक अनुमान अनुसार भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन् । टिकटकका चीन बाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एप्सका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ । चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ । यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू बिमान र अन्य उपकरण तैनाथ गर्नेक्रम जारी छ । यसैबीच, भारतमा चिनियाँ सामानको बिक्री तथा चीनबाट सामान आयातमा समस्या उत्पन्न हुन थालेको छ । गत साता, नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो । भारतमा चिनियाँ इलेक्ट्रोनिक्स वस्तुका उत्पादनहरुको पनि बाक्लो उपस्थिति रहेको छ । चिनियाँ मोबाइलहरु साओमी र ओप्पोले भारतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको अनुमान छ । रासस–एएफपी
नागढुंगा–सिस्नेखोला सुरुङमार्गः क्षतिपूर्ति पाउने भएपछि स्थानीय उत्साहित, अब निर्वादले काम अगाडि बढ्ने
काठमाडौं । स्थानीयले क्षतिपुर्ति पाउने भएपछि नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको काम निर्वाद रुपमा अगाडि बढ्ने भएको छ । यसअघि क्षतिपुर्ति पाउने माग राख्दै स्थानीयहरुले सुरुङमार्गको निर्माण कार्यमा अवरोध गर्दै आएकोमा अब भने त्यो अवारेध हटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेदेखि सुरु भएको निर्माण कार्यमा स्थानीयकै अवरोधकै कारण असर पर्दै आएको थियो अब भने ती सबै अवरोध हटेर काम निरन्तर रुपमा अगाडि बढ्ने सडक विभागका महानिर्देशक केशव कुमार शर्माले बताए । ‘सरकारले स्थानीयलाई ५० प्रतिशत मुआव्जा दिने निर्णय गरेको छ, यो काम सैद्धान्तिक रुपमा अगाडि बढिसकेको छ, स्थानीयहरु पनि क्षतिपुर्ति पाउने भएपछि उत्साहित नै छन,’ उनले भने । सरकारले धादिङतर्फको गुठीको जग्गा उपभोग गर्नेलाई मूल्यांकनको ५० प्रतिशत रकम क्षतिपूर्ति दिने निर्णय गरेसँगै त्यहाँका स्थानीयले अब ५० प्रतिशत क्षतिपुर्ति पाउने भएका हुन् । यो भन्दा अगाडि सो क्षेत्रमा बस्ने स्थानीयहरुले ३३ प्रतिशत क्षतिपुर्ति पाउने कानुनी व्यवस्था थियो । तर, स्थानीयले त्यसमा असन्तुष्टि जनाएपछि सरकारले कानुनी व्यवस्था संशोधन गरी ५० प्रतिशत क्षतिपुर्ति दिने व्यवस्था गरेको हो । सरकारले सो व्यवस्था गरेसँगै काम गर्न सहज भएको आयोजना कार्यालयले बताएको छ । यो भन्दा अगाडि क्षतिपुर्ति नपाउँदासम्म काम अगाडि बढ्न नदिने मनसायमा स्थानीय थिए । यसले गर्दा धादिङतर्फको निर्माण कार्यमा अवरोध सिर्जना भएको थियो । अब सो अवरोध हटेको सडक विभागले जनाएको छ । स्थानीयको अवरोधले कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पटक–पटक साइट क्लियरको माग गरिरहेको थियो। मुआब्जा विवादले गर्दा अहिलेसम्म कार्यतालिका अनुसार काममा ढिला हुँदै आएको थियोे । अब भने काम तीव्र रुपमा अगाडि बढ्ने सडक विभागले जनाएको छ । शर्माका अनुसार सो क्षेत्रका स्थानीयलाई सरकारले ५० प्रतिशत क्षतिपुर्ति दिने निर्णय गरेसँगै उनीहरु उत्साहित भएका छन् भने काम पनि निर्वाद रुपमा अगाडि बढेको छ । कानुनमा व्यवस्था भए अनुसार ३३ प्रतिशत मुआव्जा पाउनु पर्ने भएपनि उनीहरुले बढी माग गरेपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो । विभागका अनुसार धादिङतर्फको १७ रोपनीसहित काठमाडौंतर्फको घर, जग्गालाई समेत गरी हालसम्म करिब साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण भइसकेको छ भने अब एक अर्ब रूपैयाँ जति भुक्तानी हुन बाँकी रहेको छ । साढे ३ वर्षमा सम्पन्न गर्ने लक्षयका साथ काम थालिएको आयोजनाको हालसम्मको प्रगति ५ प्रतिशत रहेको बताइएको छ । सरकारले सो क्षेत्रको जग्गाको मूल्यांकन अनुसार मुआव्जा दिनेछ । हालसम्म मात्रै कबिर साढे ४ अर्ब मुआव्जा वितरण गरिसकेको शर्माले बताए । आयोजनाले धादिङतर्फको १७ रोपनी जग्गाको मुआव्जा ६ महिना अगाडि नै दिएको थियो । सरकारले धादिङतर्फको जग्गाका लागि प्रतिआना सात लाख ७० हजार रूपैयाँदेखि नौ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । यसो गर्दा उनीहरुले प्रतिआना जग्गाको मुआव्जा ३ लाख ८५ हजार देखि ४ लाख ९५ हजारसम्म क्षतिपुर्ति पाउने भएका हुन् । यस्तै, काठमाडांैतर्फ दुई सय ६६ रोपनी जमिन पनि यसअघि नै अधिग्रहण गरिएको थियो । काठमाडौंतर्फको जग्गाको मुआब्जा प्रतिआना नौ लाखदेखि ४२ लाख रूपैयाँसम्म दिइएको छ । त्यहाँको स्थानीयहरुले पनि सो रकमको आधा मुआव्जा पाउने छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको ऋण सहयोगमा गत वर्षदेखि सुरु भएको सुरुङमार्गको निर्माण कार्यले हालसम्म खासै गति लिन सकेको थिएन । करिब २३ अर्ब रूपैयाँ खर्च हुन भनिएको दुई सुरुङ मार्ग साढे नौ र चार मिटरका हुनेछन् भने पाँच–पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर बन्नेछन् । सुरुङमार्गको लम्बाइ २.७८ किलोमिटर हुनेछ । अहिले कोरोना भाइरसको कारण जनशक्तिको अभाव भएकोले तीव्र रुपमा काम अगाडि बढाउन नसकिएको उनले बताए । अहिले कुल हुनु पर्ने कामको ४० प्रतिशत क्षमता बराबर भइरहेको उनको भनाई छ । केही मात्रमा सामग्रीको पनि अभाव रहेको उनले बताए ।
लाखौं सिरियाली भोकमरी संकटमा पर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुको भनाई
दमासकस । लाखौं सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौं नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् । नर्वेजियन शरणार्थी परिषद, अक्सफाम, केयर लगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शरणार्थीहरु भोकमरीको समस्यामा पर्न लागेका जनाएका छन् । उनीहरुले यस्तो संकट निकै नजिकै आइरहेको भन्दै यसका लागि आवश्यक सहयोग गर्न दाता राष्ट्रहरुका साथै अरु पनि आवश्यक संघसंस्थाहरुलाई आग्रह गरेका छन् । पश्चिमा शक्ति राष्ट्रहरुले द्धन्द्धग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरेका थिए । सिरियन सरकार अन्तर्राष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाई मार्गबाट भएपनि त्यहाँका केही स्थानमा सहायता सामग्री पुर्याउन विगतदेखि नै राष्ट्रसंघलाई आग्रह गरेका हुन् । केही महिना मात्र अघि पनि सिरियामा कार्यरत इन्टरनेशनल सिरिया सहयोग समूहले समस्याग्रस्त क्षेत्रहरुमा खाद्यान्नलगायतका सहायता सामग्री नपुर्याए गम्भीर मानवीय संकट आउन सक्ने बताएको थियो । सिरियाका विद्रोही समूहको नियन्त्रणमा रहेका त्यहाँका दरायालगायतका क्षेत्रमा विगतदेखि नै निकै थोरै मात्रामा सहायता सामग्री वितरण गरिएको र त्यसमा खाद्यान्न समेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए । ती स्थानहरुमा सरकारले हवाई मार्गबाट सामान पठाउने बारेमा पनि पटक पटक राष्ट्रसंघको सुरक्षा परिषदमा विगतदेखि नै छलफलहरु हुने गरेको थियो । अहिले पछिल्लो समयमा आएर पनि खाद्यान्नको अभावका कारण सिरियाका कैयौं क्षेत्रहरुमा भोकमरीको फैलिएको छ । अबका केही सममयै भोकमरीको अवस्था कम्तीमा पनि ९३ लाख रूपैयाँ सिरियाली नागरिकसम्म पुग्नसक्ने बताइएको हो । द्धन्द्धग्रस्त सिरियाका ५० लाख रूपैयाँभन्दा बढी मानिसले कष्टकर जिवन विताइरहेको राष्ट्रसंघले जनाएको छ । तीमध्ये विभिन्न समुहद्धारा नियन्त्रित क्षेत्रमा बसोबास गर्ने १० लाखभन्दा बढीको अवस्था झन् नाजुक बन्दै गएको पनि पाइएको छ । हाल सिरियामा कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण पनि खाद्य सामग्रीहरु अभाव भएको हो । कैयौं सिरियालीहरुलाई तत्कालै दाता समूह, संयुक्त राष्ट्रसंघ आदिले खाद्यान्न प्रदान गर्ने काममा राम्रोसँग नहेर्ने हो भने यसले यहाँका लाखौंलाख नागरिकलाई समस्यामा पार्ने निश्चित देखिएको ती दाताहरुले जनाएका छन् । रासस/एएनआई
अधिवेशनकाे कार्य तालिकामाथि छलफल गर्दै
काठमाडाैं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ । काँग्रेसको दिउँसो बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो । सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो । तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नविकरण कार्य स्थगित गर्नुपरेको थियो । काँग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका सार्वजनिक गरिएको थियो । रासस
काेराेना रोकथाममा प्रभावकारी काम गर्न स्वास्थ्यमन्त्रीकाे ध्यानाकर्षण
काठमाडाैं । नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर सो ध्यानाकर्षण गराएको हो । प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टिन व्यस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शि बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ । काँग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हुँदै जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ । भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताए । साथै उनले पीसीआर परीक्षण हाल दैनिक आठ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए । सहमहामन्त्री डा महत नेतृत्वको प्रतिनिधिमण्डलमा नेताहरु एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी थिए । प्रतिनिधिमण्डलले आजै अपरान्ह दुई बजे अर्थमन्त्रीसँग कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा छलफल गर्न भेट्ने कार्यक्रम रहेको जनाएको छ । रासस
दीर्घकालिन रुपमा अनलाईन कक्षा चलाउने हो भने शिक्षा सस्तो हुन्छ-गोपाल खनाल
गोपाल खनाल, कार्यकारी निर्देशक -नेपाल मेगा कलेज कोभिड १९ को महामारी र लकडाउनका कारण नेपालको शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ । स्कूल तथा कलेजका संचालक, यस क्षेत्रका शिक्षक, कर्मचारी, विद्यार्थी सबैलाई यसले प्रत्यक्ष रुपमा असर गरेको छ । सबै समस्या व्यवस्थापन गर्ने अन्तिम जिम्मेवारी शैक्षिक संस्थाका सञ्चालकहरुको नै हो । उनीहरु के गर्दैछन् ? मेगा कलेज, स्वस्तिक कलेज, मेगा स्कूलका कार्यकारी निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ शिक्षा तथा सिप विकास समितिका सभापति गोपाल खनालसँग यहि विषयमा केन्द्रीत रहेर कुराकानी गर्दैछौं । कोरोनाको कारण शिक्षा क्षेत्रको क्यालेन्डर कति प्रभावित भएको छ ? तपाईले यसको व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ? कोरोना भाईरसले विश्वबजार हल्लाएको छ । नेपालमा पनि लकडाउन भएको करिब १ सय दिन पुगेको छ । शिक्षण शंस्थाहरु लकडाउन हुनुअघि नै बन्द भएका छन् । त्यसैले यतिबेला शिक्षण संस्थाहरु शैक्षिक क्यालेनडरको आधारमा चल्न सकेका छैनन् । केही सीमित शैक्षिक संस्थाहरु अनलाईन कक्षाहरुबाट पढाईरहेका छन् तर त्यसले हामीलाई खासै प्रतिफल दिन भने सक्दैन । किनभने नेपालमा टेक्नोलोजीलाई हामीले सबै बालबालिकाको पहुँचमा पुराउन सक्ने अवस्था छैन । यति धेरै अस्तव्यस्त हुँदाहुँदै पनि जिम्मेवार निकायहरुले शिक्षालाई नजरअन्दाज गरेको, यसलाई अगाडि कसरी बढाउने विषयमा खासै वास्ता नगरेको निजि क्षेत्रले महसुश गरेको छ । शिक्षामा अभिभावक, संचालक वा विद्यार्थी मात्र संलग्न छैन । यो पुरा राष्ट्रको भविष्य कता मोडिने विषयसँग सम्बन्धित छ । नेपालको परिवेशमा हेर्दा शिक्षामा निजी क्षेत्रको संलग्नता नहुने हो भने शिक्षा सरकारको काबुभन्दा बाहिर जाने देखिन्छ । तर यो अवस्थामा कुनै पनि सरकारी तहबाट शिक्षालाई यसरी लैजाउ भनेर केही पनि भनिएको छैन । उहाँहरुले हचुवाको भरमा शैक्षिक संस्थालाई शुल्क नलिदिन आग्रह मात्र गरिरहनु भएको छ । कोरोनाभाईरसले नर्सरीदेखि मास्टर्स तहसम्मका विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई कस्तो असर गरेको छ ? अहिलेको अवस्थामा नर्सरीहरुमा पढ्ने बालबालिकाहरु त सम्पर्कमा नै छैनन् । १ देखि ५ कक्षाको विद्यार्थीहरु अंशिक रुपमा अनलाईन कक्षामा चलेका छन् । ६ देखि १० कक्षासम्मको पढाई तुलनात्मक रुपमा अनलाईबाट केही राम्रो छ । प्लस टु को विषयमा केही टुंगाे लागेको छैन । कक्षा ११ का विद्यार्थीहरुलाई कसरी अगाडि जाने भन्ने विषयमा केही पनि निर्णय नै आएको छैन । कक्षा १२ को पनि त्यही छ जसको कारण अहिले हामी सबै सम्पूर्ण शिक्षा क्षेत्र मर्कामा परेका छौं । ब्याचलर वा मास्टर तहको अनलाईन कक्षाहरु प्रभावकारीरुपमा चलेका छन् । यो अवस्थामा शैक्षिक संस्थाहरु संचालन गर्न कस्ता समस्या परेका छन् ? एक त हामीले अहिले शारिरीक रुपमा उपस्थिति भएर कक्षा संचालन गर्न सकेका छैनौं । अभिभावक र विद्यार्थीहरुसँग हाम्रो कुनै पनि प्रकारको प्रत्यक्ष भेट हुनसकेको छैन । हामीहरु केही प्रतिशत अभिभावकहरुसँग सम्पर्कमा रहेका छौ तर सबैसँग हुन सकेका छैनौंं । अनलाईन मार्फत बढिमा २५ प्रतिशत विद्यार्थीहरु मात्र पहुँचमा रहेका छन् । त्यो २५ प्रतिशतलाई मात्र अध्यन अध्यापन गराएर हाम्रो जिम्मेवारी पुरा हुँदैन । हामीसँग विदेशमा जस्तो पूर्वाधारहरु छैनन् । हाम्रा कक्षाकोठा उनीहरुका जस्तो ठूलो छैनन् जहाँ हामी विद्यार्थीहरु टाढा टाढा राखेर पढाउन सक्छौं । यहाँ हाम्रो हिजोको पूर्वाधारहरु निर्वाहमुखी रहेका छन् । त्यो अहिलेको अवस्थालाई परिपूर्ति गर्ने हाम्रो पूर्वाधारहरु तयारी अवस्थामा छैनन् । त्यसैले अहिलेको महामारीको अवस्थामा हामी कक्षा संचालन गर्न सक्ने अवस्थामा छैनौं । उपत्यकाबासीसँग प्रविधिको पहुँच रहेको छ । यस्तो अवस्थामा राजधानीका स्कूल कलेजका कक्षाहरु अनलाईनबाट सञ्चालन गर्न के समस्या छ ? सबै विद्यार्थीहरु काठमाडौंमा बसेर पढे पनि उनीहरु सबैजना काठमाडौंका हैनन् । विद्यालयहरु बन्द भएपछि भाडामा बसेका विद्यार्थीहरु र अभिभावकहरु आफ्ना जिल्ला फर्केका छन् जसले गर्दा उनीहरुमा पहुँचमा कही समस्या आएको छ । काठमाडौंमा रहेको अवस्थामा भने अनलाईन कक्षामा सामेल हुन केही समस्या पनि छैन । त्यस्तै अनलाईन कक्षाहरुसँग अभिभावकहरु पनि खासै सन्तुष्ट नभएको पनि देखिन्छ । हिजोको संस्कारबाट हिँडेको हामीहरुलाई अनलाईन कक्षाबाट सिक्नलाई धेरै समस्या भईरहेको छ । वर्षौदेखि चलिआएको संस्कार ३ महिनामा बदलिँदा धेरैलाई सहज भएको छैन । भनेपछि सरकारले अनलाईन कक्षा नचलाउ र मासिक शुल्क नलिए भनेर जारी गरेका निर्देशन सही र यर्थाथपरक छन् ? विद्यार्थीहरुलाई पढाईसकेपछि शैक्षिक संस्थाले जिम्मेवारी पुरा गरेको अवस्थामा शुल्क नर्तिनु भन्नु कतिको जायज हो ? जस्तै भारतको पन्जाब, हरियाणा, दिल्लीमा शिक्षकहरुको केही पनि तलब नकाट्नु, विद्यार्थीहरुसँग अतिरिक्त शुल्क नलिएपनि शैक्षिक शुल्क लिनु भनेर भनेका छन् । तर हाम्रो नेपालको हकमा भने शिक्षक कर्मचारीको मासिक तलब पनि दिनु र शैक्षिक शुल्क पनि नलिनु भनिएको छ । त्यसरी हामी शैक्षिक संस्था कसरी अगाडि बढ्छौ ? हाम्रो त विद्यार्थीको शुल्क बाहेक आय श्रोत केही पनि हुँदैन ।यसले समाधान तर्फभन्दा पनि शिक्षा क्षेत्रलाई उल्टै अराजकतर्फ बढाएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीहरु अनलाईन कक्षामा सामेल हुनपाईरहेका छैनन् भन्नुभयो । त्यसलाई आधार मान्ने हो भने सरकार सहि जस्तो देखिन्छ नि ? सानो तहमा अध्यन गर्ने विद्यार्थीहरुमा लेखनको अभ्यास छ । उनीहरुलाई अनलाईन कक्षा कम प्रभावकारी हुन्छ । तर माथिल्लो तहमा भने उच्च शिक्षाका विद्यार्थीहरुलाई अनलाईन प्रविधिलाई सजिलै अंगाल्न सक्छन् । उनीहरुले शिक्षकले पढाएको रेर्कड गरेर पूर्ण सुन्न सक्छन् । सरकारले कुनै पनि प्रकारको निर्णय गर्न सकिरहेका छैन । अनलाईन कक्षाकै नाममा सबैलाई भुलाएर राखेका छन् । शुल्क नलिनुभन्दै गर्दा अभिभावकहरुले पनि अनलाईन कक्षाकाे काम छैन भन्ने बुझ्रनु र पन्छिन खोजेको देखिन्छ । अभिभावकको चाहना के छ त ? अनलाईन कक्षाको नाममा केही ठूला शैक्षिक संस्थाहरुले शुल्क उठाएका छन् तर धेरै शैक्षिक संस्थाले यसको शुल्क लिएका छैनन् । केहीले मासिक शुल्कहरु मागेका छन् र लिएका छन् । ठूला विद्यालयहरुले लिएको शुल्कमा केही आपत्ति छैन तर जब मध्यम वर्गका विद्यालयहरुले शुल्क लिने कुरा गर्छन तब अभिभावकहरु पैसा नदिने र कक्षा संचालन गर्नुपर्दैन भन्ने गरेका छन् । १० देखि २० प्रतिशत अभिभावकहरुले मात्र पैसा तिर्नेलाई राजी रहेको अवस्था छ । तपाईहरुले चैत यता शुल्क लिनुभएको छ कि छैन ? हामीले चैतको ५ गते यता कुनै पनि विद्यार्थीहरुसँग कुनै पनि प्रकारको शुल्क लिएका छैनौं । यस अवधिमा तपाईहरुले कर्मचारी शिक्षकहरुलाई तलब कसरी दिईरहनुभएको छ ? कसरी भाडाहरु तिरिरहनु भएको छ ? हामीले हाम्रो सबै प्रकारको दिईनुपर्ने तलब, भाडाहरु सबै बुझाईसकेका छौं तर त्यसयता बैशाख र जेठको भने हामीले केही पनि गर्न सकेका छौं । हामीले एकदमै न्यूनतम शुल्क लिएर तलब दिने भनेका थियौं तर माथिबाट त्यस्तो नर्गन आदेश आएपछि हामीले त्यसलाई पनि रोकेर राखेका छौं । यो अवस्था कहिलेसम्म चल्छ ? यो कहिलेसम्म चल्छ भन्ने हामी केही भन्न सक्दैनौं । राज्यले एउटा निकास नदिएसम्म हामीले केही पनि गर्न सकदैनौं । सरकारले निर्णय गरेन भनेर तपाईहरु जस्तो जिम्मेवार संस्थाले विद्यार्थी, अभिभावक र कर्मचारीप्रतिको जिम्मेवारीबाट भाग्न पाउनुहुन्छ ? हामी कुनै पनि तरिकाबाट यसबाट भाग्न पाउन्नौं । हामीले शिक्षक र कर्मचारीहरुलाई अहिले दिन नसकेको तलबहरु परिस्थित मिलाएर दिन्छौं भनेका छौं । फेरी जिम्मेवारीबाट भाग्नलाई हामीले कर्मचारी कटौती गर्नुपर्यो तर आज अचानक आएर हामीले त्यो पनि गर्न सक्दैनौं किनभने उहाँहरुले हिजोसम्म त हामीहरुलाई सेवा दिईरहनु भएको थियो । भर्खरै २ महिना हुँदैछ । हाम्रो यस विषयमा छलफल हुँदैछ । तपाई आफैं पनि प्याव्सन र एनप्याव्सनभन्दा ठूलो संस्थामा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा हुुनुहुन्छ । शिक्षा तथा शिप विकास समितिको सभापति हुनुहुन्छ । तपाईले त्यहाँबाट आफ्नो आवाज किन उठाउन सक्नुभएन ? आज सबैभन्दा प्रभावित भएको क्षेत्र भनेको शिक्षा क्षेत्र हो । हामीले हाम्रो हरेक तहबाट कुराहरु उठाएका छौ तर सरकार अहिले एकोहोरो भएको छ । सरकारले अहिले शिक्षा क्षेत्र निजीले नचलाईदिए पनि हुन्थियो भन्नेतर्फ लागिरहेको छ । यदि सरकारले चलाएर देखाउन सक्ने भए हामी छोडिदिन्थ्यौंं तर त्यो अवस्था पनि छैन । सरकारले हामीलाई न त कुनै प्रकारको अनुदान दिएको छ बरु हामीले उल्टै सरकारलाई करहरु बुझाएका छौं । त्यससँगै सरकारलाई १० प्रतिशत छात्रवृति पनि प्रदान गरेका छौं । सबैभन्दा कम नाफा लिने संस्था पनि शिक्षा क्षेत्र नै छ । त्यसमा पनि नाफामा २५ प्रतिशत कर पनि तिरेकै छ । तर शिक्षा क्षेत्रको बुद्धिजिवीहरुको कुरा सुन्दा शिक्षा क्षेत्र निजीकरण भयो, व्यपारीकरण भयो, विद्यार्थी र अभिभावकहरु मारमा परे भन्ने कुरा छ । के यो सबै कुरा मिथ्या हुन् ? मलाई यो सबै राजनीतिक स्वार्थको लागि लगाईएको नाराहरु हुन् जस्तो लाग्छ । म आजभन्दा १५ वर्ष अगाडि शिक्षा क्षेत्रमा प्रवेश गरेको हुँ । सरकारले एउटा विद्यार्थीको लागि ४० हजार खर्च गरेको अवस्था छ सामुदयिक विद्यार्थीको हकमा तर हाम्रो त एक विद्यार्थीबाट त्यति शुल्क लिने अवस्था नै छैन । सबैले शिक्षा क्षेत्रलाई विभिन्न आरोप लगाउँदै गर्दा त्यो समाधानको उपाय होईन भन्ने उहाँहरु बुझ्नुहुन्न । शिक्षाले मानिसको जीवनमा पारेको प्रभावबारे तपाई आफैंले पनि अडकल लगाउन सक्नुहुन्छ । सरकारले हामीलाई कि त हातेमालो गरेर जाउँ भन्नुपर्यो कि त आफू गर्न सक्छौं भनेर देखाउन पर्यो । हामीले सरकारले गर्न सकेको अवस्थामा पक्कै पनि केही गर्ने सक्दैनौं । त्रिभुवन विश्वविद्यालयमा एमबिए पढ्न पाए के विद्यार्थीले अन्त पढ्छ त ? पक्कै पनि पढ्दैन किनभने त्यहाँको उत्पादन राम्रो छ । यस्तो राम्रो व्यवस्था सरकारले सबै तहमा गर्न सक्ने हो भने मात्र निजी क्षेत्र पछाडि हट्नुपर्ने हुन्छ । कोभिड–१९ को अन्त्यपछि विशेष गरेर निजी क्षेत्रका शैक्षिक संस्थाले आफूलाई कसरी अगाडि बढाउँलान् ? कोभिड–१९ अन्त्य नहुँदासम्मको निकास अनलाईन कक्षा नै हो । अनलाईन कक्षालाई सरकारले व्यवस्थित बनाउनु पर्दछ र कति शुल्क लिने त्यो पनि तोकिदिनुपर्दछ किनभने सरकारले शुल्क पनि नलिनु र शिक्षकहरुलाई पनि तलब दिनु भनेर हामीलाई भन्न सक्दैन । यसरी अनलाईन कक्षामा गईसकेपछि शुल्क पनि त घट्छ होला नि ? हामीलाई अहिले नै यति शुल्क दिनुपर्छ भन्ने अवस्था छैन । यही डिजिटल कक्षा २–३ वर्षसम्म गयो भने त शुल्क धेरै नै घट्छ । हामीले यसलाई छोटो अवधिको प्रयोगको लागि कुरा गरेका हो । तर यसलाई लामो समयसम्म लैजान हामीले सक्दा पनि सक्दैनौं । तपाई मेगा बैंकको सञ्चालक पनि हुनुहुन्छ । नेपालको परिवेशमा बैंकहरुले शिक्षा क्षेत्रमा किन कर्जा लगानी गर्दैनन् ? नेपालको शिक्षा क्षेत्रमा बैंकहरुले लगानी नगर्नुको केही यस्ता कारणहरु छन् । उदाहरणको लागि मैले भारतमासँग नेपालको अवस्थाको बारेमा दाँज्दा त्यहाँका शैक्षिक संस्थाहरु निकै भव्य रहेका छन् जुन नेपालमा निकै नै कम रहेको छ । नेपालमा शिक्षकहरु ऋण लिन खोज्दैनन् । उनीहरु व्यपारीको जस्तो सोच्दैनन् । ऋण लियो भनेपछि गएर समस्या पर्छ भन्ने उनीहरुको सोच्छन् । यही कारण पनि बैंकहरुको शिक्षामा लगानी कम भएको हुनुपर्दछ । शिक्षा क्षेत्रमा खास ऋण लिनेको संख्या निकै नै कम रहेको छ र शिक्षा क्षेत्रमा ऋणहरु पनि खासै डुबेको पाईदैन । तर शैक्षिक संस्थाका सञ्चालकहरुले बैंकहरुबाट ऋण नपाईरहेको गुनासो गर्छन नि ? अन्य बैंकले के गरे भन्दा पनि हामी के गछौं भन्ने कुरालाई म प्रष्ट पार्न चाहान्छु । हामीले शैक्षिक संस्थालाई ५० लाखदेखि डेढ करोड ऋण बिनाधितो दिने गरेका छौं । यस्तै मेगा बैंकका प्रत्यक शाखाले प्रत्येक वर्ष एक बालिकालाई निःशुल्क पढाईदिने गरेका छौं । हाम्रो सीईओ महिला नै हुनुहुन्छ र हाम्रा प्रत्येक शाखाले एक एकजना बालिकालाई निःशुल्क पढाउने गर्दछ । हाम्रा २ सयभन्दा बढि शाखाले यस कामलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ । तपाई शिक्षा, बैंकिङ र प्रकाशन गरेर तीन भिन्न व्यवसायमा संलग्न हुनुहुन्छ । यो व्यवसायहरुमध्ये सबैभन्दा सुरक्षित र जोखिम व्यवसाय कुन हो जस्तो लाग्छ तपाईलाई ? ती तीनै व्यवसायको कुरा गर्नुपर्दा बैकिङ क्षेत्र सबैभन्दा सुरक्षित रहेको छ र प्रकाशनको क्षेत्र अस्तव्यस्ता रहेको छ । मैले पब्लिकेशनको व्यवसाय गर्दा ६ देखि ७ वटा मात्र यस्ता व्यवसाय थियो तर अहिले यसको संख्या १ सयभन्दा माथि पुगेको छ । जबकी यस्ता उत्पादनशिलता कम भएको व्यवसायमा लगानी भईरहेको छ भने यसमा प्रतिस्पर्धा स्वस्थ छैन । यता शिक्षा व्यवसाय भने आनन्द दिने व्यवसाय हो । आफ्ना विद्यालय, कलेजमा पढेका विद्यार्थीहरुले राम्रो गर्नसक्दा निकै नै खुशी र आनन्द लाग्दोरहेछ । बैंक सुरक्षित व्यवसाय किन हो भनेर भन्छु भन्दा बैंकलाई राष्ट्र बैंकले निकै कडा रुपमा निगरानी गरेको हुन्छ । यसमा कुनै पनि नियम विपरितका कामहरु हुँदैनन् । यसरी हेर्दा नेपालमा बैंकको भविष्य निकै नै राम्रो रहेको छ ।
नेप्सेमा लाग्याे पुनः सर्किट ब्रेक, अब कति बजे खुल्छ काराेबार ?
काठमाडौं । मंगलबारको बजार अस्वभाविक रुपमा बढेपछि पुनः सर्किट ब्रेक लागेको छ । नेप्से निरन्तर रुपमा ५ प्रतिशत भन्दा बढीले उकालो लागेसँगै बजारमा पुनः सर्किट ब्रेक लागेको हो । दिउँसो १२ बजेर १७ मिनेटजाँदा परिसूचक ५ प्रतिशतभन्दा बढेकोले दोश्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित हुने भएको छ । अब सेयर बजार पुनः १२ बजेर ५७ मिनेटमा खुल्ने छ । बजारमा पहिलो एक घण्टा नबित्दै सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट कारोबार स्थगित भएपछि खुलेको बजारमा पनि परिसूचक निरन्तर रुपमा बढेपछि पुनः सर्किट ब्रेक लागेकाे हाे । नेप्से परिसूचक डेढ घण्टामा ५९.८७ अंकले उकालो लागिसकेको छ । याे अवधिमा १२९ कम्पनीकाे १८ कराेड ८१ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भइसकेकाे छ । त्यस्तै, १० कम्पनीकाे सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ । होटल र म्युचअल फण्ड समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ५ सय ९१ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह २ सय ३७ अंकले र उत्पादनमूलक १ सय १२ अंकले बढेको छ । सम्बन्धित समाचारः नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटसम्म काराेबार स्थगित