बैंकका कामहरु समय सान्दर्भिक नभएकोले व्यवसायीहरु हतोत्साहित भए

<p>काठमाडौं । उद्योग वाणिज्य संघ चितवनले बैंकका कतिपय क्रियाकलापहरु समय सान्दर्भिक नभएकोले गर्दा व्यवसायीहरु हतोत्साहित हुने गरेको बताएको छ । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले संघले बुधबार आयोजना गरेको कार्यक्रममा सो कुरा जानकारी गराएका हुन् । संघका अध्यक्ष राजु श्रेष्ठले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लागु गरिसके पश्चात पनि कतिपय बैंक तथा वित्तिय संस्थाहरुले ऋणी [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनले बैंकका कतिपय क्रियाकलापहरु समय सान्दर्भिक नभएकोले गर्दा व्यवसायीहरु हतोत्साहित हुने गरेको बताएको छ । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले संघले बुधबार आयोजना गरेको कार्यक्रममा सो कुरा जानकारी गराएका हुन् ।

संघका अध्यक्ष राजु श्रेष्ठले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लागु गरिसके पश्चात पनि कतिपय बैंक तथा वित्तिय संस्थाहरुले ऋणी व्यवसायीको घर दैलोमानै पुगि वक्यौता रकम असुल गर्ने, नवीकरण शुल्क असुल गर्ने लगायत व्यवसायीलाई मानसीक तनाव दिने जस्ता कार्य गरेको पाईएकोले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाका कारण मुख्य गरि पर्यटन, कृषि तथा सेवामुलक व्यवसायीहरु मारमा परेकोले बैंकहरुले हदै सम्मको लचकता अपनाई व्यवसाय मात्र होईन मानवीय सेवा भाव पनि प्रदर्शन गर्नुपर्ने बताए । सोही कार्यक्रममा सहभागीहरुले कतिपय कुराहरु आ-आफ्नो बैंकको नीतिगत व्यवस्थाका कारण पनि नचाहँदा नचाहँदै पनि गर्नुपरेको बताएका थिए ।

कार्यक्रममा सहभागिहरुले चितवनमा देखिएको बैंक र व्यवसायीको समस्या समाधान गर्नका लागि आफु तत्पर रहेको र सोको बारेमा उपल्लो निकायमा जानकारी गराउने बताएका थिए । सोहि कार्यक्रममा सहभागीहरुले हाल कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेकोले बैंकमा सेवाग्राहीको समेत भिडभाड रहने हुँदा बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण हुन सक्ने भएकोले बैंकका कर्मचारीको कोरोना परिक्षण हुने व्यवस्थाका लागि उद्योग वाणिज्य संघ-चितवनलाई सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका थिए ।

कार्यक्रममा भरतपुर स्थित विभिन्न बैंकका शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

Share News