अब स्वास्थ्यमा समस्या आएमा कामना सेवाका कर्मचारीले सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्ने
काठमाडौं । अब कामना सेवा विकास बैंकका कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्नेछन् । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक प्रा.लि. बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलकासाथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरी सकेको छ ।
काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा देखियो कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा कोरोना देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ८३, ललितपुरको ३० र भक्तपुरको ५ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १६९७ पुगेको छ। आज देशभर ५ सय ९४ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
नेपालमा थप ५ सय ९४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ९४५ जनामा कोरोना भाइरस देखिएको बताएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
कोरोना कोषमा सनराइज बैंकको ७९ लाख ४४ हजार रुपैयाँ सहयोग
काठमाडौं । सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ बराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ । उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिँदै बैंकले प्रदान गरेको उक्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए । सनराइज बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै पीपीई, मास्क, स्यानिटाइजर आदि हस्तान्तरण गरेको थियो ।
ग्लोबल आइएमई बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड-१९) को बढ्दो कहरलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । बैंकले आफ्ना हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको हो । कम्पनीले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड-१९ बीमा गराएको हो । बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पि.सि.आर. परिक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ । यो कोरोना बीमाबाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ । बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षितरुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।
हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिट्यान्स कारोबार शुरु
काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका हुन् । यससँगै, जिएमई रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमई रेमिटसँग आवद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।
यी पत्रकार जसले सीआईबीको नाममा व्यापारीलाई ठग्न खोजे
काठमाडां । सीआईबीको नाममा ठगी गर्न खोज्ने एक जना पत्रकार पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पक्राउ गरेको हो । धादिङ्गकाे निलकण्ठ नगरपालिका वडा नं १४ घर भई हाल तारकेश्वर नपा. वडा नम्बर ११ नेपालटारमा डेरा लिई बस्ने र आफुलाई आलोचना साप्ताहिक पत्रिकाको सम्वाददाता भनी बताउने ३६ वर्षका शंकर प्रसाद अधिकारीलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ बसुन्धराबाट पक्राउ गरिएकाे सीआईबीले बताएकाे हाे । अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सि.आई.बि. मा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआईबीका ईन्सपेक्टरले ५ लाख रुपैया दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ भनी डर त्रास देखाई धम्क्यार्ई सिआईबीकाे नाममा रकम असूल गरी ठगी गर्न खोज्ने उनलाई पक्राउ गरेकाे सीआईबीले बताएकाे हाे । उनले अन्य व्यक्तिहरुलाई समेत विभिन्न बहानामा ठगी गरेको हुन सक्ने हुनाले सो सम्बन्धमा अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त महाराजगंजमा पठाइएको बताइएकाे छ ।
कुमारी बैंकले कमायो एक अर्ब २२ करोड नाफा, प्रतिसेयर नेटवर्थ बढेर १३६ पुग्यो
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ०.३१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा अनुसार बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी बढेर ३ अर्ब ६३ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सो अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, सञ्चालन मुनाफा ०.७१ प्रतिशतले घटेर एक अर्ब ७५ करोड रुपैयाँमा सीमित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कजा लगानी दुबैमा वृद्धि भएको हो । गत असार मसान्तसम्ममा बैंकले निक्षेप संकलन ५२.१४ प्रतिशतले वृद्धि गरी १ खर्ब ११ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी ५९.२१ प्रतिशतले वृद्धि गरी एक अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । १२ अर्ब ५२ करोड रुपैयाँ रहेको चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष ८२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २ अर्ब ९ करोड रुपैयाँ जगेडा रहेको बैंकको गत आवमा ३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ९.८२ प्रतिशतले घटेर १२.७७ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ बढेर १३६.४७ रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.४१ प्रतिशत, कष्ट अफ फण्ड ६.७७ प्रतिशत, आधार दर १०.०८ प्रतिशत रहेको छ ।