ग्लोबल आइएमई बैंकले शुरु गर्यो कल सेन्टर, घर बसेरै बैंकिङ जानकारी लिन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले एक द्वार प्रणाली अनुरुप ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवात गरेको छ । बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कल सेन्टरको सुरुवात गरेको हो । ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन् । ग्राहकहरुले +९७७-१-५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था
काठमाडाैं । नेपाली निजी क्षेत्रका उद्यमीहरु मिलेर कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना गरिएकाे कम्पनी हो, लिवर्टी ईनर्जी कम्पनी लिमिटेड । २०६६ साल मंसिर १५ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यस कम्पनी २०७२ साल चैत १५ गतेदेखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीको मुख्य उद्देश्य भनेको नेपालमा रहेको जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्नु हो । जसको कारोबार गर्ने मुख्य स्थान लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिका वडा नं ६ मा रहेको छ । पब्लिक कम्पनीमा परिणत भएको ४ वर्षको दौरानमा कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणको लागि सेयर जारी गरेको छ । कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ३७ लाख ५० हजार कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणमा जारी गरेकाे हाे । जसमध्ये स्थानीय बासिन्दाका लागि १५ लाख किता सेयर निष्काशन गरी बाँकी रहेको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेकाे हाे । जसमा सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएको सेयर समेत सामावेश भएको कम्पनीले जनाएको छ । कम्पनीले भदौ ३ गतेदेखि ३५ करोड ६४ लाख रुपैयाँ बराबरको एक सय अंकित दरका ३५ लाख ६४ हजार कित्ता सेयरसाधारण सेयर(आईपीओ) सर्वसाधारणमा बिक्री गर्दै छ । सेयर जारी गर्नुको उद्देश्य पहिलो, सर्वसाधारणमा सेयर जारी गरेर लगानीकर्ताहरुलाई लगानीको अवसर दिनु नै कम्पनीको मुख्य उद्देश्य रहेको छ । दोश्रो, कम्पनीबाट निर्माणका लागि अगाडी सारिएका आयोजना माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको छ । उक्त आयोजना यस कम्पनीको निर्माणाधिन मुख्य आयोजना भएकोले साेलाई सम्पन्न गर्न पुँजीको आवश्यकता भएकोले कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेको हो । यस बाहेक बडिगाड खोला जलविद्युत आयोजना र लोदो खोला साना जलविद्युत आयोजनाको सर्वेक्षण लगायतका सम्बन्धित निकायहरुबाट लिनुपर्ने अनुमतिहरु लिने कार्य भईरहेकोले सो आयोजनाहरुको लागि समेत कम्पनीबाट लगानी गर्न सकिने कम्पनीको उद्देश्य रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी एक अर्ब १२ करोड ५० लाख रूपैयाँ रहेको छ । उक्त आईपीओ बाँडफाँड पश्चात कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । हाल यस कम्पनीमा ५५६ जना संस्थापक सेयरधनीहरु रहेका छन् । सबै संस्थापक सेयरधनीहरु विद्युत, बैंक/वित्तीय क्षेत्र,स्वास्थ्य, कृषि, पर्यटन, बीमा तथा शैक्षिक क्षेत्र एवं व्यापार/व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । यस कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत सम्पन्न भई आगामी कार्तिक मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्तसम्म थप गरिने भएको छ । यस आयोजनाको पानीको श्राेत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको कम्पनीले जनाएकाे छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव-स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ । यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ । आर्थिक वर्ष २०७५/७६मा कम्पनीको प्रतिसेयर आम्दानी नरहेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ५.७४ रुपैयाँ रहने छ । जुन वार्षिक रुपमा बढेर आर्थिक वर्ष २०७८/७९मा १३.०५ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सो अवधिमा प्रतिसेयर नेटवर्थ पनि बढेर एक सय २९ रुपैयाँ पुग्ने छ कम्पनीको प्रक्षेपण रहेको छ । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ८ करोड ६० लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ । जुन बढेर आगामी दुई आवमा ४३ करोड ६७ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ । सेयर पूर्णरुपमा बिक्री नभएमा कम्पनीले आफ्नो विवरणपत्रबाट निष्काशित सेयरहरु स्थानिय बासिन्दाहरुबाट माग बमोजिम दरखास्त प्राप्त नभई बाँकी रहेको सेयर सर्वसाधारणमा थप गरी निष्काशन गरेको छ । त्यसैगरी सर्वसाधारणहरुबाट माग बमोजिम दरखास्त प्राप्त नभई सेयर बाँकी रहन गएमा निष्काशित रकम ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गर्न प्रत्याभूती गरि सकिएको छ । सेयर खरिद गर्न काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटललाई प्रत्याभूतीकर्तामा नियुक्त गरिएको छ । यस क्यापिटलबाट स्थानीय वासिन्दा तथा सर्वसाधारणहरु समेत गरी ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता सेयर प्रत्याभुती गरिएको छ । कुल प्रत्याभुती सेयरहरुको लागि प्रत्याभुति शुल्कको पचास प्रतिशतले हुन आउने १८ लाख ७५ हजार रुपैयाँ सम्झौता भएको ३० दिनभित्र भुक्तानी गरिएको छ । बाँकी रकम विवरणपत्र स्वीकृत भएको ७ दिन भित्र भुक्तानी गरिनेछ । आईपीओबाट उठेको रकम कम्पनीले कुन क्षेत्रमा कसरी प्रयोग गर्छ ? कम्पनीले आईपीओबाट ३७ करोड ५० लाख रुपैयाँ उठाउने छ । जसमध्ये २० कराेड रूपैयाँ नेपाल इन्भेषटमेन्ट बैंकबाट लिएकाे लाेन भुक्तानी गर्ने छ भने बाँकी रहेकाे १७ कराेड ५० लाख रूपैयाँ माथिल्लाे दाेर्दी ए जलविद्युत आयाेजनाकाे लागि भएकाे निर्माण खर्च भुक्तानी गर्ने कम्पनीले जनाएकाे छ । यस्ता छन् जोखिमहरूः वित्तीय साधनको अभावबाट सञ्चालन एवं नियमित भुक्तानीमा असर पर्न सक्ने, कच्चा पदार्थको अभावबाट जलश्रोतको मुहानमा वातावरणको कारण अप्रत्याशित रुपमा परिवर्तन भई पानीको श्रोत घट्न गएमा उत्पादन क्षमता घट्न सक्ने जोखिम रहेको छ। अनुमति वा इजाजत प्राप्त गर्दा ढिलाई हुन गएमा नयाँ आयोजना निर्माण कार्यमा ढिलाई हुन सक्ने, अन्तर्राष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट सेयर बजारमा असर परेमा सेयर मूल्यमा असर पर्न सक्ने छ । नेपाल सरकारको जलविद्युत सम्बन्धी आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनबाट र कर, भन्सार आदि सम्बन्धी व्यवस्थामा परिर्वतन भएमा जोखिम श्रृजना हुन सक्ने छ । जलविद्युत आयोजना निर्माणको लागी आवश्यक टर्वाइन,पेनस्टक, जेनेरेटर लगायतका विभिन्न उपकरणमा आउने परिवर्तन तथा नयाँ प्रविधिबाट विद्युत उपकरणहरु फेजआउट भएमा जोखिम रहने छ । दैबि प्रकोप तथा काबु बाहिरको परिस्थीति उत्पन्न भै आयोजनामा कुनै प्राकृतिक क्षति भएमा आयोजनाको लागत बढ्न सक्ने जोखिम रहेको छ । देशको राजनैतिक अस्थिरताबाट, पुँजी बजारको अवस्थामा आउने उतार चढावबाट र बैंक ब्याजदरमा हुने परिवर्तनका कारणले हुन सक्ने सम्भावित बित्तिय जोखिम हुन सक्ने छ । हालसम्म आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको तथा नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत प्रशारण गर्न आवश्यक सब-स्टेशन तथा प्रशारण लाइन निर्माण गरिरहेकोले मूल्य अभिवृद्धि(कष्ट ओभररन) को जोखिम नरहेको कम्पनीले जनाएको छ । सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ? उर्जाका लागि जलविद्युतको आवश्यकता र महत्व कहिल्यै कम नहुने हुँदा जलविद्युतको लगानीमा न्यून जोखिम रहको व्यवस्थापनको धारणा रहेको छ । साथै उर्जा विभिन्न श्रोतबाट प्राप्त गर्न सकिन्छ । जस्तैः सौर्य शक्ति, डिजेल, कोइला, जलश्रोत इत्यादी । यस मध्ये पानीबाट उत्पादन हुने जलविद्युत नविकरणीय उर्जा भएकोले जलविद्युत आयोजनाहरुले वातावरणमा नकारात्मक प्रभाव पार्दैन । त्यसकारण उर्जाका अन्य श्रोतहरु भन्दा पानीबाट उत्पादन हुने जलविद्युतले वातावरणीय हानी नहुने र यसको लागत अन्य उर्जा भन्दा तुलनात्मक रुपमा कम रहने हुँदा अन्य श्रोतबाट उत्पादन हुने बिद्युत भन्दा पानीबाट उत्पादन हुने जलविद्युत आयोजनाहरुमा जोखिम नरहेको व्यवस्थापनले जनाएकाे छ । साथै, सम्भावित जोखिमहरुलाई न्यूनीकरण गर्न उपकरणहरुको ह्रास खर्चको व्यवस्थाको साथै केन्द्र र आयोजनाका आवश्यक संरचना, मेसिन, औजार र उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्नका लागि आयोजनाको आवश्यक संरचनाको हकमा विभिन्न इन्स्योरेन्स कम्पनीहरुबाट माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना अन्तर्गत सम्भावित जोखिमहरुलाई न्यूनिकरण गर्न यस कम्पनीले बीमा गरेको छ । केही जाेखिम भएमा कम्पनीले उक्त बीमाबाट बेहाेर्ने छ । सञ्चालक समितिमा को को छन् ? हाल कम्पनीको सञ्चालक समितिमा ५ जना रहेका छन् । अध्यक्षमा कुशकुमार जोशी, प्रबन्ध सञ्चालकमा आत्माराम घिमिरे, सञ्चालकमा शुसिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती रहेका छन् । बिई अध्ययन गरेका अध्यक्ष जोशी उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष हुन् । संखुवासभाका उनी हिमालयन बेम्बो प्रा.लि, भेरी इनर्जी कम्पनी र इनर्जी इन्जिनियरिङ्ग कम्पनीका अध्यक्ष र नेपाल इकरात इन्जिनियरिङका प्रवन्ध संचालक समेत हुन् । व्यवस्थापकीय टीम हाल कम्पनीको म्यानेजमेन्ट (व्यवस्थापकीय) टीममा प्रबन्ध संचालक डां आत्माराम घिमिरे, प्रमुख कार्यकारी इन्जिनियर विष्णु बहादुर सिंह र उप महाप्रबन्धक ध्रुव कुमार श्रेष्ठ गरी तीन जना रहेका छन् । प्रबन्ध संचालक डां घिमिरेले कम्पनी सञ्चालनको सम्पूर्ण प्रशासनिक कार्य तथा आयोजना निर्माण सम्बन्धि सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । प्रमुख कार्यकारी इन्जिनियर सिंहले आयोजनाको सम्पूर्ण प्राविधिक विषय तथा आयोजना निर्माण संयोजन गर्ने जिम्मेवारी पाएका छन् । त्यस्तै, कम्पनीको सम्पूर्ण वित्तीय कारोबारको लेखा उप महाप्रबन्ध श्रेष्ठले राख्ने छन् । कसको सेयर स्वामित्व कति ? कम्पनीमा व्यवस्थापकीय टीमको कूल ८ लाख ७० हजार ८ सय कित्ता सेयर स्वामित्व रहेको छ । जसमा प्रबन्ध संचालकको ८ लाख, प्रमुख कार्यकारी इन्जिनियर सिंहको २० हजार र उप महाप्रबन्ध श्रेष्ठको ५० हजार ८ सय कित्ता सेयर रहेको छ । त्यस्तै, संचालक समितितर्फ अध्यक्ष जोशीको ४ लाख ८७ हजार ३ सय ७५ कित्ता सेयर स्वामित्व रहेको छ । संचालक शुसिल थापाको ४ लाख ३९ हजार कित्ता, रामबहादुर पाण्डेको ३ लाख र राजेन्द्र वस्तीको २ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, संस्थापक कुमार केशर विष्टको ४ लाख ७० हजार, सिता पाण्डेको २ लाख, शोभा देवी पराजुलीको २ लाख ३५ हजार, ईश्वरी प्रसाद रिमालको एक लाख ८८ हजार, संस्थापक आईक्यापिटलको एक लाख ६० हजार, टंक प्रसाद गैरेको एक लाख ५५ हजार ८ सय, हरि प्रसाद भट्टको २ लाख ९ हजार ५ सय ४५ कित्ता, जीवन कुमारी अर्यालको एक लाख ५० हजार कित्ता, सञ्जय प्यारा श्रेष्ठ र पंकज चन्द्र श्रेष्ठको एक लाख ५५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
बेनी–भकुण्डे बाटो खुलेको १० वर्षपछि पनि यातायात सञ्चालन हुन सकेन
बेनी । बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्याक खुलेको १० वर्ष बितिसक्दा पनि यातायातका साधन चल्न सकेका छैनन् । विसं २०६७ मा ट्याक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छन् न सडक मर्मत कार्यप्रति स्थानीय र जनप्रतिनिधि नै सन्तुष्ट हुन सकेका छन् । सडक मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयको गुनासो रहेको छ । पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासीको भनाइ रहेको छ । “नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो बाटोको स्थायित्व भएन, ज्यामरुककोटका कृष्णबहादुर सुवेदीले बताए ।” सुवेदीका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चार वटा सडक बनाइएको भएपनि कुनै पनि कामलाग्ने अवस्थामा छैनन् । “बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदा समेत बाटो बिग्रने गरेको छ”, सुवेदीले भने । विसं २०६७ यता बेनी भकुण्डे सडकमा करिब ७० लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ । गत आवमा बेनी–बौर–ठूलोगैरा–खबरा (बिरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कूल रु २६ लाख ५० हजार खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सामान्य पानी पर्दा पनि सडक पानीले बगाउने गरेको छ । बेनी नगरपालिका२ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि वर्षामा काम लाग्ने अवस्थामा नरहने बताए । रासस
कोरोना रोकथामका लागि सिटिजन्स बैंकले दियो २० लाख १५ हजार रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो । यस अघि पनि कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरिसकेको छ । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रुपैयाँ पुगेको छ । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशै भरी छरिएका बैंकका ११० शाखाहरुबाट संचालनमा ल्याएको छ ।
म्याग्दीकाे भूकम्प प्रभावित ५५ विद्यालय भवन पुनःनिर्माण
म्याग्दी । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षअघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालय भवनमध्ये जिल्लाका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) मार्फत थप ४५ वटा विद्यालयको भवन पुनःनिर्माणको क्रममा छन् । २४ वटा चार कोठे, नौ वटा तीन कोठे र २२ वटा दुई कोठे भवन पुनःनिर्माण भएको कार्यालयका प्रमुख तुलाराज चौलागाईले जानकारी दिए । उनका अनुसार २२ वटा शौचालय र दुई वटा विद्यालयमा खानेपानी आयोजना निर्माण भएको छ । “भवन, शौचालय र खानेपानीसहित पुनःनिर्माण भएका कुल योजना सङ्ख्या ७९ र कक्षा कोठा १६७ वटा छन्”, प्रमुख चौलागाईले भने, “१०१ वटा विद्यालय पुनःनिर्माणका लागि सूचीकृत भएका थिए ।” कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुनःनिर्माण शुरु भएको थियो । पहिलो वर्ष एक वटा दुई कोठे, दुई वटा तीन कोठे र एक वटा चार कोठे भवन निर्माण भएको थियो । आव २०७४/७५ मा तीन वटा दुई कोठे, तीन वटा तीन कोठे र एक वटा एक कोठे भवन निर्माण भएको थियो । २०७५/७६ को पहिलो चरणमा आठ वटा दुई कोठे, दुई वटा तीन कोठे र १० वटा चार कोठे भवन बनेका थिए । ०७५/७६ को दोस्रो चरणमा छनौट भएका १० वटा दुई कोठे, दुई वटा तीन कोठे र १२ वटा चार कोठे भवनका योजना पनि सम्पन्न भएका छन् । आव २०७६/०७७ को पहिलो चरणमा छनोट भएका पाँच वटा चार कोठे भवन निर्माणको अन्तिम चरणमा छन् । नौ वटा शौचालयमध्ये दुई वटा र छ वटा खानेपानीमध्ये दुई वटा योजना सम्पन्न भएको छ । २०७६/०७७ को दोस्रो चरणमा १० वटा दुई कोठे, तीन वटा तीन कोठे र ३२ वटा चार कोठे भवन, २१ वटा शौचालय र २१ वटा खानेपानी योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् । कार्यालयका सूचना अधिकारी विष्णु रिजालका अनुसार यो वर्ष चार कोठे भवन निर्माण हुने विद्यालयमा हिमाञ्चल मावि, शिख मावि, प्रभा मावि, ज्ञानप्रकाश मावि, अमर मावि चिमखोला, अमर मावि पाखापानी, महेन्द्र मावि झि, ज्ञानोदय मावि, रघुगङ्गा मावि, महादेव मावि छन् । सरस्वती मावि तातोपानी, जनकल्याण मावि पुलाचौर, गलेश्वर मावि तोरीपानी, थाकनपोखरी आधारभूत विद्यालय, अर्जुन मावि भकुण्डे, रामचन्द्र मावि अर्जम, मङ्गला मावि, दीपशिखा मावि, महेन्द्ररत्न मावि, त्रिभुवन मङ्गला मावि र थाइवाङ आधारभूत विद्यालयमा पनि चार कोठे भवन निर्माण हुने भएका छन् । यसैगरी मालिकाको सिद्ध आधारभूत, भगवति आधारभूत, ओखरबोट मावि, निस्कोट मावि, धौलागिरिको किसानी मावि, जनविकास मावि, जनजागृति मावि, भुमे आधारभूत, धौलागिरि आधारभूत र चन्द्रज्योति मावि रहेका छन् । जनआदर्श आधारभूत कोटगाउ, बालप्रिय आधारभूत भकिम्ली र शिशुकल्यान आधारभूत विद्यालय निस्कोटमा तीन कोठे भवन निर्माणका लागि छनोट भएको छ । पोखरेबगर आधारभूत, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत, जनसुन्दर, बालमन्दिर, मसुङडोले, सरस्वती, शिवालय, मालिका, जनज्योति र जगन्नाथ आधारभूत विद्यालय दुई कोठे भवन निर्माणमा छनोट भएका छन् । विद्यालय भवन निर्माणका लागि प्राविधिकले तयार पारेको लगत इस्टिमेटअनुसार बजेट विनियोजन भएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरी लागत अनुमान तयार पारिएको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थीले सुरक्षित महसुस गरेका छन् ।
एनआईसी एशिया बैंकले सरकारी कोषमा दियो १ करोड ७ लाख रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै सो रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ । बैंकले यस अघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५/१५ लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख रुपैयाँ र कर्मचारीको तर्फबाट ५ लाख रुपैयाँ समावेश गरी १५ लाख रुपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो । साथै, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।
जुम्लाको प्याजले भाउ पाएन, प्रतिकेजी ३० देखि ४० रुपैयाँमा बिक्री
कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए । उत्पादन राम्रै भयो । ठूलो परिमाणमा उत्पादित प्याजले भने लगानीअनुसार बजार भाउ पाउन सकेन । यसका कारण किसान मर्कामा परेका छन् । गत वर्षमा उत्पादित प्याज प्रतिकेजी रु ८० देखि १५० सम्म बेचेर मनग्य आम्दानी लिएका किसानले यस वर्ष प्रतिकेजी रु ३०–४० मा बिक्री वितरण गर्नुपरेको तलिचौर प्याज पकेट सञ्चालक समितिका सचिव सविता देवकोटाले गुनासो पोखे । “किसानले मेहनत गरेअनुसारको फल प्राप्त गर्न सकेका छैनन्”, सचिव देवकोटाले भने, “यसले सबै किसानलाई निरुत्साहित बनाएको छ ।” कर्णाली प्रदेश सरकारले तलिचौरका दुई प्याज पकेट क्षेत्रका लागि रु आठ÷आठ लाखका दरले रु १६ लाख बीउ, मल र औजारमा सहयोग गरेको थियो । प्रदेश सरकारको सो सहयोगमा रु एक करोडको प्याज खेती गरेका किसानले अपेक्षाकृत मूल्य पाउन सकेनन् । तलिचौरकै किसान राजबहादुर भक्रीकाअनुसार प्याज राम्रै उत्पादन भयो तर किसानले लगानी गरेबमोजिमको बजार भाउ मिलेन । “उत्पादित प्याज केही किसानले जुम्लामा बेचे । केहीले मुगुसम्म पु¥याए”, उनले भने, “तर पनि सबै प्याज बजारमा खपत हुन नसकेर घरमै थन्किएको छ ।” जिल्लामा बढी परिमाण राख्न मिल्ने शीत घर नहुँदा घरमै थन्किएको उहाँले गुनासो गरे । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले कोरोना महामारीको सङ्कटले प्याज कृषक मारमा परेको बताए । “यो महामारीका कारण अहिले बन्दाबन्दी मात्र होइन, जुम्ला, दैलेख र सुर्खेतमा निषेधाज्ञा छ”, प्रमुख देवकोटाले भने, “यसले गर्दा उनीहरुले आफूले उत्पादन गरेको प्याज बाहिर जिल्ला निर्यात गर्न पाएका छैनन् ।” लगानीअनुसार उत्पादनबाट बजार भाउ नपाएर प्याज थन्काएका किसान कुहिएर जाने कुराले पिरोलिएका छन् । कोरोना महामारीले भएको बन्दाबन्दी नै प्याज किसानको आम्दानीको ठूलो बाधक भएको उनको भनाई थियो । जिल्लामा तरकारी उत्पादनको हव मानिएको तलिचौरका किसानले बन्दा काउली, गाँजर, मूला, फर्सी, भाजी, रायो, चम्सुर, काक्रा, आलु, सिमीलगायतको तरकारी बालीको खेती गर्दै आएका छन् । उत्पादित वस्तुको बजारीकरणका लागि उनीहरुले कृषि विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ तथा गैरसरकारी निकायलाई सहजीकरण गर्न अनुरोधसमेत गरिएको स्थानीय कृषक राधा न्यौपानेले जानकारी दिए ।
प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा भदौ २६ गते, छैन लाभांश प्रस्ताव
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/७६ को अठारौं वार्षिक साधारणसभा आगामी भदौ २६ गते हुने भएको छ । उक्त सभा सो दिन पर्साको कम्पनी रजिष्टर्ड कार्यालय विरगञ्जमा बस्ने भएको हो । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले साे दिन कम्पनीको साधारणसभाको मिति तय गरेको हो । उक्त सभामा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छैन । बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण एनएफआरएस बमोजिमको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले कम्पनीले उक्त आर्थिक वर्षको लागि बोनस सेयर तथा नगद लाभांश कुनै पनि प्रस्ताव नगरेको जानकारी गराई सकेको छ । सम्बन्धित समाचारः यसकारण प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने