बैंकहरुको नाफा सन्तुलित आयो, त्रासबाट फुत्कन सहकार्य गरौं- गभर्नर
कोरोना महामारीले विश्व नै त्रसित छ । आईएमएफले विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने बताएको छ । विश्वमा केही देशको अर्थतन्त्र २० प्रतिशतले संकुचन हुने देखिएको छ । विकसित अर्थतन्त्र ठूलो मारमा छन् । विश्वका अरु देशको अर्थतन्त्रको तुलनामा नेपालको अर्थतन्त्र कम प्रभावित भएको छ । अझै नेपालको आर्थिक वृद्धिदर सकारात्मक छ, ऋणात्मक भएको छैन । हामी धेरै हतोत्साहित भएका छैन । जतिबेला म गभर्नरको रुपमा राष्ट्र बैंक छिरेको थिए, त्यतिबेला हामी कोभिडको बीचमा थियौं, लकडाउनको बीचमा थियौं, आर्थिक अवस्थालाई व्यवस्थापन गर्ने, पुर्नउत्थान गर्ने ठूलो चूनौति थियो । एकातिर बैकिङ, वित्तीय क्षेत्रलाई सुचारु गर्ने जिम्मेवारी एकातिर, अर्कोतिर लकडाउन । समग्रमा व्यवसायिक गतिविधि ठप्प भएको, व्यवसायीहरुको मनोबल गिरेको अवस्थामा हामी काम गर्दै थियौं । अर्कोतिर म प्रति मानिसहरुको अपेक्षा बेसी छ, खासगरी मलाई चिनेकाबाट । यस पृष्ठभूमिकाे हामीले सबै क्षेत्रबाट सुझाव संकलन गर्यौं । निजी क्षेत्रका प्रतिनिधि मुलक संस्थाहरुबाट सुझावहरु लियौं । पत्रकारहरुले हामीलाई सोधेका प्रश्नहरुलाई पनि हामीले मनन् गर्यौं । नेपाल सरकारको बजेटलाई आधार मान्दै हामीले मौद्रिक नीति ल्यायौं । धेरैले मौद्रिक नीति मन पराउनुभयो । कतिपय समयमा राम्रो काम गर्दा पनि जस पाइदैन तर यस पटकको मौद्रिक नीति सबैले राम्रो भन्नुभएको छ । यसपछिको कार्यदिशमा हामी सबैको जिम्मेवारी छ । नीति राम्रो भएपछि त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ । कार्यान्वयन भएन भने कसका कारणले भएन, कुन कुर्सीमा बसेको व्यक्तिले काम गरेन, कसले धर्म निभाएन भनेर मिडियाका साथीहरुले पनि हेर्नुपर्छ । निजी क्षेत्रले पनि हेर्नुपर्छ । नीतिबाट लाभ पाउने पक्षले पनि हेर्नुपर्छ । विषय विज्ञहरुले पनि हेर्नुपर्छ । मौद्रिक नीतिले अहिलेको अवस्थालाई मात्र सम्बोधन गरेको छैन । कोभिड–१९को असर धेरै वर्षसम्म रहने हामीले देखेका छौं । तसर्थ हामीले २०औं वर्षपछिलाई हेरेर केही बुँदाहरु, केही विषयहरु मौद्रिक नीतिमा राखेका छौं । जलविद्युत क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयहरु, निर्यात प्रवद्र्धनसँग सम्बन्धित विषयहरु समग्र अर्थतन्त्रको दीर्घकालिन हित हेरेर ल्याइएको विषय हुन् । यसको कार्यान्वयनमा को बाधक छ ? त्यसभित्र कसको इन्ट्रेन्ट के हो ? कसले व्यक्तिगत स्वार्थ हेरेर काम गरेको छ, कसले देशको स्वार्थमामा काम गरेको छ ? यसमा पत्रकार साथीहरुले हेर्नुपर्छ, चिर्नुपर्छ । निजी क्षेत्र पनि त्यत्तिकै सक्रिय रुपमा लाग्नुपर्छ । हामी नियामक पनि लागीराख्नुपर्छ । भखर्रै नेपाल धितोपत्र बोर्डले बैंक तथा बित्तीय संस्थाले मर्जरमा गएका संस्थाले ढेड महिनाभित्र सेयर कारोबार शुरु हुनु पर्ने व्यवस्था गरेको छ । सबै नियामक मिलेर काम गर्यौ भने त्यसले पक्का पनि राम्रो नतिजा ल्याउने छ । हामीले अर्थतन्त्रलाई गति दिन, पुर्नउत्थान गर्न मौद्रिक नीतिबाट सक्दो प्रयास गर्यौं । पहिलाको लकडाउन अनलक भए पनि फेरि अर्को खालको लकडाउन भएको हो कि भन्ने त्रास व्यवसायिक क्षेत्रमा गएको छ । यस्तो त्रासलाई कसरी हटाउने भनेर हामीले सोचिरहेका छौं । यस्तो त्रासबाट फुत्कनको लागि थप सामान्जय, सहकार्य गरेर थप कार्य गर्नुपर्ने हुनसक्छ । हामीले गाह्रो मान्नु हुन्न । मैले पहिल्यै देखि भन्दै आएको छु–हामी सबै बाच्नुपर्छ । ग्राहक बाँचे भने बैंक रहन्छन् । मौद्रिक नीतिभन्दा अगाडि ‘फाइनान्सियल स्टाविलिटी र इन्डस्ट्रीप्रतिको फ्यासिलिटेशनबीचको ट्रेडअफ’ ठूलो चुनौतिको विषय थियो । हामीले धेरै मिहेनत गरेर एउटा सन्तुलनमा ल्याएका छौं । कतिपय ठाउँमा हामीले ऋणिलाई सहजीगरण गरेको छौं भने कतिपय ठाउँमा बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिदिएका छौं । २७ वटै बैंकले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुनै पनि बैंक घाटामा छैनन् । थोरै नाफा गर्नेले ४६ करोड रुपैयाँ नाफा गरेका छन् भने धेरै गर्नेले ४ अर्ब ४६ करोड पनि नाफा गरेका छन् । त्यसभित्रको प्रर्फमेन्स त व्यवसायको आकार, व्यालेन्सिटको साइज, कर्जाको अवस्था लगायतमा भरपर्छ । २ वटा बैंक बाहेक सबैले स्प्रेडरेट सीमाभित्र राखेका छन् । यो सितिमिति कुरो छैन । कुनै बैंकको रेट जाला कि भन्ने हामीलाई डर थियो । त्यो सबै कुरा म्यानेज भएको छ । शुरुमै विकासन्युजका प्रधान सम्पादक रामकृष्णजीले भन्नुभयो कि बैंक तथा वित्तीय संस्थाको नाफा, बीमा कम्पनीको नाफाप्रति धेरैले डाहा गर्छन । कमाईप्रति रिस गर्ने, डाहा गर्ने सोच, प्रवृतिको विकास हुनु राम्रो होइन । उहाँको भनाई प्रति म सहमत छु । अरुको कमाईप्रति नकारात्मक दृष्टि राख्नु हुन्न । हाम्रो माइण्डसेट नै सुधार गर्नुपर्छ । तर यतिबेला अत्याधिक नाफा देखिएको भए त्यसप्रति मानिसमा राम्रो सन्देश नजान सक्थ्यो । अहिले बैंकहरुको नाफा सन्तुलित छ, लेवल भित्र छ । कही कतै नमिलेको भए त्यसलाई मिलाउँदै जानुपर्छ । आजसम्म बैंकहरुको वित्तीय सूचकाङ्क राम्रो छ । हामीले निक्षेपको सुरक्षासँगै निक्षेपकर्ताले पाउने व्याज पनि उचित हुनुपर्छ भन्ने नीति लिएका छौं । त्यसैमा हामीले ध्यान दिएर नाफा वितरण सम्बन्धमा सन्तुलित नीति लिएका छौं । बैंकहरुको क्यापिटल एडेक्वसी, सम्पत्तिको गुणस्तर सबै राम्रो छ । दक्षिण एशियामा नै नेपालका बैंकहरुको एनपीए सबैभन्दा कम छ । यो हाम्रो सवलपक्ष हो । अन्त्यमा, विकासन्युज ६ वर्ष पुरा गरी ७ औं वर्षमा प्रवेश गरेको अवसरमा विकासन्युजका प्रमुख रामकृष्ण पौडेल र विकासन्युजमा आवद्ध सबै सञ्चारकर्मी साथीहरुलाई हार्दिक बधाई दिन चाहान्छु । विकासन्युजले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगितामा सहभागी सबै लेखकहरुलाई धन्यवाद दिन चाहान्छन् । प्रतिस्पर्धामा विजयी लेखकहरुलाई हार्दिक बधाई दिन चाहान्छु । धन्यवाद । (विकासन्युजले वार्षिकउत्सवकाे अवसरमा आयोजना गरेको भच्र्यूअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यक्त गर्नुभएको विचार)
एनआईसी एशिया लघुवित्तमा स्वदेशी लघुवित्त गाभिने, मर्जपछि २०५ शाखा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएको छन् । जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया र सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आइतबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्तहरुलाई मर्ज गर्ने नीति लिएपछि यी दुई संस्थाले मर्जरमा जाने समझदारी गरेका हुन् । गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी उक्त समझदारीपत्रमा एन आई सी एशिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुने एनआईसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । मर्जपछि देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने उनको भनाई छ । गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने, मर्जरको कार्य आगामी पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) बनेको उनले बताए । मर्ज हुने भएपछि दुबै संस्थाकाे सेयर काराेबार आइतबारदेखि नै बन्द भएकाे छ । गत विहीबार स्वदेशी लघुवित्तकाे सेयर प्रतिकित्ता ८०० रूपैयाँमा र एनआईसी एशिया लघुवित्त ७५९ रूपैयाँमा अन्तिम कराेबार भएकाे थियाे । नेपाल स्टक एक्स्चेन्जमा राखिएकाे विवरण अनुसार एनआईसी एशिया लघुवित्तकाे चुक्ता पुँजी १ अर्ब ४८ कराेड रूपैयाँ छ भने स्वदेशी लघुवित्तकाे चुक्ता पुँजी २७ कराेड ६० लाख रूपैयाँ रहेकाे छ ।
आज सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेवार ?
काठमाडाैं । आईतबार सुनकाे मुल्य २ घटेकाे छ । आईतबार प्रतिताेलाकाे मूल्य ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो । बुधबार ६ हजार २ सयले घटेकाे सुनकाे मूल्य बिहीबार २४ सय र शुक्रबार ८ सय रुपैयाँले बढेकाे थियाे । यस्तै, आज तेजाबी सुनकाे मुल्य पनि २ सयले घटेर प्रतिताेला ९७ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा काेराेवार भईरहेकाे छ ।
सिन्धुपाल्चोकमा भदाै १ गतेदेखि एक साता लकडाउन
सिन्धुपाल्चाेक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो। यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन। त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ। लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन्। अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।
भरतपुर अस्पतालका प्रमुखसहित ४ चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवन । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ । काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति विभागका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ । तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताएका छन् । उनले भने, “यो सङ्कटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ ।” जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना संक्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उनले बताए । अस्पतालका संक्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिएका छन् । गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले र उनकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका छन् । भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन् । तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।
सिन्धुपाल्चोक पहिरो: १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने
सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाएकाका परिवारले १ लाख पाउने विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ। एक लाख २५ हजार आर्थिक सहयोग जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ। सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो। सङ्घको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए। रासस
महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ८१७ प्रतिशतले बढ्यो, बीमा शुल्क ८६ करोड रुपैयाँ बढी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ८१७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ८७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो । कम्पनीको खुद नाफासँगै बीमा शुल्कमा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ८६ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले २५ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च ८ करोड ७७ लाख रुपैयाँबाट बढेर २७ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कूल लगानी ४० प्रतिशतले बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ भएको यस कम्पनीको जीवन बीमा कोषमा ८१ करोड ६ लाख रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा २५ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, जगेडा कोषमा ६८५ प्रतिशतले बढेर ८ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा कम्पनीले १२ हजार ४ सय ३६ वटा बीमालेख कायम गरेको छ भने ५ जनाको मृत्यु दावी भुक्तानी गरेको छ ।
विकासन्युज डटकमको छैठौं वार्षिकोत्सब सम्पन्न, स्वतन्त्र लेखनका विजयीलाई पुरस्कार हस्तान्तरण
काठमाडाैं । विकासन्युज डटकमले आज आफ्नो छैठौं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । आर्थिक समाचार पोर्टल विकासन्युजले आज आफ्नै कार्यालय बागबजारमा छैठौं वार्षिकोत्सव कार्यक्रमकाे आयोजना गरेको हो । सन् २०१४ अगष्ट १५ अर्थात २०७० साउन ३० गतेदेखि सञ्चालनमा आएको विकासन्युजले आर्थिक क्षेत्र सम्बन्धी समाचार सम्प्रेषण गर्दै आएको छ । वार्षिकोत्सव कार्यक्रममा संस्थाले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण समेत गरिएकाे थियाे । ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा राखिएको स्वतन्त्र लेखन प्रतियोगिताका विजयीहरुलाई संस्थाका अध्यक्ष रामकृष्ण पौडेल र प्रतियोगिताका निर्णायक मण्डल संयाेजक अर्थात मुटु रोग विशषेज्ञ प्रा. डा. भगवान कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रतियोगिताका निर्णायक डा. कोइरालाले कोरोना महामारीको समयमा कोरोना, कोरोनाले पार्न सक्ने आर्थिक क्षति, यसले निर्धारण गर्ने अबको बाटो सम्बन्धी लेख रचनाहरु पढ्न र मूल्यांकन गर्न पाउँदा खुसी महशुस भएको धारणा राखेका थिए । उनले लेखकहरुलाई अझै लेखनी यात्रालाई निरन्तरता दिन समेत सुझाए । प्रतियोगिताका विजयीहरुले विकासन्युजले प्रदान गरेको प्लेट फर्मप्रति आफूहरु धेरै खुसी भएको र आउने दिनहरुमा पनि लेख्न थप हौसला मिलेको प्रतिक्रिया दिएका थिए । प्रतियाेगितामा पुतलीबजार-३, स्याङ्जाका सुवास मल्ल प्रथम भई एक लाख रूपैयाँ राशीकाे पुरस्कार जितेका छन् । मल्लका प्रतिनिधि देवेन्द्र ढकालले पुरस्कार राशीकाे चेक र प्रमाणापत्र बुझेका छन् । काेराेना महामारी र सरकारले राजधानी छिर्न गरेकाे कडाइका कारण धेरै प्रयास गर्दा पनि आफू काठमाडाैं उपस्थित हुन नसकेकाे उनले बताए । ‘विकासन्युज डट कमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिता नेपाली लेखन जगतमा बहुप्रतिक्षित प्रतियोगिता थियो । यसमा सहभागी हुनु, छनौट हुनु र अझ सर्वोत्कृष्ट समेत हुने सौभाग्य प्राप्त हुनु मेरो लागि अविष्मरणीय क्षणका रूपमा जीवनभर रहिरहनेछ’ विकासन्युजलाई गरेकाे इमेलमा उनले भनेका छन्-‘ यहि प्रतियोगिताको आज आयोजना हुन गइरहेको पुरस्कार वितरण कार्यक्रममा सहभागी हुनका लागि म अत्यन्त इच्छुक हुँदाहुँदै पनि नेपाल सरकार गृह मन्त्रालयले देशभर अन्तर जिल्ला सवारी पास बन्द गरेको र मेरो हरसम्भव प्रयास समेत असफल हुन गएकोले कार्यक्रममा उपस्थिति हुन नसकेकोमा हृदयदेखि नै क्षमाप्रार्थी छु।’ प्रतियाेगितामा दाेस्राे स्थान हासिल गर्ने अविन ओझाले ५० हजार रूपैयाँ राशीकाे पुरस्कार र प्रमाणपत्र पाएका छन् । व्यास नगरपालिका-४, तनहुँका ओझा हाल अमेरिकामा रहेकाले उनी पनि पुरस्कार वितरण कार्यक्रममा उपस्थित नभएकाेले उनका प्रतिनिधि सुजनबाबु अधिकारीले पुरस्कार राशीकाे चेक र प्रमाणपत्र ग्रहण गरेका छन् । अमेरिकाबाट टेलिफाेनमा कुरा गर्दै उनले विकासन्युजले गरेकाे स्वतन्त्र लेखन प्रतियाेगिता नेपालकाे मिडिया क्षेत्रकाे लागि उदाहरणीय भएकाे बताए । यति ठूलाे राशीकाे पुरस्कार राखेर लेखन प्रतियाेगिता गर्नु, डा. भगवान काेइराला, बासुदेव अधिकारी, अच्युत वाग्ले जस्ता प्रबुद्ध व्यक्तिहरूलाई छनाैट समितिमा राखेर स्वतन्त्र मूल्याङ्कन गर्नु धेरै सन्देशमूलक भएकाे उनले बताए । प्रतियाेगितामा तेस्राे स्थान हासिल गर्ने पुतली बजार-८, स्याङ्जाकाे धनप्रसाद पाैडेलले २५ हजार रूपैयाँ राशीकाे पुरस्कार र प्रमाणपत्र पाएका छन् । पुरस्कार वितरण कार्यक्रममा बाेल्दै उनले यस्ता प्रतियाेगिताले लेखन क्षेत्रमा लाग्ने व्यक्तिहरूलाई उर्जा थप्ने, प्रतिभाकाे विकासमा सहयाेग गर्ने बताए । विकासन्युजमा सकारात्मक समाचारले बढी स्थान पाउने गरेकाे, आफू पहिलेदेखि नै नियमित पाठक भएकाे बताउँदै उनले आगामी दिन अझ सिर्जनात्मक कार्यमा लाग्न विकास मिडियालाई सुझाव दिए । प्रतियाेगितामा फुङ्गलिङ्ग ३, ताप्लेजुङका रमेश भट्टराईकाे निबन्ध सबैभन्दा बढी पाठक प्रतिक्रिया पाउने विधामा, बेथानचाेक २, काभ्रेका सन्ताेष तिमल्सिनाकाे लेख लाेकप्रिय विधामा उत्कृष्ट भएकाे छ। त्यस्तै रूपा गाउँपालिका ७, कास्कीका संजीव पाैडेलकाे रचना लेख विधामा उत्कृष्ट भएकाे छ । माेरङका तारा भट्टराईकाे रचना कविता विधामा उत्कृष्ट भएकाे छ । तारकेश्वर गाउँपालिका १, नुवाकाेटका गाेपाल खनालकाे रचना निबन्ध विधामा उत्कृष्ट भएकाे छ । बबियाखर्क, रामेछापका दिपेश कुमार घिमिरेकाे लेख सम्पादकीय छनाैट विधामा उत्कृष्ट भएकाे छ । उनीहरूलाई विधागत रूपमा उत्कृष्टताकाे प्रमाणपत्र, सामसुङकाे माेवाइल सेट र विजेताकाे परिवारका ४ जना सदस्यकाे प्रति व्यक्ति एक लाख रूपैयाँकाे दरले काेभिड बीमा पाेलिसी उपहार प्रदान गरिएकाे छ । यस्तै, विकासन्युजले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा कोभिड-१९ ले वित्तीय क्षेत्रमा पारेको प्रभाव सम्बन्धी भर्च्युल अन्तर्क्रिया कार्यक्रम समेत गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, अर्थशास्त्री अच्युत वाग्ले, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायत बैंक तथा वित्तीय क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देश र आर्थिक विकासका लागि मिडियाको भूमिका पनि महत्वपूर्ण हुने भएकोले सँधै दत्तचित्त भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले विश्व नै कोरोना भाइरसबाट त्रसित र अर्थतन्त्र नै संकटमा भएकोले अहिले कमाउने भन्दा पनि सबैले एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्ने बताए । ‘हामीले धेरै हतोत्साहित हुनु हुँदैन, हामी अहिलेसम्म वित्तीय अवस्थामा सकारात्मक नै छौं, अहिले सबै बैंकहरुको वित्तीय अवस्था पनि सकारात्मक नै छ, अझै व्यवस्थापन गर्दै जानु पर्नेछ,’ उनले भने । यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले सञ्चार माध्यमहरुका लागि पनि छुट्टै पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरसले सम्पूर्ण क्षेत्रलाई असर गरेको अवस्थामा मिडियाहरु पनि एकदमै प्रभावित भएको उनको भनाई छ । ‘सञ्चारमाध्यम देश विकास र सम्वृद्धिका लागि बोलिरहेका हुन्छन्, यो परिस्थितिमा मिडियालाई धेरै समस्या भइरहेको हामीले महसुस गरेका छौं, मिडियाको राजश्व नउठेका कुरा पनि आइरहेका छन्, उनीहरुले पनि बाँच्नु पर्छ,’ उनले भने । कार्यक्रममा विकास मिडिया प्रालिका अध्यक्ष रामकृष्ण पाैडेलले विकासन्युजले सँधै सन्तुलित र विश्वसनियतामा बढी ध्यान दिने भएकाेले अझै पनि यसमा पाठक, दर्शक र शुभचिन्तकहरुकाे साथ सल्लाह र सुझावकाे अपेक्षा रहेकाे धारणा राखे । उनले काेराेना महामारीकाे समयमा स्वतन्त्र लेखन प्रतियाेगिताकाे आयाेजना गर्दा पाठकहरुबाट धेरै राम्राे प्रतिक्रिया आएकाे र विजयी छनाेट पनि एकदमै सन्तुलित किसिमले भएकाे प्रतिक्रिया पाठकहरुबाट आएकाे बताए । साथै, उनले प्रतियाेगिताकाे विभिन्न विधामा विजयी हुने सबैकाे काेभिड बीमा पनि संस्थाकाे तर्फबाट गरी दिएकाे बताएका छन् । उनले आफुले भब्य किसिमले कार्यक्रम मनाउने मनसाय बनाएकाे भएपनि काेराेनाकाे कारण त्याे असम्भव भएकाे बताए । साथै, उनले आगामी दिनमा पनि सबैकाे साथ र सहयाेगकाे अपेक्षा राखेकाे बताए ।