
काठमाडाैं । विकासन्युज डटकमले आज आफ्नो छैठौं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । आर्थिक समाचार पोर्टल विकासन्युजले आज आफ्नै कार्यालय बागबजारमा छैठौं वार्षिकोत्सव कार्यक्रमकाे आयोजना गरेको हो ।
सन् २०१४ अगष्ट १५ अर्थात २०७० साउन ३० गतेदेखि सञ्चालनमा आएको विकासन्युजले आर्थिक क्षेत्र सम्बन्धी समाचार सम्प्रेषण गर्दै आएको छ । वार्षिकोत्सव कार्यक्रममा संस्थाले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण समेत गरिएकाे थियाे ।
‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा राखिएको स्वतन्त्र लेखन प्रतियोगिताका विजयीहरुलाई संस्थाका अध्यक्ष रामकृष्ण पौडेल र प्रतियोगिताका निर्णायक मण्डल संयाेजक अर्थात मुटु रोग विशषेज्ञ प्रा. डा. भगवान कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रतियोगिताका निर्णायक डा. कोइरालाले कोरोना महामारीको समयमा कोरोना, कोरोनाले पार्न सक्ने आर्थिक क्षति, यसले निर्धारण गर्ने अबको बाटो सम्बन्धी लेख रचनाहरु पढ्न र मूल्यांकन गर्न पाउँदा खुसी महशुस भएको धारणा राखेका थिए । उनले लेखकहरुलाई अझै लेखनी यात्रालाई निरन्तरता दिन समेत सुझाए ।
प्रतियोगिताका विजयीहरुले विकासन्युजले प्रदान गरेको प्लेट फर्मप्रति आफूहरु धेरै खुसी भएको र आउने दिनहरुमा पनि लेख्न थप हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।
प्रतियाेगितामा पुतलीबजार-३, स्याङ्जाका सुवास मल्ल प्रथम भई एक लाख रूपैयाँ राशीकाे पुरस्कार जितेका छन् । मल्लका प्रतिनिधि देवेन्द्र ढकालले पुरस्कार राशीकाे चेक र प्रमाणापत्र बुझेका छन् । काेराेना महामारी र सरकारले राजधानी छिर्न गरेकाे कडाइका कारण धेरै प्रयास गर्दा पनि आफू काठमाडाैं उपस्थित हुन नसकेकाे उनले बताए ।
‘विकासन्युज डट कमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिता नेपाली लेखन जगतमा बहुप्रतिक्षित प्रतियोगिता थियो । यसमा सहभागी हुनु, छनौट हुनु र अझ सर्वोत्कृष्ट समेत हुने सौभाग्य प्राप्त हुनु मेरो लागि अविष्मरणीय क्षणका रूपमा जीवनभर रहिरहनेछ’ विकासन्युजलाई गरेकाे इमेलमा उनले भनेका छन्-‘ यहि प्रतियोगिताको आज आयोजना हुन गइरहेको पुरस्कार वितरण कार्यक्रममा सहभागी हुनका लागि म अत्यन्त इच्छुक हुँदाहुँदै पनि नेपाल सरकार गृह मन्त्रालयले देशभर अन्तर जिल्ला सवारी पास बन्द गरेको र मेरो हरसम्भव प्रयास समेत असफल हुन गएकोले कार्यक्रममा उपस्थिति हुन नसकेकोमा हृदयदेखि नै क्षमाप्रार्थी छु।’
प्रतियाेगितामा दाेस्राे स्थान हासिल गर्ने अविन ओझाले ५० हजार रूपैयाँ राशीकाे पुरस्कार र प्रमाणपत्र पाएका छन् । व्यास नगरपालिका-४, तनहुँका ओझा हाल अमेरिकामा रहेकाले उनी पनि पुरस्कार वितरण कार्यक्रममा उपस्थित नभएकाेले उनका प्रतिनिधि सुजनबाबु अधिकारीले पुरस्कार राशीकाे चेक र प्रमाणपत्र ग्रहण गरेका छन् । अमेरिकाबाट टेलिफाेनमा कुरा गर्दै उनले विकासन्युजले गरेकाे स्वतन्त्र लेखन प्रतियाेगिता नेपालकाे मिडिया क्षेत्रकाे लागि उदाहरणीय भएकाे बताए । यति ठूलाे राशीकाे पुरस्कार राखेर लेखन प्रतियाेगिता गर्नु, डा. भगवान काेइराला, बासुदेव अधिकारी, अच्युत वाग्ले जस्ता प्रबुद्ध व्यक्तिहरूलाई छनाैट समितिमा राखेर स्वतन्त्र मूल्याङ्कन गर्नु धेरै सन्देशमूलक भएकाे उनले बताए ।
प्रतियाेगितामा तेस्राे स्थान हासिल गर्ने पुतली बजार-८, स्याङ्जाकाे धनप्रसाद पाैडेलले २५ हजार रूपैयाँ राशीकाे पुरस्कार र प्रमाणपत्र पाएका छन् । पुरस्कार वितरण कार्यक्रममा बाेल्दै उनले यस्ता प्रतियाेगिताले लेखन क्षेत्रमा लाग्ने व्यक्तिहरूलाई उर्जा थप्ने, प्रतिभाकाे विकासमा सहयाेग गर्ने बताए । विकासन्युजमा सकारात्मक समाचारले बढी स्थान पाउने गरेकाे, आफू पहिलेदेखि नै नियमित पाठक भएकाे बताउँदै उनले आगामी दिन अझ सिर्जनात्मक कार्यमा लाग्न विकास मिडियालाई सुझाव दिए ।
प्रतियाेगितामा फुङ्गलिङ्ग ३, ताप्लेजुङका रमेश भट्टराईकाे निबन्ध सबैभन्दा बढी पाठक प्रतिक्रिया पाउने विधामा, बेथानचाेक २, काभ्रेका सन्ताेष तिमल्सिनाकाे लेख लाेकप्रिय विधामा उत्कृष्ट भएकाे छ। त्यस्तै रूपा गाउँपालिका ७, कास्कीका संजीव पाैडेलकाे रचना लेख विधामा उत्कृष्ट भएकाे छ । माेरङका तारा भट्टराईकाे रचना कविता विधामा उत्कृष्ट भएकाे छ । तारकेश्वर गाउँपालिका १, नुवाकाेटका गाेपाल खनालकाे रचना निबन्ध विधामा उत्कृष्ट भएकाे छ । बबियाखर्क, रामेछापका दिपेश कुमार घिमिरेकाे लेख सम्पादकीय छनाैट विधामा उत्कृष्ट भएकाे छ ।

यस्तै, विकासन्युजले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा कोभिड-१९ ले वित्तीय क्षेत्रमा पारेको प्रभाव सम्बन्धी भर्च्युल अन्तर्क्रिया कार्यक्रम समेत गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, अर्थशास्त्री अच्युत वाग्ले, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायत बैंक तथा वित्तीय क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देश र आर्थिक विकासका लागि मिडियाको भूमिका पनि महत्वपूर्ण हुने भएकोले सँधै दत्तचित्त भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले विश्व नै कोरोना भाइरसबाट त्रसित र अर्थतन्त्र नै संकटमा भएकोले अहिले कमाउने भन्दा पनि सबैले एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्ने बताए ।
‘हामीले धेरै हतोत्साहित हुनु हुँदैन, हामी अहिलेसम्म वित्तीय अवस्थामा सकारात्मक नै छौं, अहिले सबै बैंकहरुको वित्तीय अवस्था पनि सकारात्मक नै छ, अझै व्यवस्थापन गर्दै जानु पर्नेछ,’ उनले भने ।
यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले सञ्चार माध्यमहरुका लागि पनि छुट्टै पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरसले सम्पूर्ण क्षेत्रलाई असर गरेको अवस्थामा मिडियाहरु पनि एकदमै प्रभावित भएको उनको भनाई छ ।
‘सञ्चारमाध्यम देश विकास र सम्वृद्धिका लागि बोलिरहेका हुन्छन्, यो परिस्थितिमा मिडियालाई धेरै समस्या भइरहेको हामीले महसुस गरेका छौं, मिडियाको राजश्व नउठेका कुरा पनि आइरहेका छन्, उनीहरुले पनि बाँच्नु पर्छ,’ उनले भने ।
कार्यक्रममा विकास मिडिया प्रालिका अध्यक्ष रामकृष्ण पाैडेलले विकासन्युजले सँधै सन्तुलित र विश्वसनियतामा बढी ध्यान दिने भएकाेले अझै पनि यसमा पाठक, दर्शक र शुभचिन्तकहरुकाे साथ सल्लाह र सुझावकाे अपेक्षा रहेकाे धारणा राखे । उनले काेराेना महामारीकाे समयमा स्वतन्त्र लेखन प्रतियाेगिताकाे आयाेजना गर्दा पाठकहरुबाट धेरै राम्राे प्रतिक्रिया आएकाे र विजयी छनाेट पनि एकदमै सन्तुलित किसिमले भएकाे प्रतिक्रिया पाठकहरुबाट आएकाे बताए ।
साथै, उनले प्रतियाेगिताकाे विभिन्न विधामा विजयी हुने सबैकाे काेभिड बीमा पनि संस्थाकाे तर्फबाट गरी दिएकाे बताएका छन् । उनले आफुले भब्य किसिमले कार्यक्रम मनाउने मनसाय बनाएकाे भएपनि काेराेनाकाे कारण त्याे असम्भव भएकाे बताए । साथै, उनले आगामी दिनमा पनि सबैकाे साथ र सहयाेगकाे अपेक्षा राखेकाे बताए ।