विकासन्युज

नेपालले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने

काठमाडाैं । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने भएको छ। विश्व बैंकअन्तर्गतको संस्था अन्तर्राष्ट्रिय वित्त निगमको सेयर नेपाल सरकारले खरिद गर्ने भएको हाे । अन्तर्राष्ट्रिय वित्त निगमले पुँजी वृद्धि गर्ने भएपछि नेपाल सरकारले पनि सेयर खरिद गर्ने निर्णय गरेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैंकले अर्थ मन्त्रालयलाई सेयर खरिदको स्वीकृति दिएको हो।

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने

काठमाडाैं । नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडाले उक्त जानकारी दिएका हुन् । उता, नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदान समेत स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए ।

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी

काठमाडाैं । सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले भण्डारीलाई सदस्य नियुक्त गरेसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन् । कावा अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक तोकेको हो। भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन्। अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी तोकिएको थियो। पोखरामा रहेर लामो समय पत्रकारिता गरेकी भण्डारी पत्रकार महांसघको केन्द्रीय सदस्य तथा प्रेस चौतारीको केन्द्रीय सचिव हुन् ।

भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ संक्रमित थपिरहेको तथा भक्तपुरमा पनि संक्रमित बढ्दै गएको देखिएकाल नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

जुनसुकै बेला पनि निषेधाज्ञा गर्न सक्ने गरी सीडीओलाई अधिकार दिइयाे

काठमाडाैं । सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम विश्लेषण गरेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले साे निर्णय भएकाे बताएका हुन् । सोमबारको मन्त्रीपरिषद्को बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जोखिमको विश्लेषण गरी सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्रै लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको उनले बताए । त्यसको लागि सरकारले स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पने निर्णय गरेको हो ।

नेपाल टेलिकम एसईई विद्यार्थी सिम: ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएस निशुल्क

काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । साथै यदि कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ । नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ । नयाँ लिइएका सिमकार्ड एक्टिभ भए पश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । नयाँ सिममा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो बोनसवापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ । कोभिड १९ ले गर्दा उब्जिएको विषम परिस्थितिका कारण कम्पनीका कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याकहरु उपलब्ध गराउनेछ । यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट ८१६००३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ । यसरी रजिष्टर भएका सिमकार्डबाट विद्यार्थी रजिष्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिनेछ । एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिमकार्डमा मागबमोजिम स्वतः ई–शिक्षा प्याकेज समेत उपलब्ध गराउनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएकोछ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफर सहितका सिम हाललाई तीन महिनासम्म उपलब्ध गराइनेछ ।

काठमाडौंमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौं । काठमाडौंमा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १८७६, ललितपुरमा ३३२ र भक्तपुरमा १६४ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २३४० पुगेको छ। आज देशभर १ हजार १६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।  

मंगलबार नेपालमा एकैदिन १ हजार १६ जना कोरोना संक्रमित थपिए, हालसम्मै उच्च

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ हजार १६ जनामा कोराेना भाइरस देखिएको बताए । याे नेपालमा अहिलेसम्मकै एकैदिन देखिएकाे सबैभन्दा बढि संक्रमित संख्या हाे । १३ हजार ४ सय ६१ हजार जनाकाे परीक्षण गर्दा १ हजार १६ जनाकाे नतिजा पाेजेटिभ आएकाे हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २८ हजार २ सय ५७ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १३ हजार ९ सय २६ जना रहेका छन् भने आजसम्म ५ लाख ४२ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ भने आज थप ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ११४ पुगेकाे छ ।