कारोना रोकथामका लागि एनएमबि लघुवित्तले दियो १३ लाख ६२ हजार रुपैयाँ
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि १३ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो मात्राको सहयोग गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा २०७७ असार मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरेको थियो । सोही बमोजिम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिएको संस्थाले जनाएको छ । कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने लघुवित्तको विश्वास रहेको छ ।
प्रभु बैंकको ऋणपत्र बाँडफाँडः ४१७ जनाको आवेदन रद्द, बाँकीले मागे जति सबै पाए (सूचीसहित)
काठमाडौं । प्रभु बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) बाँडफाँड भएको छ । उक्त ऋणपत्र आज (साउन २९ गते) निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्सालमा भएको हो । जसमा रितपूर्वक आवेदन दिने सबैले माग गरेजति बैंकको डिबेन्चर पाएका छन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अनुसार १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई कूल ३ लाख ७९ हजार १ सय ३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ । उक्त ऋणपत्रमा निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७ लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३ सय ८ जना आवेदकहरुबाट कूल ७ लाख ३० हजार ३ सय ६५ कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ४ सय १७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३ लाख ५१ हजार २ सय ३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । त्यसैले बाँकी रहेको रितपूर्वक आवेदन दिने १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । बैंकले गत साउन १९ गतेदेखि गत साउन २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को एक हजार रुपैयाँ अङ्कित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएको थियो । जसमा बैंकले माग गरेको भन्दा ३.०७ गुणा बढीले आवेदन परेको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड रुपैयाँ ऋणपुँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड रुपैयाँ ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो । त्यसमा व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८ सय ६६ कित्ता समेत गरी कूल १५ लाख ८० हजार ८ सय ६६ कित्ता ऋणपत्र बाँडफाँड गरेको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गले जनाएको छ । सर्वसाधारण समूहबाट ३७ करोड ९१ लाख ३४ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट १ अर्ब ५८ करोड ८ लाख ६६ हजार रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको थियो । क-कसले पाए ? [pdf id=232263]
कोरोनाको हटस्पट बन्दै कुलेश्वर-कलंकी क्षेत्र, वडा नै सील गर्ने तयारी
काठमाडाै् । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाे छ । साे वडामा बिहीबार मात्रै थप १० जनामा कोरोना देखिएको छ । हिजाे साे वडामा २९ जनामा कोरोना पुष्टि भएको थियाे । कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन्। उक्त वडामा सिल गर्ने तयारी भइरहेकाे बताइएकाे छ । वडा कार्यालयले तीन दिनदेखि सेवा दिन बन्द गरिसकेकाे छ । कलंकीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि सेवा दिन बन्द गरेको छ । वडा कार्यालयले फलफूल र तरकारी विक्री वितरण बिहान ५ देखि ९ बजेसम्म मात्रै गर्न दिइएको छ। फुटपाथमा हुने व्यवसाय पूर्ण रूपमा रोक लगाएको छ ।
कामना सेवाले एक्यानका सदस्यलाई बिना धितो १५ लाखसम्मकाे कर्जा दिने, एकै दिनमा पाउने
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ(एक्यान)मा आवद्ध सदस्यहरुलाई बिना धितामो प्रोफेशनल कर्जा दिने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच द्विपक्षीय सम्झौता भएको हो । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकैदिनमा बिना धितोमा १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए । साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी गराए । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासंग समेत समझदारीको लागि छलफल भैरहेको धितालले जानकारी दिए । यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एक्यानका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखाव्यवसायको संरक्षण एवम् सम्बर्द्धन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा व्यवसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।
रिलायन्स फाइनान्सले मोबाईल बैंकिङका लागि एफवान सफ्टसँग गर्यो सम्झौता
काठमाडौं । रिलायन्स फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सीईओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने- ‘रिलायन्स् फाइनान्स्सँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौं ।’ सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ । रिलायन्स् फाइनान्स् लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४औं फाइनान्स कम्पनीका रूपमा सुरू भएको थियो । विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ ।
दोलखामा लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका-वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका-वडा न. ८, सुनखानीमा रहेको छ । यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
लगानीकर्ताले सेयर कारोबारको लागि ब्रोकरकोमा राखेको धरौटीको व्याज पाउने
काठमाडौं । लगानीकर्ताले दोश्रो बजारमा सेयर कारोबार गर्दा दलाल व्यवसायी (ब्रोकर) कोमा राखेको धरौटी(मार्जिन) रकमको व्याज पाउने भएका छन् । उनीहरुले दलाल व्यवसायीलाई बुझाउनुपर्ने २५ प्रतिशत धरौटी रकममा प्रतिफल पाउने भएका हुन् । नेपाल धितोपत्र बोर्डले बुधबार एक पत्र जारी गरी लगानीकर्ताले सेयर कारोबार गर्नु अघि बुझाएको धरौटीमा पनि प्रतिफल पाउने व्यवस्था गरेको हो । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा आउने दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा ब्रोकरबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था समेटी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को संशोधनको स्वीकृति बोर्डले प्रदान गरेको पत्रमार्फत जानकारी गराएको छ । यसअघि लगानीकर्ताले बुझाएको उक्त धरौटी रकममा प्रतिफल नपाएको गुनासो गरिरहेका थिए । अब यस व्यवस्थासँगै सेयर कारोबारको लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने वा नहुने सम्बन्धी उनीहरुमा रहेको अन्यौलता हटेको छ ।
राष्ट्र बैंकले भन्योः काम कम गर्नु/गराउनु, कर्मचारीको स्वास्थ्यलाई बढी ध्यान दिनु, उपचार खर्च बैंकले नै व्यहोर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना भाइरसको जोखिम बढ्दै गएकोले कर्मचारीको स्वास्थ्यलाई ध्यान दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना भाइरस सुरक्षा व्यवस्थापन समूह गठन गर्नपनि निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्ताे निर्देशन गरेकाे हाे । कोरोना भाइरसको समयमा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु पर्ने रकम सबै बैंकहरुले नै व्यहोर्न पनि निर्देशन गरेको छ । ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा हशोटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ परिपत्रमा भनिएको छ । कोरोना भाइरसको जोखिम पछिल्लो समय बढ्दै गएकोले घरमै बसेर र आलोपालो कार्यालय गएर काम गर्ने व्यवस्था मिलाउन परिपत्रमा उल्लेख गरिएका छ । २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन जारी गरेको छ । यस्तै, राष्ट्र बैंकले अहिले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन पनि परिपत्रमा उल्लेख गरेको छ । साथै, इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ । बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाइ सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिनुपर्ने उल्लेख गरेको छ । [pdf id=232231]