विकासन्युज

काठमाडौं उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाईट सञ्चालन

काठमाडौं । काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन थप ३ स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र ललितपुर महानगरपालिकाको सक्रियतामा पुल्चोक र हरिहर भवनको ट्राफिक लाईट नयाँ जडान गरेको र अल्का अस्पताल अगाडीको ट्राफिक लाईट मर्मत गरी सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिए । उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानिय तहसँग समन्वय गरी ट्राफिक लाईट जडान गर्न पहल भईरहेको बताए । ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (अनामनगर जाने चोक), पद्मोदय (सभागृह जाने चोक), पुतलिसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाईट ट्राफिक महाशाखाको सडक विभागसँग पहल गरी यस अघि नै सञ्चालनमा रहेको कुरा प्रवक्ता एसपी वामदेव गौत्तमले बताए । साथै सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्न जाने हुँदा सम्बन्धित सम्पूर्ण चालक तथा पैदलयात्रीहरूले सबै किसिमका ट्राफिक नियमहरूलाई पूर्ण रूपमा पालना गर्न सबैलाई महाशाखाले अनुरोध गरेकाे छ ।

अनलाईन बाटै सेवा दिँदै एनएलजी इन्स्योरेन्स, आवश्यक परेमा यी नम्बरमा कल गर्न सकिने

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हालको परिस्थितीमा अनलाइन बाटै बीमा सम्बन्धि सेवा दिँदै आएको छ । कोभिड १९ को जोखिमको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना ग्राहकलाई अनलाईनबाटै सेवा दिने व्यवस्था मिलाएको हो । कम्पनीले विभिन्न कर्मचारीहरु मार्फत वर्क फ्रम होमको रुपमा समेत सेवा दिइरहेको जानकारी गराएको छ । कार्यालयमा भौतिक उपस्थिति हुँदा ग्राहकमा जोखिम बढ्न सक्ने सम्भावना रहने भएकाले कम्पनीले बीमासँग सम्बन्धित सेवाका लागि विभिन्न कर्मचारीको सम्पर्क उपलब्ध गराएको छ । यससँगै ग्राहकले बीमा पोलिसी र दावी सम्बन्धी सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा २० प्रतिशत छुट

काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले हस्ताक्षर गरेका हुन् । काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउनेछन् । बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिन सक्नेछन् । हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।

रहेनन् राष्ट्रकवि माधव घिमिरे

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकाे छ । उनकाे १०१ वर्षकाे उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको बताइएकाे छ । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। वि.स १९७६ साल असोज ७ गते जन्मेका उनकाे आज मृत्यु भएको हो । घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौता पछि नेपाल बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् । बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण १५ निर्णय

काठमाडाैं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण १५ निर्णय गरेको छ । सरकारका प्रवक्तता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सरकारले विभिन्न १५ निर्णय गरेका बताएका हुन् । मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुलाई विभिन्न अख्तियारी दिने निर्णय गरेको छ । बैठकले सीडीओको नेतृत्वमा रहने ‘जिल्ला कोरोना संकट समिति’लाई जोखिम विश्लेषण गरी संक्रामक रोग ऐन २० अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभरी वा जिल्लाको कुनै भागमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निशेधाज्ञा जारी गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ । यस्ता छन् अन्य निर्णयहरू:  

लिवर्टी ईनर्जीको आईपीओ भोलिदेखि भर्न पाइने  

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता साधारण सेयर(आईपीओ) भोलि बुधबार (भदाै ३ गते)देखि भर्न पाइने भएको छ । कम्पनीले बढिमा १० हजार कित्तासम्म भर्न सकिने गरि सो मात्राको सेयर बिक्रीमा राख्ने भएको हो । यस साधारण सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ । हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी एक अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । यस कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्रस तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत सम्पन्न भई आगामी कार्तिक मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्त सम्म थप गरिने भएको छ । यस आयोजनाको पानीको श्राेत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव-स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ । यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ । याे पनि पढ्नुहाेस्ः विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था

व्यापार नचलेपछि सस्तैमा रेष्टुरेण्ट/पसल बेच्दै व्यवसायी, ५० प्रतिशत छुट दिँदा पनि ग्राहकको आनाकानी

काठमाडौं । चलिरहेको क्याफे बिक्रीमा । स्थान सिनामंगल चोक, मूल्य ११ लाख रुपैयाँ (केही मिल्न सक्छ), भाडा ५० हजार । नोटः सबै कुरा राम्रो, पार्किङ पनि भएको र बिक्री भइसकेपछि ३ महिनाको भाडा पनि हामी तिरी दिन्छौं । यो सूचना सामाजिक सञ्जालमा भेटिएको हो । काठमाडौंको सिनामंगलमा फायरवुड सेकुवा स्टेशन नाम गरेको क्याफे बिक्रीका लागि क्याफेका सञ्चालक विकेश श्रेष्ठले पोष्ट गरेको सूचना हो यो । यस्तै, कोरोना भाइरसले निम्त्याएको संकटले व्यापार व्यवसाय थला परेपछि ललितपुरको कुपण्डोलमा फेन्सी पसल सञ्चालन गर्दै आएकी सृजना खड्काले पनि सामाजिक सञ्जालमा पसल बिक्रीका लागि एउटा सूचना राखिन् । उनको सूचनामा भनिएको छ–‘ बुटिक पसल बिक्रीमा । स्थान कुपनडोल, मूल्य १८ लाख (केही मिल्न सक्छ), भाडा २० हजार । विकेश र सिर्जना जस्तै अहिले सामाजिक सञ्जालमा पसल तथा आफुले गर्दै आएको व्यापार व्यवसाय बिक्री गर्न चाहनेको संख्या बढ्दै गएको छ । विकेशले आफ्नो क्याफे केही दिन अगाडि मात्रै बिक्री गरिसकेका छन् । उनले नचाहँदै पनि व्यापार ठप्प भएपछि क्याफे बेच्न बाध्य भए । सिर्जना भने अझै ग्राहकको खोजीमा छिन् । ‘दैनिक पसल खरिद गर्न चाहने ग्राहक आइरहेका छन्, सबै कुरा मिल्छ । अन्तिममा मूल्य नमिलेपछि ग्राहक फिर्ता हुने गरेका छन्,’ उनले विकासन्युजसँग भनिन् । सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेदेखि व्यापार नभएको बताउँदै उनले अहिले बाध्य भएर पसल बेच्नु परेको गुनासो गरिन् । ‘पाँच महिनामा व्यापार नगरेरै १ लाख रुपैयाँ सटर भाडा तिरी सकेकी छु, अझै पनि कतिसम्म व्यापार नगरेरै बस्नु पर्ने हो, त्यही भएर सित्तैमा भाडा तिर्नुभन्दा पसल नै बेच्न लागेको हुँ,’ उनले भनिन् । विकेशले पनि अहिले क्याफे बेच्ने मन नहुँदै पनि व्यापार व्यवसाय ठप्प भइसकेपछि बाध्य भएर बेचेको बताए । व्यापार नभएपछि सित्तैमा भाडा तिर्नुभन्दा घाटा खाएर नै क्याफे बेचेको उनको भनाई छ । सिर्जना र विकेशका अनुसार पहिलेको भन्दा धेरै सस्तो मूल्यमा पसल बिक्रिमा राखेपनि ग्राहकले नमान्ने गरेका छन्र ।  सिर्जनाले आफ्नो पसल धेरै महँगो भएपनि सस्तोमा बेच्न लागेको सुनाइन् । अहिले बजारमा आफु जस्तै धेरै व्यापारीहरुले पसल बिक्री गर्न खोजिरहेको उनीहरु बताउँछन् । तर, ग्राहकहरुलाई सस्तोमै बिक्री गर्न खोज्दा पनि नमानेको उनीहरुको भनाई छ । अहिले साना पसल व्यवसाय मात्र होइन ठूला-ठूला मलमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि ‘फर सेल’ भनेर नोटिस गरेका हुन्छन् । अहिले सामाजिक सञ्जालमा पसल खरिद बिक्री, घर खरिद बिक्री, सटर खरिद बिक्री लगायतका फेसबुक पेजहरु बनाएर मानिसहरुले पसल खरिद बिक्री गरिरहेका छन् । पसल किनबेच गराउने एजेन्सीहरुका अनुसार अहिले सस्तैमा पनि पसल तथा रेष्टुरेण्टहरु बिक्री गर्नेहरुको संख्या बढेको छ । उनीहरुका अनुसार अहिले पसल खरिद बिक्री पहिलेको तुलनामा ५ गुणासम्म बढेको छ । अहिले पसल खरिद गर्ने भन्दा पनि बिक्री गर्नेको संख्या धेरै रहेको उनीहरको भनाई छ । यसरी वर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका उनीहरु व्यवसायबाट नै पलायन हुन थालेका छन् । आफु स्वरोजगार सँगै अन्य धेरैलाई पनि रोजगारी दिएका उनीहरु व्यवसायबाट हात धोयपछि धेरै मानिसहरु वेरोजगार हुने हुन् की भन्ने चिन्ता पनि अहिले बढेको छ । ५ महिनादेखि बन्द सटरको घरभाडा तिरी व्यापार नै नहुने पसल खोल्नुभन्दा उनीहरु घरमै बस्न खोजिरहेका छन् । अहिले अधिकांश व्यापार व्यवसाय बन्द अवस्थामा छन् । ४ महनिादेखिको लकडाउन साउन पहिलो सातामा खोलिसकेपछि अब त व्यापार व्यवसाय गर्न पाइन्छ भनेर खुसी भएका व्यवसायी फेरि निराश भएर बस्न बाध्य भएका छन् । उनीहरुले अहिले उधारै भाडा तिर्नुभन्दा त्यसको उत्तम बिकल्प पसल नै बेच्ने सम्मका पुगेका हुन् । अहिले काठमाडौं उपत्यकाका धेरै मल पनि खालि भइसकेका छन् । धेरै मानिसहरु पसल बेचेर नै घर फर्किसकेका छन् भने धेरै बेच्ने तरखर गरिरहेका छन् । कोरोना कहरमा उधारै भाडा तिर्नुभन्दा बरु सस्तोमा पसल बिक्री गरेर घर फर्किने मनसाय अहिले अधिकांश व्यवसायीले गरेका छन् । धेरैले अहिले ५० प्रतिशत छुटमा पनि पसल बिक्री गरिरहेको बुझिएको छ । लामो समयसम्म व्यापार नभएपछि घर भाडा पनि कसरी तिर्ने भनेर अत्तालिएका उनीहरु अहिले सस्तो मूल्यमा पसल रेष्टुरेण्ट लगायतका आफुले गर्दै आएका व्यवसाय बन्द वा बिक्री गर्ने मनस्थितीमा पुगेका हुन् । याे पनि पढ्नुस्: धमाधम खाली हुँदै बिजनेस हाउस, निराश भएर घर फर्कँदै व्यापारी