मोदीले बैंकमा मात्रै राख्छन् पैसा, घरजग्गा छैन, सम्पति २६ प्रतिशतले बढ्यो
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति २ अर्ब २३ करोड रुपैयाँ भारु पुगेकाे छ । उनको यो सबै नगद सम्पत्ति हो । उनले सबै रकम बैंकमा जम्मा गरेका छन् । घरजग्गा समेत नभएका उनले यसअघि भएको आफ्नो गुजरातको घर दान गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनीसँग ३१ मार्च २०२२ सम्म ३५ हजार २५० रुपैयाँ नगद थियो । यस्तै, हुलाक कार्यालयमा राष्ट्रिय बचत प्रमाणपत्र (एनएससी) को रूपमा रु ९ लाख ५ हजार रुपैयाँ छ । यसका साथै उनीसँग १६ लाख रुपैयाँको बीमा पोलिसी छ । एक वर्ष अघिको तुलनामा प्रधानमन्त्री मोदीको सम्पत्तिमा २६.१३ लाख रुपैयाँले वृद्धि भएको छ । तर, एक वर्षअघि उनीसँग १.१ करोडको अचल सम्पत्ति थियो । जुन अहिले छैन । प्रधानमन्त्रीको ऋणपत्र, म्युचुअल फण्ड र सेयरमा कुनै लगानी छैन । प्रधानमन्त्री मोदीसँग निजी कार पनि छैन । तर, उनीसँग १ लाख ७३ हजार रुपैयाँ मूल्यका चारवटा सुनको औंठी छ । भारतीय प्रधानमन्त्री कार्यालयको वेबसाइटका अनुसार मार्च ३१, २०२२ सम्म पीएम मोदीसँग २ करोड २३ लाख ८२ हजारको सम्पत्ति थियो । प्रधानमन्त्रीसँग एउटा आवासीय जग्गा थियो । जुन उनले गुजरातको मुख्यमन्त्री हुँदा अक्टोबर २००२ मा किनेका थिए ।
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा
वासिङटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन् । पूर्व राष्टपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआइका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ । उनीहरुले उनको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् । एफबीआईको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ । साथै गत वर्ष अमेरिकी संसद भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ । यस विषयमा संसदीय छानबिन जारी रहेको छ । एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्व अमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा रहेका बताइएको छ ।
क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
हवाना [क्युबा] । शनिबार मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन् । सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ । शुक्रबार राति शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । यसै बीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारण बारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ।आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउँने प्रयास गरिरहेको छ। मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले भने अनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् । मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ। घाइते मध्ये सात जनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ । क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो। यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन गर्न सकिने अवस्था छैन।