काेराेना संक्रमित बढी देखिएपछि कलंकीमा अत्यावश्यक बाहेकका पसल बन्द
काठमाडौं । काठमाडौंकाे कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएका छन् । काठमाडाैं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका हुन्। कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हाे । अहिले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ। अन्य सबै पसल बन्द छन् ।
सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा २३.७२ प्रतिशत घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंककाे खुद नाफासँगै वितरण याेग्य नाफा पनि घटेकाे छ । आर्थिक वर्षको सोही अवधिमा १ अर्ब बढी रहेकाे बैंककाे वितरण योग्य मुनाफा गत असार मसान्तसम्ममा जम्मा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। हाल बैंककाे चुक्ता पुँजी ९ अर्ब ८ करोड रूपैयाँ रहेकाे छ । त्यस्तै, जगेडा कोषमा रकम बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेकाे छ भने सेयरधनी काेषमा घटेर ८७ करोड ७४ लाख रुपैयाँमा सीमित छ । समीक्षा अवधिमा ८८ अर्ब ५१ करोड रूपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेकाे छ ।अघिल्लो आर्थिक वर्षमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियाे । गत असार मसान्तमा बैंकको प्रतिसेयर आम्दानी घटेर १२.९२ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १७.४९ रुपैयाँ रहेको थियो । त्यस्तै, हाल बैंकको मूल्य आम्दानी अनुपात १५.३१ गुणा रहेको छ ।
बीमांकीय मूल्यांकन निर्देशिका संशोधन हुदै, प्रक्रिया छोट्ट्याउन पहल होस्ः कम्पनी
काठमाडौ । बीमा समितिले यो वर्ष बीमांकीय मूल्यांकन निर्देशिका संशोधन गर्ने तयारी गरेको छ । बदलिदो परिस्थिति अनुकुल हुने गरी निर्देशिका संशोधन गर्न लागिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशिका संशोधन गर्न लागिएको जानकारी दिए । समितिले चालु आर्थिक वर्षका लागि ल्याएको वार्षिक कार्यक्रममा निर्देशिका संशोधन गर्ने विषय पनि समावेश छ । ‘हामीले वार्षिक कार्यक्रम बजारको वास्तविक अवस्था हेरेर नै बनाएका छौं, वार्षिक कार्यक्रममा जीवन बीमकको बीमांकीय मूल्यांकन निर्देशिका संशोधन गर्ने विषय राखिएको छ, निर्देशिका संशोधनबाट बीमा कम्पनीहरुलाई बिमांकीय मूल्यांकनमा अवश्यक सहजिकरण गर्ने हाम्रो उदेश्य हो’, कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । छिटो हुने व्यवस्था होस्ः जीवन बीमक संघ जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेका अनुसार जीवन बीमामा बीमांकीय मूल्यांकन गर्दा लामो समय लाग्ने गरेको र सो ढिलाइको असरले अन्य काममा समेत पर्ने गरेको छ । ‘जीवन बीमाको बिमांकीय मूल्यांकन गर्दा प्रक्रियागत हिसाबले लामो समय लाग्ने गरको छ, यसरी समय धेरै लाग्दा अन्य काममा पनि स्वभाविक रुपमा असर त पर्ने नै भयो, बीमा समितिले प्राविधिक वा प्रक्रियागत पक्षमा केही परिवर्तन गरेर लामो र खर्चिलो प्रक्रियागत व्यवस्थामा सहजीकरण गरिदिए राम्रो हुन्थ्यो भन्ने हाम्रो कुरा हो,’ जीवन बीमक संघका अध्यक्ष पाण्डेले विकासन्यूजसँग भने । नेपालमा एक्चुरीको अभाव छ । नेपालका अधिकांश बीमा कम्पनीहरुले भारतीय एक्चुरीबाट बीमांकीय मूल्यांकन गराउने गरेका छन् । सोही कारण सबै वित्तीय विरणहरु भ्यालुयसनका लागि जीवन बीमा कम्पनीहरुले छिमेकी देश भारतमा पठाउनु पर्छ । लाइफ इन्स्योरेन्स कम्पनीहरुले भारतबाट एक्चुरी भ्यालुयसन गराएर ल्याएपछि त्यसालाई पुनः बीमा समितिले जाँचबुझ गर्ने गर्छ । तर समितिको पनि आफ्नो एक्चुरी छैन । बीमा कम्पनीहरुले बीमांकीय मूल्यांकन गरेपछि समितिले समेत एक्चुरीयल भ्यालुयसनका लागि भारतकै भरपर्नु पर्ने अवस्था छ । जीवन बीमा कम्पनीहरुले यस्तो अवस्थामा बीमा समितिले एक्चुरीको प्रक्रिया, एक्चुरी गर्न केही टेक्नीकल व्यवस्था अपनाउने वा सामान्य छलफल चलाउन सक्ने बिमक संघको अनुमान छ । बीमा समिति आफैले भने वार्षिक कार्यक्रममा समेटिएको जीवन बीमकको भ्यालुयसनसँग सम्बन्धित निर्देशिका तयारी पारी जीवन बीमकलाई सहज बनाउने बताएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा समितिको कार्यक्रमले जीवन बीमा कम्पनीहरुलाई बीमांकीय मूल्यांकनमा थप सहज हुनेछ । ‘बीमा उद्योगको आकार तथा संरचना विचार गरेर बीमा कम्पनीहरुले आउट सोर्सिङबाट बीमांकीय मूल्यांकन गर्दा तिर्नुपर्ने खर्चप्रति ध्यान दिएर यसमा केही सहजता हुने वातावरण सिर्जना गर्न नियामक निकायले सहयोग गर्ने हाम्रो विश्वास छ,’ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । उनले बीमा क्षेत्रको विकास लागि नियामक निकाय बीमा समितिले समन्वयकारी भुमिका खेल्दै आएको र आगामी कानुन बनाउदा अध्ययन गरेर एक्चुरी अभाव हुने अवस्थाको चाडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
बुटवलमा आजदेखि भदौ ५ गतेसम्म लकडाउन
काठमाडाैं । बुटवलले आज राती देखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि बुटवलमा आज रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधिमा राजमार्गमा चल्ने लामो दुरीका सवारीका साधनलाई भने बुटवल उपमहानगरपालिकाले सञ्चालन गर्न दिने जनाएकाे ।
प्रतितोला २४ सयले बढ्याे सुन, ताेलाकाे ९७ हजार ८ सयमा काराेवार
काठमाडाैं । बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे जनाएकाे हाे । याेसँगै सुन बिहिबार प्रतितोला ९७ हजार ८ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।बुधबार सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुन प्रतितोला ९७ हजार ३ सयमा कारोवार भइरहेको छ भने चाँदीको मुल्य प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २ सय ९५ मा कारोवार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा काराेवार भएकाे थियो ।
कोरोना रोकथाममा डोटीका स्थानीय तहद्धारा ११ करोड खर्च, छानबिन गर्न स्थानियकाे माग
डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लामा सबैभन्दा बढी कोरोना सङ्क्रमितको सङ्ख्या शिखर नगरपालिकामा रहेका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये सबैभन्दा बढी शिखर नगरपालिकाले रु एक करोड ८६ लाख ४६४ खर्च गरेको पाइएको छ । त्यसैगरी कोरोना सङ्क्रमण रोकथाम तथा उपचारमा सबैभन्दा कम जोरायल गाउँपालिकाले खर्च गरेको पाइएको छ । उक्त गाउँपालिकाले रु ७० लाख खर्च गरेको पाइएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाले रु एक करोड ७७ लाख, दिपायल सिलगढी नगरपालिकाले रु एक करोड ५१ लाख ३० हजार १६३, बोगटान फुड्सिल गाउँपालिकाले रु एक करोड २५ लाख र पूर्वीचौकी गाउँपालिकाले रु एक करोड २७ लाख खर्च गरेको पाइएको छ । सायल गाउँपालिकाले रु एक करोड ६२ लाख, केआइसिंह गाउँपालिकाले रु ९८ लाख ९४ हजार, बडिकेदार गाउँपालिकाले रु ८५ लाख खर्च गरेको पाइएको छ । कोभिड–१९ को महामारी रोकथाम तथा उपचारका विषयमा भइरहेको खर्चमा स्थानीय तहले अनियमितता गरेको कुरा जनस्तरबाट आइरहेको भए पनि जनप्रतिनिधि पारदर्शीरुपमा कम रकम खर्च गरेको दाबी गरिरहेका छन् । सङ्क्रमित तथा भारतबाट रोजगारी गरी जिल्ला फर्किएका स्थानीयवासीले क्वारेन्टिनमा कुनै प्रकारको सेवा सुविधा नपाएको गुनासो गरी रहेको अवस्थामा यहाँका स्थानीय तहले यति ठूलो रकम खर्च भएको देखाउनु नै गलत भएको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, “क्वारेन्टिको सेवा सुविधाको अवस्था र कोरोना नियन्त्रणको अवस्थाका बारेमा हामीले पनि बुझेका छौँ, करोडौँ रकम खर्च भयो भनेर देखाउनु गलत हो, छानबिन हुनुपर्छ ।” स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थका लागि यति ठूलो रकम खर्च गरेको उनको आरोप छ । स्थानीय तहले खर्च भएको विवरण पेस गरेअनुसार क्वारेन्टिनदेखि अन्य क्षेत्रमा खर्च नभएको भारतबाट रोजगारी गरी १४ दिन क्वारेन्टिन बसेर घर फर्किएका जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीका स्थानीयवासी दीर्घबहादुर बोगटीले बताए । उनले भने, “हाम्रो नगरपालिकाले कोरोना नियन्त्रणमा करोडौँ रकम खर्च भएको देखाएको छाैँ, म क्वारेन्टिन बसेर आएको व्यक्ति हुँ, खाना पकाउने ग्याँस त हामी आफैँले किनेर बालेका हाैँ कहाँ भयो तेत्रो खर्च, सबै विवरण झुटो हो ।” बजेट अभाव भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा उपचार गर्नमा जिल्लाका सबै स्थानीय तह सफल भएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “सीमित बजेटका बाबजुत पनि सबै स्थानीय तह मिलेर कोरोना महामारीको सामना गर्न सफल भएका छौँ, बजेटमा कसैले गलत गरेको छैन खर्च भएको विवरण नै पेश भएको मलाई लाग्छ, सबैको चित्त बुझान कस्ले सक्छ र ?” उता सुदूरपश्चिम प्रदेश सरकारले पनि कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि रु ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको विवरण सार्वजनिक गरेको छ । जाखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष (स्थापना तथा सञ्चालन) निर्देशिका २०७६’ अनुसार उक्त रकम खर्च गरिएको प्रदेश सरकारले जनाएको छ । उक्त कोषमा जम्मा भएको रु ४२ करोड ५५ लाख ४९ हजार ४६० मध्ये उक्त रकम प्रदेशका नौवटै जिल्लाका विभिन्न स्थानमा कोरोना अस्पताल स्थापना, ल्याब सञ्चलन, विभिन्न उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ । कोषमा रु छ लाख ६७ हजार बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका नौवटै जिल्लाका ८८ वटा स्थानीय तहलाई रु १५ करोड २६ लाख वितरण गरिएको तथा नौवटा जिल्ला प्रशासनलाई रु पाँच लाखका दरले ४५ लाख वितरण गरिएको जनाइएको छ । रासस
कैलालीको एक नगरपालिकाकाे कोरोना रोकथाम खर्च तीन करोड २८ लाख
गोदावरी । कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले गत असार मसान्तसम्म इन्धन, खाद्यान्न, मेडिकल सामग्री, रेनकोट तथा मास्क खरिद, खाना, भ्रमणभत्ता, झुल खरिदलगायत शीर्षकमा सो रकम खर्च भएको जनाएको छ । नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा सुदूरपश्चिम प्रदेश सरकारले रु ६६ लाख ४० हजार, सङ्घीय सरकारबाट रु ३० लाख ३८ हजार ३२५, नगरपालिकाबाट रु दुई करोड ५० लाख, नगरपालिका कर्मचारीबाट रु चार लाख ६५ हजार १४, सामुदायिक विद्यालयका शिक्षकबाट रु ११ लाख ६८ हजार ४२० जम्मा भएको थियो । बाह्रवन साझेदारी वन व्यवस्थापन समितिबाट रु एक लाख ५० हजार, अत्तरिया साना सहकारी खानेपानीबाट रु ५१ हजार, कञ्चन डेभलपमेन्ट बैंकका प्रबन्धकबाट रु १० हजार तथा विभिन्न सङ्घसंस्थाबाट कोषमा कुल रु तीन करोड ६५ लाख ७५ हजार ७५९ जम्मा भएको थियो । नगरपालिकाले स्थापना गरेको कोषबाट नगरपालिका कार्यालयले इन्धन खर्चबापत रु तीन लाख एक हजार ९१४, राहत तथा क्वारेन्टिन खाद्यान्नबापत रु ६६ लाख ९९ हजार ६७३, मेडिकल सामग्री खरिद रु एक करोड छ लाख ४२ हजार ३९८, रेनकोट र मास्क खरिदमा रु १५ लाख ५३ हजार ८६२, भ्रमणभत्ता रु ४२ हजार, झुल खरिद रु छ लाख ८९ हजार र स्यानेटाइजेसनमा रु दुई लाख दुई हजार ५३३ खर्च भएको नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार खाना व्यवस्थापन खर्चअन्तर्गत रु एक लाख ४८ हजार ४५३ खर्च गरेको छ भने कार्यालयले बैठक खर्चबापत सो अवधिसम्ममा रु एक लाख ३५ हजार खर्च भएको छ ।
स्क्रब टाइफसबाट बैतडीमा एक बालिकाको मुत्यु
बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पु¥याएका थिए । रासस