आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

काठमाडौं । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको छ ।  बेलायत र संयुक्त राज्य अमेरिकासँगको एयुकेयुएस सम्झौताले अस्ट्रेलियालाई अमेरिकी अत्याधुनिक पनडुब्बीहरूको फ्लीट उपलब्ध गराउने मात्र नभई, उन्नत युद्ध प्रविधिको विकासमा सहकार्य गर्ने मार्ग पनि खोल्ने लक्ष्य राखेको छ । सन् २०३२ देखि पनडुब्बी आपूर्ति सुरु हुने योजना छ र यसलाई प्रशान्त क्षेत्रमा विशेषतः चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।      सम्झौताले आगामी ३० वर्षमा अस्ट्रेलियालाई करिब दुई खर्ब ३५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्न बाध्य पार्न सक्ने अनुमान गरिएको छ । यसअन्तर्गत भविष्यमा स्वदेशमै पनडुब्बी निर्माण गर्ने प्रविधि हस्तान्तरणसमेत समावेश छ । रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिणी सहर एडिलेड नजिकैको ओसबोर्नस्थित निर्माण स्थललाई परियोजनाको केन्द्रविन्दु हुने बताए । उनका अनुसार दीर्घकालमा सो सुविधामा करिब ३० अर्ब अस्ट्रेलियन डलर लगानी अपेक्षित छ ।      उनले ओसबोर्नमा भइरहेको पूर्वाधार विस्तारले अस्ट्रेलियालाई आउँदा दशकहरूमा आफ्नै आणविक–सञ्चालित पनडुब्बी निर्माण गर्ने सार्वभौम क्षमता दिलाउने मार्गमा अघि बढाएको उल्लेख गरे । प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनडुब्बी निर्माण यार्डमा गरिएको लगानी परम्परागत रूपमा सशस्त्र, आणविक–सञ्चालित पनडुब्बी आपूर्ति सुनिश्चित गर्न निर्णायक हुने बताए । उनले एयुकेयुएस परियोजनाले रक्षा क्षमताको दीर्घकालीन सुरक्षा, रोजगारी सृजना र औद्योगिक समृद्धिमा टेवा पुर्याउने धारणा व्यक्त गरे ।      यसअघि सेप्टेम्बरमा क्यानबेराले पश्चिमी अस्ट्रेलियाको पर्थस्थित जहाज निर्माण तथा मर्मत परिसरलाई भविष्यका आणविक–सञ्चालित पनडुब्बीका लागि रूपान्तरण गर्न एक दशकमा आठ अर्ब अमेरिकी डलर खर्च गरिने जनाएको थियो ।      एयुकेयुएस कार्यक्रम सन् २०२१ मा फ्रान्ससँगको बहु–अर्ब डलरको डिजेल–सञ्चालित पनडुब्बी खरिद सम्झौता रद्द गरेपछि अघि बढाइएको थियो, जसले पेरिससँग कूटनीतिक तनाव उत्पन्न गरेको थियो । गत जुनमा वासिङ्टनले उक्त सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ एजेन्डासँग मेल खान्छ कि होइन भनेर समीक्षा सुरु गरेपछि परियोजना अन्योलमा परेको थियो । तर डिसेम्बरमा पेन्टागनले समीक्षा प्रक्रिया हटाइएको र ट्रम्पले कार्यक्रम ‘पूर्ण रूपमा अगाडि बढाउन’ निर्देशन दिएको जनाएको थियो ।  

इरान र अमेरिकाबीच आणविक वार्ता पुनः सुरु हुने

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ । स्विट्जरल्यान्डका अधिकारीहरूले  वार्ता जेनेभा सहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् ।  यसअघि पहिलो चरणको वार्ता अप्रत्यक्ष रूपमा ओमानको मध्यस्थतामा सम्पन्न भएको थियो । उक्त वार्ता इरानको आणविक गतिविधिलाई लिएर अमेरिका र अन्तर्राष्ट्रिय समुदायबीच उत्पन्न असहमति समाधान गर्ने उद्देश्यले आयोजना गरिएको हो । संयुक्त राज्य अमेरिकाले बारम्बार चेतावनी दिँदै इरानको आणविक कार्यक्रम पारदर्शी र सीमित हुनु आवश्यक भएको बताउँदै आएको छ । यदि वार्ता असफल भयो भने त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ ।  अर्कोतिर, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । इरानी अधिकारीहरूले यसलाई ऊर्जा आवश्यकताका लागि र वैज्ञानिक अनुसन्धानका लागि प्रयोग भइरहेको बताएका छन् ।  पछिल्ला वर्षहरूमा इरान र इजरायलबीच बढेको तनावले वार्ताको वातावरणलाई अझ जटिल बनाएको छ । यी दुई राष्ट्रबीच राजनीतिक र सुरक्षा सम्बन्धमा बढ्दो तनावले क्षेत्रीय अस्थिरता बढाएको छ । यस विषयमा अन्य क्षेत्रीय राष्ट्र र प्रभावशाली राष्ट्रहरूले पनि नजिकबाट ध्यान दिइरहेका छन् । वार्ता सफल भएमा यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसले इरानको आणविक कार्यक्रम सीमित गर्ने, शान्तिपूर्ण प्रयोग सुनिश्चित गर्ने र क्षेत्रीय तनाव घटाउने अवसर प्रदान गर्न सक्छ । 

म्युनिख सम्मेलनमा जेलेन्स्कीले भने- पुटिन युद्धको गुलाम हुन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको गुलाम’ भएको आरोप लगाएका छन् । जेलेन्स्कीले यो अभिव्यक्ति जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनमा दिएका हुन् । युक्रेनी राष्ट्रपतिले भने, ‘पुटिन शक्तिबिना बस्न सक्दैनन् र अहिले उनको सम्पूर्ण ध्यान युक्रेनमै केन्द्रित छ । पुटिन सामान्य मानिसजस्तै जीवन बिताउँदैनन् । उनी साधारण गल्लीहरूमा हिँड्दैनन्, तपाईंले उनलाई क्याफेमा देख्नुहुन्न ।’ ‘उनी शक्तिबिना जीवन बिताउने कुरा सोच्नै सक्दैनन् । सामान्य कुराहरूमा उनको कुनै रुचि छैन,’ उनले थपे । अन्त्यमा जेलेन्स्कीले भने, ‘पुटिन युद्धको सोच त्याग्न सक्दैनन् । उनी आफूलाई सम्राट ठान्न सक्छन्, तर वास्तविकतामा उनी युद्धकै गुलाम हुन् ।’ रूस–युक्रेन युद्ध सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै चर्किएको हो । त्यसयता पूर्वी र दक्षिणी युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण लडाइँ जारी छ । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् भने ऊर्जा, खाद्य आपूर्ति र विश्व अर्थतन्त्रमा समेत असर परेको छ । म्युनिख सुरक्षा सम्मेलन विश्वका नेताहरू, कुटनीतिज्ञहरू र सुरक्षा विज्ञहरू भेला हुने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ वैश्विक सुरक्षा, युद्ध र भू–राजनीतिक तनावका विषयमा छलफल हुन्छ । यही सन्दर्भमा जेलेन्स्कीले रूसको नेतृत्व र युद्धनीतिमाथि कडा आलोचना गरेका हुन् ।