विकासन्युज

नागरिक लगानी कोषले सेयरधनीसँग किन माग्यो १ अर्ब ३६ करोड रुपैयाँ ?

काठमाडौं । भदौ १ गते नागरिक लगानी कोषले हकप्रद जारी गर्नको आरबीबी मर्चेन्टलाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको प्रेस विज्ञप्ति जारी गर्यो । कोषका अनुसार १ सय कित्ता सेयर बराबर ८२ कित्ताका दरले हकप्रद जारी गर्न लागिएको छ । प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद जारी गर्न लागिएको हो । कोषले हकप्रद जारी गरेर १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपयाँ संकलन गर्ने लक्ष्य लिएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिएको छ । कम्पनीले हकप्रद जारी गर्नु भनेको सेयरधनीसँग थप रकम माग्नु हो । कम्पनीको उदेश्य अनुसार कुनै व्यवसायिक योजना अघि बढाउन, कुनै व्यवसायमा जोखिम बढी देखियो भने त्यसको व्यवस्थापनको लागि पनि सेयरधनीसँग हकप्रद जारी गरेर थप पुँजी मागिन्छ । अहिले कोरोना माहामारीको कारण विश्व अर्थतन्त्र नै थला परेको छ । नेपालमा पनि यसको आर्थिक असर ज्यादै गम्भीर छ । यो बेलामा कोषले के कस्तो काम गर्नको लागि सेयरधनीसँग थप पुँजी माग्यो भन्ने चासो धेरैलाई हुन सक्छ । तर, कोषले कनै व्यवसायिक योजना अघि बढाउन वा कुनै व्यवसायमा बढी जोखिम सिर्जना भएकोले सेयरधनीसँग पैसा मागेको होइन । ऐन संशोधन भएपछि तोकिए अनुसार चुक्ता पुँजी पुर्याउनको लागि मात्रै हकप्रद जारी गर्न लागिएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । ‘नागरिक लगानी कोष सम्बन्धी ऐन भर्खरै संशोधन भएर आएको छ, पुरानो ऐन अनुसार कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ थियो, संशोधित ऐनमा कोषको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुने भनिएको छ, हकप्रद जारी गर्न लागिएको हो, अरु थप कुनै व्यवसायिक योजनाको कारण होइन,’ डा. कट्टेलले भने । सम्बन्धित सामग्री नागरिक लगानी कोषले सय कित्ता सेयर हुनेलाई ८२ कित्ता हकप्रद दिने, आरबीबी मर्चेन्टसँग सम्झौता

कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा

पाेखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । उहाँका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् । हिन्दू महिलाको महान् पर्व तीज र कुशे औंसी जस्ता चाडमा मानिसको भीडभाड हुने र सङ्क्रमण अझ फैलने सक्ने अवस्थालाई ध्यान दिएर निषेधाज्ञा लागु गरिएको जनाइएको छ ।

बैंकास्योरेन्सः समस्या हाँगामा, काटियो जरा नै

कोरोना महामारीले नेपालको बीमा क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमा नै असर पारेको छ । बीमा क्षेत्रको कुरा गर्दा गत आर्थिक वर्षमा १५/२० प्रतिशतको वृद्धि थियो भने यसपाली ५ प्रतिशतको मात्र वृद्धि भएको छ । विश्वमा हालसम्म अभ्यासमा नरहेको कोरोना बीमाको अवधारणा नेपालमा सबै मिलेर राज्यकै लागि ल्याएका हौं । कोरोना बीमा सुरु भएपछि संचारमाध्यमहरुमा यो कार्यक्रम कत्तिको प्रभावकारी हुन्छ, सम्भव हुने हो कि होइन भन्ने कुराहरु पनि उठेका थिए । कोरोना बीमामा २० वटा निर्जीबन बीमा कम्पनीहरुले पुलिङ गरेर प्रतिकम्पनी ४/४ करोड रुपैयाँका दरले ८० करोड र पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँ गरी १ अर्ब रुपैयाँको कोष तयार पारेर कोरोना बीमा सुरु गरेका थियौं । सुरुमा १० हजारको मात्र आँकडा हामी तयार गरेका थियौं । पछि कोरोना बीमाको बारेमा धेरै कुराहरु उठन थालेपछि पुनर्बीमा कम्पनीले १ अर्ब, बीमा कम्पनीको महाविपत्ति कोष (क्याटास्ट्रोपिक लस) बाट ५० करोड, बीमा समितिबाट १ अर्ब गरेर अहिले ३ अर्ब रूपैयाँकाे कोष बनाइएको छ । साढे ३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको अवस्थामा राज्यले व्यहोर्ने भन्ने व्यवस्था अहिले छ । चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीहरुको बीमा गराउदा बीमा शुल्कमा शतप्रतिशत तथा अन्य जनताको गराउदा ५० प्रतिशत अनुदान सरकारले व्यहोर्ने भएको छ । अर्को कुरा के हो भने विदेशी राष्ट्रहरुमा कतैपनि नदिएको मोटर बीमा शुल्कमा हामीले छुट दियौं । लकडाउनका कारण सवारी साधन नचलेको अवस्थामा यस्तो छुट दिइएको थियो । अहिले अन्य बीमाका विषयमा पनि उद्योग वाणिज्य महासंघसँग पनि हाम्रो छलफल चलिरहेको छ । धेरैजसो रिटेन्सन आफैले लिने भएकाले मोटर बीमामा बीमितलाई केही राहत दिन सक्ने ठाउँ रहेको हो । तर विश्वव्यापी रुपमा सम्पत्तिको बीमामा भने त्यसरी छुट दिने चलन छैन । हामीले नियामक निकायसँग सहकार्य गरिरहेका छौं । सबैतिर गाह्रो भइरहेको अवस्थामा हामीले यसलाई सकारात्मक रुपमा नै लिएका छौं । पुनर्बीमा कम्पनीहरुको पेडअप विश्वव्यापी रुपमा गरिएको हुन्छ । सवारी साधन मुभेवल भएको कारण बीमाशुल्कमा छुट पाएको हो । अहिले गाडी चल्न नपाएको अवस्था पनि छ । तर सम्पत्ती बीमामा भने छुट दिन सहज छैन । कहिकतै आगलागीको केस आउँदा केही हेरविचार हुने गरेको छ । अन्य अवस्थामा सम्पत्ति बीमाको बीमा शुल्कमा छुट हुन्न । अहिले मोटर बीमाशुल्कमा छुट दिदा बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ बराबरको नोक्सानी भयो । सरकारको बाँचौ र स्वस्थ रहौं भन्ने नारालाई हामीले मनन गरेका छौं । नेपाल राष्ट्र बैकले बैंकास्योरेन्स नगर्ने कुरा गरेको छ । यसमा केही पनर्बिचार गर्न पाए राम्रो हुन्थ्यो । जीवन बीमा गर्ने कम्पनीहरुबाट बैंकास्योरेन्समा केही समस्या उत्पन्न भएको थियो । लोन एगेन्स्ट लाइफ इन्स्योरेन्स गर्दा भर्दा इन्सेन्टीभको कुराले केही समस्या पारेको थियो । तर एक्चुयल लोन लिँदा भने त्यस्तो असर पर्दैन । राष्ट्र बैकले पनि केही विकृति देखेका कारण बैकास्योरेन्स रोकेको हुनसक्छ । तर यसका लागि समस्याको हागाँ काटिदिएको भए हुन्थ्यो । बैकास्योरेन्स रोक्दा त पूरै जरा नै काटिएको छ । समस्या हाँगामा मात्र रहेको हामीलाई महशुस भएको छ । अहिले कोरोना महामारीपछि कृषि प्रधान देशमा कृषि व्यवसायको कुरा अगाडी आइरहेका छन् । विदेशमा रहेका युवासमेत स्वदेश फर्किरहेको अवस्था छ । कृषि तथा स्वदेशी रोजगारीमा बीमालाई जोडेर अघि बढ्दा आगामी दिनमा राम्रो हुने देखिन्छ । (सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्जीवन बिमक संघका महासचिव क्षेत्रीले विकासन्युजडटकमको ६औं वार्षिकोत्सवको अवरमा आयोजित ‘कोरोना महामारीले वित्तीय क्षेत्रमा पारेको प्रभाव’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यक्त गरको धारणाको सम्पादित अंश)

एकैदिन २२ सयले बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेवार ?

काठमाडाैं । मंगलबार सुनकाे मूल्य २२ सयले बढेकाे छ । मंगलबार सुनकाे प्रतिताेला मूल्य १ लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । बुधबार ६ हजार २ सयले घटेकाे सुनकाे मूल्य बिहीबार २४ सय र शुक्रबार ८ सय रुपैयाँले बढेकाे थियाे भने आईतबार र साेमबार फेरी २-२ सयले घटेकाे थियाे । यस्तै, आज तेजाबी सुनकाे मूल्य पनि २२ बढेर प्रतिताेला ९९ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा काेराेवार भईरहेकाे छ ।

बागलुङ बजार भदाै ७ गतेसम्म बन्द

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरु बन्द गरिदिनुहुन अनुरोध छ”, उल्लेख छ । अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७ः३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ । सङ्घले पसल, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन व्यवसायीमा आग्रह गरेको छ । बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाले पनि वडाबाट प्रदान गरिने सेवा एक सातालाई बन्द गरिएको जनाएका छन् । अत्यावश्यकबाहेकका अन्य पसल, व्यवसाय र सेवा बन्द गरी सहयोग गरिदिन वडाले सबैमा आग्रह गरेका छन् । सङ्घ र वडाको निर्णयअनुसार आज बिहानैदेखि अत्यावश्यकबाहेकका पसल, व्यवसाय बन्द छन् । “बजारमा भीडभाड बढेकाले कोराना फैलने डर भयो, त्यसैले कडाइ गर्ने निर्णय भएको हो”, वडा नं २ का अध्यक्ष जीवन आचार्यले भन्नुभयो । समुदायका व्यक्तिमा कोरोना देखिन थालेपछि जिल्लामा कडाइ गर्न थालिएको हो । केही दिनअघि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यवसायीलगायतमा कोरोना पुष्टि भएको थियो । यसअघि जिल्ला सङ्कट व्यवस्थापन र सुरक्षा समितिले आइतबारदेखि लागू हुने गरी सवारी साधनलाई जोर÷बिजोर प्रणालीका आधारमा चलाउने निर्णय गरेको थियो । यस्तै खुला स्थानमा भीडभाड गर्ने, भेला हुने र जुलुस आदिजस्ता कार्यलाई रोक लगाइएको छ । नित्य पूजापाठबाहेक मन्दिरमा हुने धार्मिक कार्य बन्द गर्ने, मेला, जात्रा, सार्वजनिक कार्यक्रम, गोष्ठी, सेमिनार, भेला आयोजना गर्न नपाइने निर्णय गरिएको छ । होटल, रेष्टुराँलाई पनि प्याकिङ गरी खाना लैजाने (टेकअवे) सेवा मात्र प्रदान गर्न अनुरोध गरिएको छ । वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि भदौ ७ गतेसम्मलाई सिल गरिएको छ ।

सेल्सबेरी डिपार्टमेन्ट स्टाेरमा सेलपेबाट प‌ैसा तिर्दा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुने कम्पनिले जनाएकाे छ । यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एण्ड पे मार्फत भुक्तानी गरे अधिकतम रु ५०० सम्म नगद छुट पाउने छन् । सेलपे सेल्सबेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र सेलपे एप्पमा रहेको पे मर्चेन्ट गरी काउन्टरमा रहेको स्क्रीनमा देखाएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार गए राति ११.४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा उनको सोमबार दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो । मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ र कोहलपुरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक पहिराे: प्राधिकरणले चार वर्षअघि नै दिएको थियो ७१ स्थान जोखिममा रहेको प्रतिवेदन

काठमाडाैं ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले सोमबार वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपद्बारे प्राधिकरणमा आयोजित छलफल कार्यक्रममा जानकारी दिए । पहिले गरिएको अध्ययनले जुगल गाउँपालिकाको लिदीका माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको जानकारी दिँदै उनले बेलाबेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताए । विसं २०७४ मा गरिएको अध्ययनले जुगल गाउँपालिकाको लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले पहिरोबाट पुगेको क्षतिका सम्बन्धमा साझा धारणा बनाएर समस्या समाधान गर्दै पुनःनिर्माणमा लाग्नुपर्ने बताए । त्यसका लागि सङ्घीय संसद्का सभामुख, सांसद, स्थानीय तहका जनप्रतिनिधिलगायतसँग छलफल गर्न लागेको उनले जानकारी दिए । सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको छ । समन्वय समितिका प्रमुख तामाङले अध्ययनबाट सुरक्षाका हिसाबले बस्न उपयुक्त नदेखिएका स्थानका जनतालाई विश्वासमा लिएर वैकल्पिक व्यवस्था मिलाउनुपर्ने बताए । “जमिनसँग मानिसको जीवन जोडिएको हुन्छ, कतिपयले पुर्खाको थातथलो छोड्न हुँदैन पनि भन्न सक्नुहुन्छ, जोखिममा भएका जनतालाई बुझाएर स्थानान्तरण हुन प्रेरित गर्नुपर्छ”, उनले भने । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकबारे विगतमा गरिएका अध्ययनको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने प्रतिबद्धता जनाए । विगतमा भएका अध्ययनको समीक्षाको काम शुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई उनले निर्देशन दिए । स्थानीय तह, प्रदेश र केन्द्रले गर्ने कामलाई स्पष्ट गरेर अघि बढ्दा समस्या समाधानमा थप सहज हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ थियो । जिल्ला समन्वय समितिले आगामी बिहीबार स्थानीय तहका जनप्रतिनिधिलगायतसँग छलफल गर्दैछ । सोही कार्यक्रममा प्राधिकरणको विज्ञ टोलीले सिन्धुपाल्चोकमा कुन–कुन क्षेत्रमा जोखिम छ भनेर विवरण प्रस्तुत गर्ने जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिबाट आएका सुझावलाई समेत ध्यानमा राखी थप अध्ययन गर्न प्राधिकरणले सहयोग गर्ने बताए । रासस