विकासन्युज

कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा शुरू

काठमाडाैं । कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले १ करोड १० लाख रूपैयाँ खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सञ्चालन गरिएको हो । “कीर्तिपुरमा डायलाइसिस सेवा नहुँदा नगरपालिकामा रहेका मिर्गौलाका बिरामीलाई असहज भएको थियो, हामीले पहिलेदेखि नै डायलाइसिस सेवा सञ्चालन गर्नुपर्छ भन्दै आएका थियौं”, उनले भने, “नगरपालिकामा आवश्यकता देखेर नै नगरसभाले सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो, सभाको निर्णयअनुसार नै हामीले आवश्यक उपकरण किनेर सेवा सञ्चालनमा ल्याएका हौं ।” यही असार १४ गतेदेखि अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा शुरु गरिएको कीर्तिपुर अस्पतालका निमित्त निर्देशक डा पेरु प्रधानले बताए । “नगरपालिकाको सहयोगमा सेवा शुरु गरेका हौं, आइतबार र सोमबार दुई दिन सेवा प्रवाह गर्यौं, आजका लागि कोही आउनुभएको छैन”, उनले भने, “शुरुआती चरण भएकाले धेरैलाई थाहा नहुन सक्छ तर पनि हामीकहाँ १३ जनाले नाम टिपाइ सकेका छन् ।” उनका अुनसार अस्पतालले डायलाइसिस सेवाका लागि ११ कर्मचारी छुट्याएको छ । यसअघि नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स खरीद गरिसकेको छ । नगरवासीलाई सहज रुपमा सेवा प्रवाहका लागि ४८ लाख १५ हजार रूपैयाँ लागतमा नगरपालिकाले एम्बुलेन्स खरीद गरेको प्रवक्ता रिजालले जानकारी दिए । यसैगरी नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेसिन प्रयोग गरी प्रयोगशाला सञ्चालनको तयारी गरेको छ । नेपाल सरकारबाट स्वीकृति लिएर नगरपालिकाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण खरीद गरिसकेको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत सामान खरीद गरिएको जनाइएको छ ।  रासस

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ। साढे १० बजेदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा कुराकानी भएकाे बताइएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्रीओली राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेकपाभित्र विरोध भएको छ। नेताहरूले प्रधानमन्त्रीको भनाइबारे स्थायी समितिमा छलफल हुनुपर्ने बताएका छन्।

एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिबारे पुन विचार हुँदै

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ड नेपाल (एमसीए नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा रहेकाे छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुन विचार आवश्यक देखिएको छ । २०७७ असार १६ मा कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने हाम्रासामु देखापरेको अवस्था छ । एमसिए नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मिति प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडी बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पक्षसँग क्रियाशील रहेको छ । नेपाल कम्प्याक्टका सन्दर्भमा आमसञ्चार माध्यमले राख्दै आएको अभिरुचिप्रति सर्मपित भई यसको कार्यान्वयनप्रति पूर्ण प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटसम्म काराेबार स्थगित

काठमाडौं । मंगलबारको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको एक घण्टा नबित्दै परिसूचक ४ प्रतिशतले बढेसँगै नेप्सेमा सर्किट ब्रेक लागेको हो । सो दिन कारोबार खुलेदेखि सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । ११ बजेर ४८ मिनेट जाँदा परिसूचक ४ प्रतिशतले बढेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ । त्यस्तै, १२ बजेर ८ मिनेटपछि सेयर काराेबार पुनः सुचारू हुने छ ।

नेप्सेमा छायाे हरियाली, आधा घण्टामै ३२ अंकले बढ्यो परिसूचक

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएकाे छ । कारोबार शुरु भएको आधा घण्टामा नेप्से परिसूचक ३२ अंकले उकालो लागेको छ । ११ बजेर ३१ मिनेट जाँदा नेप्से परिसूचक ३२.२० अंकले बढेर एक हजार २ सय २० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७१ प्रतिशत बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा कूल एक सय कम्पनीको ८ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिसम्म एक लाख ५१ हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

हिमालय एयरलाइन्स र ह्वावेबीच एमओयूमा हस्ताक्षर, क्लाउड सेवा दिने

काठमाडौं । हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका छने । जाङ्ग फ्यान, नेपालमा चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार, वाङ्गपिङ्ग, तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागको उपमहानिर्देशक, जन गणतान्त्रिक चीन, जउ डन्जिन, ह्वावे एशियन प्यासिफिक क्षेत्र क्लाउडका अध्यक्ष र एआई व्यवसाय, र नेपालका अन्य उद्यमहरूका प्रतिनिधिहरूले यस अवसरमा ह्वावे अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरेर साक्षीको रूपमा भाग लिएका थिए । हिमालय एयरलाइन्सका अनुसार उहाँहरू ह्वावे, विश्वकै अग्रणी आईसीटी समाधान प्रदायकलाई छनौट गर्न धेरै खुसी छन्, जुन साझेदारको रूपमा संसार भरका विभिन्न उद्योगहरूको डिजिटल रूपान्तरणको समृद्धिमा अनुभवी छ र एक अर्काबीच योजनाबद्ध सहयोग सम्बन्धको निर्माण गर्दछ । हिमालय एयरलाइन्स डिजिटल रूपान्तरणको मुख्य चरणमा छ । ह्वावेसँग योजनाबद्ध साझेदारी स्थापना गरेर र यसका साझेदारहरूसँग इकोसिस्टममा सहयोग गरेर हिमालय एयरलाइन्सले आफ्नो डिजिटल रूपान्तरणको गति बढाउनेछ र कम्पनीलाई छिटो विकासको नयाँ चरणमा धकेल्नेछ । उन्नत डिजिटल टेक्नोलोजीको साथ नेपाल नागरिक उड्डयन उद्योगमा योगदान दिन नेपालको ह्वावे स्थानीय टोलीसँग मिलेर काम गर्नेछ । ह्वावेका प्रतिनिधिले भने कि ह्वावेको क्लाउड र एआई टेक्नोलोजीले हिमालय एयरलाइन्स मार्फत व्यवस्थापन र वित्तीय प्रणालीको डिजिटलकरणका साथै आन्तरिक दक्षता सुधार गर्न सकिन्छ । ह्वावे क्लाउड सेवा टोली र ह्वावे नेपाल स्थानीय समर्थन टीम दुवैको प्रतिबद्धताले हिमालय एयरलाइन्सको डिजिटल रूपान्तरण सुधार हुनेछ र कम्पनी नेपाली बजारमा अधिक प्रतिस्पर्धी हुनेछ । ह्वावेले हिमालय एयरलाइन्सलाई दुई कम्पनीको योजनाबद्ध सहयोगको शुरुवातको रूपमा क्लाउड सेवाहरू प्रदान गर्नेछ । २० को दशकको प्रारम्भदेखि कम्प्यूटिङ्ग उर्जा उत्पादकत्वको नयाँ स्रोत बन्न गएको छ, डाटा नयाँ कच्चा पदार्थ हुन् र प्लस एआई प्लस एफजी चाहीँ उत्पादनको नयाँ उपकरणहरु हुन् । कुनै शङ्का बिना नै क्लाउड सेवा नयाँ आदर्श बन्न पुगेको छ र नयाँ डिजिटल पूर्वाधारको रूपमा कार्य गर्दैछ जसले डिजिटल रूपान्तरणको गतिलाई तिव्र पार्दछ । हाल ५ सय ग्लोबल कम्पनीहरु मध्ये २ सय २८ र १ सय विश्वको शीर्ष उद्यमहरूमध्ये ५८ ले ह्वावेलाई डिजिटल परिवर्तनको लागि विश्वासिलो साझेदारका रुपमा चयन गरेका छन् । ग्लोबल नोड कभरेज र इकोसिस्टमको साथसाझेदार वा विकासकर्ताहरूले ह्वावे क्लाउड प्लस एआई, एफजी छन् र ठूलो डाटा जस्ता इन्टेलिजेन्ट अनुप्रयोगहरूको समर्थन गर्नको लागि सेवाहरू लिन सक्दछन् । आजसम्म, ह्वावे क्लाउडले २ सय भन्दा बढी क्लाउड सेवाहरू प्रदान गरेको छ जसमा १ सय ९० भन्दा बढी विशिष्ट उद्योग समाधानहरू वित्तीय सेवाहरू, ई-कर्मस, लजिस्टिक, स्वास्थ्य सेवा, शिक्षा र आदिबाट रहेको छ । ह्वावे क्लाउड उच्चप्रदर्शन र उच्च विश्वसनीयता उपकरणबाट बनेको हो जुन एआई चिपसेटले जडित छ । ह्वावे क्लाउडमा डाटा सुरक्षा र प्रयोगकर्ता गोपनीयता अनुपालन पहिले भन्दा बढी सुरक्षित भएको छ । तसर्थ, ह्वावे क्लाउडले सरकार, उद्यम र डिजिटल परिवर्तनमा क्यारियरलाई ठूलो फाइदा पुर्‍याउने छ । नेपालको इन्टरप्राइज आईटी सेवाहरूको भर्खरको अध्ययनबाट यो देखिन्छ कि ११ उद्योगहरूको ७४ प्रतिशत (मिडिया, मनोरन्जन, एयरलाइन्स, सामान्यखुद्रा, ईकमर्स, र आदि)उच्चउपकरणको लगानी घटाउन, जटिल मर्मत सम्भारबाट बच्न, सेवा विश्वसनीयता सुनिश्चित गर्न, आईटी सेवा डिजिटल गर्ने उपकरणको रूपमा क्लाउड सेवा छनौट गरेको छ । नेपाली बजारमा डिजिटल रूपान्तरण परामर्श र वितरण सेवाहरू उपलब्ध गराउनका लागि जनवरी २०२० माह्वावे नेपाल अफिसले क्लाउड एन्ड एआई स्थानीय टोली स्थापना गरेको छ जसले केवल स्थानीय सरकार, उद्यम र वाहकहरूलाई समर्पित सेवाहरू प्रदान गर्दछ ।

सुनकाे मूल्य घट्याे, ताेलाकाे कति ?

आज सुनकाे मूल्ले १ सय रुपैयाँले घटेकाे छ । हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको बताइएकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको छ। यस्तै, चाँदीकाे मुल्य यथावत रहेर प्रतितोला ९ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

विपद् व्यवस्थापन गर्न स्थानीय स्रोतको परिचालन गर्नुपर्ने माग

लम्की । विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणमा टीकापुर नगरपालिकाले स्थानीय स्रोतको परिचालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । सरोकारवालाले विपद्को जोखिमबाट बच्न व्यवस्थित, दीर्घकालीन योजना बनाएर विकाससँगै पर्यटन र समृद्धिको लागि काम गर्नुपर्ने माग गरेका छन् । जनतासँग मेयर–उपमेयर कार्यक्रममा स्थानीयले विपद्को सामना गर्न स्थानीयस्तरमा रहेका स्रोतको परिचालन गर्न नगरपालिकाले नीति बनाएर अघि बढ्नुपर्ने माग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका सभापति जगदीश्वर पण्डितले विपद्का बेला आइपर्ने समस्याको सामना गर्न नगरपालिकाको विपद् व्यवस्थापन कोषको रकम सदुपयोग गर्नुपर्ने बताए । “नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोषको रकम स्थानीय स्रोत प्रयोगमा खर्चिनुपर्छ”, पण्डितले भने, “स्थानीयस्तरमा नागरिकलाई विपद्को पूर्वतयारीमा रहनका लागि तालिम दिने, सुरक्षित रहने उपाय र उद्धारका लागि सिकाउन आवश्यक छ ।” विपद्को बेला दैनिक उपभोग्य सामानको अभाव हुने, महँगोमा किन्नुपर्र्ने र अभाव हुने समस्या झेल्नुपरेकाले नगरपालिकालाई आवश्यक सामग्री खरिद गरी भण्डारण गर्न पण्डितले सुझाव दिए । कैलालीको टीकापुर क्षेत्र हरेक वर्ष बाढीका कारण डुबान र कटानमा पर्छ । बर्सात शुरु भएपछि यहाँका नागरिकमा बाढीको त्रास शुरु भइसकेको छ । कैलालीको टीकापुर र भजनी नगरपालिकामा बर्सेनि सयौँ बिघा जमीन बाढीले कटान गर्दछ भने सयौं परिवारको बाढी आएमा सडकमा बास हुने गर्दछ । यस वर्ष टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले चैतदेखि नै कटान शुरु गरेको छ । नदीले ३ सय मिटर बढी बस्ती कटान गरिसकेको छ । “नदीले जमीन कटान बढाएको छ । नदी कटान यस्तै रहे यस वर्ष बस्ती डुबान हुने डर छ”, स्थानीय झपट बुढाले भने, “स्थानीय पालिकाले दीर्घकालीनसँगै स्थानीय बासिन्दालाई स्थानीयस्तरमै पाइने स्रोत प्रयोग गरी बाढीबाट बच्न तयार गर्नुपर्छ ।” उहाँका अनुसार बाढी आइहाले उद्धार तथा राहतका लागि सोही ठाउँका नागरिकलाई सक्षम बनाउन आवश्यक छ । सामुदायिक वन उपभोक्ता महासङ्घका नगर अध्यक्ष श्याम खत्रीले सामुदायिक वनलाई विपद्को बेला मानवीयहितमा सदुपयोग गर्न आग्रह गरे । डल्फिन संरक्षण केन्द्र बैदीका अध्यक्ष भोजराज ढुङ्गानाले विपद्को सामाना र विकासका लागि पर्यापर्यटनको विकासमा जोड दिनुपर्ने बताए । “वातावरण संरक्षण नहुँदा पनि विपद्को सामना गर्नुपरेको छ”, ढुङ्गानाले भने, “वातावरण संरक्षणका लागि टीकापुर नगरपालिकाले जलचर, थलचर प्राणीको संरक्षणमा जोड दिनुपर्छ । नगरकै योजनामा पर्यटकीय क्षेत्र विकासका लागि सीपलाई उपयोगितामा बदल्नतर्फ ध्यान दिनुपर्छ ।” विपद् व्यवस्थापन समितिका संयोजक तथा टीकापुर–६ का वडाध्यक्ष बलिराम चौधरीले विपद् व्यवस्थापन कोषको रकम अहिले कोरोना नियन्त्रणमा केन्द्रित भएको बताए । उनले विपद्को प्रकृतिअनुसार पीडितलाई राहत उपलब्ध गराउने कार्य, जोखिमको आँकलन, जोखिम भएका ठाउँमा उद्धारका सामग्री व्यवस्थापनजस्ता कार्य भइरहेका बताए । नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले विपद्को सामना गर्न वडा तथा नगरस्तरीय विपद् समिति निर्माण गरिएको बताए । “ती समितिलाई प्रशिक्षण, पूर्वतयारीका बारेमा जानकारीलगायत आपत्कालीन अवस्थामा सहयोग गरिरहेका छौँ”, विष्टले भने, “आगामी दिनमा नगरपालिका कार्यविधि बनाएर अघि बढ्नेछ ।” नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले विपद् व्यवस्थापनमा सामुदायिक वनलाई प्रयोग गर्ने बताए । “नगरपालिकाले वन वातावरण तथा जैविक विविधता संरक्षण गर्नका लागि ऐन बनाइरहेको छ”, नगरप्रमुख रावलले भने, “टीकापुर विपद्को जोखिममा रहेकाले वृक्षरोपण, सुरक्षित उच्च घर निर्माण, विकास र पर्यटनका लागि नगरको ध्यानाकर्षण भएको छ । गुरुयोजना बनाएर अघि बढ्ने तयारीमा छौं ।” रासस