काठमाडौं । आरएमसी फुड्स प्रालिले दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता बनेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा कम्पनीले ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्राप्त गरेको छ ।
मंसिर ७ गते राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा आयोजित कार्यक्रममा कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो । ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो ।
त्यसैगरी, मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको समारोहमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो । भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको सम्मानपत्र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले हस्तान्तरण गरेका थिए । मन्त्रालयका सचिव रुद्रसिंह तामाङले कम्पनीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्सले बाराको जीतपुरस्थित आधुनिक उद्योगबाट प्रशोधित खाद्य तेल, विशेषगरी ‘नट्रिप्लस’ ब्रान्डलगायतका खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ ।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्षसमेत रहेका कम्पनीका प्रतिनिधि राजेशकुमार अग्रवालले सरकारबाट प्राप्त सम्मानले स्वदेशी उत्पादनको गुणस्तर बढाउन र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा मिलेको बताएका छन् ।
उनले व्यापार घाटा न्यूनीकरण र दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता निरन्तर रहने बताए ।