रिचार्जरमा भदौ ११ गतेबाट मेगा सेल ग्याजेट मेला, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निशुल्क
काठमाडाैं । मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् । आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो । ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका अलावा कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । भदौ ११ गतेबाट एक सातासम्म चल्ने मेलामा सामान खरिद गर्नेहरुले भदौ ३ गतेदेखि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता खोल्दा एक हजार बराबरको क्यास प्वान्ट तत्काल रिचार्जर एकाउण्टमा जम्मा ग्लाइडरले जानकारी दिए । भदौ ३ गतेदेखि १० गतेसम्ममा रिचार्जर डाउनलोडगरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराइनेछ भने हरेक दिन एक जनालाई स्मार्ट फोन उपलब्ध गराइने रिचार्जरले जनाएको छ । हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक पेज लाइभ मार्फत विजेता घोषणा गरिनेछ । कोरोना संक्रमण नियन्त्रणका लािग सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । एन ९५ मास्क ३५ रुपैयाँमा बिक्री बितरण भईरहेको छ । कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त ‘डबल सी’ ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध हुनेछ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपाल मेडिकल काउन्सिलद्वारा चिकित्सक लाइसेन्स परीक्षा स्थगित
काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ७ भदौंदेखि तय गरेको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । काउन्सिलले काठमाडौंलगायतका स्थानमा कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी हुन थालेपछि बुधबार एक विज्ञप्ती जारी गर्दै चिकित्सक दर्ता परीक्षा स्थगित गरेको जनाएको छ । काउन्सिलले स्थिती सहज हुने बितिकै उपकेन्द्रहरूबाट परीक्षा लिने जनाएको छ ।
लिवर्टी ईनर्जीको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा सो मात्राको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २६ हजार एक सय ९० जना आवेदकले कम्पनीकाे १० लाख २ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले माग गरेको सेयरको २८.११ प्रतिशत आवेदन परेको हो । कम्पनीले आज(भदाै ३ गते) बाट ३५ कराेड ६४ लाख रूपैयाँ बराबरकाे ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे छ । जसमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी एक अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । ३७ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
आईपीओ महँगिने, व्यक्तिगत लगानीकर्ताका लागि अवसर खुम्चने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको बुक विल्डिङ विधिबाट सर्वसाधारणमा सेयर निष्काशन गर्न इच्छुक कम्पनीका प्रर्वद्धक उत्साहित भएका छन् । तर उक्त सेयर सर्बसाधारणका लागि महँगो हुनुको साथै लगानीको अवसर पनि खुम्चिने देखिएको छ । बुक विल्डिङ विधिबाट साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्दा सेयरको मूल्य १०० रुपैयाँ भन्दा बढी हुन्छ । अंकित मूल्य १०० रुपैयाँ भएपनि त्यसमा प्रिमियम मूल्य जोडर सेयर निष्काशन हुनेछ । विगतमा एफपीओ निष्काशन हुँदा प्रिमियम मूल्य राखे झै अब साधारण सेयर निष्काशन गर्दा प्रिमियम मूल्य जोडिने छ । प्रिमियम मूल्य निर्धारण गर्ने विधि भने अन्तराष्ट्रिय अभ्यासमा आधारित र यथार्थ परक हुने जानकारहरुले बताएका छन् । लगानीकर्ताको लागि अवसर पनि खुम्चने भएको छ । बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्दा सर्बसाधारणलाई बिक्री गर्ने सेयरको ४० प्रतिशत संस्थागत लगानीकर्ताको लागि छुट्याउनु पर्नेछ । ६० प्रतिशत मात्र सर्वसाधारणमा वितरण गर्नु पर्ने भएको छ । बुक विल्डिङ विधि प्रक्रियामा कम्तिमा १० वटा कम्पनी भाग लिनु पर्ने र उनीहरुको लागि ४० प्रतिशत सेयर बेच्नुपर्ने व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । त्यस्तै, यसअघि १० कित्ता सेयर किन्न निवेदन गर्न पाउने नीति परिवर्तन गरी कम्तिमा ५० कित्ता सेयरकाे लागि निवदेन गर्नुपर्ने व्यवस्था गरिएकाे छ । ‘अरु देशमा संस्थागत लगानीकर्तालाई ७० प्रतिशत र सर्बसाधारणमा ३० प्रतिशत वितरण गर्ने व्यवस्था गरिएको छ । तर हामीले सर्वसाधारणलाई ६० र संस्थालाई ४० प्रतिशतको व्यवस्था गरेका छौं’ विकासन्युजको यूट्युव च्यानलमा कुरा गर्दै गिरीले भने । अन्तराष्ट्रिय अभ्यासमा बुक विल्डिङ विधिबाट तय भएको मूल्य नै संस्थागत तथा सर्बसाधारणको लागि लागू हुने भए पनि नेपालमा संस्थागत लगानीकर्ताले कटअफ प्राइसमा किन्नु पर्ने तर सर्बसाधारणको लागि कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा बिक्री गर्नु पर्ने उनले बताए । कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्दा संकलन हुने प्रिमियम कोषको बाँडफाँड अहिलेको व्यवस्थाअनुसार नै हुने गिरीले बताए । बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्दा कम्पनीको प्रवद्र्धकको मिहेनत र लगानीले उचित प्रतिफल पाउने उनले बताए । १०० मा निष्काशन गरेको साधारण सेयर नेप्सेमा सूचिकृत भई कारोबार हुँदा सातामा ३/४ सय रुपैयाँ पुग्ने गरेको उदाहरण दिदै गिरीले १०० रुपैयाँको सेयर ४०० मा किनबेच भयो भने प्रवद्र्धकले प्रतिकित्ता ३०० रुपैयाँ गुमाउनु परेको बताए । पुँजी बजारको विकासका लागि कम्पनीको सेयर भ्यालु फेयर बनाउनु पनि नियामकको जिम्मेवारी भएको गिरीको भनाई छ । बुक विल्डिङ विधि अन्तराष्ट्रिय अभ्यासका आधारमा नै तयार गरिएको र यो विधि लागू भएपनि उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सेयर सर्वसाधारणमा निष्काशन हुने क्रम बढ्ने धितोपत्र बोर्डको विश्वास छ । ‘बुक विल्डिङ विधि लागू भएपछि पहिला सेयर निष्काशन नगरेका राम्रा कम्पनीहरुले अब सेयर निष्काशन गर्न सक्छन् यसले लगानीको अवसर वृद्धि गर्छ’ गिरीले भने । डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले बुक विल्डिङ विधि राम्रो भएको बताए । बुक विल्डिङ विधि आएपछि कम्पनीको थप सेयर निष्काशन गर्न सक्ने सम्भावना उनले व्यक्त गरे । बुक विल्डिङ विधिमा धेरै कुरा राम्रो भएकोले त्यसमा प्रश्न र शंका गर्नुनपर्ने भनाई आचार्यको छ । यस विधिले सेयरको फेयर प्राइस तय गर्ने उनले बताए । कम्पनीले यसअघि साधारण प्रकियाबाट १० प्रतिशत सेयर निष्काशन गर्न लागेको थियो । ‘कम्पनीको नेटवर्थ धेरै राम्रो छ । तर सर्वसाधारणलाई १०० रुपैयाँमा नै बेच्नु पर्ने भएकोले हामीले १० प्रतिशत सेयर मात्र सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाएका थियौं’ आचार्यले भने–‘धितोपत्र बोर्डले बुक विल्डिङ विधि जारी गरेकोले अब १० प्रतिशतभन्दा बढी सेयर निष्काशनको सम्भावना बढेको छ । तर कम्पनीमा यस विषयमा छलफल हुन बाँकी छ ।’ डिसहोम प्रवृतिको सेवा मुलक कम्पनी वा उत्पादन मुलक कम्पनीहरुले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्न इच्छुक भएमा यसअघिको प्रक्रिया फिर्ता गरेर नयाँ प्रक्रियामा जान सक्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीले बताए । तर बैंक, विकास बैंक, फाइनान्स, बीमा, लघुवित्त लगायत वित्तीय क्षेत्रले भने प्रतिकित्ता १०० रुपैयाँमा साधारण सेयर निष्काशन गर्नुपर्ने उनले बताए । ‘नियामकबाट १०० मा सेयर निष्काशन गर्ने सर्त स्वीकार गरेका कम्पनीहरु बुक विल्डिङ विधिमा जान सक्दैनन’ गिरीले भने–‘बैकिङ र बीमा क्षेत्रले यस्तो सर्त स्वीकार गरेर लाइसेन्स लिएका हुन्छन् ।’ यसअघि श्री फाइनान्सले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न चाहेपनि धितोपत्र बोर्डले स्वीकार नगरेको उदाहरण पनि उनले पेस गरे । धितोपत्र बोर्डको यो नियमसँगै साधारण सेयर निष्काशनका सर्त र विधिमा विविधता देखिएको छ । वित्तीय क्षेत्रले साधारण सेयर निष्काशन गर्नुपूर्व प्रर्वद्धकले लाभांश वितरण गर्न पाउँदैनन् । अन्य कम्पनीहरुका प्रवद्र्धकले कम्पनीको नाफा लिएपछि पनि साधारण सेयर निष्काशन गर्न पाउने व्यवस्था छ । बुक विल्डिङ विधिपछि नयाँ मापदण्ड र सर्तहरु बनेका छन् ।
अछाम पहिराे अपडेट: १२ जनाको शव फेला, ५ को खोजी हुँदै
सांकेतिक तस्विर डाेटी । गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउ । उनले भने, “सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको छ, खोजीमा खटिएको टोलीले निकै टाढा शव भेटाएको छ, खोलामा अहिलेसम्म पनि ठूलो बाढी आएका कारण खोजीमा निकै समस्या हुँदै आएको छ ।” नेपाली सेनाको एआइ १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए । उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन सकेको छैन । गए राति ठूलो वर्षात्का कारण उक्त खोलामा बाढी आएका कारण आआफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताए । उनले भने, “बाढीले बगाएर बेपत्ता भएकाहरुको खोजीका लागि बिहानैदेखि टोली खटिएको छ, ठूलो जनधनको क्षति भएको छ, खोजी गर्दै छौँ ।”
सेरोलजिकल टेस्टको तयारी गर्दै महाशाखा, कुन केस कस्तो अवस्थामा छ थाहा हुने
काठमाडौं । देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो । संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए । कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभएपनि देशभरी नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए । सेरेलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् ? कस्तो अवस्थामा छ?’ भन्ने कुरा पत्ता लगाउने उनले बताए । तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधिअनुसार नै नमुना संकलन गरिने उनले भने । ‘‘सर्वे मनगणन्ते रुपमा जहाँ केसहरु धेरै छन त्यहाँबाट लिउँ भन्ने हुँदैन । सिस्टममा हुने प्रकृया हो । त्यसले कहाँ निर पर्छ त भन्ने तरिकाले गर्ने हो । जहाँ निर धेरै केस छन् त्यहाँ गएर यसको महत्व हुँदैन यसलाई सबैको प्रतिनिधित्व हुने गरी गर्नुपर्छ ।’’ उनले भने । कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने उक्त विधि कोरोना संक्रमणको जोखिम कति भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो । ९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले बताए । परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले र अहिले छ की छैन भन्ने कुरा यसले पत्ता लगाउँने डा.पाण्डेले बताए । परीक्षणपछि समुदायमा कोरोना छ की छैन ? कहिलेदेखि नेपालमा आएको होला ? कहिलेसम्म रहन्छ ? भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उनले भने । पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भएपनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने उनले बताए । उनले संक्रमणको अवस्था बढ्दै गएको सन्दर्भमा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरे । रोगसँग डराएर सधै लकडाउन गरिराख्न नमिल्ने उल्लेख गर्दै उनले समुदायस्तरमा सचेतना अपनाउँदै कसरी जीवनयापन गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए ।
चितवनकाे मेघौली सेराई ‘ट्राभलर्स चोईस २०२०’ काे उपाधी
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराईलाई ‘ट्रिपएड्भाइजर’को ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारद्वारा सम्मानित गरिएको छ । विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिपएड्भाइजर’ले १८औं वार्षिक ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार विजेताहरू घोषणा गरेको हो । ‘ट्रिपएड्भाइजर’ले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई पुरस्कृत गर्दछ । यिनै मानकका आधारमा ‘ट्रिपएड्भाइजर’ले होटल र रिसोर्टहरूको शीर्ष १० प्रतिशतमा परेको मेघौली सेराईलाई सम्मानित गरेको हो । “यस सम्मानबाट हामी धेरै खुशी छौं, हामीलाई समर्थन गर्ने अतिथिहरूलाई धन्यवाद दिन चाहन्छाैं,” ‘लाइफस्टाइल कलेक्टिभ’का सीओओ प्रीत सिंहले कृतज्ञता व्यक्त गर्दै भने “अहिले हामी पर्यटनको नयाँ आयाममा प्रवेश गरिरहेका छौं, यो सम्मानले अझ उत्कृष्ट सेवा दिन हामीलाई उत्प्रेरित गरेको छ ।”
ह्याण्ड स्यानिटाइजरमा कालोबजारी कायमै, विभागले गरेको मूल्य निर्धारण पालना भएन
काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नको लागि प्रयोग गरिने स्वास्थ्य सामग्रीमा कालो बजारी हुने गरेका समाचारहरु सुरुसुरुमा धेरै सुनिए । बजारमा ती स्वास्थ्य सामग्रीहरुमा मूल्यवृद्धिका लागि कृतिम अभाव सिर्जना गर्ने सम्मका कामहरु भए । बजारमा स्वास्थ्य सामग्रीहरुमा कालो बजारी गर्नेहरुको बिगबिगी भएपछि औषधि व्यवस्था विभागले बैशाखमा ह्याण्ड स्यानिटाइजरकाे मूल्य निर्धारण गर्यो । विभागले बजारमा बिक्री हुने ह्याण्ड स्यानिटाइजरको मूल्य निर्धारण गरेपनि अहिले बजारमा खुलेआम कालोबजारी भइरहेको छ । बजारमा ह्याण्ड स्यानिटाइजरको माग बढ्दै गएपछि यसलाई सर्वसुलभ बनाउन, कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न विभागले मूल्य सीमा निर्धारण गरेको थियो । विभागले उत्पादकहरुले लागत मापन नै नगरी स्यानिटाइजरको बिक्री गर्दा मूल्यमा धेरै नै फरक आएपछि त्यसमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेको बताएको थियो। तर, अझै पनि औषधि उत्पादकहरुले त्यसमा एकरुपता ल्याउन सकेका छैनन् । विभागले स्यानिटाइजरको प्रति एमएलको मूल्य १ रुपैयाँ २५ पैसाभन्दा बढी रुपैयाँ लिन नपाइने उल्लेख गरेको छ । तर, अहिले बजारमा प्रति एमएलको २ रुपैयाँ २५ पैसा भन्दा बढी लिइरहेका छन् । विभागले निर्धारण गरेको मूल्य सूची अनुसार ५० एमएलको नरमल ह्याण्ड रबलाई बढीमा ६५ रुपैयाँ, एक सय एमएललाई १ सय २५ रुपैयाँ भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको छ । यस्तै, ५० एमएलको ह्याण्ड रब जेललाई ८० रुपैयाँ, एक सय एमएललाई १ सय ४५ रुपैयाँ बढी लिन नपाइने उल्लेख गरिएको छ । २ सय एमएल ह्याण्ड रब जेललाई ३०० रुपैयाँ र ५ सय एमएललाई ५ सय १५ भन्दा बढी रुपैयाँ लिन नपाइ+ने विभागले जनाएको छ। यस्तै, ५ सय एमएललाई ४ सय ५० रुपैयाँ, एक हजार एमएललाई ६ सय ९०, दुई हजार एमएल र ५ हजार एमएललाई क्रमश १ हजार ३ सय ५० र ३ हजार रुपैयाँभन्दा बढी लिन नपाइने गरी मूल्य तोकेको छ । तर, अहिले बजारमा कतिपय स्यानिटाइजर उत्पादकहरुले आफुखुसी मूल्य राखेको देख्न सकिन्छ । विभागले निर्धारण गरेको मूल्य अनुसार १ रुपैयाँ २५ पैसाका दरले ७५ एमएल स्यानिटाइजरको मूल्य ९३ रुपैयाँ ७५ पैसा हुने पर्ने हो । तर बजारमा ७५ एमएल स्यानिटायजरको मूल्य १ सय ६० रुपैयाँसम्म लिने गरिएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बजारमा स्यानिटाइजरको मूल्यमा एक रुपता नभएको स्वीकार गरे । ‘सबै स्यानिटाइजर उत्पादक उद्योगहरु दर्ता प्रक्रियामा आउनका लागि हामीले सूचना आव्हान गरेका छौं, सबै दर्ता भइनसक्दासम्म मूल्यमा एकरुपता हुन समस्या नै हुन्छ, सबै दर्ता पक्रियामा आइसकेपछि सबैको मूल्य एउटै हुन्छ,’ उनले भने । उनले अझै उद्योग दर्ताका लागि एक महिना बाँकी रहेकोले एक महिनासम्म पनि यस्तै हुने उनको भनाई छ । यस्तै, नेपाल औषधि उत्पादक संघका महासचिव विप्लभ अधिकारीले आफुहरुले पनि मूल्य तोकिसकेकोले अहिले आफ्नो संघमा आवद्ध सबै उद्योगको मूल्यमा एकरुपता भएको बताए । पहिले केही कालोबजारी भएपनि अहिले त्यस्तो नभएको उनको भनाई छ । यस्तै, बजारमा कालो बजारी भएको बारे अनुगमन गर्ने वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सुचना अधिकारी रविन्द्र आचार्यले अहिले आफुहरुमाझ त्यस्तो मूल्य वृद्धि सम्बन्धि गुनासो नआएको बताए । उनले उपभोक्ता वा कुनैबाट त्यस्तो गुनासो आएमा अनुगमन गर्न सक्ने बताए । स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथेल अल्कोहल वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने विभागले मापदण्ड निर्धारण गरेको छ । विभागले निश्चित मापदण्ड निर्धारण गरेपनि कतिपयले भने ७० देखि ८० प्रतिशत अल्कोहलको मात्रा नभएको र मनपरी मूल्यमा स्यानिटाइजर बिक्री वितरण भएको गुनासो आइरहेको छ । भारतको भन्दा नेपालमा बनेको स्यानिटाइनजर महँगो बजारमा कालोबजारी सँसँगै उपभोक्ताहरुले स्यानिटानइजरको चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले नै भारतको भन्दा महँगो मूल्य निर्धारण गरेको छ । स्वदेशी उत्पादन स्यानिटाइजर मल्टिनेश्नल कम्पनीबाट उत्पादित वस्तुभन्रदा सस्तो हुनु पर्नेमा उल्टै नेपालमै बनेको स्यानिटाइजर महँगो पर्ने गरेको छ । जसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् । औषधि व्यवस्था विभाग नेपालमा ड्र मेट्रियल महँगो पर्ने भएकोले स्यानिटाइजर पनि महँगो पर्ने गरेको बताउँछ । ‘भारतमा ड्र मेट्रियल सस्तोमा पाइन्छ, उनीहरुले त्यही अनुसार मूल्य तोक्छन्, हाम्रोमा ड्र मेट्रियलको मूल्य महँगो भएकोले मूल्य पनि महँगो भएको हो,’ विभागका प्रवक्ता केसीले भने । उनले सबै दर्ता प्रक्रियामा आइसकेपछि विस्तारै मूल्य पनि सस्तो हुँदै जाने बताए । भारतले प्रति एमएल स्यानिटाइजरको मूल्य ५० पैसा लिने गरेको छ । सो अनुसार ६० एमएल स्यानिटाइजर छ भने त्यसको मूल्य ३० रुपैयाँ पर्न जान्छ । नेपालमा भने साे स्यानिटाइजरकाे मूल्य १२० देखि १६० भन्दा बढी पर्छ ।