विकासन्युज

खरिपाटीको क्वारेन्टिन बन्यो २ सय शैय्याको आइसोलेशन, लक्षण नभएका संक्रमितलाई राखिने

काठमाडाैं । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो । सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई ५०० शैय्याको आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टिन भवनलाई आइसोलेशनका रुपमा परिणत गरेकोे भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताईन् । हाल २०० शैय्याको आइसोलेशन तयार भएपनि तत्काल १०० शैय्या सञ्चालनमा ल्याएको जानकारी दिँदै मेसु डा. गौतमले भनिन्, “सङ्घीय सरकार र बाग्गती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टिनलाई आईसोलेशन सञ्चालन गरेका हांै, उहाँबाट जनशक्ति पनि पठाईदिने आश्वासन प्राप्त भएको छ ।” आईसोलेशनमा रहेको ८ शैय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २०० शैय्या कोरोना भाइरस सङ्क्रमितलाई राखिनेछ । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा.गौतमले जानकारी दिईन् । भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सातजनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसियू तथा आईसोलेशन र खरिपाटीस्थित आइसोलेशनमा टोली परिचालन गरिएको छ । तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टिममा सातजना रहने गरी तीनवटा टिम तयार पारेको छ । भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टिम बनाएको हो । खरिपाटीस्थित आइसोलेशनमा लक्षण नभएका सङ्क्रमितलाई राखिने जानकारी दिदै डा. गौतमले लक्षण भएका र जटिल खालका सङ्क्रमितलाई अन्य अस्पताल पठाईने भएको छ । वीर दल गण सूर्यविनायकबाट खटिएको सेनाले आइसोलेशनको सुरक्षा गरेको छ । नेपाली सेना, स्वास्थ्यकर्मी सहितको ‘कन्ट्रोल रुम’ बाट आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरिएको छ । गतसोमबार १ जना कोरोना सङ्क्रमित पुरुषलाई राखेर आइसोलेशन शुरु गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर अस्पतालको मेसुको नेतृत्वमा खरिपाटीस्थित आइसोलेशनमा सङ्क्रमितको व्यवस्था गर्ने, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिईन् । तत्काल २०० शैय्याको आइसोलेशनको क्षमता रहेपनि सङ्क्रमितको सङ्ख्या बढ्दै गए १०० शैय्या थप गरेर ३०० शैय्यामा विस्तार गर्न सकिने उनले जानकारी दिईन् । भक्तपुर अस्पतालमा आईसियू र आइसोलेशन सरकारले कोरोना हब अस्पतालको रुपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसियू) र आइसोलेशन शैय्या सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण फैलिँदै गएपछि बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै जादा समस्या सृजना भएपछि अस्पतालले पाँच शैय्याको आईसियू र तीन वटा भेन्टिलेटरसहितको १५ शैय्याको आईसोलेशन वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालले एक महिना अघि नै आईसियू र आइसोलेशन सञ्चालन गर्नेगरी सबै तयारी पूरा गरेपनि जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकेको अवस्थामा जिल्लाका तीन प्रमुख अस्पतालको संयुक्त समन्वयमा आईसियू सहितको सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. गौतमका अनुसार भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याएको हो । डा. गौतमले भनिन्, “कोरोनाको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य आपतकालिन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुँदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट टिम बनाएर काम गर्नेगरी आइसियू सञ्चालन गरेका हौँ ।” आपतकालिन अवस्थामा तीनवटै अस्पतालले मिलेर आईसियू सञ्चालन गर्ने र स्वास्थ्य जनशक्ति पनि तीनवटा टिम बनाएर परिचालन गर्ने गरी सेवा शुरु गरेको हो । सो आईसियूमा कोरोना सङ्क्रमित मिर्गौलाका बिरामीलाई राखिएको छ । आईसियू र आइसोलेसन वार्ड तयार पारेको महिनौं बित्दा पनि आवश्यक जनशक्तिको व्यवस्था केन्द्र र प्रदेश सरकारबाट हुने आशामा बसेको अस्पतालमा जनशक्तिको व्यवस्थापन नभएपछि अस्पताल आफैँले रिक्त दरबन्दीमा करार नियुक्तीका लागि जनशक्ति मागसमेत गरेको छ । कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन जिल्ला प्रशासन कार्यालय परिसरमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्व रहने गरी केन्द्र सञ्चालन भएको प्रजिअ पाण्डेले जानकारी दिए । जिप्रका अगाडिको भवनमा केन्द्र स्थापना गरिएको जानकारी दिँदै उनले भने, “जिप्रका अगाडि कै भवनमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन ल्याएका छौँ, यसको सबै व्यवस्थापनको जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई दिइएको छ, अब कोभिड–१९ सम्बन्धी सबै सूचना त्यही सङ्कलन गर्ने र त्यहीबाट दिने गरी व्यवस्थापन गरेका छौँ ।”

लिदी पहिरोः ज्यान गुमाउनेको संख्या २८ पुग्यो

सांकेतिक तस्विर सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ। यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो। यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् । हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन्। तीमध्ये १४ बालबालिमा मात्रै  छन्। पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना  र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्। एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। रासस  

दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सकेसम्म छुटै काेठामा राख‌ाैँ- डा. अनिल भट्टराई

काठमाडाैं । मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उहाँहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिएका छन् । उनले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने पनि बताएका छन् । घर बाहिर निस्कने युवाले नियमित औषधी खाइरहेका दीर्घरोगीसँग सकेसम्म नजिक नजान र घुलमिल हुन नहुने उनको भनाइ छ । अहिले नेपालमा सङ्क्रमण युवाबाट सरिरहेकाले उनीहरुले बालबालिका र बृद्धासँग टाढा बस्नुपर्ने बताए । उनले भने, “सम्भव भएसम्म छुट्टै बाथरुम र छुटै कोठाको व्यवस्था गर्नुपर्छ ।” विभिन्न किसीमका मुटुरोगीलाई आफूले खाइरहेको औषधीलाई निरन्तरता दिन पनि डा भट्टराईले अनुरोध गरे । अहिलेको समयमा चिकित्सकसम्म जान सजिलो नभएकाले खाइरहेकै औषधीलाई निरन्तरता दिनुपर्ने उनको सल्लाह छ । उनले भने, “सकेसम्म दुईतीन महिनालाई औषधी व्यवस्था गर्नु राम्रो हुन्छ ।” अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर परीक्षण गर्ने गरेको डा भट्टराईले बताए । उनका अनुसार कुनै बिरामीको आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्दा मात्रै परीक्षण नगरी हुने गर्छ । आफूले केही समय पहिले नसा पूरै काटिएको व्यक्तिको परीक्षण नै नगरी शल्यक्रिया गरेको उहाँले अनुभव सुनाए । “त्यो व्यक्तिको शल्यक्रिया सफल भएको थियो र कोरोना सङ्क्रमण पनि पाइएन”, उनले भने, “शल्यक्रियामा सहभागिले पूरै पिपिई लगाइन्छ भने बिरामीको पनि त्यसपछि परीक्षण गरिन्छ ।” उनले कोभिडबिरुद्धको माहामारी सबैको भएकाले सबै मिलेर यसलाई जित्न लाग्नुपर्नेमा जोड दिए । यसको उपचारमा खटिएका आमनागरिकले चिकित्शक, नर्स र स्वास्थ्यकर्मीलाई सहानुभुति राख्नुपर्ने उनले बताए । धेरै स्वास्थ्यकर्मीले जोखिम मोलेर पनि उपचार गरिरहकेको उनको भनाइ छ । उनले भने, “कतिपय डाक्टर नर्सको घर भनेरै तर्सिएको पनि पाइन्छ ।” सबै नागरिकले स्वास्थ्य सावधानीका उपाय अपनाउनुपर्नेमा डा. भट्टराईको जोड छ । भीडभाडमा सकेसम्म नजान र जानुपर्दा माक्स र सेनेटाइजरको प्रयोग गर्न उनले सबैलाई अनुरोध गरे । लामो समयसम्म कार्यालयमा बस्ने र भीडमा जानुपर्नै पेशामा व्यक्तिले घर छिर्दा लुगा बाहिर खोल्ने र हातखुटा धोएर मात्रै भित्र पस्नुपर्ने उनले बताए । उनले भने, “आवश्यक सबै सुरक्षाका उपाय अपनाउन सके मात्रै यसबाट अरुलाई रोग सार्नबाट बचाउन सकिन्छ ।” उनले घरमा बसिरहेकाले स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बताए । नुन र चिनिको मात्रा कम गरेर हरियो तरकारी र सागसब्जीको मात्राम बढाउनुपर्नै उनको सल्लाह छ ।

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा: के गर्न हुन्छ र के गर्नु हुँदैन ?

काठमाडाैं । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् । के गर्न हुन्छ र के गर्नु हुँदैन ? अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । कोभिड-­१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन । सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलाहुन भिडभाड गर्न, सभा जुलुस गर्नसमेत निषेध गरिएको छ । परम्परागत र दैनिक रुपमा भइ आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने जनाइएको छ । अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिनेछ । उक्त आदेशको उल्लघन भएमा आदेशको पालना गर्ने गराउने काममा अबरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।

होम आइसोलेशनमा बसेका काेराेना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँ दिईने

काठमाडाैं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । टोखाले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ । धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले राससलाई जानकारी दिए । टोखाले विष्णुमति करिडोर निर्माणको सम्बन्धमा सरोकारवालासँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ । बैठकले आजदेखि जिल्ला प्रशासन कार्यालयले लगाएको निशेषाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसमेत गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै टोखाले वडा नं १ को सामुदायिक भवन, वडा नं ६ को सामुदायिक अध्ययन केन्द्र, वडा नं ९ को पिस बैङ्केट, वडा नं ११ को सामुदायिक भवन, वडा नं ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवनलाई अध्ययन गरी कोरोना सङ्क्रमित राख्ने व्यवस्था मिलाउन अध्ययन गर्ने बताएको छ । यस्तै, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार भेन्टिलेटर व्यवस्था गर्न अध्ययन गरी कार्यान्वयनका लागि नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरेको छ ।

समाज लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (भदौ ४ गते)देखि भर्न पाइने भएको छ । संस्थाले आजदेखि ८६ लाख रुपैयाँ बराबरको अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ८६ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ८६ हजार कित्ता साधारण सेयर मध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गते हुनेछ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, न्यूनतम १० कित्ता आवेदन दिन पाइने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ)को बिक्री खुला भएको छ । इन्स्योरेन्सले आज(भदौ ४ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।

सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य हुनुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपि हुनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सवारी साधनका नम्बर प्लेटमा थरी थरीकाे भाषा र शैली प्रयाेग भएकाे विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी देव नागरिक लिपिको प्रयोग गराउने बताएका छन् । प्रधानमन्त्री  ओली सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग हुन नदिने पनि बताएका छन् । प्रधानमन्त्री ओलीलाई कुलपति उप्रेतीले हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्ने बताएका थिए। नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरिएकामा सो विरुद्ध सर्वोच्च अदालतबाट गत २०७६ मङ्सिर २७ गते अन्तरिम आदेश जारी भइसकेको छ । नेपालको संविधानको धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी काम काजको भाषा हुने छ भनी प्रष्ट उल्लेख गरिएको छ । हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको कुलपति उप्रेतीले स्पष्ट पारेका छन् । कतिपय शहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेका अवस्थामा सवारी साधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अङ्ग्रेजी लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकले सहजै न्याय नपाउने सम्भावना बढी हुने प्रतिष्ठानको धारणा छ । देवकोटा सङ्ग्रहालयको प्रस्ताव प्रतिष्ठानका प्राज्ञ शशी लुमुम्बुका अनुसार सो अवसरमा प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा उनको जन्मघरमा स्थापना हुने सङ्ग्रहालयको विस्तृत परियोजना प्रस्ताव ल्याउन आग्रह गरेका छन् । कोभिड –१९ का कारण तत्काल बजेट अभाव भए पनि आगामी दिनमा सो कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने प्रधानमन्त्री ओलीले आश्वासन दिए । सम्बन्धित समाचार इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित, कसरी लिने नयाँ नम्बर प्लेट ?