पोखरा । कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न माग गरेका छन् ।
तीन वर्षदेखि दूधको मूल्य नबढेको र उत्पादन लागत बढ्दै गएको भन्दै किसानले मूल्य समायोजन गर्न माग गरेका हुन् ।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी किसानले अहिले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्रै पाउने गरेको जनाएको छ । यो मूल्यले उत्पादन लागत र किसानको श्रमको उचित प्रतिफल नदिएको सहकारीको भनाइ छ ।
सहकारीका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर दूध उत्पादन तथा बिक्री हुँदै आएको छ । निजी फार्म र डेरीबाट पनि दैनिक करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्री हुने गरेको छ ।
उनका अनुसार जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुन्छ ।
बरालले दूध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको बताए । उत्पादन लागत बढ्दै जाने तर उचित मूल्य नपाउने अवस्था रहे किसान यो पेसाबाट बाहिरिन सक्ने उनको भनाइ छ ।
उनले पशु आहार, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण गर्नुपर्ने बताए ।
उपभोक्ताको हित र बजारको अवस्थालाई ध्यानमा राख्दै किसानले पाउने दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरिएको छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले पनि लामो समयदेखि दूधको मूल्य बढाउन माग गर्दै आएको किसानले बताएका छन् ।