काठमाडौं । युरिया मल नपाएर तनावमा रहेका किसानलाई केही राहत हुने भएको छ । सरकारी अनुदानमा साल्ट ट्रेडिङ कर्पाेरेसनले ल्याउन लागेकोमध्ये ६ लाख ४० हजार बोरा मल आज (भदौ १ गते) नेपाल आइपुग्ने सम्भावना छ ।
नेपालमा युरिया मलको हाराकार बढेपछि आफूहरुले ट्रकमा राखेर सो परिमाणको युरिया मल ल्याएको साल्ट ट्रेडिङ कर्पाेरेसका डिभिजनल म्यानेजर बृजेशकुमार झाले जानकारी दिए ।
‘हामीले गत आर्थिक वर्षको कोटा अनुसारको करिब २१ हजार टन र चालु आर्थिक वर्षको ११ हजार मेट्रिक टन गरी ३२ हजार १ सय ९० मेट्रिक टन रासायनिक मल किनेर कलकत्ता ल्यासकेका छौं, रेलमार्फत ढुवानी गर्दा केही ढिलाई हुने देखिएपछि तत्कालको माग सम्बोधन गर्न ४ हजार बोरा प्याकिङ गरेर ट्रकमा राखेर ल्याएका छौं, यो मल आज साँझसम्ममा नेपाल आइपुग्छ होला,’ डिभिजनल म्यानेजर झाले भने ।
बाँकी मल रेलमार्फत ढुवानी हुने भएपनि ४ हजार बोरा भने तत्कालको आवश्यकता पूरा गर्न ट्रकमार्फत ल्याइएको हो । कर्पाेरेसनले ल्याउदै गरेको ३२ हजार १ सय ९० टन मल ५० केजीका बोरामा प्याक गर्दा ६ लाख ४० हजार बोरा हुन्छ । यसमध्ये ४ हजार बोरा ट्रकबाट र बाँकी रेलबाट ल्याउन लागिएको हो । बाँकी मल ल्याउनको लागि कलकत्तामा प्याकेजिङ गर्ने काम भइरहेको झाले जानकारी दिए ।
पूर्वका किसानलाई राहत
युरिया मल नपाएर भौतारिरहेका पूर्वका किसानलाई कर्पाेरेसनले ल्याउने मलले केही राहत दिने भएको छ । नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार नेपालले जोगवनी, वीरगञ्ज र भैरहवा नाकाबाट रासायनिक मल भित्र्याउन पाउँछ ।
कर्पाेरेसनले अहिले जोगबनी नाकाबाट ४ हजार बोरा मल भित्र्याउन लागेको हो । यसरी ल्याइएको मल कर्पाेरेसनको पूर्वको वितरण केन्द्रमा पुग्ने र सो स्थानबाट विक्री केन्द्र मार्फत वितरण हुनेछ ।
किन भयो ढिला ?
सरकारले रासायनिक मलमा अनुदान दिएर सरकारको समेत लगानी भएका साल्ट ट्रेडिङ कर्पाेरेसन र कृषि सामाग्री संस्थान मार्फत रासायनिक मल खरिद गर्ने गर्छ । यसरी खरिद गरिनेमध्ये साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री संस्थानले ७० प्रतिशत मल खरिद गर्ने गर्छन् ।
आफूहरुले समयमै मल आयात गर्न खोजेको भएपनि प्राकृर्तिक कारणले केही ढिलाई भएको साल्ट ट्रोडिङ कर्पाेरेसका डिभिजनल म्यानेजर झाले बताए । भारतमा आएको सामुन्द्रिक आँधीले तोकिएको समयमा जहाज कलकत्ता आउन नसकी केही ढिलाइ भएको र पछिल्लो समय कोभिड १९ का कारण ढिलाई भएको उनको भनाइ छ ।
कति रकमको मल किन्छ सरकारले ?
सरकारले रासायनिक मलमा बर्सेनि ठूलो रकम खर्च गर्ने गरेको छ । तर, बाली लगाउने बेलामा मल नपाउँदा एकातिर किसानको उत्पादनमा कमि भएको छ भने अर्काेतिर सरकारी लगानीले अपेक्षित परिणाम दिन सकेको छैन ।
सरकारले गत आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि करिब ९ अर्ब रुपैयाँ बजेट छुट्टयाएको थियो । चालु आर्थिक वर्षका लागि भने सो रकममा बढाएर ११ अर्ब रुपैयाँ पुर्याएको छ ।
वार्षिक माग ७ लाख टन
नेपालमा रासायकिन मलको माग वार्षिक रुपमा ७ लाख टनको हाराहारीमा रहेको बताइन्छ । यसमध्ये सरकारले अनुदान दिएन किन्ने मलको परिमाण ३ लाख टनको हाराहारीमा हुने गरेको छ ।