विकासन्युज

बिगमार्टमा इसेवा तथा फोनपेबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागु हुनेछ । यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु हुनेछ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम ३ सय रुपैयाँसम्म पाइनेछ । कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामाहाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको शुरू भएको थियो । हाल बिगबमार्टका मुलुकभर ५० वटा स्टोर्स रहेका छन् । बिग मार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ-नयाँ अफर ल्याउँदै आएको छ । बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ ।

विद्युत प्राधिकरणको छलाङ कोरोनाले छेकेनः ११ अर्ब नाफा कमाउँदा ग्राहक करिब ४८ लाख पुगे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले सो नाफा गरेको हो । आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड नाफा कमाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब  रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट नाफा कमाउन सफल भएको उनले बताए । विद्युत आयात घट्यो घिसिङले भारतबाट आयात गर्ने विद्युतको अंश पनि घटेकाे बताएका छन् । उनले गत आवमा प्राधिकरणले प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात गरेको बताए । उनले आर्थिक वर्ष २०७८/७९ बाट नेपाल विद्युतमा पूर्णत आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने बताए । विद्युत खपतको रुपमा हेर्ने हो भने चार वर्ष अघिको तुलनामा विद्युतको पहुँच नै २३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति वार्षिक विद्युत खपत त्यो समयमा १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको उनले बताए । ग्राहक करिब ४८ लाख पुगे नेपाल विद्युत प्राधिकरणका ग्राहक तथा उपभोक्ता पनि बढेका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा करिब ४८ लाख पुगेका छन् । प्राधिकरणका अनुसार सामुदायिक संस्थाहरूका ग्राहकसमेत जोड्दा कूल उपभोक्ताको संख्या ४७ लाख ८५ हजार पुगेको छ । अघिल्लो आव २०७५/७६० मा कूल ग्राहक संख्या ४४ लाख थिए । गत आवमा विद्युत्मा पहुँच पुगेको उपभोक्ताको संख्या ७८ प्रतिशतबाट बढेर ८६ प्रतिशत पुगेको बताइएको छ । प्राधिकरण समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनःसंरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामुलक बनाएको उनले बताए । उनले कोरोनाको अवस्थामा समेत कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएर काम गराइएको बताए ।

स्वावलम्बन लघुवित्तले कोरोना कोषमा दियो थप १ करोड ३२ लाख रुपैयाँ

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप  १ करोड ३२ लाख २८ हजार १ सय २१ रूपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाले यस अघि २५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । वित्तीय संस्थाले कोभिड-१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरुप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको र उक्त सहयोगले न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ । वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

काेभिड राेकथाम खर्च: अनियमितता भएकाे भन्दै सिराहा नगरपालिकामा अख्तियारद्वारा छानबिन

लहान । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीको व्यापक विरोधपछि आयोगले छानबिन शुरु गरेको हो । सो गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा राहतका लागि गरेको खर्चसम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए । औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए । यसअघि अख्तियारले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत कागजात नियन्त्रण लिएको थियो ।

पोखरामा आज रातिदेखि निषेधाज्ञा

काठमाडाै‌ं । कोरोनाको संक्रमण फैलिएकाे कारण पाेखरामा आज रातिदेखि निषेधाज्ञा लागू गरिने भएकाे छ । पोखरा महानगरले आज राति १२ बजदेखि भदाै ८ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागू गर्ने जनाएकाे छ । पोखरामा सोमबार बिहानसम्म २०४ कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म एक सय २७ जना निको भएर घर फर्किसकेका छन् । शनिबार र आइतबार मात्र पोखरामा ४९ जना संक्रमित थपिएका थिए ।  

यूनाईटेड इन्स्योरेन्सको बीमा शुल्क अहिलेसम्मकै उच्च, खुद नाफा पनि ६० प्रतिशतले बढ्यो

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत आर्थिक वर्ष २०७६/७७मा ३१ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन कम्पनीको इतिहासमै अहिलेसम्मकै उच्च बीमा शुल्क हो भने अघिल्लो आवको तुलनामा ३७.८२ प्रतिशत बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद बीमा शुल्कसँगै कम्पनीको खुद नाफामा पनि वृद्धि भएको छ । अघिल्लो आवमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ३ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जुन प्रतिशतको आधारमा ६०.४४ प्रतिशत बढी हो । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब २ करोड रुपैयाँ पुगेको । त्यस्तै, जगेडा कोष वृद्धि भई ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने बीमा कोष पनि बढेर ३० करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोषमा २ करोड ८४ लाख रुपैययाँ र बीमा कोषमा २९ करोड ३ लाख रुपैयाँ रहेकाे थियाे । समीक्षा अवधिमा कम्पनीले ९ हजार ७ सय ९३ वटा बीमालेख बाट ६५ करोड ५४ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, २ हजार ४२ वटा दावी मार्फत २२ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ भने एक हजार ९ सय १४ वटा दाबीबाट ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३७.९४ रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार २ सय ३५ रुपैयाँ रहेको छ ।

भरतपुर अस्पतालकाे आकस्मिक बाहेकका सेवा बन्द

चितवन । कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल बहिरङ्ग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ । यस्तै सघन उपचार कक्ष र प्रसूति विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।

त्रिविका काम भदौ १५ गते सम्म घरबाटै

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको बताए । उनका अनुसार त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारी आआफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रही सुरक्षितरुपमा घरबाटै कार्य गर्ने तथा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था सम्बन्धित क्याम्पस प्रमुखले मिलाउने व्यवस्था गरिएको छ । लकडाउन खुकुलो भएपछि त्रिविले पढाइ र परीक्षाबाहेकका सबै सेवा सञ्चालन गरेको थियो । तर पुनःउपत्यकासहित मुलुकभर कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि त्रिविले सवै सेवा बन्द गरेको हो । यस्तै त्रिविले अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह सम्भव नहुने र बढी जनसम्पर्क हुने प्रकृतिका कार्य स्थगित गर्ने र अत्यावश्यक भई कार्यालयमै उपस्थिति भई कुनै कार्य गर्नुपर्ने अवस्थामा सेवा प्रवाह र जनशक्ति व्यवस्थापन सम्बन्धित निकाय प्रमुखले समन्वय गरी सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गरी गर्ने गराउने उल्लेख छ । त्रिविले पछिल्लो पटक सङ्क्रमणको स्थिति सामान्य हुँदै गइरहेको अवस्थामा परीक्षाको तयारीसमेत गरेको थियो । तर सङ्क्रमण बढेपछि हाललाई परीक्षाको तयारीसमेत स्थगित गरेको छ ।