काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले सो नाफा गरेको हो ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड नाफा कमाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट नाफा कमाउन सफल भएको उनले बताए ।
विद्युत आयात घट्यो
घिसिङले भारतबाट आयात गर्ने विद्युतको अंश पनि घटेकाे बताएका छन् । उनले गत आवमा प्राधिकरणले प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात गरेको बताए ।
उनले आर्थिक वर्ष २०७८/७९ बाट नेपाल विद्युतमा पूर्णत आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने बताए ।
विद्युत खपतको रुपमा हेर्ने हो भने चार वर्ष अघिको तुलनामा विद्युतको पहुँच नै २३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति वार्षिक विद्युत खपत त्यो समयमा १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको उनले बताए ।
ग्राहक करिब ४८ लाख पुगे
नेपाल विद्युत प्राधिकरणका ग्राहक तथा उपभोक्ता पनि बढेका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा करिब ४८ लाख पुगेका छन् । प्राधिकरणका अनुसार सामुदायिक संस्थाहरूका ग्राहकसमेत जोड्दा कूल उपभोक्ताको संख्या ४७ लाख ८५ हजार पुगेको छ ।
अघिल्लो आव २०७५/७६० मा कूल ग्राहक संख्या ४४ लाख थिए । गत आवमा विद्युत्मा पहुँच पुगेको उपभोक्ताको संख्या ७८ प्रतिशतबाट बढेर ८६ प्रतिशत पुगेको बताइएको छ ।
प्राधिकरण समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनःसंरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामुलक बनाएको उनले बताए । उनले कोरोनाको अवस्थामा समेत कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएर काम गराइएको बताए ।