विकासन्युज

साेमबार उपत्यकामा थपिए १६८ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १३९, ललितपुरको १४ र भक्तपुरको १५ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १७३८, ललितपुरमा २८२ र भक्तपुरमा १४७ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २१३५ पुगेको छ। आज देशभर ४ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २७ हजार ६२सय ४१ पुगेको छ ।

पूर्वका किसानले युरिया मल तत्काल पाउने, ४ हजार बोरा आजै नेपाल भित्रदै

काठमाडौं । युरिया मल नपाएर तनावमा रहेका किसानलाई केही राहत हुने भएको छ । सरकारी अनुदानमा साल्ट ट्रेडिङ कर्पाेरेसनले ल्याउन लागेकोमध्ये ६ लाख ४० हजार बोरा मल आज (भदौ १ गते) नेपाल आइपुग्ने सम्भावना छ । नेपालमा युरिया मलको हाराकार बढेपछि आफूहरुले ट्रकमा राखेर सो परिमाणको युरिया मल ल्याएको साल्ट ट्रेडिङ कर्पाेरेसका डिभिजनल म्यानेजर बृजेशकुमार झाले जानकारी दिए । ‘हामीले गत आर्थिक वर्षको कोटा अनुसारको करिब २१ हजार टन र चालु आर्थिक वर्षको ११ हजार मेट्रिक टन गरी ३२ हजार १ सय ९० मेट्रिक टन रासायनिक मल किनेर कलकत्ता ल्यासकेका छौं, रेलमार्फत ढुवानी गर्दा केही ढिलाई हुने देखिएपछि तत्कालको माग सम्बोधन गर्न ४ हजार बोरा प्याकिङ गरेर ट्रकमा राखेर ल्याएका छौं, यो मल आज साँझसम्ममा नेपाल आइपुग्छ होला,’ डिभिजनल म्यानेजर झाले भने । बाँकी मल रेलमार्फत ढुवानी हुने भएपनि ४ हजार बोरा भने तत्कालको आवश्यकता पूरा गर्न ट्रकमार्फत ल्याइएको हो । कर्पाेरेसनले ल्याउदै गरेको ३२ हजार १ सय ९० टन मल ५० केजीका बोरामा प्याक गर्दा ६ लाख ४० हजार बोरा हुन्छ । यसमध्ये ४ हजार बोरा ट्रकबाट र बाँकी रेलबाट ल्याउन लागिएको हो । बाँकी मल ल्याउनको लागि कलकत्तामा प्याकेजिङ गर्ने काम भइरहेको झाले जानकारी दिए । पूर्वका किसानलाई राहत युरिया मल नपाएर भौतारिरहेका पूर्वका किसानलाई कर्पाेरेसनले ल्याउने मलले केही राहत दिने भएको छ । नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार नेपालले जोगवनी, वीरगञ्ज र भैरहवा नाकाबाट रासायनिक मल भित्र्याउन पाउँछ । कर्पाेरेसनले अहिले जोगबनी नाकाबाट ४ हजार बोरा मल भित्र्याउन लागेको हो । यसरी ल्याइएको मल कर्पाेरेसनको पूर्वको वितरण केन्द्रमा पुग्ने र सो स्थानबाट विक्री केन्द्र मार्फत वितरण हुनेछ । किन भयो ढिला ? सरकारले रासायनिक मलमा अनुदान दिएर सरकारको समेत लगानी भएका साल्ट ट्रेडिङ कर्पाेरेसन र कृषि सामाग्री संस्थान मार्फत रासायनिक मल खरिद गर्ने गर्छ । यसरी खरिद गरिनेमध्ये साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री संस्थानले ७० प्रतिशत मल खरिद गर्ने गर्छन् । आफूहरुले समयमै मल आयात गर्न खोजेको भएपनि प्राकृर्तिक कारणले केही ढिलाई भएको साल्ट ट्रोडिङ कर्पाेरेसका डिभिजनल म्यानेजर झाले बताए । भारतमा आएको सामुन्द्रिक आँधीले तोकिएको समयमा जहाज कलकत्ता आउन नसकी केही ढिलाइ भएको र पछिल्लो समय कोभिड १९ का कारण ढिलाई भएको उनको भनाइ छ । कति रकमको मल किन्छ सरकारले ? सरकारले रासायनिक मलमा बर्सेनि ठूलो रकम खर्च गर्ने गरेको छ । तर, बाली लगाउने बेलामा मल नपाउँदा एकातिर किसानको उत्पादनमा कमि भएको छ भने अर्काेतिर सरकारी लगानीले अपेक्षित परिणाम दिन सकेको छैन । सरकारले गत आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि करिब ९ अर्ब रुपैयाँ बजेट छुट्टयाएको थियो । चालु आर्थिक वर्षका लागि भने सो रकममा बढाएर ११ अर्ब रुपैयाँ पुर्याएको छ । वार्षिक माग ७ लाख टन नेपालमा रासायकिन मलको माग वार्षिक रुपमा ७ लाख टनको हाराहारीमा रहेको बताइन्छ । यसमध्ये सरकारले अनुदान दिएन किन्ने मलको परिमाण ३ लाख टनको हाराहारीमा हुने गरेको छ ।

साेमबार नेपालमा ५ सय ८१ जनामा काेराेना पुष्टि, ३ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ८१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २७ हजार २ सय ४१ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन् भने आजसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ भने आज थप ३ जनाकाे मृत्‍यु भएसँगैँ नेपालमा मृत्‍यु हुनेकाे संख्या १०७ पुगेकाे छ ।

काेभिड-१९ औषधि आयात गर्न यी ३ कम्पनीले जिम्मा पाए

काठमाडाैं ।  कोभिड-१९ काे जटिल बिरामीको उपचारका लागि प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात गर्न सकिने अनुमति पाए सँगै यसकाे जिम्मा ३ निजि कम्पनीले पाएका छन् । औषधि व्यवस्था विभागले साे ‌औषधि आयात गर्न अनुमति दिएसँगै तीन निजि कम्पनीले यसलाई ल्याउने  जिम्मा पाएका हुन् । उक्त औषधिकाे क्लिनिकल परीक्षणकाे लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभागमा पत्राचार गरेको थियो । विभागका महानिर्देशक नारायण ढकालले भियोभिस लाइभ साइन्सेसले हेटेरो, फर्मा केयरले सिप्ला र सिनर्जी ओभर्सिसले माइलन कम्पनीले उक्त औषधि निर्यात गर्ने अनुमति पाएकाे बताए । सुरुवाती चरणमा २-२ हजारकाे दरले निर्यात गर्ने अनुमति दिइएकाे ढकालले बताए । उनका अनुसार उनीहरुले सिप्ला, माइलन र हेटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न पाउनेछन् । रेम्डेसिभिरले काेराेनालाई निकाे नपारे पनि यसले निकाे हुने गति बढाउने विभिन्न देशमा गरिएकाे अध्ययनहरुले देखाएकाे छ । यसलाई अमेरिकीकाे फुड एन्ड ड्रग एसोसिएसन’ ‘एफडिए’ ले पनि आपतकालिन प्रयोगकाे लागि मान्यता दिएको छ। उक्त औषधि शुरुमा आवश्यक अस्पतालमा बाँडिने र यसकाे पहिलाे चरणकाे परीक्षण नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर गरिने विभागले जनाएकाे छ ।    

वोमी लघुवित्तको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । थापालाई भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो । व्यवस्थापनमा एम.फिल.को अध्ययन पुरा गरेका भरत सिंह थापा शिक्षण पेशामा विगत १४ वर्षदेखि निरन्तर कार्यरत रहेका छन् ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्याउन माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्याउन माग गरिएको छ । नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङलाई नै अर्को कार्यकाल पनि दिन माग गरेको हो । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको उनको भनाई छ । ‘प्राधिकरणलाई यो अवस्थामा ल्याउन घिसिङको महत्वपूर्ण भूमीका छ, म प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको , अझै उहाँले धेरै गर्न सक्नुहुन्छ, उहाँलाई नै पुनः कार्यकारीका रुपमा दोहोर्याउनु पर्छ,’ उनले भने ।

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यले सम्हाले कार्यभार, भन्छन्- मलाईं चुनौती र अवसर दुबै छ

काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले आज (भदौ १ गते सोमबार) देखि आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको सीईओको रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् । पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए । “उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो । अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,” ढकालले बताए । कार्यक्रममा बोल्दै नवनियुक्त सीईओ बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुबै रहेको बताए । उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताए । “मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पुर्याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु ।”- उनले भने । बैंकको सञ्चालक समितिको २०७७ साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सीईओको रुपमा नेतृत्व गरिसकेका छन् । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् । सम्बन्धित समाचारः ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव

नागरिक लगानी कोषले सय कित्ता सेयर हुनेलाई ८२ कित्ता हकप्रद दिने, आरबीबी मर्चेन्टसँग सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले १ सय कित्ता सेयर बराबर ८२ कित्ताका दरले हकप्रद जारी गर्ने भएको छ । प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद जारी गर्न लागिएको हो । कोषले हकप्रद जारी गरेर १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपयाँ संकलन गर्ने लक्ष्य लिएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।