लिवर्टी ईनर्जीको आईपीओ खुल्याे, कति कित्ता भर्न पाइन्छ ?

<p>काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको साधारण सेयर(आईपीओ) बिक्री आज बुधबार (भदाै ३ गते)देखि खुलेकाे छ । कम्पनीले ३५ कराेड ६४ लाख रूपैयाँ बराबरकाे ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे । कम्पनीले निष्काशन गरेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त [&hellip;]</p>

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको साधारण सेयर(आईपीओ) बिक्री आज बुधबार (भदाै ३ गते)देखि खुलेकाे छ । कम्पनीले ३५ कराेड ६४ लाख रूपैयाँ बराबरकाे ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे ।

कम्पनीले निष्काशन गरेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ ।

हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी एक अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

यस कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्रस तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत सम्पन्न भई आगामी कार्तिक मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्त सम्म थप गरिने भएको छ ।

यस आयोजनाको पानीको श्राेत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव-स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ ।

यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ ।

याे पनि पढ्नुहाेस्ः

विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था

Share News