काठमाडाैं । ट्याक्सी व्यवसायीहरुले जोर बिजोर प्रणालीका आधारमा ट्याक्सी सञ्चालन गर्नुपर्ने माग राख्दै सडकमा उत्रिएका छन् । उनीहरुले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै विराेध जनाएका हुन् ।
अखिल नेपाल ट्याक्सी मजदुर संघ र उपत्यका ट्याक्सी स्वरोजगार संघले सयुक्त रूपमा विरोध कार्यक्रम गरेका हुन्। काेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले ऋण थपियाे सरकार निन्द्रा लागेन, सम्पूर्ण ट्याक्सी व्यवसायी तथा चालक एकजुट हौं, कि काम देउ कि माम देउ भन्ने नारा लेखिएको प्लेकार्ड बोेकेर आन्दोलन गरेका छन् ।
ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफुहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।