काठमाडौं । चलिरहेको क्याफे बिक्रीमा । स्थान सिनामंगल चोक, मूल्य ११ लाख रुपैयाँ (केही मिल्न सक्छ), भाडा ५० हजार । नोटः सबै कुरा राम्रो, पार्किङ पनि भएको र बिक्री भइसकेपछि ३ महिनाको भाडा पनि हामी तिरी दिन्छौं ।
यो सूचना सामाजिक सञ्जालमा भेटिएको हो । काठमाडौंको सिनामंगलमा फायरवुड सेकुवा स्टेशन नाम गरेको क्याफे बिक्रीका लागि क्याफेका सञ्चालक विकेश श्रेष्ठले पोष्ट गरेको सूचना हो यो ।
यस्तै, कोरोना भाइरसले निम्त्याएको संकटले व्यापार व्यवसाय थला परेपछि ललितपुरको कुपण्डोलमा फेन्सी पसल सञ्चालन गर्दै आएकी सृजना खड्काले पनि सामाजिक सञ्जालमा पसल बिक्रीका लागि एउटा सूचना राखिन् । उनको सूचनामा भनिएको छ–‘ बुटिक पसल बिक्रीमा । स्थान कुपनडोल, मूल्य १८ लाख (केही मिल्न सक्छ), भाडा २० हजार ।
विकेश र सिर्जना जस्तै अहिले सामाजिक सञ्जालमा पसल तथा आफुले गर्दै आएको व्यापार व्यवसाय बिक्री गर्न चाहनेको संख्या बढ्दै गएको छ । विकेशले आफ्नो क्याफे केही दिन अगाडि मात्रै बिक्री गरिसकेका छन् । उनले नचाहँदै पनि व्यापार ठप्प भएपछि क्याफे बेच्न बाध्य भए । सिर्जना भने अझै ग्राहकको खोजीमा छिन् ।
‘दैनिक पसल खरिद गर्न चाहने ग्राहक आइरहेका छन्, सबै कुरा मिल्छ । अन्तिममा मूल्य नमिलेपछि ग्राहक फिर्ता हुने गरेका छन्,’ उनले विकासन्युजसँग भनिन् ।
सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेदेखि व्यापार नभएको बताउँदै उनले अहिले बाध्य भएर पसल बेच्नु परेको गुनासो गरिन् । ‘पाँच महिनामा व्यापार नगरेरै १ लाख रुपैयाँ सटर भाडा तिरी सकेकी छु, अझै पनि कतिसम्म व्यापार नगरेरै बस्नु पर्ने हो, त्यही भएर सित्तैमा भाडा तिर्नुभन्दा पसल नै बेच्न लागेको हुँ,’ उनले भनिन् ।
विकेशले पनि अहिले क्याफे बेच्ने मन नहुँदै पनि व्यापार व्यवसाय ठप्प भइसकेपछि बाध्य भएर बेचेको बताए । व्यापार नभएपछि सित्तैमा भाडा तिर्नुभन्दा घाटा खाएर नै क्याफे बेचेको उनको भनाई छ ।
सिर्जना र विकेशका अनुसार पहिलेको भन्दा धेरै सस्तो मूल्यमा पसल बिक्रिमा राखेपनि ग्राहकले नमान्ने गरेका छन्र । सिर्जनाले आफ्नो पसल धेरै महँगो भएपनि सस्तोमा बेच्न लागेको सुनाइन् ।
अहिले बजारमा आफु जस्तै धेरै व्यापारीहरुले पसल बिक्री गर्न खोजिरहेको उनीहरु बताउँछन् । तर, ग्राहकहरुलाई सस्तोमै बिक्री गर्न खोज्दा पनि नमानेको उनीहरुको भनाई छ ।
अहिले साना पसल व्यवसाय मात्र होइन ठूला-ठूला मलमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि ‘फर सेल’ भनेर नोटिस गरेका हुन्छन् ।
अहिले सामाजिक सञ्जालमा पसल खरिद बिक्री, घर खरिद बिक्री, सटर खरिद बिक्री लगायतका फेसबुक पेजहरु बनाएर मानिसहरुले पसल खरिद बिक्री गरिरहेका छन् ।
पसल किनबेच गराउने एजेन्सीहरुका अनुसार अहिले सस्तैमा पनि पसल तथा रेष्टुरेण्टहरु बिक्री गर्नेहरुको संख्या बढेको छ । उनीहरुका अनुसार अहिले पसल खरिद बिक्री पहिलेको तुलनामा ५ गुणासम्म बढेको छ ।
अहिले पसल खरिद गर्ने भन्दा पनि बिक्री गर्नेको संख्या धेरै रहेको उनीहरको भनाई छ । यसरी वर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका उनीहरु व्यवसायबाट नै पलायन हुन थालेका छन् । आफु स्वरोजगार सँगै अन्य धेरैलाई पनि रोजगारी दिएका उनीहरु व्यवसायबाट हात धोयपछि धेरै मानिसहरु वेरोजगार हुने हुन् की भन्ने चिन्ता पनि अहिले बढेको छ ।
५ महिनादेखि बन्द सटरको घरभाडा तिरी व्यापार नै नहुने पसल खोल्नुभन्दा उनीहरु घरमै बस्न खोजिरहेका छन् । अहिले अधिकांश व्यापार व्यवसाय बन्द अवस्थामा छन् । ४ महनिादेखिको लकडाउन साउन पहिलो सातामा खोलिसकेपछि अब त व्यापार व्यवसाय गर्न पाइन्छ भनेर खुसी भएका व्यवसायी फेरि निराश भएर बस्न बाध्य भएका छन् ।
उनीहरुले अहिले उधारै भाडा तिर्नुभन्दा त्यसको उत्तम बिकल्प पसल नै बेच्ने सम्मका पुगेका हुन् । अहिले काठमाडौं उपत्यकाका धेरै मल पनि खालि भइसकेका छन् । धेरै मानिसहरु पसल बेचेर नै घर फर्किसकेका छन् भने धेरै बेच्ने तरखर गरिरहेका छन् ।
कोरोना कहरमा उधारै भाडा तिर्नुभन्दा बरु सस्तोमा पसल बिक्री गरेर घर फर्किने मनसाय अहिले अधिकांश व्यवसायीले गरेका छन् । धेरैले अहिले ५० प्रतिशत छुटमा पनि पसल बिक्री गरिरहेको बुझिएको छ ।
लामो समयसम्म व्यापार नभएपछि घर भाडा पनि कसरी तिर्ने भनेर अत्तालिएका उनीहरु अहिले सस्तो मूल्यमा पसल रेष्टुरेण्ट लगायतका आफुले गर्दै आएका व्यवसाय बन्द वा बिक्री गर्ने मनस्थितीमा पुगेका हुन् ।
याे पनि पढ्नुस्: धमाधम खाली हुँदै बिजनेस हाउस, निराश भएर घर फर्कँदै व्यापारी