विश्वका एक प्रतिशत सर्वाधिक धनीले अति गरिबकोभन्दा ५० गुणा बढी प्रदूषण फैलाए

पेरिस । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब तथा विकासशील देशहरूमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ । अक्सफामको नेतृत्वमा गरिएको एक विश्लेषणले सन् १९९० देखि २०१५ को बीचमा वार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पृथ्वीको कूल कार्बन बजेटको एक तिहाई हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ । कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी वृद्धि हुनअघि मानवजातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो । केबल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले सन् १९९० यता कूल कार्बन बजेटको नौ प्रतिशत हिस्सा ओगटेका थिए । स्टकहोम वातावरण इन्स्टिच्यूटले अक्सफामका लागि गरेको उक्त अध्ययन विश्लेषणले कार्बन असमानता लगातार बढेको देखाएको छ । विश्लेषणले एक प्रतिशतको उत्सर्जनको वृद्धिदर विश्वका अति गरिब आधाभन्दा बढी मानिसको भन्दा तीन गुणा बढी देखिएको जनाएको छ । नीति, वकालत तथा अनुसन्धान प्रमुख टिम गोरले एएफपीलाई भन्नुभयो, “चरम आर्थिक असमानता हाम्रो समाजमा विभाजनकारी मात्र होइन, यसले गरीबी न्यूनीकरणको दरलाई पनि सुस्त बनाउन गर्दछ ।” सन् २०१५ को पेरिस जलवायु सम्झौताले मुलुकहरुलाई वैश्विक तापमान वृद्धिलाई “पूर्व–औद्योगिक स्तर” भन्दा दुई डिग्री सेल्सियसभन्दा तल झार्न प्रतिबद्ध बनाएको छ । तर त्यस बेलादेखि नै उत्सर्जन निरन्तर बढिरहेको छ । धेरै विश्लेषणहरूले चेतावनी दिएका छन् कि हरित विकासलाई पूर्ण प्राथमिकता नदिएसम्म कोभिड–१९ का कारण प्रदूषणमा आएको कमीलाई जोगाएर राख्न नसकिने बताएका छन् । हालसम्म केबल १ डिग्री सेल्सियस विश्व तापमान बढेकै अवस्थामा पनि पृथ्वीका विभिन्न भागमा वनडढेलो, सुख्खा र समुद्री सतह बढेका कारण ठुल्ठूला आँधीबेहरी देखिएको छ । गोरले सरकारहरुले कोभिड–१९ को विषम परिस्थितिमा जलवायु परिवर्तन र असमानताका दुईवटा चुनौतीहरूलाई सामना गर्न विशेष पुनरुत्थान योजना अघि बढाउनुको विकल्प नरहेको बताए । “यो स्पष्ट भइसकेको छ कि विगत २०–३० वर्षको अवधिमा अपनाइएको आर्थिक वृद्धिको असमान ढाँचाले विश्वका सबैभन्दा गरीब आधा जनसंख्याले फाइदा लिन सकेका छैनन्,” उनले भने । “आर्थिक विकास र जलवायु संकटबीच हामीले कुनै एउटा छान्नु पर्दछ भन्ने गलत मान्यता जबर्जस्ती स्थापित गर्न खोजिएको छ, जुन दुर्भाग्यपूर्ण हो ।” अक्सफामको प्रतिवेदनमाथि टिप्पणी गर्दै अफ्रिकी मुलुक चाडकी वातावरणीय अभियन्ता हिन्डो ओमारु इब्राहिमले आर्थिक समानतालाई प्राथमिकता नदिई जलवायु परिवर्तनलाई मात्र सम्बोधन गर्न नसकिने बताए । रासस

अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ जनाको मृत्यु

फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकूहरु नै मारिएका बताइएको छ । त्यसमा परी चार जना प्रहरी पनि मारिएका छन् । आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ । सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन् । हमलाका क्रममा चार जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ । सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरु सात जना मारिएका बताइएको छ । उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका बताइएको छ । हालैमात्र अफगान सरकार र त्यहाँका ताबिलानहरुबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । तर पनि उता वार्ता जारी नै रहेका बेला यता तालिबानहरुले भने आक्रमण शुरु गरेका छन् । तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन । रासस

जापानको निर्यात १५ प्रतिशतले घट्यो, शोधनान्तर बचत बढ्यो

जापान । कोरोना भाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा १५ प्रतिशत गिरावट आएपनि आयातमा २० प्रतिशतभन्दा बढी खस्किएपछि व्यापार बचतको अंक फराकिलो हुँदै गएको जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । एउटा दुर्लभ पक्ष के छ भने चीनतर्फको निर्यात ५ प्रतिशतले बढेको छ । तर संयुक्तराज्य अमेरिकासँगको निर्यात र आयात दुबै २० प्रतिशतभन्दा बढीले खस्किएको छ । यही कारण जापानको व्यापार बचत झण्डै २० प्रतिशतले वृद्धि भएर करिब ३ अर्ब ५० करोड डलर पुगेको छ । धेरै जापानी निर्माताहरुले चीनमा निर्माण हुने सामानका लागि रसायन र उपकरणहरु लगायत उपलब्ध गराउँछन् । मजबुत निर्यातले हालका वर्षहरुमा जापानको अर्थतन्त्र माथि उकास्न ठूलो सहयोग पुर्याएको छ तर पछिल्ला वर्षहरुमा चीनको अर्थव्यवस्था सुस्त भएपछि र महामारीले सिर्जना गरेको विषम परिस्थितिले जापानको निर्यात व्यापारमा पनि असर परेको छ । चीन, अमेरिका र युरोपमा महामारीसँग सम्बन्धित बन्दाबन्दी केही खुकुलो भएसँगै निर्यातमा भएको गिरावट कम हुँदै गएको छ । निर्यातमा मे महिनामा २८ प्रतिशत, जुनमा २६ प्रतिशत र जुलाईमा १९ प्रतिशतले घटेको थियो । अगष्टमा निर्यात ४९ अर्ब डलर भएकोमा आयाततर्फ ४७ अर्ब डलरमात्र भएको थियो जसबाट बचत २ अर्ब ४० करोड डलर भएको थियो । अगष्टमा अधिकांश श्रेणीका उत्पादनहरूको व्यापारमा गिरावट आएको छ जबकी यातायातका साधनहरूको निर्यात जस्तै सवारी सवारीसाधनको निर्यातमा २३ प्रतिशतले गिरावट आएको छ । तर, कम्प्युटर र फोनको निर्यात बढेको छ । दक्षिणपूर्व एशियाली मुलुकहरुतर्फको निर्यातमा निकै कमी आएको छ र यो झण्डै २४ प्रतिशतले घटेको वित्त मन्त्रालयको भनाई छ । कडा प्रतिबन्ध र क्वारेन्टिनका बीच व्यापार र पर्यटन गतिविधि सुस्त भएकाले पनि निर्यात घटेको हो । व्यापार बचत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तेल, ग्यास र अन्य ईन्धनको आयातमा ४५ प्रतिशतले घटेको छ । समग्रमा, आयात निरन्तर १६ महिनादेखि घट्दो क्रममा रहेको छ । क्यापिटल इकनामिक्सका टम लियरमाउथका अनुसार पछिल्ला कमजोरीका बाबजूद निर्यातका लागि माग बढ्न थालेको छ । रासस-एपी