काठमाडौं । नेपालका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, राहत वितरण तथा स्थानीय आर्थिक गतिविधि पुनःस्थापनाका लागि नेपाल र भारतका निजी क्षेत्रका दुई प्रमुख संस्थाले सहकार्य गर्ने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सन् २०२६ नोभेम्बर २२ मा भएको समझदारीमा एफएनसीसीआईका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सीआईआईको अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष विक्रमजित सिंह साहनीले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार पहिलो चरणमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण र अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने कार्यक्रम अघि बढाइनेछ ।
त्यसपछि प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना र साना तथा मझौला उद्यमको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने योजना छ ।
पहिलो चरणको कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव छ । यसअन्तर्गत प्रभावित समुदायमा चिकित्सकसहितको टोली परिचालन गरी स्वास्थ्य परीक्षण, सामान्य रोगको उपचार, निःशुल्क अत्यावश्यक औषधि वितरण तथा थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिनेछ ।
त्यस्तै, जोखिममा रहेका परिवारलाई स्वास्थ्य तथा सरसफाइ सामग्री (वास किट) वितरण गरिनेछ । किटमा साबुन, ह्यान्डवास, डिटर्जेन्ट, पानी शुद्धीकरणका लागि ब्लिचिङ पाउडर, दाँत माझ्ने सामग्री र सेनिटरी प्याडलगायत सामग्री समावेश गर्ने प्रस्ताव छ । खाद्यान्न, लत्ताकपडा, कम्बल र अस्थायी टेन्टसमेत वितरण गर्ने योजना छ ।
कार्यक्रमअन्तर्गत दुई अस्पताललाई आधारभूत जीवनरक्षा सेवा (बीएलएस) सुविधासहितका एम्बुलेन्स उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।
एउटा एम्बुलेन्सले वार्षिक करिब ४०० बिरामीलाई अस्पताल पुर्याउन र ६ हजार जनासम्मलाई स्वास्थ्य पहुँच तथा सामुदायिक स्वास्थ्य सेवामा सहयोग गर्न सक्ने अनुमान गरिएको छ । एम्बुलेन्सको सञ्चालन र दिगोपनाका लागि सीआईआई, एफएनसीसीआई र स्थानीय सरकारको सहकार्यमा छुट्टै व्यवस्थापन मोडेल तयार गरिनेछ ।
दोस्रो चरणमा बाढीबाट आयआर्जनका स्रोत गुमाएका परिवारलाई पुनःस्थापनामा सहयोग गरिनेछ । त्यसका लागि प्रभावित परिवारको जीविकोपार्जनमा भएको क्षतिको मूल्यांकन गरी कृषि, पशुपालन, साना व्यापार तथा स्थानीय सेवामूलक व्यवसाय पुनःसञ्चालन गर्न आवश्यक उपकरण, सीप विकास र प्रारम्भिक सहयोग उपलब्ध गराउने प्रस्ताव छ । महिला नेतृत्वका परिवार र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
त्यसैगरी, बाढीबाट प्रभावित लघु, साना तथा मझौला उद्यमको क्षति मूल्यांकन गरी पुनरुत्थानमा सहयोग गर्ने, वित्तीय पहुँच र बजारसँग जोड्ने तथा नेपाली र भारतीय उद्योगबीच व्यावसायिक साझेदारी विस्तार गर्ने योजना पनि समझदारीमा समेटिएको छ ।
कार्यक्रमका लागि सीआईआईले भारतीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय, स्रोत परिचालन, कार्यान्वयन साझेदारको पहिचान र कार्यक्रमको अनुगमन गर्नेछ ।
एफएनसीसीआईले नेपाल सरकार तथा स्थानीय तहसँग समन्वय, आवश्यक स्वीकृति र अनुमति प्राप्त गर्न सहजीकरण तथा नेपाली उद्योगी व्यवसायीको सहभागिता सुनिश्चित गर्ने जिम्मेवारी पाएको छ ।
कार्यक्रमको प्रारम्भिक लक्षित क्षेत्र बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङसहित गोरखा र बागलुङका बाढी प्रभावित क्षेत्र हुन् । सम्भावना र आवश्यकताका आधारमा दोस्रो चरणमा मुस्ताङ र मनाङलगायत बाढी प्रभावित क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्न सकिने समझदारीमा उल्लेख छ ।
कार्यक्रम कार्यान्वयनअघि नेपाल सरकारको स्वीकृति, प्रभावित क्षेत्रको स्थलगत मूल्यांकन र लाभग्राही पहिचान गरिनेछ । राहत सामग्री, औषधि तथा एम्बुलेन्सको सीमापार ढुवानीका लागि आवश्यक अनुमति र सहजीकरण नेपाल सरकारसँग माग गरिएको छ ।
समझदारीपत्र एक वर्षका लागि लागू हुनेछ । दुवै संस्थाले आफ्नै विद्यमान स्रोतबाट समझदारीमा उल्लेखित गतिविधि अघि बढाउने र कुनै पनि संस्थामाथि अर्को संस्थाप्रति स्वतः वित्तीय दायित्व सिर्जना नहुने व्यवस्था गरिएको छ । विशिष्ट कार्यक्रम, स्रोत परिचालन तथा आर्थिक व्यवस्थापनका विषयमा भने छुट्टै लिखित सहमति गर्नुपर्नेछ ।