भारतमा १६ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि
नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४८ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख २८ हजार पाँच भन्दा बढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ७४ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ । रासस
कुवेतमा नयाँ प्रधानमन्त्री नियुक्त
कुवेत सिटी । कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन् । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराएका छन् । कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ । नवनियुक्त प्रधानमन्त्री र उनको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ । सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ । यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मे मा दिनुभएको राजीनामा कुवेतका अमिरले स्वीकृत गरेका थिए । उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेका थिए । सन् १९५६ मा जन्मिएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल–अहमद अल जाबिर अल–सबाहका कान्छा छोरा हुन् ।
द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति
नयाँदिल्ली । भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ । बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्रांैँ राष्ट्रपति घोषणा गरेका हुन् । मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गरेका थिए । निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो जसमा ५३ मत बदर भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नवनिर्वाति राष्ट्रपति मुर्मुलाई उनको निवासमा भेटेर बधाई ज्ञापन गरेका थिए । अल्पसङ्ख्यक जातीय समुदायकी मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति भएकी छन् । आगामी सोमबार उनले पद तथा गोपनीयता शपथ लिने कार्यक्रम छ । भारतको संविधानअनुसार प्रधानमन्त्री कार्यकारी सरकार प्रमुख हुन् भने पदीय मर्यादाअनुसार प्रधानमन्त्रीभन्दा माथिको ठूलो औपचारिक पद हो । पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल थिइन् । सन्थाल जातिकी अल्पसङ्ख्यक सदस्य उनको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका समाचार संस्था एपीले जनाएको छ । राजनीतिमा प्रवेश गर्नु अघि उनी विद्यालय शिक्षिका थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उनका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख थिए ।