विजय लघुवित्तको नाफा साढे ५ करोड बढी, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७५ प्रतिशत घटी हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले ६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले २१ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले १६ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, समीक्षा अवधिमा लघुिवत्तको सञ्चालन नाफा ९ करोड ७३ लाख रुपैयाँबाट घटेर ८ करोड ५५ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ५९ करोड ३३ लाख रुपैयाँबाट बढेर ७९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी २ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । हाल २२ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी २५.९५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४७.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.३१ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार ७ सय ६६ रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड घटेर १०.६० प्रतिशत, सीडी रेसियो घटेर ९३.०९ प्रतिशत र निष्क्रिय कर्जा बढेर ३.२४ प्रतिशतमा रहेको छ ।
इजरायलले पत्ता लगायो १ सेन्टमा कोरोना परीक्षण गर्ने विधि, ३० मिनेटमै नतिजा, मेसिनको मूल्य २ सय डलर
काठमाडौं । इजरायलको सबैभन्दा ठुलो मेडिकल सेन्टरले केही सेकेण्ड मै थुकबाट कोरोना भाईरसको संक्रमण पत्ता लगाउने नयाँ परीक्षण विधिको विकास गरेको जनाएको अन्तर्राष्ट्रिय संचार माध्यम राेयटर्सले उल्लेख गरेकाे छ । इजरायलको सेबा मेडिकल सेन्टरको सेन्टर फर जियोग्राफिक मेडिसिन एण्ड ट्रपिकल डिजिजले यो नयाँ र सजिलो परीक्षण विधिको विकास गरेको जनाएका हो । यस विधि अनुसार बिरामी व्यक्तिले नुन पानीले मुख सफा गरि एउटा भाँडामा थुक्नु पर्दछ । त्यसपछि त्यसलाई एउटा स्पेक्ट्रल डिभाईस अर्थात साधारण रुपमा भन्नुपर्दा उक्त नमुनामा केही लाईटको प्रयोग गरेर परीक्षण गरिन्छ । यस विधिको परीक्षणलाई नेतृत्व गरिरहेका एलि स्कवार्टजका अनुसार कोभिड १९ को परीक्षणको लागि प्रयोग हुने पिसिआर स्वाब परीक्षण भन्दा धेरै नै सजिलो रहेको छ । ‘हालसम्म हाम्रो परीक्षणको नतिजा निकै आशालाग्दो छ र यो निकै सजिलो र सस्तो विधि रहनेछ,’ उनले भने । सेन्टरका अनुसार सयौं व्यक्तिमा गरिएको उक्त विधिको सुरुवाती किल्निकल परीक्षणमा ९५ प्रतिशत सफल नतिजा प्राप्त गरेको पाइएको छ । जेरुसेलम हेबु्र युनिभर्सिटीका विज्ञ आणविक भाईरोलेजिष्ट एमोस प्यानेटले उक्त विधिमा अन्तिम निर्णय गर्नुअघि परीक्षणको थप धेरै डाटा र तुलनाहरु हेर्न चाहेको बताए । ‘मानिसमा जति धेरै बिरामी हुन्छ, उसको थुकमा भएको भाईरस झनै धेरै बढ्छ । यदि यस विधिले मान्यत पाउने हो भने यो एउटा परिवर्तनकर्ताको रुपमा रहनेछ’, उनले भने । सेबाले यस विधिलाई बजारमा ल्याउन चाहिने उपकरण बनाउन ईजरायली फर्म न्युसाईट ईमेजिङसँग सहकार्य गरेको छ । उक्त कम्पनीका अनुसार उनीहरु नियामकको स्विकृति लिने तयारीमा छन् । हरेक परीक्षण मात्र ०.०१ डलर र मेसिनको मात्र २०० डलर खर्च लाग्नेछ । र, यसको नतिजाको लागि ३० मिनेट मात्रै लाग्ने बताइएको छ ।
दुई विकास बैंक एक्वायर गरेको प्राइम बैंकको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ
काठमाडौं । कन्काई विकास बैंक र कैलास विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको असारमसान्तसम्ममा २ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा अनुसार बैंकको खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ६१ करोड रुपैयाँ कमाउन सफल भएको छ । समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढेको छ । यस अवधिमा बैंकले ४ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत असार मसान्तसम्ममा बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब ७६ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी घटेर १६.३९ रुपैयाँमा सीमित भएको छ । बैंक प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५५ गुणा रहेको छ । त्यसैगरी, बैंकको कष्ट अफ फण्ड ७.१४ प्रतिशत, सीडी रेसियो ७४.५४ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेड ४.२२ प्रतिशत रहेको छ ।
सुनको उकालो यात्रा फेरि शुरु, आज ८ सय रुपैयाँले बढ्यो
काठमाडाैं । सुनकाे उकालाे फेरि शुरू भएकाे छ । बुधबार ६ हजार २ सयले घटेकाे सुनकाे मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले बढेकाे थियाे । फेरि शुक्रबार सुनकाे मूल्य उकालाे लागेकाे हाे । शुक्रबार सुनकाे मूल्य ताेलामा ८ सय रूपैयाँले बढेकाे हाे । शुक्रबार प्रतिताेलाकाे मूल्य ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ । बिहीबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँ पुगेको थियो ।
वोमी लघुवित्तको नाफा ५६ प्रतिशतले घट्याे, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.६४ प्रतिशत घटी हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले १७ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.५६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले १३ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ६१ करोड ८८ लाख रुपैयाँबाट बढेर ८६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी १ अर्ब ८२ करोड रुपैयाँबाट बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । हाल २७ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर १८ करोड २२ लाख रुपैयाँ सञ्चित छ । हाल संस्थाको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १०३.४६ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९२६ रुपैयाँ रहेको छ ।
जीवन बीमामा एक्चुरीः भेट्टाउन मुस्किल भएको कम्पनीको गुनासो, समिति भन्छः अनुभवी खोज्नुस्
काठमाडौ । जीवन बीमा कम्पनीहरुले आफ्नो बीमांकीय मूल्यांकनकर्ता (एक्चुरी भ्यालुएटर) भेट्नै मुस्किल भएको बताएका छन् । जीवन बीमा कम्पनीहरुले एक्चुरी गराउनै पर्ने कानुनी व्यवस्था छ । तर, नियामक निकाय बीमा समितिले तोकेको मापदण्डका कारण एक्चुरी भेट्टाउन समस्या भएको बीमा कम्पनीहरुले बताएका छन् । बीमा समितिले प्रत्येक कम्पनीले बेग्लाबेग्लै एक्चुरी राख्नुपर्ने व्यवस्था गरेको छ । नेपालमा एक्चुरी भ्यालुएटर करिब छैनन् । अन्तराष्ट्रिय बजारमा पनि एक्चुरीको संख्या कम छ । त्यसैकारण एक्चुरी फेला पार्न समस्या भएको कम्पनीहरुको भनाइ छ । पछिल्लो समय धेरै कन्सल्यान्टहरुसँग सम्र्पक गर्दा पनि एक्चुरी नभेटीको कम्पनीहरुले जानकारी दिए । यता बीमा समितिले भने एक्चुरी सकेसम्म अनुभव भएको खोज्दा कम्पनी आफैलार्ई राम्रो हुने बताएको छ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बीमक संघका अध्यक्ष रहेका शिवनाथ पाण्डेका अनुसार एक्चुरी भ्यालुएसन गर्न लामो समय लाग्ने तथा यसको प्रकियाले जीवन बीमा कम्पनीहरुलाई समस्या भएको हो । ‘लामो समयसम्म एक्चुरी नपाउनु तथा पाइसकेपछि पनि काम गर्न लामो समय लाग्ने भएकाले बीमा जीवन बीमा कम्पनीहरुले समस्या भोग्नुपरेको छ, समयमै एक्चुरी नभेट्दा बीमा कम्पनीहरुले समयमा साधारणसभा सम्पन्न गर्न सक्दैनन्’, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाण्डेले विकासन्यूजसँग भने । उनले एक्चुरी नै कम हुने भएकाले यसको अभाव हुने गरेको बताए । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार जीवन बीमा कम्पनीमा एक्चुरीलाई थप सहज बनाउन बीमा समितिले समन्वय गर्नुपर्छ । ‘जीवन बीमा क्षेत्रमा एक्चुरी सहज रुपमा पाइदैन, विभिन्न कन्सल्ट्यान्टहरुसँग छलफल गर्दापनि एक्चुरीको अभाव नै छ, नियामक निकायको हैसियतले यसमा बीमा समितिले आवश्यक समन्वय गर्न सक्छ, एक्चुरीको अभाव हुनुले बीमा कम्पनीहरुमा एक किसिमको समस्या पैदा गरेको अवस्था छ’, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । प्राईम लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई भने अहिले एक्चुरी छनोटमा केही भिन्नता आएको भएपनि फेला पार्नै नसक्ने समस्या नरहेको बताउँछन् । ‘पहिले पहिले एउटै एक्चुरीले सबैे कम्पनीको बीमांकीय मूल्याङ्कन गर्न मिल्ने व्यवस्था थियो, अहिले प्रत्येक कम्पनीले आफ्नै एक्चुरी राख्नु पर्ने व्यवस्था छ, तैपनि एक्चुरी खोज्न केही समय लागेपनि भेट्नै नसकिने अवस्था भने होइन,’ प्राईम लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने । उनले पहिलेको जस्तो ब्रोकरमा गएर एक्चुरी खोज्दा हुने झन्झटभन्दा आफ्नै कम्पनीको एक्चुरी राख्नुले केही सहजता थपेको बताएका छन् । तर जीवन बीमा कम्पनीहरुलाई एक्चुरीले आफ्नो स्वार्थ अनुसार काम गराउन खोजेको वा कम्पनीहरुले आफ्नो अनुकुल एक्चुरी नभेटेको हो भने त्यसमा नियामक निकाय बीमा समितिले सहजिकरण गर्नु पर्ने उनकोे भनाइ छ । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णका अनुसार एक्चुरीको माग विश्वव्यापी रुपमा हुने भएकाले जीवन बीमा कम्पनीहरुलाई एक्चुरी भेटन् केही मुस्किल भएको हो । ‘एक्चुरीले नेपालमा बीमा क्षेत्रमा काम गर्छन् तर विश्वका कतिपय देशहरुले बैकमा समेत एक्चुरी राख्ने गरेका छन्, एक्चुरीले बैक, बीमा दुवैको भविष्यमा आउने जोखिमको आँकलन गर्न सक्छन्, सोही कारण एक्चुरीलाई कामको कुनै खाँचो हुँदैन,’ युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत लालकर्णले भने । उनले बीमा १९ वटा कम्पनीलाई १९ वटा एक्चुरी खोज्नु पर्दा केही समस्या भएको हुनसक्ने बताएका छन् । अनुभवी खोज्नुस्ः समिति बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार एक्चुरी सहजै नपाइने भएपनि भेट्नै नसक्ने समस्या भने छैन । ‘पहिले एउटै एक्चुरीले विभिन्न कम्पनीमा काम गर्न मिल्थ्यो, अहिले कम्पनीहरुले छुट्टा छुट्टै एक्चुरी राख्नु पर्छ, यस्तो व्यवस्थाले बीमा कम्पनीहरुको गोपनियता कायम राख्न मद्दत गर्दै आएको छ, विगतमा गरिएका निर्णयहरु समेत सोच विचार गरेर गरिएका छन् आगामी दिनमा पनि हामीले नयाँ निर्देशिका मार्फत बिमकका समस्या समाधान गर्ने तयारी गरिरहेका छौं,’ बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने । उनले सहज बनाउने नाममा अनुभव नभएका एक्चुरीसँग समन्वय गर भनेर कुनै पनि कम्पनीलाई भन्दा भोलि त्यसले ठूलो समस्या निम्त्याउने भएकाले केही समय लागेपनि अनुभवी एक्चुरीकै खोजी गर्नु उपयुक्त हुने बताएका छन् ।
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ कराेड रुपैयाँ, निक्षेपमा उल्लेख्य सुधार
काठमाडाैं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा गरेकाे नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड रुपैयाँ कम हो । यस्तै, बैंकले निक्षेप संकलनमा भने उल्लेख्य सुधार गरेको छ । बैंकले असार मसान्त सम्म १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको छ । ८ अर्ब ४५ करोड चुुक्ता पूँजी भएको बैंकको खराब कर्जा ०.५४ प्रतिशत, बैंकको सीसीडी रेसियो ७३.८१ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत, स्प्रेडदर ४.३६ प्रतिशत र कष्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकको नाफा ११ प्रतिशतले बढ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा यो रकम ११.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने भने १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो । १.८० प्रतिशत एनपीएल रहेको बैंकको कष्ट अफ फण्ड ६.२१ प्रतिशत, सीसीडी रेसियो ७३.१८ प्रतिश, बेस रेट ८.४२ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत रहेको छ । ८ अर्ब ४१ करोड रुपैयाँ जगेडा कोषमा रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।