विकासन्युज

पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ पुन: सञ्चालनमा

टिस्टुङ । पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए । पहिरोले सडक अवरुद्ध भएको थियो ।

काठमाडौ‌ंमा थप कडाई: खुला स्थानमा भेला, भीडभाड गरे कारवाही हुने

काठमाडाै‌ं ।  उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधि निषेधको आदेश जारी गरेका हुन् । आदेश विपरीतका काम भएमा ऐन बमोजिम कारवाही गरिने जनाइएको छ । खुला स्थानमा भेला, भीडभाड र जुलुस, भीडभाड हुने गतिविधि, जात्रा महोत्सव, पूजा तथा धार्मिक कार्यक्रम, उद्योग व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्व तथा धार्मिक कार्यका लागि हुने जमघट गर्न निषेध गरिएको आदेशमा जनाइएको छ । यस्तै शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहायल, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको छ । फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय तथा कवाड सङ्कलन, उद्योग व्यवसायका लागि स्वास्थ्य मापदण्ड विपरीत कामदार ओसारपसार गर्न, टेक वे बाहेकका होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको प्रजिअ दाहालद्वारा जारी आदेशमा उल्लेख छ । आज बिहानदेखि लागू भएको उक्त आदेश आगामी भदौ १५ गतेसम्म जारी रहने जनाइएको छ । रासस

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक संचालक समिति स्रोतले जानकारी दियो । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले २० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेकाकाे देखि वित्तीय क्षेत्र सुधारकाे क्रममा नेपाल बैंकमा व्यवस्थापन विदेशीले संहाल्दा उच्च तहमा सँगै काम गरेको अनुभव पनि हासिल गरेका छन् । उनी नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पहिलाे पटक प्रमुख कार्यकारी अधिकृत भएका थिए । एनसीसी बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएपछि बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । ग्लोबल आइएमई बैंकको ४ वर्षे कार्यकाल पूरा भएपछि बज्राचार्य सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सनराइज बैंकमा पनि ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । बज्राचार्य अहिलेसम्म जुन बैंकको प्रमुख कार्यकारी अधिकृत भएका छन्, ती बैंकमा एक कार्यकाल पूरा गरेका छन् । र, उनले कार्यकाल दोहोर्याएका छैनन् । करिब १ वर्षअघि तत्कालिन जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि परशुराम कुवँरले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेका थिए । तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंक  ग्लोबल आइएमई बैंकमा मर्ज हुने वित्तिकै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका बज्राचार्यले पोष्ट मर्जर व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेका थिए । अहिले पनि ग्लाेबल आइएमई बैंकमा पाेष्ट मर्जर व्यवस्थापनदेखि व्यवसाय विस्तारसम्मका चुनाैति सामना गर्न बैंकले उनलाई जिम्मेवारी दिएकाे हाे । खह्राे स्वभावका बज्राचार्य नतिजामुखी बैंकर्सकाे रूपमा परिचित छन् ।

चार अर्ब ४५ करोड बढीको आईपीओ पाइपलाइनमा, सबैभन्दा बढी इन्स्याेरेन्स र लघुवित्तकाे

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण सेयर(आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेको छ । बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि बोर्डमा आवेदन परेको हो । बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए । यस्तै अहिले पनि करिब १ अर्ब बराबरको आईपीओ स्वीकृत भइसकेको उनले बताए । जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन हुँदै छ । त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन हुँदैछ । जसमध्ये लिबर्टीले भदौ ३ गतेदेखि र रिलायन्स लाइफ इन्स्योरेन्स तथा समाज लघुवित्तले भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने मिति तय गरेका छन् । चालु आर्थिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए । अहिले पनि केही कम्पनीहरु आईपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको उनले बताए । त्यसबाहेक केही जलविद्युत कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्नका बुझ्न आएको केसीले जनाएका छन् । हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन् । जसमध्ये चार वटा कम्पनीको प्रारम्भिक अध्ययनको क्रममा छन् भने ५ वटा कम्पनीको अध्ययनसँगै प्रतिवद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ ।

मौद्रिक नीतिले ‘स्ट्रेस फिल’ गराएको बैंकर्सको गुनासो, राष्ट्र बैंक भन्छः एक वर्ष जोहो गर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले बैंकहरुलाई स्ट्रेस फिल अर्थात तनाव महसुुस भएको बैंकरहरुले गुनासो गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले शुक्रबार यस्तो गुनासो गरेका हुन् । शुक्रबार राजधानी काठमाडौंमामा नेपाल उद्योग वाणिजय महासंघले आयोजना गरेको मौद्रिक नीतिमा गरिएका व्यवस्था र कार्यान्वयनको अवस्था सम्बन्धि कार्यक्रममा दाहालले मौद्रिक नीतिले बैंकहरुलाई केही असहज र तनाापूर्ण अवस्था सिर्जना गराएको गुनासो गरेका हुन् । सो अन्र्तक्रिया कार्यक्रममा दाहालले कोरोना भाइरसको महामारीलाई सबै मिलेर समाधान तथा जोखिम बहन गर्नुपर्ने भएको भएपनि बैंकहरुलाई भने थोरै समस्या हुन सक्ने संकेत व्यक्त गरे । उनले अहिले बैंकहरुले भोगेको समस्या र व्यहोर्नु परेको आर्थिक क्षतिको आँकडा यकिन नगरेपनि त्यसको संकेत भने गरे । मौद्रिक नीति मार्फत आएका व्यवस्थाहरुलाई सबै बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयन गरिसकेको जानकारी गराउँदै बैंकले मात्र जोखिम बहन नगरी बैंकमार्फत सप्लाई भएको राहत उपभोक्तासम्म जानु पर्ने धारणा राखे । ‘हामीले उद्योगी व्यवसायीहरुको राहत र आर्थिक पुनरुत्थानका लागि राष्ट्र बैंकले निर्देशन गरे अनुसार नै काम गरेका छौं, हामीले उद्योगी व्यवसायीलाई दिएको राहत उद्योगीले मात्र नभएर उपभोक्ताले पनि पाउनु पर्छ, तव मात्र हामीले सोचेको जस्तो देश बन्न सक्छ, यसका लागि हामी सबैले मिलेर काम गर्नु पर्छ,’ दाहालले भने । राष्ट्र बैंकको सर्कुलर हामीले पूर्ण रुपमा कार्यान्वयन गरेका छौं, अझै पनि तपाईरुलाई कुनै असन्तुष्टि छ भन हामीले गुनासो सुनुवाईको व्यवस्था पनि गरेका छौं, त्यसमा गुनासो गर्न सक्नुहुन्छ, नभए राष्ट्र बैंकमै गुनासो गर्नसक्नुहुन्छ, तर तपाईहरुले पनि बैंकबाट सप्लाई भएको राहत उपभोक्तासम्म पुर्याउनुु पर्छ, उनले व्यवसायीलाई भने । राष्ट्र बैंकले गरेको सर्कुलरमा बैंकहरुले कुनै पनि कम्प्रमाइज नगरेको पनि उनले बताए । उनी भन्छन्, ‘राष्ट्र बैंकले तिमी बिराम भएका छैनौं मात्र भन्यो, हामी बिरामी भएका छौं कि छैन त्यो हामीलाई थाहा छ, हामी सबैले बाँच्ने हिसावले काम गर्नुपर्छ,’ उनले भने । उनको गुनासोको प्रतिक्रिया दिँदै राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले यो अवस्थामा सबैले मिलेर जानुपर्ने भएकोले अलिकति जोखिम बहन त स्वभाभिक भएको बताए । ‘कोरोनाको महामारी छ, सबैलाई समस्या नै भएको छ, हामीले पनि कसले कति जोखिम बहन गर्न सक्छ र कसरी आर्थिक पुनरुत्थान गर्न सकिन्छ भनेरै अध्ययन गरेर सम्पूर्ण व्यवस्थाहरु गरेका हौं, एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्छ,’ उनले भने । ‘हामीले बैंकहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कोभिड १९ कोषमा हाल्न लगाएका छौं, उद्योगी व्यवसायीहरुलाई सहुलियत ब्याजमा ऋण पनि भनेका छौं, स्वभाविक रुपमा यो वर्ष बैंकहरुले धेरै आर्थिक भार ब्यहोर्नु परेको छ, तर यो आर्थिक भार यो वर्ष मात्र व्यहोर्ने हो, यो वर्ष जसरी भएपनि जोहो गर्नुस्, सिवाकोटीले भने । उनले बैंकको नाफा घट्यो भने कुनै पनि क्षेत्र बाँच्न नसक्ने धारणा राख्दै सबैले विन–विन किसिमले अगाडि बढ्नु पर्ने धारणा राखे ।

काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सकियो (फाेटाेफिचरसहित)

काठमाडौं । वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सम्पन्न भएको हो । कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिएपनि गत वैशाख दोस्रो साताबाट सुरु भएको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको काष्ठमाण्डप पुर्ननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । पहिलो तलाको सम्पूर्ण काम सकिएको र दोस्रो तलाको काम जारी रहेको उनले बताए । काष्ठमाण्डप पुर्ननिर्माणमा प्राचिनकालमा प्रयोग गरिएको सामग्री र विधि प्रयोग भइरहेको छ । ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको उनले बताए । काठमाडौं महानगरपालिका, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुर्ननिर्माण भइरहेको छ । पुननिर्माणको खर्च महानगरपालिकाले व्यहोर्ने समझादारी अनुसार काम भइरहेको छ । अहिलेसम्म महानगरले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको उनले बताए । कोरोना संक्रमणको जोखिम देशव्यापी रहेपनि आवश्यक सावधानि अपनाएर पुर्ननिर्माणको काम जारी रहेको उनले बताए । काष्ठमण्डप पुर्ननिर्माणका लागि अहिलेसम्म ७ हजार ९ सय २ क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ । अझै ३, ४ हजार क्यूफिट काठको आवश्यकता रहेको उनले बताए । ६४ वर्षमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाइ साढे २६ मिटर रहेको छ । भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुर्ननिर्माण समितिले जनाएको छ ।

उद्योग वाणिज्य संघ चितवनले थप्यो कोरोना बीमाको म्याद, असोजसम्मै निःशुल्क गरिदिने

भरतपुर । उद्योग वाणिज्य संघ-चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । उद्योग वाणिज्य संघ-चितवनको आज (साउन ३० गते) को बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण गर्ने सदस्यहरुलाई ५० हजार रुपैयाँ बराबरको निःशुल्क कोरोना बीमा गरिदिने निर्णय गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तिब्र गतिमा बढ्दै गएको र व्यवसायी सदस्य यसको जोखिममा रहेकोले यसको म्याद थपिएको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले जानकारी दिए । संघमा आवद्ध करिब ५ हजार सदस्यहरुको नै निःशुल्क बीमा गरिदिने कार्यक्रम बमोजिम असौज मसान्तसम्मको म्याद थप गरिएको पन्तले जानकारी दिए । उद्योग वाणिज्य संघ-चितवनले सो योजना गत असार महिना देखी लागु गरेको र एक जना व्यवसायीलाई कोरोना संक्रमणको पुष्टि भईसकेकोले बीमा रकम उपलब्ध गराउन लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । साथै, संघले आज एक सूचना जारी गरि विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम एक हप्ताको लागि भरतपुर महानगरपालिकामा लकडाउन लागू गर्ने भएकोले उद्योग व्यवसाय बन्द गरि आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहनका लागि नेपाल सरकारद्धारा लागू गरेका स्वास्थ्य तथा सुरक्षाका उपायहरु अबलम्बन गर्न अनुरोध गरेको छ । संघमा आवद्ध सदस्यहरुलाई सचेत गराउनका लागि संघले विभिन्न सामाजिक सञ्जाल मार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको समेत संघले जनाएको छ ।

सिद्धार्थ बैंक र कामना सेवाबीच विप्रेषण सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी कारोबारको लागि सम्झौता भएको छ । दुई बैंकबीच उक्त कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता भएको हो । यससँगै, थप सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने छ । उक्त सम्झौता पत्रमा कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।