विकासन्युज

संसद् सेवा दिवस : सभामुख र अध्यक्षबाट शुभकामना

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गरे । उक्त दिवसका अवसरमा लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अङ्गभङ्ग भएका योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो । उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइँदै आएको छ । जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रूपमाा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । उनले भने, “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ ।” कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै उनले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको स्पष्ट गरे । आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्न सक्छ भन्ने मान्यता रहिआएको छ । संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । विगतको सशस्त्र र शान्तिपूर्ण आन्दोलन तथा विभिन्न समयमा भएका परिवर्तन र सुधारका परिणामस्वरुप जनताले चुनेका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण भई कार्यान्वयनमा आएको घटनाको उनले स्मरण गराए । उनले सम्पूर्ण सङ्घीय सदस्य, संविधानसभा सदस्य, पूर्वसदस्य र राष्ट्रसेवक कर्मचारीलगायत सम्पूर्ण नागरिकमा संसद् सेवा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गराएका हुन् ।  रासस

औद्योगिक क्षेत्रमा पानी पस्यो, २ सय बिघा धान खेत डुबानमा

राजविराज । ४/५ दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति भएकोे औद्योगिक क्षेत्रले जनाएको छ । सरकारी उपेक्षाको मार खेप्दै आएको औद्योगिक क्षेत्रका केही उद्योगमा पानीसमेत पसेको जनाइएको छ । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउमा पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ । अविरल वर्षाले सप्तरीको दक्षिणी भेगकाको २ सय बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २ सय बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको बताए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सोमध्ये ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।  रासस

मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित

सर्लाही । सर्लाही जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् । सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका–१७ का किसान रमेश अधिकारीले गुनासो गरे । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागु गरिएको बन्दाबन्दीले सवारी साधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरु चिन्तित बनेका छन् । गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्री मूल्य भने गत वर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्ताले किसान पिरोलिन थालेका हुन् । बागमती नगरपालिका–८ शङ्करपुरका किसान भीमबहादुर कोइरालाले यस वर्ष एक हेक्टर क्षेत्रफलमा मकै लगाएका थिए । उनका अनुसार मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप कीटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढ्यो तर जारी बन्दाबन्दीका कारण सवारी साधन सञ्चालन नहुँदा बिक्री मूल्य घटेको हो । मकैमा दाना लाग्ने समयमा एकाएक मौसम बिग्रिएर हावाहुरीले मकैबालीमा नोक्सान पुर्याएका कारण उत्पादन समेत घटेको लालबन्दी नगरपालिका–१३ का किसान रामवीर तामाङले गुनासो गरे । हावाहुरी र असिना पानीका साथै फौजी किराको सङ्क्रमणका कारण मकै उत्पादन एकतिहाइले घटेको किसानहरुको भनाइ छ । चार क्विन्टलसम्म कट्ठाको मकै फल्ने खेतमा यस वर्ष तीन क्विन्टल मात्र फलेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बताए । “सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेको भए पनि मकैको समर्थन मूल्य नतोकेर राज्यले किसानलाई उपेक्षा गरेको छ”, अर्का किसान जङ्गबहादुर महतोले भने । राज्यले सामान्य समर्थन मूल्यसमेत नतोक्दा मकै खेती जुवा खेलेजस्तो बनेको उनको भनाइ छ । जिल्लाका किसानले ‘हाइब्रिड’ जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्र्याउने गरेका छन् । बाह्र हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६ सय मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेकोमा पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादन घटेको ज्ञान केन्द्रका निमित्त प्रमुख यादवले बताए ।  रासस

परिवार सवार जीप दुर्घटना, एकको मृत्यु

हेटाैंडा । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा.कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको छ । दुर्घटनामा धितालकी श्रीमतीको मृत्यु भएको छ भने जीपमा सवार सबै चारजना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ । धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परी धितालका छोरा अनुज र चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।  रासस

काेराेना भाइरसकाे स्राेत पत्ता लगाउन डब्ल्यूएचओ टोली चीन प्रस्तान

काठमाडौं । विश्व स्वास्थ्य संगठनले सोमबार कोरोना भाइरसको स्रोत पत्ता लगाउन टोली चीन पठाइरहेको बताएको छ । डब्ल्यूएचओले चेतावनी दियो कि कोभिड १९ विभाजित संसारको राजनीतिकरणको बीचमा डरलाग्दो अवस्था आउन बाँकी नै छ भन्ने डर छ । विश्वव्यापी महामारीको कारण हुने भाइरस कहाँबाट आएको हो भनेर पत्ता लगाउन डब्ल्यूएचओले अर्को हप्ता चीन पठाउँदै छ । मेको सुरुदेखि नै डब्ल्यूएचओले बारम्बार आफ्ना विज्ञहरुलाई बोलाउन चीनलाई भनेको छ, जसले कोरोना भाइरसको पशु स्रोत पत्ता लगाउन सहयोग पुर्‍याउँछ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अडानोम जिब्रियोसले एक भर्चुअल प्रेस सम्मेलनमा भने, ‘जब हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा हुन्छ, हामी यसलाई अझ राम्रोसँग लड्न सक्षम हुन्छौं । यो कहाँबाट आएको हो भन्ने पत्ता लगाउनु पर्छ । अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं र हामी आशा गर्छौं कि यसले भाइरसको उत्पत्ति बुझ्न मद्दत गर्दछ।’ यद्यपि उनले टोलीमा को हुने भनेर स्पष्ट पारेन, न त उनले आफ्नो लक्ष्य के हुने भनेर भने । वैज्ञानिकहरू विश्वास गर्छन् कि यो भाइरस जनावरबाट मानिसमा आएको थियो, सम्भवतः वुहानको बजारबाट, जहाँ असाधारण जनावरहरूको मासु बेचिन्छ । (बीबीसीकाे सहयाेगबाट)

प्रतिकिलो १ सय रुपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो १ सय रूपैयाँमा सलह खरिद गर्ने घोषणा गरे । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १ सयमा खरिद गर्ने बताए । “कसैले समाएर ल्याइदिए किलोको १ सयले, १ हजार किलोसम्मको १ लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेखे “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौं ।” कृषिविज्ञ राईले आइतबार फेसबुक स्टाटसमा लेखे, “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौं । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौं । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौं ।” उनले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गर्नुभएको छ । विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको भनाइ छ । ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ । “बालीनालीमा देखिएको छैन”, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले भने, “लगातार परिरहेको पानीले रोकेर घरको भित्तामा ओत लागेको हुन सक्छ ।” शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ । जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि जिल्लास्थित स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक बसेर नियन्त्रणको प्रयास थालिएको छ ।  रासस

बेलायती सरकारले लकडाउन नियमहरू कडा बनायो

काठमाडौं । बेलायतको लेस्टर शहरमा कोरोना भाइरसका घटना बढेपछि बेलायती सरकारले उक्त शहरमा स्थानीय लकडाउनको नियम कडा पार्ने घोषणा गरेकाे छ । संक्रमणको प्रसारको गतिलाई ध्यानमा राख्दै सरकारले यस शहरमा नयाँ प्रतिबन्धहरू लगाएको छ । यसको मतलब यो हो कि अब यस शहरमा पब, रेस्टुरेन्ट, र नाई पसलहरू आदि खोल्नको लागि यसले समय लिन सक्दछ । हालसम्म बेलायतमा ३ लाख ११ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ४३ हजार ५ सय ७५ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टा यता ८ जनाभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् भने २५ जनाभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  

डब्ल्यूएचओ प्रमुखले भने: काेराेना महामारीको सबैभन्दा खराब चरण आउन बाँकी छ

काठमाडाैं । विश्वभरि कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या १ करोड नाघेको छ । हालसम्म ५ लाख ७ हजार बढी मानिसहरू ६ महिना अघि मात्र फैलिएका कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । धेरै देशहरूमा स्वास्थ्य प्रणालीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यस महामारीको कारणले विश्वव्यापी अर्थतन्त्र एकदम खराब चरणबाट गुज्रिरहेको छ । तर विश्व स्वास्थ्य संगठनले यो महामारीको सबैभन्दा नराम्रो रूप अझै प्रकट भएको छैन भन्ने विश्वास गर्दछ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम जिब्रियोसले भने,  ‘यदि विश्वभरिका सरकारहरूले सही नीतिहरू अनुसरण गरेनन भने यसले भाइरस र मानिसहरूलाई संक्रमण गर्न सक्छ ।’ सोमबार भर्चुअल ब्रीफिंगमा टेड्रोस भन्छन, ‘हामी सबै चाहन्छौं यो अन्त्य होस् । हामी सबै आफ्नो दैनिक जीवनमा फर्कन चाहन्छौं। तर कटु सत्यता यो हो कि हामी यस महामारीको अन्तबाट अझै टाढा छौं ।’ “केहि देशहरूले प्रगति गरे पनि महामारीको गति विश्व स्तरमा बढ्दै गइरहेको छ। विश्वव्यापी रूपमा संक्रमणको १ करोडभन्दा माथिको घटना र ५ लाख बढी व्यक्तिको मृत्यु पछि पनि, विश्व स्वास्थ्य संगठनमा पहिचान गरेका समस्याहरू समाधान गरेनौं भने, जस्तै राष्ट्रिय एकता, विश्वव्यापी ऐक्यबद्धताको अभाव र विभाजित विश्व, जसले भाइरसलाई फैलाउन मद्दत गरिरहेको छ, तब खराब समय आउन बाँकी छ ।” टेड्रोसले जर्मनी, दक्षिण कोरिया र जापानको मार्ग अनुसरण गर्न आग्रह गरे । यसले यी देशहरूद्वारा निरन्तर परीक्षण र ट्रेसिंग समावेश छन् ।  (बीबीसीकाे सहयाेग)