काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
द्वन्द्व शुरु भएको छ महिना पुगेको सन्दर्भमा प्रवक्ता दुजारिकले महासचिवको धारणा सार्वजनिक गर्दै यस संकटको एक मात्र समाधान कुटनीति भएकोमा जोड दिए । उनले भने, ‘हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं ।’
महासचिवले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरब र कुवेत लगायतका देशहरूले गरिरहेका मध्यस्थता प्रयासहरूको प्रशंसा गर्दै आफू ती देशहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
द्वन्द्वका कारण सिर्जना भएको विनाशकारी मानवीय र आर्थिक परिणामप्रति महासचिवले गहिरो चिन्ता व्यक्त गरेका छन् । विशेषगरी सर्वसाधारणमाथि भइरहेको बमबारी, भौतिक पूर्वाधारको विनाश र विश्वव्यापी रूपमा खाद्यान्न तथा मल आपूर्तिमा परेको अवरोधले निम्त्याएको संकटका बारेमा प्रवक्ताले स्पष्ट पारे । इन्धनको मूल्य वृद्धिले कमजोर अर्थतन्त्र भएका मुलुकहरूलाई झनै ठूलो झट्का दिएको राष्ट्र संघको ठहर छ ।
महासचिवका विशेष दूत जीन अर्नाल्टले दुवै पक्ष र मध्यस्थकर्ताहरूलाई दिगो समाधानमा पुग्न सहयोग गर्न आफू तयार रहेको र निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि तनाव उत्कर्षमा पुगेको थियो । यसको बदलामा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा प्रत्याक्रमण गरेको थियो । यस द्वन्द्वका कारण विश्व ऊर्जा व्यापारको प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुँदा तेल र अन्य सामग्रीको आपूर्तिमा गम्भीर असर परेको छ ।
यसअघि, गत जुन १८ मा अमेरिका र इरानबीच ६० दिनभित्र वार्ता गरी अन्तिम सम्झौतामा पुग्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यद्यपि, दुई देशबीच पुनः तनाव बढेसँगै प्रश्तावित वार्ताको भविष्य अन्योलमा परेको छ ।