विकासन्युज

काभ्रेपलाञ्चोक तीन सरकारी कार्यालयको सेवा आजबाट बन्द

काभ्रेपलाञ्चोक । पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् । आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिई सेवा बन्द गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताए । यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार मङ्गलबारदेखि सेवा बन्द गरिएको बताए । केन्द्रले जिल्लामा दिनानुदिन सङ्क्रमित दर बढ्दै गएपछि सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अनिश्चतकालीनरूपमा बन्द गरेको हो । जिल्लामा मङ्गलबार मात्रै १६ सङ्क्रमित देखिएका थिए । केन्द्रको मङ्गलबारको आकस्मिक बैठकले जिल्लास्थित बढी मानिसको भीडभाड हुने तीन कार्यालयको सेवा बन्द गरिएको जनाएको हो । साथै केन्द्रले उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोरोना भाइरसको उच्च जोखिमका कारण आन्तरिक राजश्व कार्यालय, मालपोल कार्यालय र नापी कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गराइएको बताए । उनका अनुसार अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्नेछ । यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जिल्लाका रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ आजदेखि अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जिल्लाका सबै बैंक तथा वित्तीय संस्थालाई एक दिनको ‘अल्टरनेट’ मा सेवा प्रवाह गर्नेबारे जानकारी गराइएको बताए । यसैबीच कारोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले पनि आफ्नो सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । ती स्थानीय तहले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्नेसमेत जनाएका छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने सङक्रमितको सङ्ख्या ९७ पुगेको छ । रासस

महामारी नियन्त्रणमा असहयोग गर्ने अस्पतालविरुद्ध अदालत जाने सरकारको तयारी

धनुषा । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो । बैठकले समाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थासँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पताललाई सङ्घीय सरकारले तोकेको दर उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ । त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालले कोभिड उपचारमा सहयोग नगरे कारवाही तथा दर्ता खारेजका लागि सङ्घीय सरकारमा लेखी पठाउने तथा कानूनबमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशमा समुदायस्तरमै फैलिँदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कामबारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको चार स्थानमा दुई/दुई जिल्ला समेटिने गरी बैठक गर्ने निर्णयसमेत गरेको छ । साथै प्रदेश सरकार र पिसिएमसीले विगतमा गरेका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशनसमेत दिएको छ । बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको अति दुःखदायी तथा असहज परिस्थितिमा सबै नागरिकलाई बचाउने पहिलो जिम्मेवारी भएको हुनाले प्रदेश सरकार कठोरभन्दा कठोर कदम चाल्न बाध्य रहेको उल्लेख गरे । उनले यस विषम परिस्थितिमा सबै पक्षलाई आ–आफनो स्तरबाट सहयोग गर्न अपिलसमेत गरे । यसअघि नै निर्णय भएको वीरगञ्ज, जनकपुर र राजविराजमा थप पिसीआर मेशिन जडान एवं गौरमा नयाँ ल्याब सञ्चालनकार्य अविलम्ब पूरा गर्नुका साथै महोत्तरीको जलेश्वरमा समेत नयाँ पिसीआर ल्याब सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई अविलम्ब करार सेवामार्फत परिपूर्ति गर्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने निर्णयसमेत गरेको छ ।

लिवर्टी ईनर्जीको आईपीओ खुल्याे, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको साधारण सेयर(आईपीओ) बिक्री आज बुधबार (भदाै ३ गते)देखि खुलेकाे छ । कम्पनीले ३५ कराेड ६४ लाख रूपैयाँ बराबरकाे ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे । कम्पनीले निष्काशन गरेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ । हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी एक अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । यस कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्रस तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत सम्पन्न भई आगामी कार्तिक मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्त सम्म थप गरिने भएको छ । यस आयोजनाको पानीको श्राेत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव-स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ । यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ । याे पनि पढ्नुहाेस्ः विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था

रेमिट्यान्स भित्र्याउने टेक्निक : काठमाडौंमा निषेधाज्ञा भएपनि विदेश जान पाइने

काठमाडौं । काठमाडाैं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भाेलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेका छन् । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्। उपत्यकाका तीन जिल्लाका सीडीओहरुको निर्णयबाट निषेधाज्ञा भएपनि विदेश जान भने पाइने भएको हो । आज गरिएकाे निर्णयमा विदेश जानेले जान सक्ने उल्लेख गरिएको छ । निर्णयमा भनिएको छ, ‘ हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधैँ एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।’ यो निर्णयलाई सरकारको रेमिट्यान्स भित्र्याउने टेक्निक बुझ सकिन्छ ।

भाेलिदेखि अत्यावश्यक कामबाहेक बाहिर निस्कन नपाइने, बजार ठप्प, विदेश जान भने पाइने (निर्णयसहित)

काठमाडाैं । भाेलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्। सीडीओहरुकाे छलफलले विभिन्न १७ निर्णयहरु गरेकाे छ । आजको निर्णयले निषेध गरेका गतिविधिहरू: १. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन। २. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवयास सञ्चालन गर्न। ३. अत्यावस्यक सामग्री लगायताका मालबाह डुवानीका सवारी साधन, स्वास्थ्इकर्मी तथा सुरषा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रयोग गर्न। ४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाह सवारीासाधन सञ्चालन गर्न। ५.कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने अत्यावश्यक सेवा भनिी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १० : ३० र बेलुकी ३ बजेदेखि ५:३० सम्म अवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न। ६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्नै भनी तोकिएका अत्यावश्यकीय बस्तु तथा सेवा अन्तर्गत पर्नै, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न। ७. कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न। ८. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चलन तथा जमघट गर्न। ९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न। १०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न। ११. फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चलन हुने विभिन्न व्यावसाय सञ्चालन तथा कवाडी संकलन गर्न। १२. होटल, रेष्टुरा सञ्चालन गर्न। तर, १३. बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विधुतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी मावश्यक सेवा प्रवाह गर्नुपर्नेछ। १४. अत्यावश्यक कार्यकालागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ। १५. हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ। साथै, १६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्तिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारबाही हुनेछ। १७. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

नेशनल माइक्रोफाइनान्सले नेपाल सरकारलाई दियो थप १७ लाख रुपैयाँ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले नेपाल सरकारलाई थप १७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सरकारद्धारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । संस्थाको संस्थागत समाजिक उत्तरदायित्व कोष मार्फत २०७७ अषाढ मसान्तसम्मको खर्च गर्न बांकी रहेको रकम उक्त कोषमा जम्मा गरेको छ । संस्थाले यस भन्दा अगाडी सरकारलाई सोही कोषमा १० लाख रुपैयाँ जम्मा गरेको थियो । त्यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विपदको कारण दुई छाक टार्न पनि समस्यामा परेको अति विपन्न परिवारको ग्राहक सदस्यहरुलाई लगभग ५० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग समाग्री हस्तान्तरण गरेको थियो ।

काठमाडाैंमा एक हप्ता निषेधाज्ञा, गाडी चलाउन पनि नपाइने

काठमाडाैं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा गरिएकाे छ । उपत्यकामा भदौ ३ गते रातिदेखि भदौ १० गते रातिसम्म निषेधाज्ञा गरिने भएकाे हाे । तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय मंगलबार राति गरेका हुन्। काठमाडाैंमा दिनप्रतिदिन काेराेनाका बिरामी बढी देखिएपछि यस्ताे निर्णय गरिएकाे हाे । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन तथा निषेधाज्ञा गर्ने अधिकारी  स्थानीय प्रशासनलाई दिएको थियो। निषेधाज्ञामा अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् । यातायात पनि पूर्ण रुपमा बन्द हुने बताइएकाे छ ।

बुवाको मुख हेर्ने दिनको अवसरमा टेलिकमले ल्यायो सस्तो मूल्यमा ‘ह्याप्पी लर्निङ प्याक’

काठमाडौं । नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो । निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । सो प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी, ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा पठाउनु पर्नेछ । सिफारिश प्राप्त भएका नम्बरलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नेछन् ।