औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन खेलाडीको पदक खोसियाे
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको छ । १३ औं संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो ।
बेरुतमा शक्तिशाली विस्फोटपछि लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा
काठमाडाैं । गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए । नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए । यसैक्रममा प्रधानमन्त्री हसन दीयाबले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री दियाबले लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत सोमवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पद त्याग गरेको घोषणा गरेका थिए । लेबनानका नागरिकले सरकारमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । उनीहरुले सो विस्फोट हुनुमा पनि सरकारको भ्रष्टाचारजन्य क्रियाकलाप जोडिएको बताएका थिए । त्यसैगरी यहाँका नागरिकले वर्तमान प्रधानमन्त्री र सरकारमाथि र असक्षमताको आरोप पनि लगाएका छन् । लेबनानमा आक्रोशमा रहेका मानिसहरूले सोमबार पनि लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए । राजधानी बेरुतमा भएको प्रदर्शनमा प्रहरीसँग पनि झडप भएको थियो । बेरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए । उनले सो टिभीमा दिएकाे सम्बोधनमा आफूले भ्रष्टाचार नगरेको भन्दै बचाउ पनि गरेका थिए । तर देशमा भ्रष्टाचार भएका कारणले नै त्यो विस्फोट हुन पुगेको बताएका थिए । उनले लेबननमा भ्रष्टाचार देशभन्दा पनि ठूलो रहेको भन्दै त्यही भ्रष्टाचारमध्येको एक घटना बेरुतमा भएको विस्फोट हो भने । रासस
कोरोना अपडेट: विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघ्यो
काठमाडाैं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ । युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ६ हजार १४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ९ हजार ६३१ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ ।