विकासन्युज

चितवनकाे क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उनले बताए । अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागका बहिरङ्ग सेवाबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्दछन् । विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् ।

चितवन मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति

चितवन । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ । न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए । कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उनले भने, “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएलस्तरको भनिने उनको भनाइ छ । प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताए । रासस

कर तिर्न कर कार्यालय जानै नपर्ने, ट्राफिक जरिवाना पनि मोबाइल बाटै

काठमाडौं । सानो सानो परिमाणको कर तिर्न पनि कर कार्यालयहरुमा घण्टौं लाइनमा लाग्नुपर्ने समस्या अब हट्ने भएको छ । बैंकमा नगद जम्मा गरेको भौचर कर कार्यालयहरुमा पेश गर्नुपर्ने अहिलेको परिपाटी परिवर्तन गरेर विद्युतीय भुक्तानीलाई मान्यता दिन लागिएको हो । महालेखा नियन्त्रकको कार्यालयले विद्युतीय भुक्तानीलाई मान्यता दिने गरी निर्देशिका बनाएर अर्थमन्त्रालयमा पेश गरेको छ । सो निर्देशिका मन्त्रिपरिषदबाट पारित भएपछि आफ्नो मोबाइल वा अन्य भुक्तानी वालेटबाट सरकारलाई बुझाउनु पर्ने सबै प्रकारका रकम तिर्न सकिनेछ । सानो परिमाणको कर तिर्न पनि बैंकमा गएर रकम जम्मा पार्नुपर्ने र त्यसको भौचर सम्बन्धित कर कार्यालय पेश गर्नुपर्ने व्यवस्था झन्झटिलो भएकोले करदातालाई सहजता प्रदान गर्न विद्युीय भुक्तानी प्रक्रिया अपनाउन लागिएको महालेखा निन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले जानकारी दिए । ‘कर तिर्ने अहिलेको परिपाटीप्रति धेरैले गुनासो गरेका छन्, करदाताले कर तिर्नको लागि बैंक वा कर कार्यालय जानै नपर्ने गरी प्रविधिको प्रयोग गर्न लागिएको छ, हामीले बनाएको व्यवस्थाले कानुनी मान्यता पाएर आएपछि मोबाइलबाटै वा अन्य डिजिटल वालेटबाट कर तिर्न पाइन्छ,’ सहमहालेखा नियन्त्रक शिवाकोटीले भने । सो निर्देशिका स्वीकृत भएर कार्यान्वयनमा आएसँगै सरकारी निकायहरुलाई तिर्नु बुझाउनु पर्ने सबै प्रकार कर रकम बुझाउन सकिने शिवाकोटीले जानकारी दिए । यस्तो व्यवस्थाले सानो परिमाणमा कर तिर्ने करदातालाई सहज हुने उनको भनाइ छ । ‘कसैलाई ३ हजार वा ५ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ, त्यस्ता व्यक्तिलाई बैंक हुँदै कर कार्यालयमा जाँदा धेरै खर्च लाग्ने गरेको छ, यो वाध्यता हटाएर करदातालाई सहजीकरण गर्नको लागि आफ्नो मोबाइलबाटै, भुक्तानी सेवा प्रदायक वा डिजिटल वालेटबाट कर तिर्न सकिने अवस्था बनाउन लागिएको हो,’ सहमहालेखा नियन्त्रक शिवाकोटीले थपे । महालेखाले आन्तरिक राजस्व विभागसँग समन्वय गरेर यस्तो प्रविधि कार्यान्वयमा ल्याउन लागेको हो । यो प्रविधि कार्यान्वयनमा आएपछि कर दाताले कर तिर्नुपर्ने सरकारी कार्यालयको खाता रहेको बैंकमा तोकिए अनुसारको रकम जम्मा गर्नेछन् । यसरी रकम जम्मा गरेपछि सो मोबाइल वा कम्प्युटरमा आउने निस्साका आधारमा कर कार्यालयहरुबाट कर तिरेको प्रमाण पाइनेछ । यस्तो व्यवस्थापछि ट्राफिक प्रहरीले सवारी चालकलाई गरेको कारबाहीको राजस्व तिर्न पनि मिल्नेछ । यस्तै, महालेखाले कर तिरेको जानकारी करदाताको मोबाइल नम्बरमा एसएमएस गरेर पठाउने तयारी पनि गरेको छ । यस्तो एसएमएसपछि आफूले कर तिरेको जानकारी प्राप्त हुनेछ ।

मकवानपुरमा भदाै ९ गतेसम्मकाे लागि पुनः निषेधाज्ञा

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाैँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको भए पनि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पुनः निषेधाज्ञा जारी गर्न बाध्यता भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले बताए । जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निषेधाज्ञा जारी गरिएअनुसार बाहेक जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गरिएको र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । उनका अनुसार, निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म सर्वसाधारणलाई आवश्यक खाद्यान्न, इन्धन, औषधिलगायत अतिआवश्यक वस्तु खरिद गर्न समय निर्धारण गरिएको र सर्वसाधारणले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक यातायात, निजी यातायात, र मोरटसाइकललाई निषेधाज्ञा जारी भएअनुसार सञ्चालनमा कडा रोक लगाइएको बताए । सो बैठकले मकवानपुरको मनहरि गाउँपालिका क्षेत्र पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत हेटौँडा उपमहानगरपालिका क्षेत्रका १ देखि १९ वटै वडासम्ममा सोही मितिसम्म निषेधाज्ञा जारी गरिएको आदेशलाई उल्लङ्घन गरेको पाएमा कानूनी कारवाही अघि बढाइने भएको प्रजिअ नेपालले जानकारी दिए । बैठकले मकवानपुर जिल्लाभर धार्मिक, सांस्कृतिक, विवाह, सभा–समारोह, जन्मोत्सव पर्वलाई निषेध गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दमकका सबै अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द

दमक । दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केहि दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना सब्जी व्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।

आज रातिदेखि दमकमा एक हप्ता बन्दाबन्दी

दमक । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूधका पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिईन् । बन्दाबन्दीका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारीस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताईन् । हिजो दमकमा एकैपटक सात जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । योसँगै दमकमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताईन् । यसअघि दमक उद्योग वाणिज्य सङ्घले पनि आज राति १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दमकसहित देशैभरि कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएपछि झापा, दमकका व्यवसायीले जोखिम हुन नदिन भन्दै पसल आफैँ बन्द गर्न थालेका छन् । दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिएसँगै यहाँका व्यवसायीले आफ्ना पसल, व्यवसाय स्वतःस्फूर्त बन्द गर्न थालेका हुन् । दमकको चौक आसपासका भिडभाड हुने स्थानका व्यापार तथा व्यवसाय सङ्क्रमण फैलिन नदिन भन्दै खनाल मार्केट पाँच दिनका लागि स्वतःस्फूर्त बन्द गर्ने निर्णय गरेका हुन् । रासस

पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताए । उनले भने “कोरोनाको महामारी फैलिएको छ । अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए । यस संगै प्रशासनले आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने भएको छ । त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको वरालले जानकारी दिए ।

नेशनल लाइफ इन्स्योरेन्सले साढे १७ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ३ अर्ब १५ कराेड नाघ्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नगद र बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (४६ करोड २३ लाख ९३ हजार रुपैयाँ) नगद लाभांश र २.५ प्रतिशत (७ करोड ७० लाख रुपैयाँ) बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।  २.५ प्रतिशत बाेनस पश्चात कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब १५ कराेड रूपैयाँ पुग्ने छ । सञ्चालक समितिको उक्त निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लागि सो मात्राको लाभांश पाउने छन् । प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लाग ०.१३ प्रतिशतका दरले ४० लाख ५६ हजार ८८ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने इन्स्योरेन्सले जनाएको छ ।