अमेरिकामा कर्पोरेट कर ३४ प्रतिशतले र आयकर ११ प्रतिशतले घट्यो
वासिङ्टन। कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्त राज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ। अमेरिकी बजेट तयार पार्ने कंग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ। बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ उत्पादनभन्दा बढी हुनेछ। यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो। त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो। बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो। कोरोना भाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ को भन्दा २० खर्ब डलरभन्दा बढी हो। आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको छ। व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ। कर्पोरेट राजस्व पनि ३४ प्रतिशतले घटेको छ। कोरोना भाइरसका कारण गरिएको लकडाउनले समग्र अर्थतन्त्रमा व्यापक असर पारेको भन्दै संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायीलाई अनुदान, बेरोजगारी भत्ता, १,२०० डलर प्रत्येक व्यक्तिका खातामा सोझै भुक्तानी र अरु राहत योजनाले छोटो अवधिका लागि भए पनि अर्थतन्त्रलाई जोगाउन मद्दत गरेको थियो। अधिकांश अर्थशास्त्रीहरु अर्थतन्त्र ठूलो संकटमा परेका बखत ठूलो मात्रामा राष्ट्रऋण उठाउनु स्वाभाविक रहेको बताएका छन्। तर अहिले सांसदहरु र ह्वाइट हाउसबीच पाँचौं राहत प्याकेजका बारेमा गम्भीर विचारविमर्श जारी छ। डेमोक्रयाट पार्टीको नियन्त्रण रहेको कंग्रेसले गत मे महिनामा ३५ खर्ब डलरको राहत योजना पारित गरेको थियो। यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कूल गार्हस्थ उत्पादनको ९८ प्रतिशत पुग्नेछ, र यो वस्तु तथा सेवाको कूल अंक बराबर हो। बजेट कार्यालयले सन् २०२१ मा राष्ट्रऋण कूल जिडिपीको १०० प्रतिशत पुग्ने जनाएको छ। आगामी दशकमा राष्ट्रऋण करिब १३० खर्ब डलर पुग्नेछ। रासस
कोरोनाले पाैने ५ करोड महिलालाई अति गरिबी तर्फ धकेल्छः राष्ट्रसंघ
सांकेतिक तस्विर संयुक्त राष्ट्रसंघ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी वृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ । राष्ट्रसंघीय निकायहरुले कोरोनाभाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो । सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोनाभाइरसको सङ्क्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् । रासस/पिटिआई
विश्वका एक करोड ८२ लाखभन्दा बढी सङ्क्रमितले जिते काेराेना
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोना मुक्त भएका छन् । यद्यपी विश्वमा दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६१ हजार ९०० जनाको मृत्यु भएको छ । हाल विश्वमा ६८ लाख ५६ हजार ५१७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् । अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३४ लाख ५७ हजार ४३१ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ८८ हजार ९०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ । भारतमा ३७ लाख ७३ हजार ४८३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख २ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ४९१ जनाको मृत्यु भएको छ । रुस १० लाख ५ हजार जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २१ हजार १६९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ४१४ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५७ हजार १२९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ५९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख २८ हजार २५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ४९ हजार ९९३ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार २६३ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ६९ हजार ५५७ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २१ हजार ३७३ कोरोना भाइरस मुक्त भएका छन् भने ६५ हजार २४१ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ७० हजार ९७३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १५२ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ४ लाख २८ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ८ हजार ३७६ कोरोना भाइरस मुक्त भएका छन् भने ८ हजार ९१९ जनाको मृत्यु भएको छ । रासस/एएफपी