विकासन्युज

हुलाकी राजमार्गको गति सुस्तः लक्ष्यभन्दा १५८ किमी कम कालोपत्रे, वर्षमा ८ पुल मात्रै बने

काठमाडौं । हुलाकी राजमार्गको गति सुस्त देखिएके छ ।  तराई मधेशको समृद्धिसँग जोडेर हेर्ने गरिएको सो आयोजनामाकाे गति सुस्ता हुँदा अनेक सम्स्याहरु पनि उब्जिरहेका छन् । अहिले कोभिड–१९ का कारण अपेक्षित रुपमा निर्माण हुन नसकेकाले भौतिक प्रगति पनि कम देखिएको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा १५८ किलोमिटर कम सडक मात्रै कालोपत्र भएको छ । आयोजनाले ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । सो आयोजनअन्तर्गत नै १०३ किमी सडक ग्राभेल भएको छ भने आठ पुल निर्माण सम्पन्न भएका थिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नेपालमा फैलिन थालेसँगै निर्माणको काम गर्न गाह्रो भएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए । बन्दाबन्दीको समयमा पनि निर्माणलाई निरन्तरता दिने सरकारले निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयरुले पास उपलब्ध गराएका थिए । आयोजनाले माग गरेभन्दा कम मात्रै पास दिँदा निर्माण सामग्री र जनशक्ति दुबैलाई निर्माणस्थल पु¥याउन गाह्रो भएको थियो । उनले भने “यस्तो समयमा पनि सकेसम्म काम भइरहेको थियो ।” आयोजनाले लक्ष्य लिएकोभन्दा तीन गुणा कम मात्रै पुल निर्माण सम्पन्न भएका थिए । गत आवमा २५ पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा आठ मात्रै सम्पन्न भए । कतिपय स्थानमा चैत अघिसम्म निर्माण भइरहेका पुल पनि बन्दाबन्दीका कारण निर्माण अघि बढाउन नसकिएको प्रमुख बिसुरालले बताए । उनले भने, “पहिले फर्मा लगाइएका पुलमा पनि त्यो हटाएर निर्माण रोकिएको थियो ।” आयोजनाले निर्माणको काम लक्ष्यभन्दा कम भएपछि सडक विभागलाई झण्डै रु चार अर्ब फिर्ता गरेको थियो । आगामी आवमा २०० किमी सडक कालोपत्रको योजना बनाइएको छ । कोभिड–१९ को सङ्क्रमण अझै रहेकाले र चालू आवमा सो आयोजनामा बजेट कम भएकाले गत आवभन्दा थोरै कालोपत्रको योजना बनाइएको हो । कोभिड नेपालमा देखिएदेखि अहिलेसम्म नै आयोजनाको निर्माण भइरहेका विभिन्न जिल्ला र त्यहाँका पालिका सिल भइरहेका थिए । राजमार्गको जम्मा लम्बाइ ९ सय ७५ किमी रहेकामा अहिलेसम्म ५ सय १२ किमी सडक कालोपत्र ९३ पुल सम्पन्न भइसकेका आयोजनाले जनाएको छ । तराईका धेरै जिल्लामा निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन सडक प्रयोगमा आइसकेका छन् । आयोजनाअन्तर्गत नयाँ ट्र्याक खोल्नेभन्दा स्थानीय सडकका रुपमा रहेकालाई राजमार्गका रुपमा स्तरोन्नतिको काम भइरहेको छ । सडकको अधिकार क्षेत्र ३० मिटर भए पनि अहिले २२ मिटर चौडाइ कायम गरिएको प्रमुख बिसुरालले बताए । उनले, “कतिपय बस्ती भएका ठाउँबाहेक अधिकांश स्थानमा २२ मिटर चौडाइ कायम भइरहेको छ ।” निकुञ्ज क्षेत्र र जङ्गल क्षेत्रबाहेक अधिकांश स्थानमा सडक निर्माण अघि बढिरहेको आयोजनाले जनाएको छ । निकुञ्ज क्षेत्र र जङ्गल क्षेत्रमा सडक निर्माण गर्ने प्रक्रियामा लामो समय लाग्ने भएकाले त्यसको विकल्पमा समेत छलफल भइरहेको छ । सो क्षेत्रमा ‘एलाइनमेन्ट’ परिवर्तनका विषय पनि अघि बढेको जनाइएको छ । पहाडी क्षेत्रको पूर्वदेखि पश्चिमसम्म जाने मध्यपहाडी राजमार्गले ठाउँठाउँमा नयाँ बस्ती निर्माण गर्ने भए पनि सो आयोजनाले पुराना बस्ती हुँदै अघि बढ्छ । राणा शासनमा चिट्ठी आदानप्रदान गर्ने हुलाकी सडकको अवधारणाको विकास भएको थियो । सो आयोजनाको उद्देश्य तराई–मधेशमा रहेका जनतालाई यातायात सर्वसुलभ र सहज बनाउनेसँगै यस क्षेत्रका शिक्षा, स्वास्थ्य, कृषि, व्यापारलगायतको विकास गर्ने रहेको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले गत मङ्सिरमा धनुषा र महोत्तरीका राजमार्गअन्तर्गत सडक अनुगमनसमेत गरेको थियो । समितिले सरकारले सडकमा माटो कटान अनियमितरुपमा भइरहेको हुनसक्ने भन्दै प्राविधिकसहितको छानबिन समिति बनाउनुपर्ने सुझाव दिएको थियो । समितिले जनताका सुझाव र त्यहाँका आवश्यकतानुसार कल्भर्ट थप गर्नुपर्ने र सडकको सुरक्षाका लागि ‘रिटेनिङ वाल’ लगाउनुपर्नेसमेत सुझाव दिएको थियो । जलेश्वर–पिपरा, सोहर्वा–पर्सा–पकौली र भिट्ठामोडमा छ लेनमा निर्माण गर्नुपर्ने पनि समितिको सुझाव छ । सरकारले आव ०७९/८० सम्ममा सडक निर्माण गरिसक्ने लक्ष्य लिएको छ । आयोजनाको संशोधित बजेट रु ६१ अर्ब रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना निर्धारित समयमै सम्पन्न हुने बताउँदै आएको छ । केही समयपहिले राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको बैठकमा सचिव देवेन्द्र कार्कीले निर्धारित समयभन्दा एक वर्ष पनि ढिला नहुने बताउनुभएको थियो । मन्त्रालयले राष्ट्रिय गौरवको यो आयोजनासँगै मध्यपहाडी लोकमार्ग आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

१ अर्बको लगानीमा क्वालिटी पेपर ईण्डष्ट्रीज सञ्चालनमा, कागजजन्य फोहरलाई पुनःप्रशोधन गरिने

चितवन । चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लिले सञ्चालनमा आएको हो । कागज उद्योगको इतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल बन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो । उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लिले सञ्चालन ल्याएको जनाएको छ । नवलपुरस्थित आरुङ्गखोलामा विस २०७५ सालदेखि स्थापना भई भरतपुरमा केन्द्रिय कार्यालय रहेर झण्डै दुई बर्षको मिहिनेत पछि आफ्नो उत्पादन बजारमा ल्याउन लागेको हो । मुख्य रुपमा प्याकेजिङ्ग (काटुन) बनाउने कागज उत्पादन पहिलो चरणमा सुरु गर्न लागेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए । यसअघि नेपालमा प्याकेजिङ्गका लागि भारत र चीनसहित तेश्रो मुुलुकबाट आयात गर्ने अवस्था थियो । निकट भविष्यमा सेतो कागज पनि यहि उत्पादन गर्ने र मुलुकको कुल खपत आधा हिस्सा आगट्ने लक्ष्य राखेका उनको भनाई छ । ‘नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिदै हामीले नयाँ कागज उद्योग सञ्चालन ल्याएका हौं उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले भने, लामो समयमा विभिन्न व्यापार व्यवसायमा अनुभव बटुलेका युवा व्यवसायीहरुले स्वदेशी कच्चा पदार्थमै नयाँ प्रयोग गर्दै क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लि जन्मियो ।’ कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग सञ्चालन ल्याएको प्रबन्ध निर्देशक राजन पियाले जानकारी गराए । उनले युरोपियन प्रबिधिको प्रयोग गरी वातावरण प्रदुषणलाई रोक्न यो कागज उद्योग स्थापना भएकादावी गरेका छन् । यस उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालमा हाल ८० प्रतिशत सेतो कागज तथा ६० प्रतिशत प्याकेजिगं कागज विभिन्न मुलुकबाट आयात हुने गरेको तथ्याकं छ । ‘नेपालमा खेर जाने कागजजन्य फोहर हाल सस्तो मुल्यमा विदेश निर्यात हुँदै थियो ।’ उनले भने, ‘अबदेखि स्वदेशमा नै यसको पुनः प्रयोगमा ल्याउनु हाम्रो मुख्य उद्देश्य पनि हो ।’ स्वदेशमा नै रोजगारी सिर्जन गरेर देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ४ जना युवाहरु र प्रभू बैक लिमिटेडको सहकार्यमा १ सय करोड रुपैयाँ लगानीमा उद्योग सुरु हुन लागेको हो । उद्योगले स्थानीय १ सय ५० जनालाई रोजगारी दिने बताएको छ । नेपालमा हाल ३ वटा कागज उद्योग रहेका छन् । विरगञ्ज र विराटनगरको उद्योग सञ्चालनमा रहे पनि भैरहवाको उद्योग वन्द छ । उद्योगले नेपाली बजारबाट निस्कने दैनिक १ सय १५ टन कागजजन्य फोहर संकलन गरी प्रशोधन गरि १ सय २० टन उत्पादन गर्नेछ । यसअघि यस्तो फोहर धेरै मात्रमा भारत र चीनमा निर्यात हुँदै आएको थियो । उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा उत्पादन बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिए । यस्तै देशमा धेरै पत्रपत्रिकाहरुमा समेत रहेका छन् जसका लागि विदेशबाट कागज आयात गरी प्रकाशन हुने गरेकोमा यस्तो कागजसमेत यहाँ नै उत्पादन सुरु गर्ने उद्योगको तयारी छ ।

बैंकका कामहरु समय सान्दर्भिक नभएकोले व्यवसायीहरु हतोत्साहित भए

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनले बैंकका कतिपय क्रियाकलापहरु समय सान्दर्भिक नभएकोले गर्दा व्यवसायीहरु हतोत्साहित हुने गरेको बताएको छ । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले संघले बुधबार आयोजना गरेको कार्यक्रममा सो कुरा जानकारी गराएका हुन् । संघका अध्यक्ष राजु श्रेष्ठले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लागु गरिसके पश्चात पनि कतिपय बैंक तथा वित्तिय संस्थाहरुले ऋणी व्यवसायीको घर दैलोमानै पुगि वक्यौता रकम असुल गर्ने, नवीकरण शुल्क असुल गर्ने लगायत व्यवसायीलाई मानसीक तनाव दिने जस्ता कार्य गरेको पाईएकोले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाका कारण मुख्य गरि पर्यटन, कृषि तथा सेवामुलक व्यवसायीहरु मारमा परेकोले बैंकहरुले हदै सम्मको लचकता अपनाई व्यवसाय मात्र होईन मानवीय सेवा भाव पनि प्रदर्शन गर्नुपर्ने बताए । सोही कार्यक्रममा सहभागीहरुले कतिपय कुराहरु आ-आफ्नो बैंकको नीतिगत व्यवस्थाका कारण पनि नचाहँदा नचाहँदै पनि गर्नुपरेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले चितवनमा देखिएको बैंक र व्यवसायीको समस्या समाधान गर्नका लागि आफु तत्पर रहेको र सोको बारेमा उपल्लो निकायमा जानकारी गराउने बताएका थिए । सोहि कार्यक्रममा सहभागीहरुले हाल कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेकोले बैंकमा सेवाग्राहीको समेत भिडभाड रहने हुँदा बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण हुन सक्ने भएकोले बैंकका कर्मचारीको कोरोना परिक्षण हुने व्यवस्थाका लागि उद्योग वाणिज्य संघ-चितवनलाई सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका थिए । कार्यक्रममा भरतपुर स्थित विभिन्न बैंकका शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

मानव स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । वित्तीय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । बैंक र कलेज दुबैले साउन २८ गते सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । क्वेष्ट इन्टरनेशनल कलेज, ग्वार्को ललितपुरका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम र एम बिए का कक्षा संचालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजले व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गर्दै आएको छ र सात सय भन्दा वढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले इन्टरनशिपको मौका पनि दिँदै आएको छ । उक्त समझदारी पत्रमा हस्ताक्षर भए पश्चात बैंकका कर्मचारीहरुले क्वेष्ट इन्टरनेशनल कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुविधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ । यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, वित्तीय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल क्रमशः पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बुधबार काठमाडाैं उपत्यकामा एकैदिन १३८ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३८ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे १०९, ललितपुरकाे २१ र भक्तपुरकाे ८ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०६७ ललितपुरमा १७२ र भक्तपुरमा ११३ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १४४४ पुगेको छ । आज देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

आज नेपालमा थप ४ सय ८४ जनामा काेराेना पुष्टि, ८ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकैदिन ८ जनाले काराेनाकाे कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ८४ जनामा कोराेना भाइरस देखिएको र ८ जनाले ज्यान गुमाएकाे बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ४ सय ३२ जना पुगेकाे छ भने मृत्‍यु हुनेकाे संख्या ९१ पुगेकाे छ । हाल क्वारेन्टिनमा १४ हजार ८ सय ४६ जना रहेका छन् भने आजसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन खेलाडीको पदक खोसियाे

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको छ । १३ औं संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो ।

पर्यटन बोर्डको बजेट ५० प्रतिशतले घट्यो, सीमित बजेटले उल्लेख्य काम गर्ने सीईओ रेग्मीको दावी

 काठमाडौं । विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको बीचमा आएको नेपाल पर्यटन बोर्डको बजेट गत वर्षको भन्दा आधा आकारको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको बोर्डले चालु आर्थिक वर्ष २०७७/०७८ मा स्रोतको अभाव भएको भन्दै ८२ करोडको बजेट ल्याएको हो । यो बजेट गत आर्थिक वर्षको तुलनामा करिब आधा अर्थात ५० प्रतिशत कम हो । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभाव भएको भन्दै बोर्डले यस वर्षको बजेटको आकार कम भएको बताएको छ । बोर्डले यस वर्षको बजेट मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन र अनुसन्धानलाई मुख्य प्राथमिकता दिने बताएको छ । बोर्डले मुलुकको पर्यटकीय गतिविधि पूर्ण रूपमा ठप्प भएको र बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले चालू आवका लागि विनियोजित बजेटको आकार सानो बनाउनु परेको बताएको छ । के छ बजेटमा ? बोर्डको चालु आर्थिक वर्षको बजेटमार्फत आन्तरिक पर्यटन र अध्ययन अनुसन्धानलाई प्राथमिकता दिइने बताइएको छ। यस वर्ष स्रोतका्े अभाव भएकोले धेरै ठूला कार्यक्रम तथा भौर्तिक पूर्वाधार निर्माणका कार्य नगर्ने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, बजेटमा पर्यटनबाट रोजगारी गुमाएकामध्ये केहीका लागि अल्पकालीन रोजगारी सिर्जना गर्ने कार्यक्रम समावेश गरिएको छ । जसका लागि टिम्सकार्डअन्तर्गतको कल्याणकारी कोषको करिब २ करोड रुपैयाँबाट पर्यटन श्रमिकलाई ब्याज अनुदान दिइने बताइएको छ । बोर्डले यस वर्ष पूर्वाधार विकासमा बजेट छुट्याएको छैन । नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ । पर्यटन प्रवद्र्धनमा सबैलाई सँगसँगै समन्वयका साथ अघि बढाउन डिजिटल मार्केटिङको अवधारणालाई प्राथमिकता दिइएको बताइएको छ । यस्तै बजेट तथा कार्यक्रममा बिबिसी, सिएनएन जस्ता विदेशी मिडियामा प्रचारप्रसारका लागि बोर्डले बजेट व्यवस्था गरेको छ । कोरोनाका कारण पहिले जस्तो प्रवद्र्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोग गरी पर्यटन प्रवद्र्धन गरिनेछ । कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गरिएका कारण चालू आवको पहिलो दुई महिना साउन र भदौमा विदेशी पर्यटक आउने सम्भावना छैन । त्यसपछिको १० महिनामा २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान गर्दै बोर्डले यस्तो बजेट बनाएको हो । सीमित बजेटले उल्लेख्य काम गरिन्छः सीईओ रेग्मी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले चालु आवका लागि कम बजेट विनियोजन भएपनि त्यसबाट उल्लेख्य काम गर्न सकिने बताएका छन् । उनले यस वर्ष स्रोतको धेरै अभाव भएकोले बजेटको आकार घटाएको स्पष्ट पारे । ‘अहिलेलाई मुस्किलले ८२ करोड विनियोजन गरिएको छ, यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिन्छ, कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्छन्, उनले भने । उनले यस पटकको बजेटमा अध्ययन, अनुसन्धान र डिजिटल मार्केटिङलाई दृष्टिगत गरी बजेट विनियोजन गरिएको बताए । उनले विदेशी पर्यटक आगमनबाट हुने आम्दानी नै बोर्डको मुख्य आर्थिक स्रोत भएकोले कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट घटाइएको बताए । ‘बजेट छोटो छ तर धेरै उपलब्धि हासिल गर्ने योजनाका साथ ल्याइएको हो, अघिल्ला बजेटभन्दा यस पटकको बजेट निकै प्रगतिशील भएको छ, यस पटकको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि विशेष जोड दिएकाले कोभिडपछिको पर्यटनलाई रिभाइवमा सहयोग पुग्ने विश्वास लिइएका छौं,’ उनले भने । उनले कोरोनाका कारण बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बताएका छन् ।