विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबारलीबिच रेमिट्यान्स कारोबार सम्झाेता

काठमाडाैं । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यका साथ नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबारलीबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ । यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नाे खाता प्रयोग गरी वायरबारलीको मोबाईल एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । वायबारली मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबारली मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिट्यान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।  

काेभिड-१९ बिरामीलाई बेड नछुटाउने अस्पतालकाे पिसिआर परीक्षण राेकिने

काठमाडाैं  । काेभिड-१९ का बिरामीहरुकाे लागि बेड नछुटाउने अस्पतालहरुकाे पिसिआर परीक्षण गर्न राेकिने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेभिड-१९ बिरामीकाे लागि बेड नछुटाउने अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानहरुकाे पिसिआर परीक्षण राेकिने बताएका हुन् । गाैतमले मेडिकल कलेज र प्रतिष्ठानहरुले एक तिहाई र अन्य प्राइभेट तथा सरकारी अस्पतालहरुले २० प्रतिशत बेड अनिवार्य छुटाउनुपर्ने बताए । यस्तै काेभिड-१९ बिरामीकाे लागि बेड छुटाउने सबै स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षणकाे अनुमति पाउने बताएका छन् ।  

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना देखियाे

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १३४, ललितपुरको १७ र भक्तपुरको ८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २०१०, ललितपुरमा ३४९ र भक्तपुरमा १७२ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २४९९ पुगेको छ। आज देशभर ६ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

बुधबार नेपालमा ६ सय ८१ जना कोरोना संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ८१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २८ हजार ९ सय ३८ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन् भने आजसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ७ सय पुगेको छ भने आज थप ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२० पुगेकाे छ ।

जाजरकाेटकाे दुःख: ९ वर्षमा पनि बनेन स्वास्थ्य चौकी भवन

जाजरकोट । देशमा तीन तहका सरकार गठन भएसँगै केही समय पहिले समृद्धिका नारा चोक–चोक तथा बाटोघाटोमै घन्किने गरेका थिए । देशमै रोजगारीको भरपुर व्यवस्था गर्ने, देशलाई सिंगापुर बनाउने अनि भोकमरी र गरिबीका कारण कसैले मृत्युवरण गर्नु नपर्ने भन्ने त्यस समयका नारा अहिले भने हराए । अहिले नागरिकले स्थानीय स्तरमै स्वास्थ्य सेवा नपाउँदा डोकोमा बोकेर सदरमुकाम पु¥याउनुपर्ने बाध्यता छ । हिजो चुनावताका शिक्षा र स्वास्थ्यको सर्वसुलभ उपलब्धताको मुख्य नारा अघि सारेर जनताको बीचमा गएका मुख्य राजनीतिक दलहरू अहिले जनताको समस्याभन्दा अन्य काममा व्यस्त भएको पाइन्छ । ग्रामीण क्षेत्रमा जिवीकोपार्जन गर्दै आएका नागरिकहरु भोटको लागि मात्र प्रयोग हुँदै आइरहेका छन् भन्ने यथार्थ यसबाट पनि बुझ्न सकिन्छ । सरकारका तिनै तहका निर्वाचन सम्पन्न भएको वर्षौँ पुगिसक्दा पनि नागरिकका समस्या जहाँको त्यहीँ छन् । एकातिर आफ्नै सुविधाको यस्तो अवस्था छ भने अर्कातर्फ राज्यले सञ्चालन गरेका महत्वपूर्ण विकासका आयोजनाहरु समेत अलपत्र पर्दा नागरिकहरू निराश भएका छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं. २ की कमला नेपालीलाई गत फागुन २३ गते सुत्केरी व्यथा लाग्यो । नेपालीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगियो । त्यहाँ उपचार हुन नसकेपछि वडाध्यक्ष रामबहादुर नेपालीको पहलमा राष्ट्रपति उद्वार कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल पु¥याइयो । नेपालीले तीन दिनपछि कर्णाली प्रदेश अस्पतालमा बच्चा जन्माइन् । गाउँबाट ३० मिनेटको दुरीमा रहेको स्वास्थ्य संस्थामा प्रसूति वार्डकै अभाव भएको भन्दै नेपालीलाई घर फर्काएको उनका आफन्त लालबहादुर नेपालीले बताए । जुनिचाँदे–१, मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण कार्य सुरु भएको नौ वर्ष बितेको छ । निर्माण व्यवसायी समति यहीँ छन् । तर के कति काम भयो भन्ने विषयमा नागरिक बेखबर छन् । वडाध्यक्ष रामबहादुर नेपाली भन्छन्, “साबिकको मजकोट गाविसको वडा नं १ मा निर्माणाधीन भवन ठेकेदारको लापरवाहीका कारण काम अलपत्र परेको छ, ठेकेदारले काम लगाएका कामदारलाई ज्याला समेत दिएका छैनन् ।” काम शुरु भएको धेरै वर्ष भएकोले स्थानीयहरूले काम गरेको ज्याला तथा सामग्री खरिदको पैसासमेत नपाएको उनले गुनासो गरे । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कबिहिन हुँदासमेत स्थानीय प्रशासन मौन रहेको उनको आरोप छ । नेपाल सरकार गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची जिल्ला प्रशासनमार्फत सङ्कलन गरेपनि ठेकेदारलाई कारवाहीको कुनै पहल नभएको वडाध्यक्ष नेपालीले बताए । फ्राइन्डस् कन्स्ट्रक्सन प्रा.लि काठमाडौँले जिम्मा लिएको भवन अहिलेसम्म अलपत्र अवस्थाम छ । एक वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०६९ वैशाख २१ गते सम्झौता गरेको ठेकेदार कम्पनी अहिले बेपत्ता छ । सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका अनुसार रु १ करोड २७ लाख ११ हजारमा जिम्मा लिएको ठेकेदार कम्पनी बेपत्ता भएपछि काम अलपत्र अवस्थामा छ । कार्यालयमा भएको सम्झौताअनुसार वित्तीयतर्फ १०.०६ प्रतिशत र २० प्रतिशत भौतिक कार्य गरेर ठेकेदार कम्पनी फरार रहेको कार्यालय प्रमुख निलम कुमार डङ्गोलले जानकारी दिए । कार्यालयमा सम्झौता भएको रकममध्ये रु २ लाख ५९ हजार ७४५ रुपैयाँ भुक्तानी भएको उनको दाबी छ । ठेकेदार कम्पनीले समयम काम सम्पन्न नगरेपछि सुरक्षित प्रसुति सेवालगायत कार्यालयका नियमित कार्यको सेवा दिन पनि सास्ती खेप्दै आएको जुनिचाँदे गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक योगेश्वर बस्नेतले बताए । ठेकेदार कम्पनीले समयमै भवन निर्माणको काम नगर्दा संस्थाबाट हुने सुत्केरी सेवा प्रभावकारी हुन नसकेको बस्नेतको भनाइ छ । गाउँपालिकामा प्राप्त जनशक्ति हुँदासमेत संरचनाको अभावमा स्थानीयलाई सेवा दिन सास्ती भएको उनको भनाइ छ । ठेकेदार पुष्पराज बजगाईँले भवन निर्माणमा काम गरेका कामदारलाई २३ लाख रकम समेत नदिई बेपत्ता भएको स्थानीय अबर बुढाले जानकारी दिए । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका सञ्चालक बजगाईँले कामको जिम्मा दिएको पैसा नदिएर फरार भएको बुढाले बताए । ठेकेदारले सिमेन्ट सरियाको जिम्मा आफूलाई दिएपनि सरिया सिमेन्टमा खर्च भएको रु १० लाख ५० हजार रकम आफूलाई नदिएको कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीले बताए । यस्तै भवनको बालुवा, गिट्टी, ढुङ्गा व्यवस्थापनको जिम्मा पाएका गोरे बुढाको उक्त शीर्षकमा खर्च भएको रु ५ लाख ४० हजार रकम नपाएको गुनासो छ । झ्याल ढोका बनाउने जिम्मा लिएका अमरबहादुर बुढा, गोबिन्द बुढाको रु ३ लाख ८० हजार रकम ठेकेदारले ठगी गरेको गोरे बुढाको भनाई छ । भवनको ‘वाल’ निर्माणको जिम्मा लिएका कर्ण बहादुर सुनारले रु ४ लाख पाउन छ । काम गरेर छाक गुजारा गर्ने नागरिकको पैसा ठगी गरी ठेकेदार सम्पर्कविहीन भएको स्थानीयको भनाई छ । ‘ताकेता गरेकै छौँ’ करिब नौ वर्षदेखि अलपत्र परेको स्वास्थ्य चौकी भवन निर्माणका लागि कार्यालयले ताकेता गरिरहेको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्य बस्नेतले बताए । गाउँपालिकाको बड्कुलेमा रहेको स्वास्थ्य चौकी निर्माणको लागि सम्बन्धित कार्यालयमा ताकेता गरिएको उनको भनाई छ । निर्माणाधीन भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएकोले काम शुरु गर्नको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बस्नेतले बताए । गाउँपालिकामा लामो समय भवन निर्माण नहुँदा सुत्केरी महिलाहरूलाई सास्ती खेप्नुपरेको उनकाे भनाई छ । सुत्केरीको लागि प्रसूति भवनसम्म नहुँदा डोको स्ट्रेचरमा बोकेर खलंगा ल्याउनुपर्ने बाध्यता छ । “एउटा भवनको लागि नौ वर्ष लाग्ने ?” उनले आक्रोश व्यक्त गरे । ठेक्का तोड्नको लागि सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालयले कुनै पहल नगरेको कार्यबाहक अध्यक्ष बस्नेतको गुनासो छ । जिल्लामा एकै समयमा शुरू भएका नलगाड नगरपालिकाको दल्ली स्वास्थ्य चौकी निर्माण कार्य सम्पन्न भएको छ । यस्तै जिल्लाको दशेरामा रहेको स्वास्थ्य चौकी भवन निर्माण भएर हस्तान्तरण भइसकेको छ । साथै स्वास्थ्य सेवा कार्यालय जाजरकोटको निर्माणाधीन भवन निर्माण कार्य सम्पन्न भएको छ । घरंगाको काम सुरु जिल्लाको कुशे गाउँपालिका– ६ घरंगा स्वास्थ्य चौकीको काम सुचारु भएको छ । सङ्घीय आयोजना कार्यान्वयन इकाइ कार्यालय सुर्खेतका अनुसार घरंगा स्वास्थ्य चौकीको भवन निर्माणको काम सुचारु भएको छ । विसं २०७१ भदौ २० गते भएको ठेक्का सम्झौतामा तेस्रो पटक म्याद थप गरिएको छ तर अहिले काम सुचारु रहेको कार्यालय प्रमुख डङ्गोलले जानकारी दिए । कार्यालयमा लोहनी एण्ड ब्रोदर्स र एमपी कन्स्ट्रक्सन जेभी बाँकेका व्यवसायी मोहनकुमार आचार्यलाई बोलाएर मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्नको लागि कागज गरी सुचारु गरिएको हो । उक्त भवन रु २ करोड २५ लाख ४३ हजार ३६१ लागतमा निर्माण हुनेछ । नलगाड नगरपालिकामा रहेको दल्ली स्वास्थ्य चौकीको भवन निर्माणका लागि विसं २०६८ असार २२ गते सम्झौता भएको थियो । उक्त कार्य जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौंले सम्पन्न गरेको छ । सोही समयमा ठेक्का सम्झौता भएको छेडागाड नगरपालिकामा रहेको दशेरा स्वास्थ्य चौकीको भवन भने निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ । ‘सम्झौता तोड्दैछौँ’ निर्माण हुन नसकेका स्वास्थ्य संस्था भवन निर्माणको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिकामा पर्ने बड्कुले स्वास्थ्य चौकी ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढेकोे कार्यालयले जनाएको छ । स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको फ्राइन्ड्स् कन्स्ट्रक्सन प्रा.लि काठमाडौँलाई ताकेता गर्दा पनि अटेरी गरेकोले तत्काल सम्झौता तोड्नको लागि प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख कार्यालय प्रमुख डङ्गोलले बताए । “कार्यालयले बैंक खाताको रकम फिर्ताको लागि पत्र पठाएकोले अब तत्काल प्रक्रिया अगाडि बढ्छ” उनले भने “प्रदेशकै सबैभन्दा समस्या जुनिचाँदेमा देखिएकोले यसलाई भदौ महिनाभित्र निकास दिन्छौँ ।” भवन निर्माणको सम्झौता भएको नौ वर्ष बित्दासमेत काम सम्पन्न नगर्ने ठेकेदारको तत्काल ठेक्का सम्झौता तोड्ने उनको दाबी छ । कार्यालयले भदौ महिनामा स्थलगत कर्मचारी पठाएर मूल्याकन गरेर सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढाउने बताएको छ । नौ वर्षमा १० ओटा पत्र सङ्घीय आयोजना कार्यान्वयन इकाइ कार्यालय सुर्खेतले नेपाल बंगलादेश बैंक लिमिटेड शाखा नेपालगञ्जलाई नौ वर्षमा १० ओटा पत्र पठाएको छ । कार्यालयले छ पटक म्याद थप तथा रोक्का, २ पटक फिर्ता माग, १ पटक रोक्का, साउन १४ गते पेश्की जमानत रकम उपलब्ध सम्बन्धमा बैंकलाई पत्र पठाएको थियो । समन्वय इकाइले पठाएको पत्रलाई बैंकले वेवास्ता गर्दै कुनै जानकारी नपठाएको कार्यालयको दाबी छ । कार्यालयबाट साउन १४ गतेसहित १० पटक पत्र पठाएको कार्यालय प्रमुख डङ्गोलको भनाई छ । ‘‘साविक मजकोट गाविस– १ मा निर्माणाधीन अलपत्र भवनको ठेकेदार बेपत्ता हुँदा रकम फिर्ताको चिठी लेख्दा बैंकले कुनै प्रतिक्रिया पठाएन’ उनले भने ‘‘बैंकले जमानतसहित रकम उपलब्ध गराए काम गर्न सजिलो हुने थियो ।’’ उता नेपाल बंगलादेश बैंक लिमिटेड नेपालगञ्जले कार्यालयलाई जवाफ पठाउँदै आएको बताएको छ । कार्यालयमा आएको पत्रको जवाफ तत्काल पठाएको शाखा प्रबन्धक केशव गौतमले दाबी गरे । “संघीय आयोजना निर्माण इकाइ कार्यालयलाई नौ पटक जवाफ दिएँ” उनले भने, “साउन १४ गते आएको पत्र मलाई जानकारी नभएकोले भोलि मात्र खोजेर जवाफ दिन्छु ।”

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ्गको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४१औं एक्सटेन्सन काउण्टरको उद्घाटन लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क  कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

जीवन बीमा कम्पनीले आर्थिक वर्ष सकिएकाे ५ महिना भित्र बीमांकीय मूल्यांकनको प्रतिलिपि पेश गर्नु पर्ने

काठमाडौ । जीवन बीमा कम्पनीले आर्थिक वर्ष अन्त्य भएको मितिले ५ महिना भित्र बीमांकीय मूल्यांकन गरेर समितिलाई प्रतिवेदन पेश गर्नु पर्ने भएकाे छ । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको बीमांकीय मूल्यांकन सम्बन्धि निर्देशिका २०७७ जारी गरी उक्त व्यवस्था गरेकाे हाे । साथै, ताेकिएकाे समयमै प्रतिवेदन बुझाउन नसक्ने कम्पनीलाई भने समितिले कारबाही गर्ने जनाएको छ । यस्तै, बीमांकीय मूल्यांकन गर्दा गणितीय कोष निर्धारण कुल बीमाशुल्क विधि प्रयोग गरी गर्नुपर्ने भएको छ । बीमांकीय मूल्यांकन गर्दा वास्तविक बचत वा ६ प्रतिशत ब्याजदर मध्ये जुन कम हुन्छ, सोहि दरमा गर्नु पर्ने भएको छ । बीमांकीय मूल्यांकन प्रतिवेदनमा समावेश गरिएका तथ्यांकको शुद्धता तथा पर्याप्तता सम्बन्धमा बीमकको संचालन समितिको उद्घाेषण सहितको निर्णयको प्रतिलिपि समावेश गर्नु पर्नेछ । बीमांकीय प्रतिवेदनले गरेको सिफारिस बमोजिम बीमकले कायम गर्न चाहेको बोनस दर र अन्य व्यवस्थाहरु सम्बन्धमा बीमकको संचालक समितिको निर्णयको प्रतिलिपि आवश्यक हुनेछ । साथै, बीमांकीय मूल्यांकन प्रतिवेदनमा समावेश गरिएका तथ्यांकको शुद्धता तथा पर्याप्तता सम्बन्धमा बीमांकीको उद्धोषण आवश्यक हुने भएको हो । यस्तो छ निर्देशिका: [pdf id=233223]    

सरकारको कोरोना कोषमा आइसीएफसी फाइनान्सको सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्सले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई २४ लाख ८२ हजार एक सय ६९ रुपैयाँ सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको सहयोग गरेको हो ।