कामपा वडा नं १४ सिल
काठमाडाैं । काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ । वडा कार्यालयले स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने तथा अनावश्यक भीड गर्ने र पसल खोल्ने व्यवसायीलाई कारवाही गरिने व्यवस्था गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए । वडामा अहिलेसम्म ४२ कोरोना सङ्क्रमित फेला परेका छन् । कामपा कार्यालयसँग समन्वय गरी वडा कार्यालयले बल्खु, टेकुसीलगायत स्थानमा निःशुल्क पिसिआर परीक्षण गराएको तथा अन्य स्थानमा समेत परीक्षण बढाउन प्रयास गरेको वडाअध्यक्ष सापकोटाले बताए । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।
विपन्न कोरोना सङ्क्रमितकाे लागि सानेपामा ‘अक्सिजन बैंक’ स्थापना
काठमाडाैं । आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो । स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक गर्भनर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा उद्घाटन गरेका हुज् । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई आत्मासात् गरेको लाइन्स क्लबमा हाल नेपालभर एक हजार ५०० भन्दा बढी क्लब रहेका छन् । देशभरका एक हजार ५०० क्लबमध्ये एक क्लब लाइन्स क्लब अफ काठमाडौँ समर्पणमा ६० सदस्य आबद्ध छन् । लायन्स क्लब समर्पणका अध्यक्ष वंशल गम्भीर बिरामी परेका कोरोना सङ्क्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताउँछन् । “घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैंक’ स्थापना गरेका हौँ”, उनी भन्छन् । घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैंकमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ । अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैंकको स्थापनाले धेरै राहतको अनुभूति भएको बताइएको छ । लायन्स क्लब समर्पणले सानो ५० र ठूलो १५० सिलिन्डर बिरामीका लागि राखेको छ । सानो सिलिन्डरले चार घण्टासम्म र ठूलो सिलिन्डरले २० घण्टासम्म अक्सिजन दिन्छ । यस बैंकले अक्सिजन निःशुल्क प्रदान गर्ने भएकाले सिलिन्डर भने अक्सिजन सकिनेबित्तिकै अक्सिजन बैंकमा फिर्ता गर्नुपर्ने हुन्छ । माग बढ्दै जाँदा सिलिन्डरको क्षमतासमेत बढाउँदै लैजाने अध्यक्ष वंशलको भनाइ छ । आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उनले बताए । लाइन्स क्लब वी वानका ड्रिष्टिक गभर्नर कोरोना सङ्क्रमणका कारण देशमा समस्या परेको बेलामा सामाजिक सङ्घसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउँछन् । अक्सिजन बैंकका व्यवस्थापक एवम् लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्मा औषधि किन्न नसक्ने विपन्न बिरामीलाई समेत लायन्स क्लब समपर्णले औषधि किन्नलाई पनि सहयोग गर्ने बताउँछन् । तीस लाख खर्च गरेर उक्त बैंक स्थापना गरिएको हो । कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौँ समर्पणले जनाएको छ ।
काठमाडौं उपत्यकामा थप ९८ जनामा देखियो कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ८०, ललितपुरको ९ र भक्तपुरको ९ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १४४१, ललितपुरमा २३० र भक्तपुरमा १२४ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १७९५ पुगेको छ। आज देशभर ४ सय ६८ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
तीन दिन देशभर वर्षा हुने
काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताए । “उक्त रेखा नेपालको पश्चिमी भूभाग नजीक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना छ”, मौसमविद् प्रधानाङ्गले भने । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै वाग्मती, गण्डकी, प्रदेश नं ५ सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ७ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । रासस
बूढानीलकण्ठमा ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध
बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो । त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व र फुटपाथ व्यापार गर्न तथा भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए । समितिले नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ ।
नवलपरासीमा भदौ ६ गतेसम्म निषेधाज्ञा
नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार र सामूहिक जमघट गर्न पाइने छैन । जिल्लामा कोरोना सङ्क्रमण क्रमशः बढ्दै गएको र थप सङ्क्रमित बढ्न सक्ने भएकाले जोखिमलाई दृष्टिगत गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । निषेधाज्ञाको अवधिभर सरकारी एवं बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । अनावश्यक रुपमा हिँड्डुल गर्नसमेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । यता एउटा स्थानीय तहबाट अर्को स्थानीयमा अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लास्थित बढी भीडभाड हुने सरकारी कार्यालयमा बढीभन्दा बढी अनलाइनमार्फत काम गर्ने र कमभन्दा कम जनशक्ति राखेर मात्रै काम गर्न कार्यालयलाई परामर्श गरिएको छ । यस जिल्लामा पछिल्लोपटक समुदायमा कोरोना सङ्क्रमण फैलिँदै गएपछि जोखिम ह्वात्तै बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३० पुगेको छ । रासस
चितवनका पुष्पाञ्जली अस्पतालद्वारा कोरोना उपचार शुरु
चितवन । जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार यही साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परीक्षण गर्दा साउन ३० गते कोभिड–१९ पोजिटिभ देखिएको थियो । अस्पतालका डा सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमा नै स्थिर र गम्भीर अवस्थामा उपचार भइरहेको छ । मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पतालसँग समन्वय गरी अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिइएको उनले जानकारी दिए । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको समेत उनले जानकारी दिए । सघन कक्ष भिन्न भवनमा रहेकाले सोलाई सिल गरी अर्को भवनबाट अन्य सेवा उच्च सावधानीका साथ निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना सङ्क्रमण देखिएमा हव अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल पठाइँदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा दुई जनाको मृत्युसमेत भएको थियो ।
सिन्धुलीका पाँच स्थानीय तहद्धारा लकडाउन
सि्धुली । यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका छन् । सिन्धुलीमा कोरोना सङ्क्रमण बढेको र समुदायमा सङ्क्रमण देखिएकाले जिल्लाका पाँच स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहेको जनाएका छन् । पालिकावासीलाई सूचनामार्फत पालिकाले गरेको आग्रहलाई वेवास्था नगर्न अपिल गरेका छन् । जिल्लाको कमलामाई नगरपालिकाले मङ्गलबार रातिदेखि नै लकडाउन गरेको हो भने अन्य स्थानीय तहमध्ये सुनकोशी, गोलञ्जोरले बिहीबारदेखि लकडाउन गरेका हुन् । शुक्रबारदेखि तीनपाटन गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा लकडाउनको घोषणा गरेको जनाएको छ । मरिण गाउँपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । सबै स्थानीय तहले आफ्ना नागरिकलाई सुरक्षित भई घरमै बस्न आग्रह समेत गरेका छन । अत्याबसेक काम बाहेक हिँडडुल नगर्न, अत्यावश्यक सेवा बाहेकका अन्य पसल व्यवसाय सञ्चालन नगर्न, यदि हिँडडुल गर्नै पर्ने भएमा र सेवा सञ्चालन गर्नुपर्ने भएमा सुरक्षा उपयका सुरक्षा सामग्रीको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । हिजो एकै पटक १३ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएपछि जिल्लामा त्रास बढेको छ । सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकाले सबैभन्दा पहिला लकडाउनको घोषणा गरेको छ । जिल्ला सदरमुकाममा लकडाउन गरिएपछि औषधि पसल, तरकारी, खाद्यान्न, दूध बिक्री गर्ने पसल तथा अत्यावश्यक सेवाका बाहेक अन्य सबै पसल बन्द गर्न कमलामाईले निर्देशन दिएको छ । पसल व्यवसाय भने बन्द भएको छ । बजारमा भने मानिसको आवतजावत भने बढ्दो अवस्थामा रहेको छ । व्यापार व्यवसाय बन्द गरिए पनि लकडाउन प्रभावकारी कार्यान्वयन नहुँदा जोखिम झन बढ्दो अवस्थामा रहेको छ । केही व्यवसायीले लुकीछिपी व्यवसाय सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । साथै चोक र सडकमा मानिस समूहमा जम्मा भई गफ गरेर समय बिताउनेको पनि जमात रहेको छ । स्थानीय तहले घोषणा गरेको लकडाउनको प्रभावकारिता कस्तो छ भनेर सडकमा बुझ्न आउने पनि धेरै रहेका छन् । यता सिन्धुली अस्पतालले अबको १४ दिन होम क्वारेन्टिनमा बस्न जिल्लावासीलाई आग्रह गगरेको छ । अस्पतालमा आइसोलेशनको श्ययाको कमी भएकाले कोरोना सङ्क्रमितलाई घरमा नै र क्वारेन्टिनमा नै राख्नुपर्ने अवस्था रहेको भन्दै लकडाउनको पूर्ण पालना गरी घरमा नै बस्न अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले आग्रह गरेका छन् ।