विकासन्युज

ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटबाट आवेदन दिन सक्ने

काठमाडौं । बैंक ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंककाे सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् । एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाकाे निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा याेजना ल्याएकाे छ । ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलाे बर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता छन् । ‘खल्ती’ डिजिटल वालेटका प्रयाेगकर्ताले वालेटमा रहेकाे एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएकाे कर्जाका लागि आवेदन दिन सक्नेछन् । ‘खल्ती’ले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहककाे आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने छ ।   खल्तीसँगकाे सहकार्यले अब ऋण चाहिने ग्राहले बैंकका शाखा कार्यालयहरूमा धाउनु पर्ने अबस्थाकाे अन्त्य भएकाे एनआइसी एशिया बैंकले जनाएकाे छ । ग्राहकले खल्ती मार्फत ऋणकाे लागि आवेदन गरेपछि बैंकले आफैं थप प्रकृयाका लागि ग्राहकसँग सम्पर्क गर्ने छ ।यसले गर्दा  बैंककाे पहुँच विस्तार भएकाे र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैंकले जानकारी दिएकाे छ । ‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि भौतिक रुपमा हामी माझ नभएपनि उनले राष्ट्रका लागि गरेका योगदानहरु हामीसँगै रहेको बताए । राष्ट्र, राष्ट्रियता, नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको एउटा चेतना जगाउने अगुवा व्यक्तित्वको रुपमा राष्ट्रकविलाई आफुले बुझेको उनले बताए । उनले राष्ट्रका लागि गरेको योगदानलाई सरकारले संस्थागत ढंगले चिरस्थायी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकविको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताए । राष्ट्रकविको निधनले नेपाली साहित्यमा मात्रै नभएर नेपाललाई नै अपुरणीय क्षति पुगेको उनले बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले राष्ट्रकविले देखाएको बाटोमा सबैले लाग्नुपर्ने बताए । पूर्वप्रधान सेनापति राजेन्द्र क्षतिले राष्ट्रकविका गीत र रचनाले सबैलाई राष्ट्रियता र राष्ट्रप्रति जागरुक गराएको बताएका छन् । राष्ट्र र राष्ट्रिय स्वाधिनताको भावनाले सबैलाई उच्च सम्मान दिने रचनाहरु राष्ट्रकविले जन्माएको उनले बताए । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो । राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

समृद्धि फाइनान्सलाई हकप्रद जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५४ करोड ५८ लाख रुपैयाँ नाघ्ने छ ।

उन्नति सहकार्य लघुवित्तले कमायाे ३ करोड २४ लाख रूपैयाँ नाफा

काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ रहेको संस्था साबिकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बिच मर्जर भइ बनेको हो । गत आ.व. को चौथो त्रैमासिक अवधिमा ७७ करोड ३० लाख ८५ हजार १ सय ४० रुपैयाँ निक्षेप संकलन गरेको छ जुन अघिल्लो आवको सोही अवधिको ५५ करोड ६० लाख ३६ हजार भन्दा ३९ प्रतिशतले बढि प्रगति गरेको छ । २ अर्ब २८ करोड रुपैयाँ उठ्न बाँकि कर्जा हरेकोमा अघिल्लो सोहि अबधिमा भएको १ अर्ब ४६ करोड ९३ लाख ९९ हजार १ सय २० रुपैयाँ उठ्न बाँकि कर्जाको तुलनामा संस्थाले ५५.६ प्रतिशत बढि प्रगति हासिल गरेको हो । २०७७ असार २६ गतेबाट एकीकृत कारोबार गर्ने अनुमति प्राप्त साबिकको उन्नति लघुवित्तको प्राप्त १५ कार्य क्षेत्र जिल्ला र सहकार्य लघुवित्त वित्तीय संस्थाले प्राप्त १० कार्य क्षेत्र जिल्ला गरि हाल २५ कार्यक्षेत्र जिल्ला रहेको यस संस्थाले राष्ट्रिय स्तरको संस्थामा स्तरोन्नतिको प्रक्रिया अघि बढाएको छ । अघिल्लो वर्षको तुलनामा विभिन्न सूचकहरु सकारात्मक प्रगति देखिएपनि हालको काेभिड-१९ को त्रासदीपूर्ण अवस्थाको कारण प्रक्षेपित असुली दरमा कमीआइ कर्जा नोक्सानी व्यवस्थामा बढोत्तरी भएको हुनाले मुनाफा कम भएको देखिन्छ । सो अवधिमा ४० करोड ८ लाख ८८ हजार ९ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा अघिल्लो सोहि अवधिको तुलनामा ७३.६१ प्रतिशत प्रगति देखिएको छ भने  १ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

तारागाउँ रिजेन्सीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सबै काम गर्न होटल्सले उक्त क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै एनआईसी एशिया क्यापिटलले भदौ ७ गते आइतबारदेखि कम्पनीको सेयर रजिष्ट्रारको काम गर्ने छ । जसअन्तर्गत धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी काम हुने छ ।

असारको जीवन बीमा शुल्कप्रति कम्पनीहरुकै शंका, समिति भन्छः गडबढी भएको छैन

काठमाडौ । जीवन बीमा कम्पनीहरुले गत असार महिनाको बीमाशुल्कको वृद्धिप्रति शंका गरेका छन् । विगतमा अन्य महिनाको तुलनामा असार महिनामा २० प्रतिशत बीमा शुल्क बृद्धि हुने गरेको भएपनि गत आर्थिक वर्षको असारमा मात्रै ५० प्रतिशत उठेपछि शंका उत्पन्न भएको हो । गत आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ बीमा शुल्क उठेको छ । त्यसमध्ये ११ अर्ब रुपैयाँ असार महिनामा मात्रै उठेको छ । वर्षभरी उठेको बीमा शुल्कको आधा रकम एक महिनामा मात्रै उठ्नुले शंका उब्जाएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बताएका छन् । जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विकासन्यूजडटकमको वार्षिक उत्सवको अवसरमा आयोजित भर्चुलअ कार्यक्रममा चैत्र महिनामा रोकिएको बीमाशूल्क असार महिनामा एकैचोटी आएको बताएका थिए । चार महिनादेखि रोकिएको बीमा शुल्क एकैचोटी आएका कारण असारमा बीमा शुल्क संकलन बढी देखिएको उनको विश्लेषण छ । बीमा कम्पनीहरुले बीमाशुल्क बढेकोमा खुशी छन भने यस्तो बृद्धि स्वभाविक नभए आगामी दिनमा समस्या आउन सक्ने आलकन सहित चिन्ता व्यक्त गरेका छन् । विगतका वर्षहरुमा असारमा बढीमा २० प्रतिशत मात्रै बीमाशुल्क वृद्धि हुने गरेको थियो । गत आर्थिक वर्षमा भने ५० प्रतिशतको हाराहारीमा वृद्धि हुन पुगेको छ । प्राईम लाईफ इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईका अनुसार असार महिनाको बीमा शुल्क वृद्धि अस्वभाविक छ । ‘कोरोना महामारीको कारण लकडाउन भयो, सोही कारण केही व्यवसाय एकैपटक भित्रिएको हुनसक्छ, अर्को, महामारी आएपछि मानिसहरुमा बीमा आपतको साथी रहेछ भन्ने हिसाबले पनि वृद्धी भएको हुनसक्छ, तर कारण जेसुकै भएपनि एक महिनामा वर्ष भरीकै तुलनामा ५० प्रतिशत व्यवसाय भित्रिनु भनेको असाध्यै अस्वभाविक कुरा हो’, प्राईम लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले विकासन्यूजसँग भने । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले दिएको जानकारी अनुसार गत असार महिनाकोे बीमा शुल्कले जीवन बीमा कम्पनीहरुले कतिको अनुपातमा बीमा शुल्क संकलन गर्छन् भन्ने आफ्ना पूराना आँकलनहरु फेल खाएको छ । ‘गत असारमा बीमा शुल्क यसरी आर्जन भयो कि अब विगतका परिसूचक हेरौं न भन्नुपर्ने अवस्था आयो, मासिक बीमा कम्पनीहरुले संकलन गर्ने बीमा शुल्क कति हो भनेर आकलन गर्न पहिलेको अनुपातले काम नगर्ने जस्तो देखिएको छ, व्यवसाय वृद्धि हुनु निकै राम्रो कुरा हो तर अस्वभाविक रुपमा व्यवसाय बढ्दा यसमा गम्भीर हुनुपर्ने अवस्था देखियो’,सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । स्वभाविक नै होः समिति नियामक निकाय बीमा समितिले भने असार महिनाका संकलन भएको बीमा शुल्कलाई लिएर चिन्ता गरिहाल्नुपर्ने अवस्था नभएको बताएको छ । यद्यपि बीमा कम्पनीहरुले नै शंका व्यक्त गरेपछि समिति पनि केही गडबढी भएको छ कि भनेर सचेत भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण भएको लकडाउनका कारण जीवन बीमा क्षेत्रमा असारमा एकैपटक व्यवसाय भित्रिएको समितिको अनुमान छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार जीवन बीमामा त्रयमास अनुसार बीमा शुल्कमा भिन्नता रहने तथा अन्तिम त्रयमासमा भने सबैभन्दा धेरै आर्जन गर्ने विगतको तथ्यांकले देखाएका छ । ‘कुनैपनि आर्थिक वर्षका पहिलोे त्रयमासमा बीमाशुल्क आर्जन राम्रै हुन्छ, बीचमा दशै तिहारले गर्दा केही कमी हुन्छ, त्यसपछि चैत्रतिर पनि सामान्य नै हुन्छ, असार महिनामा भने सबैभन्दा बढी संकलन हुन्छ, असार भनेकोे अभिकर्ताले १८ प्रतिशत इन्सेन्टिभदेखि विभिन्न पुरस्कार लागि काम गर्ने बेला हो, अझ यसपालिको असार त कडाउनले रोकेको पैसा आउने बेलापनि रह्यो, यसरी बीमाशुल्क बढेको हामीले विगतमा पनि देखेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । किन बढ्यो होला ? जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कप्रति शंका बढेपनि अस्वभाविक नै हो भन्ने मान्न नियामक निकाय तयार छैन । बीमा समितिले गत जेठ १७ गतेबाट सिंगल प्रिमियममा कर्जा लिन मिल्ने व्यवस्थालाई रोकेको छ । सिंगल प्रिमियमबाट कर्जा लिएर बीमा गर्न बन्द भएको अवस्थामा बीमा शुल्क बृद्धिलाई सकारात्मक रुपमा नै लिनुपर्ने समिति बताउँछ । बीमा कम्पनी, बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु, अभिकर्ताहरु सबैले एउटा तार्गेट राखेर काम गर्ने तथा सो तार्गेट पूरा गर्ने समय असार नै भएकाले बीमाशुल्क ह्वात्तै बढेको हुनसक्ने समिति बताउँछ । यस्तै, कोरोना भाइरस संक्रमणले धेरैको ज्यान लिन थालेपछि स्वास्थ्य सचेतना बढेका कारण जीवन बीमा गर्नेहरुको संख्या बढेको र सोही कारण बीमा शुल्क बढेको हुन सक्ने समितिको भनाइ छ ।

‘कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्छु’

काठमाडाैं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । प्रतिष्ठानले मङ्गलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक आश्वस्त हुनेगरी सरकारले काम गर्न नसकेको बताएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले कोरोना उपचारका लागि सरकारलाई जिम्मेवाररूपमा नागरिकसामु प्रस्तुत हुन आग्रह गरे । “सरकारले क्वारेन्टिनको उचित व्यवस्था र पिसीआर परीक्षण प्रभावकारी बनाउनुपर्छ”, उनले भने । स्वास्थ्यको विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । उनले अग्रभागमा खटिएर काम गर्ने व्यक्तिको पिसीआर परीक्षणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । अध्यक्ष जोशीले बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै पिसीआर परीक्षणको दायरालाई बढाउँदै जनतालाई निःशुल्क सेवा दिँदै लैजानुपर्ने बताउ । सरकारले निजी अस्पतालसँगको सहकार्यमा कोरोना परीक्षणलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो । विश्वका विभिन्न मुलुकले तीव्रगतिमा कोरोना नियन्त्रणका लागि भ्याक्सिन निर्माण गरिरहेको बताउँदै उनले भ्याक्सिनले मान्यता पाउनेबित्तिकै विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरेर नेपाल ल्याउने वातावरणमा सरकार जुट्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा सुधा शर्माले कोरोना सङ्क्रमण भएका बिरामी र नभएका बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल बनाउनुपर्ने बताईन् । कोरोना भएका र नभएका बिरामीलाई एउटै अस्पतालमा उपचारको व्यवस्था मिलाए कोरोना झन् फैलन सक्ने उनको भनाइ थियो । “कोरोनाको उपचारका लागि सरकारले दुई/चारवटा अस्पताललाई पूर्णरूपमा खाली गरेर उपचार गर्नुपर्छ”, उनले भनिन् । दक्ष जनशक्तिलाई तालिम दिएर कोरोनाको उपचारमा खटाउनुपर्ने उनको भनाइ थियो । प्रतिष्ठानले यसअघि कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे छलफल गरी प्रतिवेदन बनाएर सरकारलाई बुझाएको थियो । यस्तै प्रतिष्ठानले शिक्षा र स्वास्थ्यका बारेमा समेत निरन्तर छलफल चलाइरहेको छ ।

बाढीले बगाएर अछाममा १७ बेपत्ता, दुईको मृत्यु

सांकेतिक तस्विर डोटी । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।