समुदायमा कोरोना देखिएपछि तनहुँको देवघाट गाउँपालिका १ साता सिल
दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो”, थापाले भने । थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ । सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ । उनको सम्पर्कमा आएका ४३ जनाको बुधबार स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणको लागि भरतपुर पठाइएको छ । अर्का सङ्क्रमित ३० वर्षीय पुरुष काठमाडौँमा सरकारी जागिरे थिए । आफू कार्यरत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी होमक्वारेन्टिनमा बसेका थिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले कन्ट्याक्ट ट्रेसिङ गरेर थप व्यक्तिको स्वाब सङ्कलन आइतबार गरिने जानकारी दिए । भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि मङ्गलबार दुई जना समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि भएको थियो । भानु नगरपालिकाले मङ्गलबारदेखि नै एक साताका लागि नगरक्षेत्र सिल गरिसकेको छ । यसैगरी देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि क्षेत्र विकास समितिको कार्यालय आजदेखि बन्द गरिएको छ । समितिले बुधबार सूचना निकालेर भदौ ४ गतेसम्म समितिको नियमित कार्य सञ्चालन बन्द गर्ने जानकारी गराएको छ । समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि समितिका पदाधिकारी एवं कर्मचारी उच्च जोखिममा रहेको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले समितिको कार्यालय बन्द गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए । अत्यावश्यक सेवाअन्तर्गत दाहसंस्कार व्यवस्थापन कार्य र देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा प्रदान गरिने सेवा भने यथावतरुपमा सञ्चालन हुने घिमिरेले जानकारी दिए ।
७७ वटै जिल्लामा सवारी पास वितरण बन्द
काठमाडौं । गृह मन्त्रालयले पास वितरण बन्द गर्न निर्देशन दिएकाे छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको सवारी पास वितरण बन्द गर्न गृहले रोक लगाएकाे हाे । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले सवारी पार वितरण रोक्न निर्देशन दिएको हो। गृहले जारी गरेको परिपत्रमा कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७ साउन २९ गतेदेखि लागू हुनेगरी पास वितरण नगर्न भनिएको छ। कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो । यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड-१९ को संक्रमण बढ्दो छ । काठमाडौं उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाई गरिएको छ ।
कोरोनाले विज्ञापन बजार ८० प्रतिशतले घट्यो, सबैभन्दा बढी असर पत्रपत्रिकामा
काठमाडाैं । कोभिड १९ संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमि आएको नेपाल विज्ञापन संघ (आन)ले बताएको छ । आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशत सम्म गिरावट आएको बताएका हुन् । तर पछिल्लो समय लकडाउन खोलिएपछि भने विज्ञापन बजारमा ५० प्रतिशत सुधार आएको उनले बताए । लकडाउन सुरुभएपछि पनि डेढ महिना सम्म व्यवसायीहरु पर्ख र हेरको अवस्था रहदा विज्ञापन बजारमा कुनै असर नपरेको तर त्यसपछि भने एकैपटक ८० प्रतिशतले कारोबार घटेको उनले बताए । उक्त समयमा सबैभन्दा धेरै असर पत्रपत्रिकामा परेको पनि उनले बताए । रेडियो र टेलिभिजनमा खासै असर नपरेपनि पत्रपत्रिकामा सबैभन्दा बढी असर परेको बताए । उद्योगी व्यवसायीहरुले नेपालको मिडियाको लागि काम गर्नुपर्छ भन्ने वातावरण नबन्दा सम्म विज्ञापन बजारमा सुधार हुन नसक्ने उनको भनाइ छ । त्यसका लागि सरकारबाट नै सहयोग हुनुपर्ने रिजालले बताएका छन् आर्थिक वर्ष २०७५/०७६ मा करिब १२ अर्ब रूपैयाँ बराबरको व्यापार विज्ञापन बजारले गरेको थियो । त्यसमध्ये ५ अर्बको कारोबार होडिङ बोर्ड र भित्ते लेखनमा भएको थियो भने बाँकी ७ अर्ब बराबरको कारोबार सञ्चार माध्यम मार्फत भएको थियो । तर गत आर्थिक वर्षमा सञ्चार माध्यममा ५ अर्ब बढीले व्यापार घटेर २ अर्बमा सिमित भएको रिजालले बताए । त्यस्तै होडिङ बोर्डमा १ अर्ब बराबरको विज्ञापन भएकाले समग्रमा ७० प्रतिशत भन्दा बढी कारोबार घटेको उनले बताए । चालु आर्थिक वर्षमा ८ अर्बको विज्ञापन बजार निर्माण हुने अपेक्षा गरिएको तर यहि अवस्था रहेमा औषतमा ५० प्रतिशत कारोबार हुन सक्ने बताए । जसमध्ये सञ्चार माध्यमले ४० प्रतिशत भन्दा बढी रकम कन्टेन्टका लागि खर्च गर्ने भएकाले बाँच्न गाह्रो हुने उनले भने । त्यसैले सरकारले विज्ञापन बजारको वातावारण निर्माण गर्न विशेष पहल गर्नुपर्ने उनको भनाई छ ।
सिद्धार्थ बैंकले सरकारलाई दियो २ करोड ६७ लाख रुपैयाँ
काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ । बैंकले सरकारले स्थापनका गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोग गर्ने बताए । यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ रुपैयाँ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ । हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसंगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
राष्ट्र बैंकका कर्मचारीमा काेराेना देखिएपछि मुद्रा व्यवस्थापन विभाग सिल
काठमाडाैं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुषटि भएकाे हाे । उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारी हुन् । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ ।
विद्युत प्राधिकरणका कर्मचारीको कोरोनाबाट मृत्यु
काठमाडाैं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण भएर मृत्यु भएकाे छ । विराटनगर वितरण केन्द्रका ५७ वर्षीय कर्मचारीको मृत्यु भएको बताइएकाे छ । मृतक मधुमेह र दमका रोगी थिए । विराटनगर महानगरपालिका स्थायी घर भएका उनको दिउँसो ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि सोमबार कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
अब आईपीओमा कम्तिमा ५० कित्ता आवेदन दिनुपर्ने
काठमाडौं । प्राथमिक बजारमा ‘बुक बिल्डिङ्ग’ विधि लागू भएको छ । नेपाल धितोपत्र बोर्डको साउन २२ गते बसेको बैठकले ‘बुक बिल्डिङ् निर्देशिका, २०७७’ लागू गरेको हो । यससँगै अब बुक बिल्डिङ् मार्फत सार्वजनिक निष्काशन गरेको कम्पनीको धितोपत्र खरिदमा सर्वसाधारणले कम्तिमा ५० कित्ता सेयरको लागि मात्र आवेदन दिन पाउने भएका छन् । साथै, बाडँफाँड हुने धितोपत्र संख्या पनि न्युनतम ५० कित्ता हुने छ । अन्यको हकमा भने पुरानै नियम अनुसार न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने र बाँडफाँड हुँदा न्युनतम १० कित्ता सेयर पाइने बोर्डले जनाएको छ। साथै, यस सम्बन्धि विभिन्न व्यवस्थाहरू लागू गरिएकाे छ । जसमा संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने व्यवस्था रहेको गरेको छ । स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था गरेको छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डको अपेक्षा रहेको छ । निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने समेत बोर्डको अपेक्षा रहेको छ । साथै, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ । [pdf id=232118]
अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द
काठमाडौं । ललितपुर महानगरपालिकाले १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्न गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गरी अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गरेकाे जनाएकाे हाे । दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । याे अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने बताइएकाे छ । यसअघि काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरुको मेयरहरुको संगठन नगरपालिका मेयर्स फोरमको बैठकले स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।