इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो
काठमाडौं । गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा भदौ १ गते तद्अनुसार १७ अगस्तमा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरेका छन् । झण्डोत्तलनमा वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको सीमित संख्यामा उपस्थिति रहेको थियो । नेपाल र गणतन्त्र इण्डोनेसियावीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । इण्डोनेसिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । साथै नेपाल र इण्डोनेसियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।
एसईईकाे नतिजा प्रकाशित, कसरी हेर्ने ?
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेकाे छ । बोर्डकाे साेमबार बसेकाे बैठकले एसईईको नतिजा प्रकाशित गरेकाे हाे । बाेर्डकाे एक सदस्यकाे अनुसार नतिजा वेभसाईटमा सार्वजनिक गर्न केही घण्टा लाग्ने छ । विद्यार्थीहरुले केही घण्टामा यस लिंकमा गएर एसईईकाे नतिजा हेर्न सक्नेछन् अथवा माेबईलकाे म्यासेज बक्समा गई एसईई टाईप गरी स्पेस दिएर सिम्बल नं टाईप गरी ३५००१ मा पठाई पनि हेर्न सक्नेछन्। चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेकाे थियो । कोभिड–१९ संक्रमणका कारण यस वर्ष एसईईको परीक्षा स्थगित गर्दै सरकारले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई अंक दिने निर्णय गरेको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
कोरोना कोषमा छिमेक लघुवित्तको १ करोड ३१ लाख आर्थिक सहयोग
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारलाई १ करोड ३१ लाख ९२ हजार ३ सय २३ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी रहेको उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम आज(भदाै १ गते) आयोजित एक समारोह विच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका छन् । वित्तीय संस्थाले यस अघि पनि गत चैत्र १९ मा नेपाल सरकारले खडा गरेको कोरोना संक्रमण तथा नियन्त्रण कोषमा २५ लाख रुपैयाँ प्रदान गरिसको छ र विभिन्न स्थानीय निकायहरुले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिन ब्यवस्थापनका लागि सञ्चालक समितिबाट थप २० लाख रुपैयाँ स्वीकृत गरी उक्त रकम शाखा कार्यालयहरु मार्फत पनि आर्थिक सहयोग गरेको छ । यस कोषको रकमबाट नेपालका गरिव, विपन्न तथा आर्थिक हिसावले कमजोर तथा सामान्य सुविधाको अवसरबाट बन्चित परिवारलाई यस कोभिड–१९ को संक्रमणबाट जोगाई सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन् भन्ने अपेक्षा यस वित्तीय संस्थाले राखेको छ ।
मुक्तिनाथ विकास बैंकले घटायो हायर पर्चेज कर्जाको व्याजदर
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । बैंकले आज (भदौ १ गते) देखि लागु हुने गरी उक्त कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको हो । हाल बिद्यामन कोरोना भाईरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असर संग संगै अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै उक्त कर्जामा व्याजदर घटाएको हो । यसबाट गत चैत महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी गराए । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।
विद्युतीय गाडीमा बढाइएको कर पुर्नविचार गरिने
काठमाडौं । उर्जा जलस्रोत तथा सिचाईँ मन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा बढाइएको करमा पुर्नविचार गरिने बताएका छन् । सोमबार विद्युत प्राधिकरणको ३५औं वार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् । ‘विद्युतीय उर्जाको उत्पादन बढिरहेको छ, बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न मिल्दैन, बढाइएकाे करकाे बारेमा पुर्नविचार गरिन्छ,’ उनले भने । उनले विद्युतीय गाडीमा भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको समेत बताए । यसअघि चालु आवकाे बजेट मार्फत अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युतिय गाडीमा कर बढाइने बताएका थिए । यस्तै, उनले कार्यक्रममा प्राधिकरणले अझै शसक्त भएर अगाडि बढ्नु पर्ने बताएका छन् । प्राधिकरणले हालसम्म गर्व गर्न लायक सफलता हासिल गरेका बताउँदै उनले अझै थप चुनौती तुनाैतीहरु पनि थपिएकाे उनले बताए । देशमा विद्युतीकरण गर्न बाँकी १० प्रतिशत घरपरिपरिवार माझ विद्युत सेवा पुर्याउन पनि अब चुनाैती रहेकाे उनकाे भनाई छ । यो सबै पोलिटिकल भिजनले सम्भव भएको बताउँदै उनले सम्वृद्ध नेपाल सुखी नेपालको नारा साकार गर्न विद्युतलाई पनि प्राथमिकता दिनु पर्ने बताए । ‘सबैकाे मेहेनतले आजको अवस्था बन्यो, मैले पनि उदारताका साथ नेर्तत्व गरेको छु, पछि ३५ अर्ब घाटामा गएको प्राधिकरण अहिले अहिले ५ अर्ब सञ्चित नाफामा गर्न सफल भएको छ,’ उनले भने ।
उपत्यकाका २ यातायात कार्यालय अनिश्चितकालका लागि बन्द
काठमाडाैं । काठमाडाैं उपत्यकाका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । ललितपुरकाे एकान्तकुनामा रहेकाे यातायात कार्यालय र काठमाडाैंकाे गुर्जुधारमा रहेकाे यातायात कार्यालय अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गर्ने भएका हुन् । कोभिड–१९ संक्रमणको बढ्दो अवस्थामा बागमती प्रदेश मातहतका राजधानीमा रहेका सबै कार्यालयले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएकाे बताएका छन् ।
अब बैंकको मुख्य काम गर्न कार्यालय धाउनै नपर्ने, पहिलो पटक एनएमबीले ल्यायाे ओम्निच्यानल
काठमाडौं । एनएमबी बैंकले दुबै वेब र मोबाइल एप्लिकेशनमा “एनएमबी ओम्निच्यानल” प्रस्तुत गरेको छ । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न ‘साँचै डिजिटल बैंकिङ्ग अनुभव’ मुल मन्त्र सहित ओम्निच्यानल डिजाईन गरि बैंकिङ्ग क्षेत्रमै यो पहिलो पटक ल्याएकाे हो । एनएमबी ओम्निच्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ्ग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् । केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न/बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परिक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिन्छ । सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दे लगिनेछ । ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘इएनएमबी’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्नेछन् । ‘एनएमबी ओम्निच्यानल’ले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको सीमितता भन्दा माथी उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनाहरु सहित मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्छन । हामी खुशी छौं कि यस कोभिडको परिवेशको बीचमा पनि एनएमबि ओम्निच्यानलले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ्ग कारोबारको निरन्तर्ताकाे चाहना पुरा गराउँदैछ ।’ ‘एनएमबी ओम्निच्यानल एक शुरु देखि अन्त्यसम्मको प्रक्रिया हो जसले सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजविहीन बैंकिङ्ग सुनिश्चित गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यी ४ जलविद्युत आयोजनाः जसलाई विद्युत प्राधिकरणले सम्मान गर्याे
काठमाडौं । समयमै काम सम्पनन गर्ने चार विद्युत आयोजना सम्मानित भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवमा विभिन्न चार विदुत आयोजनाहरुका प्रवद्र्धक कम्पनी सम्मानित भएका हुन् । सम्मानित हुनेमा अपि पावर कम्पनी, डोल्टी पावर कम्पनी, सुपर माई ए र सुपर माई क्यासकेड आयोजनाको प्रवद्र्धक कम्पनी सगरमाथा जलविद्युत कम्पनीलाई प्राधिकरणले सम्मान गरेको हो । अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड आयोजना, डोल्टी पावर कम्पनीले ४.८ मेगावाटको पदम खोला आयोजना र सगरमाथा जलविद्युत कम्पनीले ९.६ मेगावाटको सुपर माई ए र ३.८ मेगावाटको सुपर माई क्यासकेड आयोजनाको निर्माण गरेको थियो । प्राधिकरण प्रशासन निर्देशनालयको जनसाधन विभागका निर्देशक बेलप्रसाद शर्माले विद्युत खरिद सम्झौतामा तोकिएको व्यापारिक उत्पादन मितिभन्दा पहिले विद्युत उत्पादन शुरु गरेर प्रणालीमा योगदान गरेकाले ती कम्पनीहरुलाई सम्मान गरेको बताए ।