श्रीलङ्कामा इन्धन कारोबारमा क्यूआर कोड लागू
काठमाडाैं । श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्यूआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यस बारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताउनु भयो । उहाँले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक्तहरुलाई अनुरोध गर्नु भएको छ । सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ । एजेन्सी
म्यानमारमा सङ्कटकाल छ महिना थप
याङ्गुन । म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु छ महिना थपिएको जानकारी दिएको हो ।सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरु छ महिना थप्नुपरेको जनाएको छ । म्यानमारको संविधानअनुसार यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ । यहाँका कार्यबाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेका थिए । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो । म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ । यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ । रासस/सिन्ह्वा
राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण
काठमाडाैं । राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए । सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।