काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउन तथा सामाजिक सुरक्षा प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।
नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पाण्डेले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा राखे ।
उनले हालै सरकारले जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ का केही प्रावधान सकारात्मक भए पनि त्यसले निजी क्षेत्र र निर्माण व्यवसायीलाई थप चुनौती सिर्जना गरेको धारणा राखे ।
त्यस्तै, पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई आर्थिक भार पर्ने पाण्डेले बताए ।
यस्तो व्यवस्था लागू गर्नुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श आवश्यक रहेको उनको भनाइ छ ।
रोजगारदाता परिषद्का सभापति समेत रहेका पाण्डेले महासंघले सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै उक्त रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग तथा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।