एक महिनाभित्र जरिवाना नतिरे व्यवसाय सिलबन्दी र बैंक खाता रोक्का गरिने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा जरिवानामा परेका व्यवसायीलाई एक महिनाभित्र रकम दाखिला गर्न निर्देशन दिएको छ ।

विभागले मंसिर ११ गते सूचना जारी गर्दै जरिवाना तिर्न बाँकी रहेका सबै व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई एक महिनाभित्र सरकारी राजस्व खातामा रकम जम्मा गरी त्यसको सक्कल भौचर विभागमा बुझाउन भनेको हो ।

विभागका अनुसार बजार अनुगमनका क्रममा प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार विभिन्न फर्म तथा प्रतिष्ठानलाई जरिवाना गरिएको थियो । तर, कतिपय व्यवसायीले हालसम्म पनि जरिवाना रकम दाखिला नगरेको पाइएको विभागले जनाएको छ ।

तोकिएको समयभित्र जरिवाना नतिरे सम्बन्धित व्यवसाय सिलबन्दी गरी कारोबार रोक्का गरिने विभागले चेतावनी दिएको छ । त्यस्तै, फर्म वा कम्पनीको दर्ता खारेज गर्न तथा अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र र अनुमतिपत्र निलम्बन वा खारेज गर्न सिफारिस गरिनेछ ।

जरिवाना रकम सरकारी बाँकीसरह असुल गर्न सम्बन्धित मालपोत कार्यालय तथा बैंक र वित्तीय संस्थामार्फत व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का गर्ने प्रक्रिया पनि अघि बढाइने विभागले जनाएको छ ।

जरिवाना रकम हिमालय बैंकको नयाँबानेश्वर शाखामा राजस्व शीर्षक १४३१२ र कार्यालय कोड ३०७०५३५०१ मा दाखिला गर्नुपर्नेछ ।

यससम्बन्धी थप जानकारी विभागको वेबसाइट www.doc.gov.np वा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गरेर लिन सकिनेछ । 

Share News