विकासन्युज

नेपाल आयल निगमका १० जनामा काेराेना देखियाे

काठमाडाैं । रुपन्देहीमा नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परीक्षण रिपोर्टअनुसार आयल निगम भलवारीका ३, भैरहवा पेट्रोल पम्पका ३ र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ । केही दिनअघि विमानस्थल डिपोका ४ जना कर्मचारीलाई रुघाखोकी लागेर पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि निगमले जिल्लामा रहेका ३ वटै डिपोका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । त्यसरी पठाइएकामा भलबारी डिपोका ४० मध्ये ३, भैरहवा पेट्रोल पम्पका २२ मध्ये ३ र विमानस्थलका १६ मध्ये थप ४ जनामा संक्रमण पुष्टि भएको हो । अन्यको नतिजा आउन बाँकी छ ।

न्यूराेड दुई दिन बन्द रहने

काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्यूरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएका छन् । साे क्षेत्रका खिचापोखरी, गुच्चा टोल, ओटुलगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा काेराेना भाइरस  संक्रमण देखिएकोएकाेले साे क्षेत्र २ दिन बन्द रहने बताइएकाे हाे । साे क्षेत्रमा विक्रेता र ग्राहकले मास्क र सेनीटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एउटाभन्दा बढी काउन्टर प्रयोग खोल्न नपाइने र प्रत्येक पसलमा सामाजिक दुरी कायम हुने वातावरण बनाउनु पर्ने बताइएकाे छ । साे कामकाे व्यवस्थापनका लागि बन्द गर्न थालिएकाे हाे ।

सरकारको कोरोना कोषमा बैंक तथा वित्तीय संस्थाको सहयोग पौने २१ करोड, सबैभन्दा बढी नविलको, अन्यको कति ?

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम सहयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साे काेषमा रकम सहयोग गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप बैंकले सो काेषामा सहयोग गरेका हुन् । हालसम्म सो कोषमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गरेका छन् । ८ वटै बैंक तथा वित्तीय संस्थाहरुले कुल २० करोड ७९ लाख ५१ हजार ९ सय १७ रुपैयाँ सहयोग गरेका हुन् । ८ वटै बैंक तथा वित्तीय संस्थाहरुमा सबैभन्दा बढी सहयोग नविल बैंकले गरेको छ । नविल बैंकले कोरोना कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ । यस्तै्, कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा हालसम्म विभिन्न व्यक्ति तथा संस्थाहरुले साढे २ अर्ब रुपैयाँ सहयाेग गरेका छन् । कुन बैंक तथा वित्तीय संस्थाकाे सहयाेग कति ? १. नेपाल बैंक – ३ करोड ४६ लाख रुपैयाँ २. सिद्धार्थ बैंक– २ करोड ६७ लाख २७ हजार ९ सय २९  रुपैयाँ ३. प्रभु बैंक – १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ ४. सनराईज बैंक – ७९ लाख ४४ हजार ४ सय ७६  रुपैयाँ ५. राष्ट्रिय वाणिज्य बैंक– २ करोड ६९ लाख ९३ हजार १ सय ४५  रुपैयाँ ६. कृषि विकास बैंक– ४ करोड १० लाख १० हजार  रुपैयाँ ७. नविल बैंक – ६ करोड  रुपैयाँ ८. डिप्रोक्स लघुवित वित्तीय संस्था लि.– ४६ लाख, ५८ हजार १ सय २९  रुपैयाँ

विराटनगरमा थप ४३ सङ्क्रमित थपिए

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ÷छ जना , विराटनगर २ र ५ का चार ÷चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् । यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।

मध्यपुरथिमिमा भदौ ९ गतेसम्म लकडाउन, अत्यावश्यक पसल २ घण्टा मात्रै खोल्न पाइने

काठमाडाै‌ं । मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिएको छ । लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनले मानिस चढाउन र ओराल्न समेत दिएको छैन । अरनिको राजमार्गमा कुनै पनि सवारीसाधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउन गरिएको जानकारी दिँदै प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरियामैत्री नगरपालिका अस्पतालसमेत सिल गरेपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा रोकिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल शनिबार सिल गरिएको थियो । आजबाट नै आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

एल.जी.को भिभाचे सिरिज वासिङ मेसिन नेपाली बजारमा

काठमाडाै‌ं ।  एल.जी. एआई डिडीटिएम मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा एआई डिडीटिएम जस्ता लेटेस्ट प्रविधि रहेको छ जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाई  कपडाको गुणस्तर १८% ले जोगाउँछ । एआई डिडीटिएम वासिङ मेसिनले बिग डाटा विथ डिप किल्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । यस वासिङ मेसिनमा स्टिम प्लस टिएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र निकै राम्रो धुलाई दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिनबाट बचाउँदछ । यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साईकल पुरा गर्दछ जसले बिजुलीकाे साथसाथै समयको बचत गर्छ । यसमा १०० प्रतिशत स्टेनलेस स्टिल रहेको छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाईजेनिक र कपडा गनाउन दिँदैन । यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्राय्च नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथै आर्कषक डिस्प्ले पनि रहेको छ । कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मदत ले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले भोलि (भदौ १ गते) देखि कार्यभार सम्हाल्ने भएका छन् । गत साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले भोलिदेखि पदबहाल गरी आफ्नो कार्यभार सम्हाल्ने भएका हुन् । उनलाई गत साउन ३० गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सीईओको रुपमा सेवा गरिसकेका छन् । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जर पछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि सीईओको रुपमा नेतृत्व गरिसकेका छन् । २०७६ मंसिर २० गतेदेखि ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकिकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । सम्बन्धित समाचारः ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव  

भाेलि नेकपाकाे सचिवालय बैठक बस्ने, हाेला त विवाद समाधान ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा)ले भाेलिका लागि सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने बताइएकाे छ । कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । ओली र प्रचण्डको सहमतिमा पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो ।