विकासन्युज

जुम्लामा पुनः निषेधाज्ञा

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो । चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गरिएको छ । पातारासी गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासनले सङ्क्रमण रोग ऐन, २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८, को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले भने, “स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानमा स्वाब सङ्कलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, सङ्क्रमण हुन नदिन निषेधाज्ञा गरिएको हो ।” यसैगरी कुनै पनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानमा हुने भेला, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

वाणिज्य विभागले बनायो किराना पसलको लागि मापदण्ड, अब कसरी बेच्ने सामान ?

काठमाडौं । कोभिड-१९ को संक्रमणको जोखिम कम गर्नको लागि वाणिज्य तथा आपुर्ति मन्त्रालयले व्यवसायीहरुको लागि स्वास्थ्य एवंम सुरक्षा मापदण्ड तयार पारेको छ । मन्त्रालयले आईतबार एक विज्ञप्ती जारी गर्दै सबै व्यवसायीहरुको उक्त स्वास्थ्य मापदण्ड पालन गरी व्यवसाय गर्न आदेश दिएको छ । उक्त मापदण्ड पालना गरेको नगरेको सबै अनुगमन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार व्यवसायिक स्थलमा आउने उपभोक्ताहरुको लागि व्यवसायीहरुले प्रवेश विन्दुमै ज्वारो नाप्ने थर्मल गनको प्रयोग गरी त्यसको आधारमा मात्र प्रवेश व्यवस्था गर्नु पर्नेछ । कोही पनि व्यक्ति लक्षण मिलेको पाएमा तुरुन्त परीक्षणको लागि पठाउनु पर्नेछ । यस्तै व्यवसायिक केन्द«मा सम्बन्धित कर्मचारी वा व्यवसायीहरुले पन्जा तथा मास्कको अनिवार्य प्रयोग गर्ने र हाललाई स्यानिटाईज गर्ने तथा न्युनतम दुई मिटरको सामाजिक दुरी कायम गरी कोरोवार संचालन गर्नुपर्नेछ । व्यवसायिक स्थलका कामदारहरुले यात्रापछि काममा फर्कनुपूर्व अनिवार्य रुपमा यात्राको विवरण व्यवस्थापनलाई बुझाउनु पर्नेछ । यस्तै कार्यस्थलमा रहँदा पुरै समय कर्मचारीहरुले अनिवार्य रुपमा पुरै शरीर ढाक्ने लुगा लगाउनु पर्दछ साथै अनलाईन माग संगलन र होम डेभिरीलाई प्राथमिकता दिई सकेसम्म विधुतिय माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न बताईएको छ । मापदण्ड अनुसार ग्राहकहरुलाई मार्के गरिएको घेरभित्र राखी पर्याप्त सामाजिक दुरी कायम गरेर सामान छनोट तथा बिल भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यति मात्र नभएर व्यवसायीहरुले पसलमा कोभिडको बेला गर्नु हुने र नहुने सुची तयार पारी सबैले देख्ने स्थानमा राख्नुपर्नेछ ।  

बेनी नगरपालिकाले बनायाे आफ्नै स्थानीय पाठ्यपुस्तक

गलेश्वर। बेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन शुरु गरेको हो । पुस्तक १०० पूर्णाङ्कको रहेको छ । नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविधि विषयलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए । आगामी वर्ष क्रमशः कक्षा २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगर कार्यपालिकाले स्वीकृतिसमेत दिइसकेको छ । बेनी नगरपालिकामा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन् । स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाउने नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । निर्माण समिति गठनसँगै धेरै चरणमा सरोकारवालासँग छलफल चलाई पाठ्यक्रम तयार पारी लागू गरिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको जोखिमले विद्यालयमा पठनपाठन बन्द भएको अवस्थामा नगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई स्वअध्ययन सामग्रीसहित नगरपालिकाको पुस्तक विद्यार्थीको पहुँचमा पुग्ने गरी आवश्यक योजना बनाउनसमेत निर्देशन दिएको छ । रासस

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडाै‌ं । झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज सचिवालय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः३० बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो । यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मङ्सिरभित्र) गर्न प्रस्ताव गरेकाे र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।

इप्पानको अध्यक्षमा कृष्णप्रसाद आचार्य, सर्वसहमतिमा कार्यसमिति चयन

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल (इप्पान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसहमतिबाट चयन भएका छन् । आइतबार आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भएकाे छन् । यसै वर्ष विधान संशाेधन गरी तीन उपाध्यक्षकाे व्यवस्था गरिएकाे थियाे । महासचिवमा गोरे शेर्पा चयन भएका छन् । त्यसैगरी सचिवत्रयमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य र कोषाध्यक्षमा आनन्द चौधरी रहेका छन् । यस्तै, सदस्यहरुमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल र अभिज्ञा मल्ल चयन भएका छन् । इप्पानका लागि आचार्य र सूर्य अधिकारी नेतृत्वको समूहले छुटाछुटै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्दै थिए । काेभिड १९काे संक्रमण जाेखिम भन्दा जिल्ला प्रशासन कार्यालयले चुनावी सभा राेक्न निर्देशन दिएपछि सहमतिमा कार्यसमिति चयनकाे प्रयास भएकाे थियाे । चुनावी सभा स्थगित भएसँगै दुई पक्षले सर्वसहमतबाट नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता लिएका थिए भने सर्वसहमतिका लागि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा ज्ञानेन्द्रलाल प्रधान, केशबबहादुर रायमाझी, धुर्व उप्रेती र अर्जुन गौतम सम्मिलित समिति बनाइएको थियो । समितिले पटक पटक छलफलपछि आइतबार राती मात्र नयाँ कार्य समिति चयन गरेर सार्वजनिक गरेको हो ।

सिन्धुली पुनःनिर्माणमा १३ अर्ब रूपैयाँ खर्च, कसले कति पाए ?

सर्लाही । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म रु १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म रु १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त खर्चमध्ये निजी आवास निर्माण गर्न रु नौ अर्ब ३८ करोड २८ लाख खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए । उनका अनुसार निजी आवास पुनःनिर्माणतर्फका कूल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन् । तीमध्ये निजी आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा गरिसकेका छन् । त्यस्तै प्रबलीकरणतर्फ कूल लाभग्राही १४ हजार ४४८ रहेका छन् । यीमध्ये सम्झौता गरी १२ हजार २७६ लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिइसकेका छन् । प्रबलीकरणतर्फ अहिलेसम्म रु ६१ करोड ३८ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए । पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउन रु तीन लाख र प्रबलीकरणतर्फका लाभग्राहीले घर मर्मत गर्न रु एक लाख अनुदान पाउने कार्यालय प्रमुख विष्टले बताए । त्यसैगरी भूकम्पीय आपत्कालीन सहायता आयोजनाअन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा रु ३८ करोड २९ लाख ८९ हजार २८० खर्च भएको कार्यालय प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार सोही सडकअन्तर्गत सिम्ले खोलामा रु एक करोड ३२ लाख ३३ हजार ३६८ को लागतमा पक्कीपुल निर्माणाधीन अवस्थामा रहेको छ । भूकम्पबाट प्रभावित १८ वटा गुम्बामध्ये १२ वटाको निर्माण कार्य अघि बढेको र रु ६५ लाख १६ हजार खर्च भइसकेको छ । त्यस्तै भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत हालसम्म ४०६ वटा विद्यालयको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको शिक्षा शाखाले जनाएको छ । भूकम्पले भत्काएको र चर्काएको विद्यालयमा नयाँ पक्की भवन निर्माण गरी नयाँ स्वरुप दिइएको कार्यालयले जनाएको छ । जिल्लामा रहेका कूल ५७५ विद्यालयमध्ये विसं २०७२ मा आएको विनाशकारी भूकम्पबाट ५१३ विद्यालय प्रभावित भएका थिए । जिल्लाका भूकम्प प्रभावित विद्यालयमध्ये ४०६ विद्यालयमा नयाँ भवन निर्माण गरिएको कार्यालय एकाइअन्तर्गतको शिक्षा शाखाका प्रमुख शिवकुमार सापकोटाले जानकारी दिए । अहिलेसम्म भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा रु दुई अर्ब ६६ करोड खर्च भइसकेको छ । सापकोटाका अनुसार भूकम्प प्रभावित विद्यालयमध्ये २६ वटा एशियाली विकास बैंक (एडिबी), ३७ वटा अन्य गैरसरकारी संस्था र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भइरहेका छन । यो वर्ष सम्झौता भएका ५९ वटा विद्यालय भवन निर्माणमा करिब रु ३० करोड लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । विसं २०७८ साउनभित्र सबै भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माण तथा मर्मत सकिने छ भने बाँकी विद्यालयको वास्तविकता अध्ययन गरी काम शुरु गरिने उनले बताए । उक्त भूकम्पले जिल्लामा भूकम्पले जिल्लामा १२ वटा स्वास्थ्य संस्थाको भवन पूर्ण र २९ वटा स्वास्थ्य संस्थाको भवन आंशिकरूपमा क्षति भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । तीनपाटन गाउँपालिका–३ को भीमस्थान स्वास्थ्यचौकी र आम्बोटे स्वास्थ्यचौकी, घ्याङलेख गाउँपालिका–५ को शान्तेश्वरी स्वास्थ्यचौकी, सुनकोशी गाउँपालिका–५ को बन्दीपुर स्वास्थ्यचौकी पुनःनिर्माणको भइरहेको छ । ती स्वास्थ्य चौकीको कुल लागत रु छ करोड रहेको कार्यालयले जनाएको छ । प्राविधिक विदुर खतिवडाले हरिहरपुर, वितिजोर, रतनचुरा, अमले, तामाजोर, तीनकन्या, खोलागाउँ र जिनाखु स्वास्थ्यचौकी पुनःनिर्माणका लागि गत वर्ष कार्यक्रम आएर पनि स्रोत निश्चित हुन नसक्दा अघि बढ्न नसकेको बताए । रासस

नक्कली नाेट काराेवार गर्ने विदेशी नागरिक साेल्टी हाेटलबाट पक्राउ

काठमाडौं । प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन पर्यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिए । “पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भने। पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताए । पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिसँग नेपाली रु तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने   

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागत रूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले यस वर्ष विसं २०७७ सम्म पञ्चाङ्गलाई स्वीकृति मात्र दिने गरेको थियो । समितिका तर्फबाट पञ्चाङ्ग प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गरी प्राप्त भएकाले काम अघि बढाइएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले यस वर्षका लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको थियो । समितिले पञ्चाङ्गकार सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरुष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशीधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको हो । विसं २०७८ मा पात्रो प्रकाशन गर्न चाहने नयाँ पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तअनुसार तीन वर्षको गणित गरी समितिमा पेश गर्न पनि समितिले साउन पहिलो साता र्साजनिकरूपमा सूचना जारी गरिसकेको छ । यस अवधिमा यसअघि पात्रो प्रकाशन गरिरहेका पञ्चाङ्गकारले पनि ग्रह गणित गरेको मस्यौदा पेश गर्नुपर्ने छ । पञ्चाङ्गका मस्यौदा प्राप्त भएपछि समितिमा रहेका ज्योतिष, धर्मशास्त्र, इतिहास पुराण, संस्कृतिलगायत विज्ञ सदस्यले ग्रह गणितको हिसाब हेरी अन्तिम निर्णय गरी स्वीकृति दिने व्यवस्था छ । भित्तेपात्रो व्यवस्थित गर्दै पञ्चाङ्ग निर्णायक समिति     समितिले यस वर्षदेखि भित्तेपात्रो (क्यालेण्डर) लाई पनि व्यवस्थित गर्ने भएको छ । भित्तेपात्रोलाई यसअघिसम्म स्वीकृति दिने व्यवस्था नहुँदा चाडपर्वका विषयमा जेसुकै लेखिदिँदा जनमानसमा भ्रम पैदा भएकाले मन्त्रालयको निर्देशनमा व्यवस्थित गर्न लागिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । यस वर्षदेखि भित्तेपात्रो प्रकाशन गर्नेले पनि मस्यौदा समितिमा पेश गरी स्वीकृति लिनुपर्ने भएको छ । यस वर्षसम्म समितिले स्वीकृति दिएका पात्रो प्रकाशन भएपछि त्यसैलाई सारेर भित्तेपात्रो प्रकाशन हुने गरेको थियो । यसको मार पञ्चाङ्गकारलाई परेको थियो । यस विषयमा प्रतिलिपि अधिकारको विषय पनि उठ्दै आएको थियो । भित्तेपात्रो प्रकाशक व्यक्ति वा संस्थाले पात्रोबाट चाडपर्व आदिको विवरण सार्ने क्रममा आफूखुशी यताउता पारिदिँदा जनसाधारणमा भ्रम पैदा भएकाले यस वर्षदेखि व्यवस्थित गर्न लागिएको समितिले जनाएको छ । सूचना तथा प्रसारण विभागको भित्तेपात्रो भने समितिको सल्लाहमा तिथिमितिलगायत चाडपर्व राखेर प्रकाशन हुने गरेको समितिका अध्यक्ष प्रा डा गौतमले सुनाए । तिथि, बार, नक्षत्र, योग र करण गरी पाँचवटा अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँचवटै अङ्गका घडी पलालगायत विवरण पनि समावेश गरिएको हुन्छ । पछिल्लो समय पात्रो प्रयोगकर्तालाई सजिलो बनाउन यी पाँचै कुराको घडी पलालाई बजेमा पनि राखिने गरेको छ । योसँगै पात्रोमा तिथिअनुसार कुन चाडपर्व कहिले पर्छ भन्ने विषयको आधिकारिक निर्णय पनि दिइएको हुन्छ । विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोका कारण पनि समाजमा भ्रम उत्पन्न हुने गरेकाले सबै पञ्चाङ्गकारलाई समितिको छाताभित्र समावेश भई काम गर्न समितिले आह्वान गरेको छ । गठन आदेश स्वीकृत नहुँदा आठ वर्षदेखि एकै पदाधिकारी राजतन्त्र हुँदा चाडपर्वका विषयमा सल्लाह दिन स्थापना भएको नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समिति विसं २०६३ को परिवर्तपछि नाम परिवर्तन गरी नेपाल पञ्चाङ्ग निर्णायक समितिमा परिणत भएको थियो । राजतन्त्रकालमा कार्यालयविना नै सञ्चालमा रहने समिति हाल कार्यालयसहित सीमित कर्मचारीका बीच सञ्चालनमा छ । हालसम्म समितिको गठन आदेशसमेत स्वीकृत नभएकाले यसका पदाधिकारीको पदावधिसमेत निश्चित छैन । एक दशकअघिदेखि पञ्चाङ्ग एवं ज्योतिष क्षेत्रलाई समेत व्यवस्थित गर्ने गरी समितिको गठन आदेश मस्यौदा गरी संस्कृति मन्त्रालयमा बुझाए पनि स्वीकृत भएको छैन । गठन आदेश स्वीकृतिका लागि कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयको स्वीकृतिकै चरणमा रहेको सूचना प्राप्त भएको अध्यक्ष गौतमले बताए। गठन आदेश स्वीकृत नभएका कारण विगत आठ वर्षदेखि आफूहरुले समिति सञ्चालन गरिरहेको उनले सुनाए । पञ्चाङ्गकार लोकराज पौडेल सांस्कृतिक क्षेत्रलाई व्यवस्थित गर्न हालसम्मका कुनै पनि सरकारको ध्यान नगएको बताए । समितिलाई, ज्योतिष, वास्तु एवं धर्म संस्कृति सम्बन्धमा काम गर्ने राज्यको आधिकारिक संस्थाका रूपमा विकसित गरिनुपर्ने उहाँको माग छ । यस विषयका निजी कम्पनीलाई समेत व्यवस्थित गर्ने गरी गठन आदेश आउनुपर्ने यस क्षेत्रमा संलग्नको भनाइ छ । दुई दशकअघिदेखि ज्योतिष एवं वास्तुका विषयमा परामर्श दिने कार्यालय सञ्चालन गर्दै आउनुभएका वास्तुशास्त्री शिवप्रसाद पोखरेल समितिलाई व्यवस्थित नगरिँदा यस क्षेत्रबाट उठ्ने करसमेत राज्यको दायरामा आउन नसकेको बताए । कर तिरेर काम गर्छौं भन्दा पनि सरकारले नसुनेको उनको गुनासो छ । रासस