काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को ४ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब २९ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । यस वर्ष आयात र निर्यात दुवैमा वृद्धि भएपछि कुल वैदेशिक व्यापार बढेको हो ।
समीक्षा अवधिमा नेपालको आयात ३१.७७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ४ महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, निर्यातमा पनि उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४३.४८ प्रतिशतले वृद्धि भई १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
आयातको तुलनामा निर्यातको वृद्धि दर बढी भए पनि व्यापार घाटा भने बढेको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा २९.६५ प्रतिशतले वृद्धि भई ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।
यद्यपि, कुल व्यापारमा निर्यातको हिस्सा बढेको छ । गत आर्थिक वर्षको चार महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १४.३१ प्रतिशत पुगेको छ । यसमा ७.६१ प्रतिशतको वृद्धि देखिएको छ ।
त्यस्तै, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८६.७० प्रतिशत रहेको आयातको हिस्सा चालु आर्थिक वर्षमा घटेर ८५.६९ प्रतिशतमा झरेको छ ।
आयात र निर्यातबीचको अनुपातसमेत सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा निर्यातको तुलनामा आयात ६.५२ गुणा बढी रहेकोमा चालु आर्थिक वर्षमा घटेर ५.९९ गुणामा सीमित भएको छ । यसमा ८.१६ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ ।